आज बुद्धजयन्ती

आदर्श समाज सम्वाददाता
वैशाख २२, २०८०
Loard buddha

पोखरा । २५६७ औं जन्मजयन्ती अवसरमा गण्डकीका प्रदेश प्रमुख र मुख्यमन्त्रीले शुभकामना दिएका छन् । प्रदेश प्रमुख पृथ्वीमान गुरुङले यस अवसरमा शुुभकामना सन्देश जारी गर्दै स्वदेश तथा विदेशमा रहेका गण्डकी प्रदेशवासी एवं सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति र समृद्धिका लागि हार्दिक शुभकामना व्यक्त गरेका छन् ।

बौद्ध दर्शनका प्रवर्तक, राष्ट्रका गौरव एवं विश्वशान्तिका अग्रदूत गौतम बुद्धका प्रेरणादायी उपदेश र मार्गदर्शनको परिपालना गर्न सकेमा धार्मिक, सामाजिक तथा सांस्कृतिक विविधताबीच सहिष्णुता र सद्भाव कायम गर्दै राष्ट्रिय एकतालाई सुदृढ एवं सवल बनाउन सकिने विश्वास उनले लिएका छन् ।

यस्तै, मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले शुभकामना सन्देश दिंदै बहुभाषिक, बहुधार्मिक, बहुजातीय र बहुसांस्कृतिक विविधतायुक्त हाम्रो मुलुकको सबैभन्दा सुन्दर पक्ष नै सर्वस्वीकार्यता र सहअस्तित्व रहेको बताएका छन् । २५६७ औं जन्मजयन्ती र किराँत धर्मावलम्बीको उभौली पर्व अवसरमा पाण्डेले यस्ता पर्वहरुले सामाजिक सद्भाव, धार्मिक सहिष्णुता र राष्ट्रिय एकतालाई थप सशक्त बनाउने विश्वास लिएको जनाएका छन् ।

उनले भनेका छन्, ‘पवित्रस्थल लुम्बिनीमा जन्मनुभएका बुद्धका सन्देशलाई विश्वभर फैलाउनुका साथै उहाँको जन्मस्थललाई विश्व शान्तिको केन्द्रका रुपमा स्थापना गर्न हामी सबै लाग्नुपर्नेछ ।’ बुद्ध दर्शनलाई जीवनमा आत्मसात गर्नुका साथै उनीद्वारा स्थापित ४ आर्य सत्यलाई अवलम्बन गर्न मात्र सके पनि मुलुकमा शान्ति स्थापना भई समृद्धिको पथमा लम्किने उनले सन्देशमा उल्लेख गरेका छन् ।

Related News

सम्बन्धित समाचार

hero news full width