मुनाल सहकारीको १४ औं वार्षिक साधारणसभा, निवर्तमान अध्यक्ष हुमागाई सम्मानित

आदर्श समाज सम्वाददाता
असाेज १२, २०७९
munal agm pic 1

पोखरा, १२ असोज । मुनाल बचत तथा ऋण सहकारी संस्थाको १४ औं वार्षिक साधारण सभा मंगलबार सम्पन्न भयो । गण्डकी प्रदेश भूमि व्यवस्था, कृषि, सहकारी तथा गरिबी निवारण मन्त्री चन्द्रबहादुर बुढाले सभा उद्घाटन गर्दै संघीय तथा प्रदेश सरकारले ल्याएको सहकारीसम्बन्धी नीति, विनियम र नियमावली अनुसार सहकारी चल्नुपर्ने बताए । उनले सरकारले पनि सहकारी सञ्चालनमा सहज बनाउनुपर्नेमा जोड दिए । मन्त्री बुढाले अहिलेको बजारको अवस्था मध्यनजर गर्दै सहकारीहरूले आफ्ना शेयर सदस्यहरूलाई आयआर्जनका कार्यक्रमहरूमा आकर्षित गर्नुपर्ने भनाइ राखेका थिए ।

सो अवसरमा संस्थाका निवर्तमान अध्यक्ष दुर्गाप्रसाद हुमागाईंलार्ई वर्षभरि उत्कृष्ट वित्तीय कारोबार गरेबापत संस्थाको तर्फबाट सम्मान गरिएको छ । सम्मानित हुमागाई सफल मिडिया हाउस प्रालिका अध्यक्ष तथा कार्यकारी निर्देशक पनि हुन् ।

त्यस्तै शेयर सदस्य कमल पाइजालाई उत्कृष्ट कर्जा उपभोगकर्ता र ऋतेश जिसीलाई उत्कृष्ट कर्मचारीको रुपमा सम्मान गरिएको संस्थाका अध्यक्ष मगनलाल श्रेष्ठले बताए ।

कार्यक्रममा गण्डकी प्रदेश प्रमुखको कार्यालयका प्रवक्ता चण्डीप्रसाद अर्याल, गण्डकी प्रदेशका भूमि व्यवस्था, कृषि, सहकारी तथा गरिबी निवारण मन्त्रालयका योजना तथा अनुगमन महाशाखाका प्रमुख तथा प्रवक्ता डा. गृष्म नेउपाने, पोखरा फाइनान्स लि. का प्रमुख कार्यकारी अधिकृत रविचन्द्र गुरूङ, नेपाल पत्रकार महासंघ, कास्कीका पूर्व अध्यक्ष दीपेन्द्र श्रेष्ठ, सहकारीका निवर्तमान अध्यक्ष दुर्गाप्रसाद हुमागाईं, संस्थाका पूर्वअध्यक्ष तथा सल्लाहकार मेघनाथ काफ्ले, पृथ्वी बहुउद्देश्यीय सहकारी संस्था लि. का अध्यक्ष किरणप्रसाद बन्जारा लगायतले सहकारीको बारेमा बोलेका थिए ।

सहकारी अध्यक्ष मगनलाल श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष डा. विष्णुप्रसाद चापागाईंले स्वागत, सदस्य डिलकुमारी पौडेलले सहकारीका सात सिद्धान्त वाचन गरेका थिए । कार्यक्रमको सञ्चालन संस्थाका सचिव नारायणबहादुर थापाले गरेका थिए ।
कार्यक्रममा कोषाध्यक्ष रमेशकुमार पौडेलले संस्थाको हालको शेयर पुँजी ५ करोड ३९ लाख ७६ हजार, निक्षेप १५ करोड ८९ लाख ८ हजार र शेयर सदस्यमा लगानी १८ करोड ८९ लाख ५३ हजार ८ सय रुपैयाँ रहेको जानकारी गराए । लेखा समिति संयोजक रोशनजंग कार्कीले लेखा समितिको प्रतिवेदन प्रस्तुत गरेका थिए ।

Related News

सम्बन्धित समाचार

hero news full width

Recent Posts

भर्खरै