सुन्दर हिमालयको काखमा अवस्थित पोखरा प्राकृतिक सौन्दर्य, प्राचीन संस्कृति र साहसिक गन्तव्यहरूले मनमोहक छ । नेपालको पश्चिमी भागमा अवस्थित यस नगरीले सहरदेखि ग्रामीण क्षेत्रसम्मलाई समेट्छ । मुलुककै आकर्षक पर्यटकीय गन्तव्यको रूपमा पोखरा परिचित छ । साथै प्राकृतिक सुन्दरता, यातायातको सुविधा, आवास तथा अतिथि सत्कारलगायत विशेषताले समेत पोखरा आन्तरिक तथा बाह्य पर्यटकहरूको उत्कृष्ट गन्तव्यको रूपमा स्थापित छ ।
शान्त वातावरण र चारैतिर हरियाली पहाडले घेरिएको मुलुककै पर्यटकीय नगरीको रूपमा परिचित पोखरा संस्कृति तथा प्रकृतिप्रेमी र साहसिक पर्यटकहरूका लागि समेत अद्वितीय स्थान हो । शान्त र मनमोहक फेवातालमा प्रतिबिम्बित कुमारी हिमाल माछापुच्छ्रेको सुन्दर दृश्यले आकर्षणको नयाँ आयाम थप्छ । पर्यटकहरू प्रफुल्ल मुद्रामा फेवातालमा डुंगासयर, साँझपख सूर्यास्तको सुन्दर दृश्य र ताल किनारको जीवन्त, शान्त वातावरणमा विचरण गर्न सक्छन् ।
पोखरा महानगरपालिका पर्यटकीय दृष्टिकोणले पोखरालगायत समग्र गण्डकी प्रदेशलाई पर्यटनसँग सँगै जोडेर लैजाने प्रयत्नमा छ । पर्यटनमार्फत् प्राप्त हुने संवृद्धिको यात्रालाई Together for Tourism भन्ने अवधारणामा हामी अगाडि बढिरहेका छौं । पोखरा गण्डकी प्रदेशको राजधानी मात्र नभई समग्र प्रदेशको मुख्य प्रवेश विन्दु र आर्थिक तथा व्यापारिक दृष्टिले केन्द्र भागमा रहेको छ । यसर्थ गण्डकी प्रदेशलाई नेपालको पर्यटनको हब र पोखरालाई पर्यटनको राजधानी घोषणा गर्ने निष्कर्षमा हामी पुगेका छौं ।
पोखराबाट ७८ किमी दक्षिणतर्फको भारतीय सीमा र ७२ किमी उत्तरतर्फ चीनको सिमाना पोखराका लागि सामरिक हिसाबले निकै महत्वपूर्ण छ । भौगोलिक अवस्थितिको दृष्टिले पोखरा नेपालको केन्द्र भागमा पर्दछ । अन्तर्राष्ट्रिय विमानस्थल निर्माण सम्पन्न भइसकेको पोखरा मुलुकको जुनसुकै स्थानबाट पनि आवागमनका लागि सहज छ भने, भविष्यमा अन्तर्राष्ट्रिय नियमित उडान सञ्चालनको प्रतीक्षामा छ । पोखरा समग्र गण्डकी प्रदेशसहित विशेष गरी पोखरासँग व्यापारिक दृष्टिकोणले हालै मात्र सञ्चालनमा आएको कोरोला नाकाले विशेष अर्थ राख्दछ ।
पोखरा संसारकै सबैभन्दा उत्कृष्ट पर्यटकीय विशेषता भएको सहर हो । समुन्द्री सतहदेखि १ हजार मिटरभन्दा कम उचाइमा रहेर ८००० मिटरभन्दा अग्ला ३ वटा हिमालहरू अन्नपूर्ण प्रथम (८०९१ मिटर), मनासलु (८१६३ मिटर) र धौलागिरि (८१६७ मिटर) नजिकबाट अवलोकन गरी अद्भूत आनन्द लिन सकिने विश्वकै एक मात्र ठाउँ हो, पोखरा । संसारका ८ हजार मिटरभन्दा अग्ला १४ वटा हिमालमध्ये ८ वटा हिमाल नेपालमा पर्दछन् । तीमध्ये मित्र राष्ट्र चीनसँगको सिमानामा ५ वटा पर्छन् । माछापुच्छ्रे गंगापूर्ण, मर्दीलगायत मनमोहक हिमशृङ्खलाको दृश्य पोखराबाट अवलोकन गर्न सकिन्छ ।
निलगिरि र धौलागिरिको बिचमा पर्ने म्याग्दी जिल्लाको कालीगण्डकी गल्छी संसारको सबैभन्दा गहिरो गल्छी हो । गण्डकी प्रदेशमा पर्ने संसारको सबै भन्दा अग्लो स्थानमा रहेको मनाङ जिल्लाको तिलिचो ताल, संसारकै उत्कृष्ट १० पदयात्रा मार्गमा पर्ने अन्नपूर्ण पदमार्ग, पर्यटकीय रोजाइमा पर्ने पुन हिल, ऐतिहासिक गोरखा दरबार, प्रसिद्ध धार्मिक पर्यटकीय स्थल मुक्तिनाथको यात्रा पोखराबाट सुरु हुने गर्दछ । १४० बढी प्रजातिका सुनाखरीसहित बहुमूल्य जडीबुटीहरू पाइने ऐतिहासिक पञ्चासे क्षेत्र, नेपालको पहिलो होमस्टेको रूपमा चर्चित सिरुबारी, घले गाउँ, घान्द्रुक, अन्नपूर्णको काखमा अवस्थित सिक्लेस, ताङतिङ, पछिल्लो समय पर्यटकीय दृष्टिकोणले चर्चामा रहेको खुमै डाँडा, करापुडाँडाको यात्रामा जाने अधिकांश पर्यटकहरू पोखरा हुँदै आउने जाने गर्दछन् । संसारकै उत्कृष्ट प्याराग्लाइडिङ उडान गर्ने क्षेत्र सराङकोट पनि पोखरामै पर्दछ ।
