समाचारमा मानवअधिकार ख्याल गर्न सुझाव

आदर्श समाज सम्वाददाता
असार १६, २०७९
Human Rightss

पोखरा । समाचार रिपोर्टिङ तथा सम्प्रेषणक्रममा मानवाधिकारको विषयलाई ख्याल गर्न अधिकारकर्मीले पत्रकारलाई सजग गराएका छन् । कुनै पनि घटना वा परिस्थितिको रिपोर्टिङ र यससम्बन्धी समाचार सम्प्रेषणक्रममा मिडियामार्फत् कतिपय अवस्थामा पीडितको गोपनीयता समेत हनन हुने गरेको विषय सो अवसरमा स्मरण गराइएको थियो ।

क्रियाशील पत्रकार महिला (डब्लुडब्लुजे) ले बुधबार पोखरामा आयोजना गरेको मानवअधिकार प्रवद्र्धनमा पत्रकारको भूमिका विषयक अन्तक्र्रियामा बोल्ने वक्ताले मानवाअधिकारको संरक्षणमा पत्रकारको अहम् भूमिका हुने विषयमा चर्चा गरेका थिए ।

नेपाल पत्रकार महासंघ, कानुन विभागको समन्वयमा भएको कार्यक्रमलाई गण्डकी प्रदेशको कानुन, सञ्चार तथा प्रदेशसभा मामिला मन्त्रालयले सहयोग गरेको थियो । आयोजक संस्थाकी अध्यक्ष एवं महासंघको कानुन विभाग प्रमुख सरिता तिम्सिना पगेनीले मानवअधिकार संरक्षण र प्रवद्र्धनमा पत्रकारलाई थप जिम्मेवार बनाउन कार्यक्रम आयोजना गरिएको जानकारी दिइन् ।

प्रमुख वक्ताको रुपमा बोल्दै गण्डकी प्रदेश कानुन, संचार तथा प्रदेश मामिला मन्त्री विन्दुकुमार थापाले नेपालको संविधानले मानवअधिकारको विषयलाई स्पष्ट रुपमा उल्लेख गरेको भन्दै गण्डकी प्रदेशमा समेत कानुन बनाउने क्रममा संविधानसँग नबाझिने गरी बनाइएको बताए । हालसम्म ५४ वटा ऐनहरु बनाइएको र केही कानुन कार्यान्वयनमा समस्या देखिएको भन्दै उनले तिनलाई समयसापेक्ष संशोधन गर्ने तयारीमा सरकार रहेको बताए । सूचनाको हकसम्बन्धी विधेयक संसदमा टेवल भइसकेको स्मरण गराउँदै मन्त्री थापाले यो अहिले विधायन समितिमा छलफलको क्रममा रहेको जानकारी दिए । मानवअधिकार हनन हुन नदिन र भएमा न्युनीकरण गर्न तथा उपचार दिलाउने मामिलामा प्रहरी, प्रशासन, मानवअधिकारकर्मीे र पत्रकारको भूमिका महत्वपूर्ण हुने विचार उनले राखे । मानवअधिकार कार्यान्वयन गर्ने र ऐन कानुन बनाउने सवालमा सरकार प्रतिबद्ध रहेको पनि उनले बताए ।

गण्डकीमा हलासम्म ५४ ऐनहरु बनाइएको कानुन मन्त्रीको भनाइ

कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी शिवप्रसाद रिजालले मानवअधिकार संरक्षणमा राज्यकै भूमिका मुख्य हुने भन्दै सरोकारवाला पनि यस विषयमा उत्तिकै गम्भीर भएर अगाडि बढ्नुपर्ने भनाइ राखे ।

जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी नायव उपरीक्षक (डिएसपी) सुन्दर तिवारीले नेपालमा हुने आत्महत्यामध्ये ९५ प्रतिशत घटना मन र चित्त दुखेर हुने गरेको बताउँदै संसारमा प्रतिवर्ष ८ लाखले आत्महत्या गर्ने गरेको तथ्यांक सुनाए ।

पीडितको गोपनीयता र उसको मानवाधिकारी संरक्षणको मामलामा सम्बन्धित सबै जिम्मेवार भएर अगाडि बढ्नुपर्ने भनाइ राखे । अग्रज पत्रकार नारायण कार्कीले पत्रकारिता र सामाजिक सञ्जाजबीच प्रष्ट विभेद हुनुपर्ने, सञ्जालमा लेखिने विषय र पत्रकारिता छुट्टिनुपर्ने तथा सोहीअनुसारको कानुन समेत बन्नुपर्ने सुझाव राखे । मानवअधिकार संरक्षणमा पत्रकारको सबैभन्दा ठूलो भूमिका हुने भनाइ पनि उनले राखे । नेपाल पत्रकार महासंघ गण्डकी महासचिव गोविन्द सुवेदीले पत्रकारिता क्षेत्रमा महिला सहभागिता बढाउन सके मानवाधिकारको संरक्षणमा थप टेवा पुग्ने बताए ।

कार्यक्रममा हुर्जा गण्डकी अध्यक्ष असफल गौतमले पत्रकार लगायत सबैले पहिला आफू राम्रो बनेर समाज राम्रो बनाउन अग्रसर हुनुपर्ने बताए । डेमोक्रेटिक लयर्स एसोसिएसन कास्कीका अध्यक्ष कपिलमणि दाहालले मानवअधिकार र पत्रकारिताबीच फरक छुट्याउन गाह्रो हुने भन्दै संविधानमा नै पूर्ण प्रेस स्वतन्त्रता र मानवअधिकारको विषय समेटिएको स्मरण गराए । महासंघको कास्की शाखाका कावा अध्यक्ष रामप्रसाद तिमिल्सेनाले पुरुष पत्रकारभन्दा पत्रकार महिलासँग रिपोर्टिङको क्रममा पीडित महिला बढी खुलेर कुरा गर्न सक्ने बताउँदै पीडितका कुरा सामाजिक सञ्जालमा अनावश्यकरुपमा बाहिरिंदा समस्या पर्ने गरेको सुनाए । महिला मानवअधिकार रक्षक सञ्जाल कास्की अध्यक्ष इन्द शर्माले पीडितको गोपनीयतामा पत्रकार थप संवेदनशील हुनुपर्ने भनाइ राखिन् ।

डब्लुडब्लुजे केन्द्रीय सदस्य दुर्गा अधिकारीले वास्तविक मिडियाभन्दा पनि सामाजिक सञ्जालमार्फत् बढी मात्रामा पीडितको गोपनीयता हनन हुने गरेको भन्दै यस विषयमा सम्बन्धित सबै सजग बन्नुपर्ने बताइन् । सोही संस्थाकी उपाध्यक्ष रविना आलेले उपस्थित सबैलाई स्वागत गरेकी थिइन् भने कार्यक्रम संचालन महासंघको कानुन विभागका सदस्य आरजु विष्ट सल्यानीले गरेका थिए । कार्यक्रममा राष्ट्रिय मानवअधिकार आयोग गण्डकीका अधिकृत टंक खनालले पनि प्रस्तुति राखेका थिए ।

Related News

सम्बन्धित समाचार

hero news full width

Recent Posts

भर्खरै