पोखरा । गोरखाको चुमनुब्री गाउँपालिका हालसम्म सडक सञ्जालले नछोएको पालिका हो । हुनेखानेले हेलिकोप्टरबाटै सामान झिकाएर खान्छन् । विपन्न परिवारले घोडा खच्चड र मान्छेलाई बोकाएर उपभोग्य सामान ढुवानी गर्छन् । अहिले भने लोक्पामा झरेको ठूलो पहिरोका कारण ढुवानी हुन सकेको छैन ।
वडा ६ को ड्युखोला र सर्दीभीरमा ३ महिनादेखि पहिरो झरेको हो । सोही पहिरोका कारण चुम्चेत र छेकम्पार क्षेत्रका नागरिकलाई नुनतेलदेखि चामलसम्म अभाव हुन थालेको छ । वडा ६ का अध्यक्ष सरोज लामा वर्षौंदेखि यही नियति भोग्नुपरेको गुनासो गर्छन् ।
‘तीन महिनादेखि ढुवानी भएको छैन । यही स्थिति रहे भोकमरी लाग्ने अवस्था छ,’ उनले भने, ‘तत्कालै सरकारले हेलिकोप्टरबाटै भए पनि ढुवानी गरिदिनुपर्यो ।’ खाद्य डिपोमा समेत चामल सकिन लागेको छ । ‘यो समस्या अहिलेको मात्रै होइन । सधैं यस्तै हो,’ उनले भने, ‘माथिको नाका पनि बन्द छ । तलको बाटो पनि बन्द छ । हामी कहाँबाट के ल्याएर खाने ?’
पहिरो करिब ८ सय मिटर लामो छ । पहिरोका कारण मान्छे र खच्चड हिंड्न सक्दैन । त्यहाँका ५ सयभन्दा बढी घरधुरीलाई खाद्यान्न अभाव देखिन थालेको वडाध्यक्षहरुले बताएका छन् । चाडबाडका बेला उत्तरी गोरखाका नागरिकको चुलो नबल्ने अवस्था आइपरेको छ । खाद्यान्नसँगै धार्मिक र सांस्कृतिक काम गर्न पनि सामान नपाएको उनीहरूको गुनासो छ । ‘गुम्बामा बाल्ने बत्ति सकियो । तेल पनि छैन । चामल नपाएको धेरै भइसक्यो,’ स्थानीय ङवाङ लामा भन्छन्, ‘न पितृकार्य गर्न पाएका छौं, न गाउँलेलाई खुवाउन पाएका छौं । घरमै खाने अन्न सकिने बेला भयो ।’
उत्तरी गोरखामा सामान ढुवानी गर्न खाद्य संस्थानले टेन्डर निकाल्छ । सरकारी प्रक्रियाका कारण सधैं ढिलो ठेक्का लाग्छ । त्यसमाथि ठेकेदारको मनोमानीले समयमा ढुवानी हुन सक्दैन । सिर्दिवासमा डिपो राखेर संस्थानले चामल वितरण गर्छ । डिपोबाट भर्खरै सरुवा भएका डिपो प्रमुख गोपाल राई सरकारले उत्तरी क्षेत्रको समस्या नबुझेका कारण गाह्रो भएको बताउँछन् । ‘जेठसम्म ढुवानी भैसक्नुपथ्र्यो भएन । त्यहाँ डिपोको भण्डारण क्षमता पनि ५ सय क्विन्टलमात्रै छ,’ उनले भने, ‘डिपोको स्टोरलाई व्यवस्थित गर्ने र समयमा ढुवानीको ठेक्का दिने भने यो समस्या आउँदैन ।’
उनका अनुसार त्यहाँ कम्तीमा २ हजार क्विन्टल अट्ने डिपो बनाइनुपर्छ । ‘महँगो तिरेर खान्छु भन्दा पनि सरकारले मागेजति चामल दिन सक्दैन । ८ सय क्विन्टल अट्ने डिपो हो, ५ सयभन्दा भण्डारण गर्न सकिंदैन,’ उनले भने, ‘डिपोबाट ४/५ दिन लगाएर चामल लिन आउँछन् । खच्चडवालाले उस्तै महँगो भन्छ । वास्तवमै त्यहाँका नागरिकको व्यथा साह्रो छ ।’ सहरमा १२ सय रुपैयाँ हाराहारी पर्ने सोना मनसुली चामलको मूल्य सिर्दिवाससम्म पुग्दा २ हजार २ सयभन्दा बढी पर्छ । त्यहाँबाट पनि थप ढुवानी गर्दा साम्दो र सामागाउँसम्म अझै महँगो पर्छ ।
पहिरोले बाहिरका मान्छे गाउँ फर्किन पनि सकेका छैनन् । चुमभ्याली आउजाउ गर्न पर्यटकलाई समस्या परेको गाउँपालिका अध्यक्ष निमा लामाले बताए । गत वर्ष पनि यहीं पहिरोका कारण हेलिकोप्टरबाट सामग्री ढुवानी गर्नुपरेको थियो । अहिले पनि स्थानीय हेलिकोप्टरबाट ढुवानी हुने आशमा छन् ।
Related News
सम्बन्धित समाचार
पाण्डे सरकारले नियम मिचेर बहुवर्षे योजना थपेको मुख्यमन्त्रीको आरोप
भ्रष्टाचार नियन्त्रणमा सार्थक प्रयास भएन : धनराज गुरुङ
गण्डकीको संसद बैठक २३ गते ३ बजे बस्ने, मुख्यमन्त्री अधिकारी विश्वासको मत लिँदै
मुख्यमन्त्री अधिकारीले २३ गते विश्वासको मत लिने, राप्रपा विपक्षमै
राप्रपाले साथ नदिने भएपछि अधिकारी सरकार संकटमा, अब के होला ?
hero news full width
मुख्य समाचार
लाटोकोसेरो संरक्षक राजु आचार्यलाई बेलायतमा अवार्ड
पाेखरामा कालो धुँवा फाल्ने गाडीका चालक कारवाहीमा
वैशाख २०, २०८१मजदुरलाई छैन मजदुर दिवस रौनक
वैशाख २०, २०८१गण्डकीमा संविधान भर्सेज सर्वोच्च
वैशाख २०, २०८१पोखराको अमरसिंहको बिजुली पसलमा आगलागी, १ करोडको क्षति
वैशाख २०, २०८१गण्डकी प्रदेशमा सत्ता राजनीति : प्रदेश सभा सदस्य ६०, बहुमत ३० ले पुग्ने !
वैशाख १९, २०८१