लालबहादुर चण्डेश्वरी संगीत पुरस्कार गजमेरलाई

आदर्श समाज सम्वाददाता
फागुन १५, २०७४
ranjit-gazmer

पोखरा, १४ फागुन । लालबहादुर चण्डेश्वरी ढेवाजु स्मृति संगीत पुरस्कार-२०७४ बाट संगीतकार रञ्जित गजमेर पुरस्कृत हुने भएका छन् ।

नेपाली वाद्य मादललाई अन्तर्राष्ट्रिय जगत्मा पुर्‍याउन गरेको योगदान तथा नेपाली चलचित्र संगीत क्षेत्रमा उल्लेख्य योगदान पुर्‍याएकोमा उनलाई उक्त पुरस्कारबाट सम्मानित गरिने संगीत प्रशिक्षण केन्द्र, पोखराले जनाएको छ । पुरस्कार राशि ५१ हजार रुपैयाँ सहित सम्मानपत्र रहेको छ ।

केन्द्रका सल्लाहकार तीथ श्रेष्ठको संयोजकत्वमा गठित प्रतिभा छनोट उपसमितिले गजमेरको नाम चयन गरेको केन्द्रका अध्यक्ष गौतम बिजुक्छेले जानकारी दिए ।

उक्त पुरस्कार फागुन १९ गते विन्ध्यवासिनी धार्मिक क्षेत्र विकास समितिको सभाहलमा एक समारोहबीच पोखरा लेखनाथ महानगर प्रमुख मानबहादुर जिसीले गजमेरलाई अपण गर्ने कार्यक्रम छ ।संगीत प्रशिक्षण केन्द्रका संस्थापक अध्यक्ष लालबहादुर ढेवाजुको निधनपछि उनको स्मृतिमा धर्मपत्नी चण्डेश्वरी ढेवाजुद्वारा १ लाख रुपैयाँ अक्षयकोष स्थापना गरी केन्द्रले लालबहादुर ढेवाजु स्मृति संगीत पुरस्कार सञ्चालन गर्दैआएको थियो ।

पछि चण्डेश्वरीको समेत देहावसानपछि उनका सुपुत्री सरस्वती श्रेष्ठ र विजय मल्लले अक्षयकोषको रकम ५ लाख रुपैयाँ पुर्‍याई राष्ट्रियस्तरमा पुरस्कार स्तरोन्नति गरियो । हाल अक्षयकोषमा ७ लाख रुपैयाँ रहेकोमा उक्त पुरस्कार केन्द्रले प्रत्येक २ वर्षमा प्रदान गर्दैआएको छ ।

२०४६ सालमा तत्कालीन पोखरा नगर पञ्चायतको संरक्षकत्वमा स्थापित संगीत प्रशिक्षण केन्द्रले निरन्तररुपमा वाद्यवादन र गायनको प्रशिक्षण गराउँदैआएको छ । साथै केन्द्रले विविध सांगीतिक कार्यक्रम एवं पुरस्कार सञ्चालन गर्दैआएको अध्यक्ष बिजुक्छेले जनाए ।

Related News

सम्बन्धित समाचार

hero news full width

Recent Posts

भर्खरै