पोखरा रोयलद्वारा साक्षरता तालिम

आदर्श समाज सम्वाददाता
पौष २०, २०७५
royal

पोखरा, १९ पुस । पोखरा रोयल सहकारी संस्था लिमिटेड, बुद्धचोकले प्रौढ शिक्षा साक्षरता तालिम दिएको छ ।

संस्थाको आयोजना तथा पोखरा १५ वडा कार्यालयको स्थानीय व्यवस्थापनमा गत भदौ २० देखि वडाको निर्मल बस्तीमा सञ्चालित सो तालिममा २३ जना महिलाको सहभागिता थियो ।

तालिम समापनमा प्रमुख अतिथि वडाध्यक्ष प्रकाश पौडेलले सहकारी संस्थाहरुले समुदायमा यस्ता प्रकारका सामाजिक उत्तरदायित्वको काम गरी उदाहरणीय बनेको बताए।

सहकारीले बचत तथा ऋणको कारोबारमात्र सिमित नरही विपन्न वर्ग र सीप नभएका व्यक्तिहरुलाई व्यावसायिक तालिमहरुको समेत व्यवस्था गरी लघु उद्यमी तथा व्यवसायिकताको विकास गर्ने समेतका कार्यक्रम सञ्चालन गर्न सुझाव दिए ।

संस्थाका लेखा तथा सुपरीवेक्षण समितिका संयोजक हर्कबहादुर गुरुङले विगतदेखि नै यस्ता खालका कार्यक्रम सञ्चालन गरिएको आगामी वर्षहरुमा पनि निरन्तरता दिने बताए।

समापनमा प्रशिक्षार्थीलाई प्रमाणपत्र समेत वितरण गरिएको थियो। साक्षरता तालिममा उत्कृष्ट हुने पहिलो, दोस्रो, तेस्रो र सान्त्वनालाई पुस्कार दिइयो ।

संस्थाका उपाध्यक्ष रुद्रकुमारी गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा वडा सदस्य तोरणबहादुर बानियाँले स्वागत र लघुवित्त विभाग प्रमुख लिलाधर पौडेलले संचालन गरेका थिए ।

पोखरा रोयलले कास्की र स्याङ्जाका विभिन्न स्थानहरुमा ५ सय ५० भन्दा बढी व्यक्तिहरुलाई साक्षरता तालिमबाट साक्षर बनाएको जनाएको छ।

Related News

सम्बन्धित समाचार

hero news full width