डा. अधिकारीलाई पीताम्बर विष्णु–राज्य वाङ्मय सम्मान

आदर्श समाज सम्वाददाता
जेठ १५, २०७९
pitambar

पोखरा । साहित्यकार डा. नारायणप्रसाद अधिकारी पीताम्बर विष्णु–राज्य वाङ्मय पुरस्कारबाट सम्मानित भएका छन् । पीताम्बर विष्णु–राज्य प्रतिष्ठान पोखराद्वारा शनिबार आयोजित समारोहमा प्रमुख अतिथि पोखरा विश्वविद्यालयका कुलपति प्राडा गणेशमान गुरुङले डा. अधिकारीलाई सम्मानपत्र प्रदान गरे ।

पुरस्कारको राशी २५ हजार रुपैयाँ रहेको छ । यसअघि उक्त पुरस्कारबाट स्याङ्जाकै साहित्यकार महेश्वर शर्मा सम्मानित भएका थिए ।

कार्यक्रममा प्राडा गुरुङले पुरस्कारले प्रतिभालाई ऊर्जा दिने काम गरेको बताए । प्राडा गुरुङले अध्ययनशीललाई आरक्षण नचाहिने उल्लेख गर्दै ब्राह्मणहरु अध्ययनशील भएकै कारण सजिलै लोकसेवा पास हुने गरेको धारणा राखे ।

आँधीखोलाबाट शैक्षिक विकासको नेतृत्व गर्नेमा पीताम्बर नेपाली पनि भएको चर्चा गर्दै उनले नेपालीको नाममा प्रतिष्ठान गठन हुनु त्यही सकारात्मक कामको फल भएको बताए ।

सम्मानित प्रतिभा प्राडा. अधिकारीले राजधानी बाहिरका भुइँमान्छेले पुरस्कार पाउन गार्‍हो हुने बताउँदै आफूलाई सौभाग्य मिलेको उल्लेख गरे । साथै उनले बाबुआमाको सेवा गरेर पितृ ऋण र सामाजिक सेवा गरेर देवऋण तिर्नु प्रत्येक मानिसको कर्तव्य रहेको बताए ।

शिक्षाविद् जर्जजोनले पीताम्बर पृथ्वीनारायण कलेजका प्रारम्भिक कालका मेधावी विद्यार्थी भएको स्मरण गरे । प्राडा रविलाल अधिकारीले प्रतिष्ठानका गतिविधिले सबैलाई खुसी तुल्याएको बताए ।

समारोहको अध्यक्षको आसनबाट प्रतिष्ठानका अध्यक्ष प्राडा दिलबहादुर क्षत्रीले पीताम्बर सबैका प्रेरणादायी शालीन व्यक्तित्व भएको उल्लेख गरे ।

कार्यक्रममा प्रतिष्ठानका प्रमुख संरक्षक पृथ्वीराज शर्माले प्रतिष्ठानको परिचय, सदस्य प्राडा सरस्वती शर्माले स्वागत र उपाध्यक्ष प्राडा ज्ञानबहादुर कार्कीले प्रतिभा परिचय प्रस्तुत गरेका थिए । कार्यक्रमको सञ्चालन सचिव नवराज पौडेल र सदस्य त्रिभुवन शर्माले धन्यवाद ज्ञापन गरेका थिए ।

Related News

सम्बन्धित समाचार

hero news full width

Recent Posts

भर्खरै