हेमजामा बोरिङबाट पानी

आदर्श समाज सम्वाददाता
मंसिर १२, २०७५

हेमजा, ११ मंसिर। हेमजाको सुर्कामा बोरिङ खनेर पानी निकालिने भएको छ।

नेपाल खानेपानी संस्थान, हेमजा शाखाले स्वीकार डिप बोरिङ, रुपन्देहीसँग २६ लाख रुपैयाँमा ठेक्का सम्झौता गरी सोमवारबाट काम थालनी भएको हो। सो कार्य थालनी गर्दै पोखरा-२५ का वडाध्यक्ष शोभाकर तिम्सिनाले हेमजा क्षेत्रमा हुने आपतकालीन खानेपानी समस्या समाधान गर्न बोरिङबाट निकालिने पानी सहायकसिद्घ हुने जनाए। उनलेे वडा शुद्घ खानेपानी वितरणमा चनाखो रहेको भन्दै खानेपानीको मुख्यस्रोत घट्टेखोलाबाट बर्खायाममा लेदो पानी आउने समस्या समाधान गर्न बोरिङको पानी विकल्प हुने बताए।  हेमजा क्षेत्रमा मानिसको चाप बढ्दै गएकोले खानेपानीको अवस्था सुधार गर्न बोरिङ खन्नुपरेको खानेपानी संस्थान हेमजा शाखाका प्रमुख राकेश गोइतको भनाइ छ।

पोखरा अमरसिंह, पार्दी, फूलबारी, रामबजार, धारीपाटन, कास्कीकोट क्षेत्रमा बोरिङ सफल भएको भन्दै प्रमुख गोइतले हेमजामा पनि बोरिङबाट सजिलै पानी निस्कने दाबी गरे। हेमजामा हाल ३ हजार ५ सय घरधुरी रहेको खानेपानी शाखाको तथ्यांक छ। जसमध्ये करिब १ हजार घरधुरीमा खानेपानीको मिटर जडान गरिएको छ।

Related News

सम्बन्धित समाचार

hero news full width