वालिङ गोल्ड कप उपाधि आयोजकलाई

भवानी अधिकारी
माघ ७, २०७९
waling cup final

स्याङ्जा ७ माघ । प्रथम वालिङ गोल्ड कप राष्ट्रिय फुटबल प्रतियोगिताको उपाधि आयोजकको नीलो टिमले जितेको छ ।

शनिबार फाइनलमा एभिनिर फुटबल क्लब क्यामरुनलाई टाइब्रेकरमा ४–३ ले पराजित गर्दै आयोजकले उपाधि जितेको हो । निर्धारित समयको खेल गोलरहित बराबरीमा टुंगिएको थियो । ३० पुसदेखि सुरु जिल्लाकैे ठूलो धनराशि भएको सो प्रतियोगितामा विजेताले ५ लाख र उपविजेताले २ लाख ५० हजार नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् ।

निर्धारित समयमा कुनै गोल हुन नसकेपछि खेल ट्राइब्रेकर मार्फत टुंगो लगाइएको हो । क्याप्टेन लक्ष्मण रुचालको प्रहार बाहिरिए पनि सुवास गुरुङ, विश्वास श्रेष्ठ, टीकराज गुरुङ र विशु थापाले गोल गर्न सफल हुँदा उपाधिका लागि पर्याप्त भयो । उता, एभिनिरका लागि एमबोमी जीन, एनगुइम्स स्टेफने र विले फ्राङ्कले मात्र गोल गर्न सफल भए । गुइनी म्यारी डेनिल र एव्डव रमानीको प्रहार गोलकिपर राजाबाबुले उत्कृष्ट बचाए ।

वालिङ नगर प्रमुख कृष्ण खाँणले पुरस्कार वितरण गर्दै खेलले मनोरञ्जनका साथै मुलुकका लागि सक्षम र दक्ष नागरिक उत्पादनमा भूमिका खेल्ने बताए । उनले विभिन्न संघ संस्था र व्यक्तिहरुको जग्गालाई अस्थायी रुपमा समेटेर खेलमैदानको स्तरोन्नति गरेको उल्लेख गर्दै आगामी ५ वर्षसम्म वालिङ खेलमैदानलाई रंगशालाको रुपमा विकास गरिने प्रतिवद्धता समेत व्यक्त गरे ।

सो अवसरमा विभिन्न विधामा सहभागी टीम तथा खेलाडीहरु समेत पुरस्कृत भएका छन् । लिस्नु फुटबल क्लब रुपन्देही अनुशासित टिमबाट पुरस्कृत भयो ।

सर्वात्कृष्ट खेलाडी आयोजक नीलोका विश्वास श्रेष्ठ घोषित हुँदासर्वाधिक गोलकर्ता अफ्रिकन खेलाडी टिम्बा बने । नवप्रतिभा युवा खेलाडी आयोजक रातोका रुपेश हमाल, उत्कृष्ट डिफेन्डर आयोजककै आशीष गुरुङ र उत्कृष्ट मिड फिल्डकर कमल थापा घोषित भए । उत्कृष्ट कोच दिलीप थापा र फरवार्डमा टीकाराज गुरुङ पुरस्कृत भए ।

वालिङ गोल्ड कपमा आयोजकबाट २ सहित नेपाल आर्मी, एपिएफ, लिस्नु फुटबल क्लब कोटिहवा रुपन्देही, सहारा फुटबल क्लब, एभिनिर फुटबल क्लब क्यामरुन र भरतपुर फुटबल क्लब गरी ८ टिमले भाग लिएका थिए ।

Related News

सम्बन्धित समाचार

hero news full width