महानगरलाई टेरेन क्रसरले

आदर्श समाज सम्वाददाता
चैत्र २१, २०७४

पोखरा, २० चैत । अबैध रुपमा क्रसर चलाएपछि गत बिहीबार पोखरा लेखनाथ महानगरपालिकाले २ वटा क्रसर उद्योगको चावि नियन्त्रणमा लियो। पोखरा १ जौवारी र २१ को दोविल्लामा रहेको क्रसर उद्योग तत्काल नचलाउन निर्देशन दिएर चावी खोसिएको थियो। तर दोविल्लाको क्रसर उद्योगले पुनः महानगरको निर्देशन अटेर गरी क्रसर चलाएको छ।

मंगलबार बिहान मास्टर चावी प्रयोग गरेर क्रसर चलाइएको महानगरले जनाएको छ। ‘हामीले एउटा चावि नियन्त्रणमा लियौं। अर्को चाविले खोलेर फेरी क्रसर चलाएको सूचना आयो,’ महानगरका प्रमुख प्रशासकीय अधिकृत दीर्घनारायण पौडेलले भने, ‘महानगरलाई पनि छलेर काम भयो। त्यसपछि अर्को चावी पनि नगर प्रहरीले नियन्त्रणमा लिएका छन्।’

कानूनी प्रक्रिया नपुगेका कुनै पनि क्रसर चलाउन नदिने उनको अडान छ। ‘व्यवसायीलाई महानगरले बोलाएको छ। एकपटक आउनुभएको थियो,’ उनले भने, ‘फेरि के सोचेर खोल्नुभयो थाहा भएन। प्रक्रिया नपुगेका क्रसर कुनै पनि हालतमा चल्न दिदैनौं, महानगर यसमा स्पष्ट छ।’

आयोजनाको नाममा अध्ययनबिना वडा कार्यालयको सामान्य स्वीकृति भरमा मात्रै क्रसर चलेको हो। निर्मलपोखरी-कृष्ती-भरतपोखरी सडक स्तरोन्नतिका लागि क्रसर चलाइएको भनिए पनि तयार भएका सामग्री अन्यत्र पनि बिक्री गरेको भेटिएको छ। क्रसर सञ्चालक चिरञ्जीवी पोख्रेलले डकुमेण्ट पूरा गरिसकेको प्रतिक्रिया दिए।

‘डकुमेण्ट पूरा भएको भनेर कर्मचारीले चलाएछन्। स्वीकृति पत्र नपुगेको भनेर नगरपालिकाले फेरि चावी खोस्यो,’ उनले भने, ‘त्यो पनि बुझाइसकेका छौं। भोलि (बुधबार) बाट लगातार उद्योग चल्छ।’

महानगरले चाहीँ अहिलेकै अवस्थामा क्रसर चल्न सक्ने अवस्थामा नरहेको जनाएको छ। जौवारीको क्रसर बिहीबारदेखि नै बन्द छ। सिँचाइको सिफारिसमा सेतीको ड्याम बनाउन क्रसर राखिए पनि उद्योग चलाउने स्वीकृति छैन। तोकिएको भन्दा बढी सामग्री झिकिएको महानगरले जनाएको छ।

यस्तै पोखरा १४ बाच्छीबुडुवाको क्रसर पनि बनिरहेको छ। तर प्रयोगमा ल्याउन महानगरका प्रशासकीय अधिकृत पौडेलले बताए। अबैध रुपमा क्रसर चलेको समाचार प्रकाशन भएपछि महानगरका प्राविधिकले अनुगमन गरेर चावि नियन्त्रणमा लिएको हो।

Related News

सम्बन्धित समाचार

hero news full width

Recent Posts

भर्खरै