पोखरा-२१ को पिउनेपानी अभियान वर्ष

आदर्श समाज सम्वाददाता
भाद्र ४, २०७५

पोखरा, ३ भदौ । पोखरा महानगरपालिका वडा नम्बर २१ ले यो वर्षलाई पिउने पानीबर्ष घोषणा गरेको छ । नागरिकलाई शुद्ध पानीको उपलब्धता बढाउन र खानेपानी समस्या समाधान गर्नका लागि पिउने पानी वर्ष घोषणा गरेरै काम अघि बढाइएको हो ।

खासगरी निर्मलपोखरी, कृष्ति क्षेत्रमा खानेपानीको निकै ठूलो समस्या छ । वडाले खानेपानी समस्या समाधान गर्नका लागि चालू वर्षको बजेटबाट १ करोड रुपैयाँ विनियोजन गरेको छ ।

‘वडालाई १ करोड ४९ लाख रुपैयाँमात्रै बजेट छ । यो बजेटबाट १ करोड त खानेपानीमै विनियोजन गरिएको छ,’ वडाध्यक्ष खगराज आचार्यले भने, ‘अर्को वर्ष पानीमा पैसा लगानीगर्न नपर्ने गरी काम हुन्छ । अर्को वर्षदेखि अरु पूर्वाधारमा लगानी हुन्छ ।’

उनका अनुसार कृष्ति र निर्मलपोखरी क्षेत्रमा सहलगानीको खानेपानी आयोजना पनि निर्माणाधीन छ । आचार्यले आफ्नो जग्गा नै धितो राखेर खानेपानी आयोजनाको सम्झौता गरेका थिए । स्थानीय निर्वाचनपछि धेरै स्थानीय तहहरु अझै अन्यौलमा छन् । केही स्थानीय तहका जनप्रतिनिधीहरुले सुरुमै योजना बनाएर विकासे काम थालेका छन् । पोखरा महानगरपालिका वडा नम्बर २१ ले आगामी निर्वाचन अघि सक्नेगरी विभिन्न योजनाहरु सार्वजनिक गरेको छ । वडाध्यक्ष आचार्यले धेरै कार्यक्रमहरु सुरु भैसकेको भन्दै केही रणनीतिक योजना यही वर्षदेखि लागू गर्ने जानकारी दिए । मट्टीखान-दोपहेरे सडक, दोपहरे-र्छछरे हुँदै रामादी फुस्रेखोला सडक, रामादी-भाल्डाँडा-वडा कार्यालय-कृस्ती सडक, हराबोट-रातामाटा-हिमालयमार्ग, मट्टखिान-धुवारकोट-दोपहरे सडक, दोपहरे-खत्रीगाउँ-खाम्पुर सडक, निर्मलपोखरी-भरतपोखरी-कोत्रे पर्यटन मार्गको काम गरिनेछ ।

यस्तै, शिवालय-थाप्ले हुँदै चिलाउने खर्क सडक, फुर्से-पारिडाडा-दम्सादी-रघैचौर-दुवार नमुना पर्यटनमार्ग, मैदान-धुस्र्यानी सडक, शिवालय-सुनार गाउँ हुँदै जनचेतन बैकल्पिक सडक, अम्मट-शिवालय लिंक रोड, दोविल्ला-निर्मलपोखरी सडक, फुर्से-दोपहरे सडक, फुर्से-मट्टीखान सडक र तीनवटा पर्यटन फुट ट्रयाक निर्माण हुने वडाध्यक्ष आचार्यले बताए । योसँगै वडाभित्र रहेका पर्यटकीय क्षेत्रको विकास, चिलाउनेर्खर्कलाई दक्षिण एसियाकै नमूना होमस्टे, टोलटोलमा स्कुल र हरेक स्कुलमा डाक्टर पुर्‍याउने, भविष्य निर्माण मावि र जनचेतन माविमा प्राविधिक शिक्षा संचालन गर्ने योजना पनि अघि सारिएको छ ।

‘त्रिभुवन युनिर्भसिटीको ग्रामीण विकास बिभागसँग मास्टर प्लान बनाउने सम्झौता भएको छ,’ उनले भने, ‘दुर्इ महिनाभित्रै मास्टर प्लानप्राप्त हुन्छ र सोहीअनुसार काम अघि बढ्छ ।’

Related News

सम्बन्धित समाचार

hero news full width