‘नवौं राष्ट्रिय खेलको मिति परिवर्तन हुँदैन’

आदर्श समाज सम्वाददाता
श्रावण २४, २०७९
Sports Photo

पोखरा । राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य सचिव टंकलाल घिसिङले पोखरामा आयोजना हुने नवौं राष्ट्रिय खेलकुद निर्धारित मितिमै हुने बताएका छन् । ३९ वर्षपछि पोखरामा हुने प्रतियोगिता आगामी असोज २८ देखि कात्तिक ३ सम्म तोकिएको छ ।

नवौं खेलकुदको मिति धेरै पटक तोकिए पनि हुन नसकेको अवस्थामा अहिलेको मिति कुनै हालतमा नसर्ने उनको जिकिर थियो । नेपाल खेलकुद पत्रकार मञ्च गगण्डकीले सोमबार आयोजना गरेको पत्रकार सम्मेलनमा राखेप सदस्य सचिव घिसिङले निर्वाचनको मिति तोकिएसँगै धेरैले फेरि मिति परिवर्तन हुने शंका गरेकामा मन्त्रिपरिषद्बाट तोकिएको मिति अब नसर्ने बताएका हुन् ।

आमनिर्वाचन प्रतियोगिता प्रभाव नपार्ने गरी निर्वाचन तालिका निकाल्न निर्वाचन आयोगलाई राखेपबाट परिपत्र गरिएको घिसिङले बताए । ‘सरकारले मंसिर ४ गते निर्वाचनको मिति घोषणा गरेको छ, नोमिनेसन दर्ता कार्यक्रम १ महिना अगाडिजसो हुन्छ । निर्वाचनले नोमिनेसनका कार्यक्रम नवौं खेलकुदसँग नजुध्ने गरी मिति तोक्न परिपत्र गरेका छौं,’ उनले भने ।

प्रतियोतिगाका लागि कार्यकारिणी समिति, अनुगमन समितिसँगै १४ उपसमिति गठन गरेर तयारी सुरु भइसकेको उनले जानकारी दिए । समितिले बैठक बसेर आफ्ना काम सुरु गरिसकेको उनले जनाए । प्रतियोगितामा ३६ खेलमा ४ सय ७ इभेन्ट समावेश गरिएको छ । पुरुषतर्फ २ सय २० र महिलातर्फ १ सय ८७ इभेन्ट हुने छन् । प्रत्येक इभेन्टमा ४ भन्दा कम टिम प्रतिस्पर्धी भएमा सो इभेन्ट प्रतियोगिताको रुपमा सञ्चालन नगरिने सदस्य सचिव घिसिङले बताए । हरेक खेलमा स्वर्ण जित्ने खेलाडीलाई २५ हजार र टिम इभेन्टमा स्वर्ण पदक जित्ने खेलाडीले १५ हजार प्राप्त गर्ने छन् । खेलकुदमा राष्ट्रिय रेकर्ड भंग गरी नयाँ रेकर्ड बनाउने खेलाडीलाई जनही ५० हजार प्रदान गरिनेछ । प्रतियोगिताको च्याम्पियनलाई १० लाख रुपैयाँको आकर्षक ट्रफी प्रदान गरिने उनले बताए । उक्त ट्रफी ३ विभागीय टिम र सबै प्रदेश भ्रमण गराई अन्तिम प्रतियोगिताका लागि गण्डकी प्रदेश ल्याउने उनको भनाइ छ ।

प्रदेश तथा विभागीय टिमले आगामी भदौ १५ गतेसम्म खेलाडीको संख्या र २५ गतेसम्म नाम दर्ता गराई सक्नुपर्ने हुन्छ । निर्धारित समयमा दर्ता नभएकालाई पुनः परिपत्र गरी कारण बुझ्ने घिसिङले सुनाए । प्रतियोगितामा २ खेलको प्रर्दशनीसमेत हुनेछ । ७ प्रदेशसहित ३ विभागीय टिम र एनआरएनए गरी ११ टिमले प्रतियोगितामा सहभागिता जनाउनेछन् । प्रत्येक टिमबाट ३ सय ३९ महिला र ३ सय ६९ पुरुष खेलाडीको कोटा निर्धारण गरिएको छ ।

नेपालमा आठौं राष्ट्रिय खेलकुद समापनमा नवौं संस्करण २०७७ फागुन २१ देखि २७ सम्म गण्डकी प्रदेशमा हुने जानकारी दिइएको थियो । प्रतियोगिताका खेल गण्डकीका सबै जिल्लामा हुने छन् । प्रदेश खेलकुद परिषद् गण्डकी प्रदेशले प्रत्येक जिल्लामा कम्तिमा १ खेल गर्ने गरी प्रस्ताव राष्ट्रिय खेलकुद परिषदलाई प्रस्ताव पठाएको छ । राखेपले खेलमैदानको निरीक्षण गरी कहाँ कुन खेल गराउने निर्णय गर्नेछ ।

सदस्य सचिव घिसिङले खेलबाट पोखराको सामीप्यता र सहकार्य अत्यन्तै बलियो हुने बताए । केहीले गण्डकीको अपनत्व नभएको गुनासो गरे पनि खेल गण्डकीमा आयोजना हुने भएकाले सबैलाई कुनै न कुनै भूमिका दिने गरी आफूहरु अघि बढेको उनले आश्वासन दिए ।

प्रदेश खेलकुद परिषद गण्डकीका सदस्य सचिव तेजबहादुर गुरुङले प्रतियोगिता सफल पार्नु प्रदेशवासीको पनि दायित्व भएको बताए । उनले गण्डकीले कसरी धेरै पदक जित्ने र यहाँको भौतिक पूर्वाधारसहित हरेक जिल्लाको अपनत्व हुने गरी तयारी भइरहेको बताए । खेलकुद पत्रकार मञ्च गण्डकी अध्यक्ष दीननाथ बरालको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष सुरज श्रेष्ठ र महासचिव राजाराम पौडेलले पनि बोलेका थिए ।

Related News

सम्बन्धित समाचार

hero news full width