पोखरा संस्कृति तथा प्रकृतिप्रेमी र साहसिक पर्यटकहरूका लागि समेत अद्वितीय स्थान हो
विश्व रामसार सूचीकृत ९ वटा तालले सुशोभित पोखराका ऐतिहासिक विन्ध्यवासिनी मन्दिर, भद्रकाली, तालवाराही, केदारेश्वर, भूमेश्वर महादेव पुम्दीकोट, विश्व शान्ति स्तुप, माटेपानी गुम्बालगायत गन्तव्यहरू पर्यटकहरूको रोजाइमा पर्दै आइरहेका छन् । महेन्द्रगुफा, गुप्तेश्वरगुफा, चमेरेगुफालगायत गुफैगुफा रहेको पोखरा लुकामारी खेल्दै बग्ने सेती नदी, जीवन्त संग्रहालयहरू, साहसिक गतिविधिहरू ¥यााफ्टिङ, प्याराग्लाइडिङ, अल्ट्रालाइट, हट एयर बेलुन, स्काइ ड्राइभिङ, बन्जी जम्प र जिप फ्लायरसमेतको विविधताले भरिपूर्ण छ ।
पोखरा सांस्कृतिक विविधता तथा सम्पदाहरूले भरिएको सहर हो । यहाँ ६० भन्दा बढी जातजातिहरूको मौलिक संस्कृति, चालचलन र रीतिरिवाजहरू प्रचलनमा रहिआएका छन् । २ सय ५० वर्ष पुरानो भैरव नाचदेखि नेवारी संस्कृतिमा प्रसिद्ध लाखे नाच, तायमचा, बाघ जात्रा, गुरुङ समुदायको ट्होटे, घाटु, मगर समुदायको कौडा नृत्य, सोरठी, सालैजो, तामाङ सेलो, मेहेन्दीमाया, ब्राह्मण समुदायको बालन नृत्य, भजन चुड्का, पोखरेली पञ्चे बाजा, सारंगी पोखराको पहिचानको रूपमा स्थापित छ ।
पोखरा, पोखरा महानगरपालिकाको चार किल्लाभित्र मात्र सीमित छैन । पोखरासँगै वरिपरिका जिल्ला र पालिकाहरूलाई समेत पोखराका रूपमा लिइने गरिन्छ । यहाँका ऐतिहासिक संस्कृति, कला, भाषा, प्राकृतिक सम्पदाहरूको अध्ययन अवलोकनका लागि आउने आन्तरिक तथा बाह्य पर्यटक, अनुसन्धानकर्ता, विद्यार्थी आदिले गण्डकी प्रदेशका महत्वपूर्ण स्थलहरूलाई पोखरासँगै जोडेर हेर्ने र बुझ्ने गर्दछन् । यस कारण नेपालको पर्यटन र आर्थिक समृद्धिसँग बृहत्तर पोखराको अवधारणासँगै अघि बढाउन जरुरी छ । यसका लागि पोखरा महानगरपालिका छिमेकी पालिकाहरूसँग आवश्यक परामर्श, समन्वय र सहकार्यका लागि सधैं तत्पर रहँदै आएको छ ।
यतिबेला पोखरालाई पर्यटकीय राजधानी घोषणा गर्ने अन्तिम तयारी भइरहेको छ । यसले पोखरालगायत गण्डकी प्रदेश र समग्र मुलुकको समृद्धि र विकासमा महत्वपूर्ण टेवा पुग्नेछ । पोखराका पर्यटकीय गन्तव्य, ऐतिहासिक कला र संस्कृतिको संरक्षण तथा विकास, पर्यटन पूर्वाधार निर्माण, दिगो पर्यटन विकासको लक्ष्य तथा आम पोखरेली एवं गण्डकी प्रदेशवासीको साझा चाहनाको आधारमा पोखरालाई पर्यटकीय राजधानी घोषणा गर्ने विषय न्यायोचित एवं पोखराका लागि अत्यन्त प्राथमिक विषय बनेको छ ।
Related News
सम्बन्धित समाचार
सराङकोटमा सहिद स्मृति भवन निर्माण
पोखराका स्पामा बालिकालाई लगाइन्छ यौनजन्य कार्यमा, ६ जनाको उद्धार
बलात्कार मुद्दामा सन्दीप लामिछानेले पाए सफाइ
पोखरामा फोहोरबाट रोजगारी सिर्जनाका लागि कोरियाको ९८ लाख अमेरिकी डलर सहयोग
व्यास नगरपालिकामा मेयर चुनावको पुन मतगणना गर्न आदेश
hero news full width
मुख्य समाचार
पोखरामा बुद्ध जयन्तीको सप्ताहव्यापी कार्यक्रम
जिबी राईको राहदानी रद्द भएन
जेठ १, २०८१पोखराको प्राइम सहकारी पनि समस्याग्रस्त, डेढ अर्ब हिनामिना
जेठ १, २०८१सरकारको आगामी आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम (पूर्णपाठ)
जेठ १, २०८१राष्ट्रपतिबाट सरकारको नीति तथा कार्यक्रम प्रस्तुत
जेठ १, २०८१लोकतान्त्रिक आन्दोलनका जिउँदा सहिद खगेन्द्र सर
जेठ १, २०८१