पोखरा १३ मा स्कुल टु वर्क

आदर्श समाज सम्वाददाता
जेठ १२, २०७९
kiran

पोखरा १३ का जनप्रतिनिधि

पोखरा । पोखरा महानगरपालिका वडा १३ मा बिहीबार पदभार ग्रहण गरेका वडाध्यक्ष किरण बरालले सामुदायिक विद्यालयमा ‘स्कुल टु वर्क’ कार्यक्रम सुरुवात गर्ने निर्णय गरेका छन् ।
‘यस वडाभित्रका माध्यमिक विद्यालयहरुमा ‘स्कुल टु वर्क’ कार्यक्रम सञ्चालन गरी विद्यालयको शिक्षालाई सीप विकास र कामसँग जोडेर शैक्षिक गुणस्तर विकास गर्ने निर्णय गरियो,’ नवनिर्वाचित वडाध्यक्ष बरालले भने ।

सामुदायिक विद्यालयमा अध्ययन गर्ने विद्यार्थीलाई फिल्डमै लगेर सम्बन्धित विषयवस्तुबारे जानकारी दिनकै लागि यो कार्यक्रम सुरु गर्न लागिएको उनले प्रष्ट पारे । ‘फिल्डमा नै लगेर सम्बन्धित विषयबारे जानकारी दिंदा उनीहरुले व्यावहारिक रुपमा पनि बुझ्न सक्छन् र शिक्षामा सुधार हुन सक्छ । त्यसकारण यो निर्णय गरेका हौं,’ उनले बताए ।

हरेक घरमा कागतीको बिरुवा वितरण गर्ने निर्णय पनि पोखरा १३ ले गरेको छ । ‘यस वडा १३ मा बसोबास गर्ने सम्पूर्ण घरपरिवारलाई कृषिमा आत्मनिर्भर हुने कार्यको थालनी गर्न र वातावरण स्वच्छ बनाउन ‘एक घर, एक कागतीको बिरुवा वितरण’ गर्ने कार्यक्रम सञ्चालन गर्ने निर्णय गरियो,’ निर्णयबारे जानकारी दिंदै उनले भने ।

यसले वातावरण स्वच्छ हुने र वडावासीले उपभोग पनि गर्न पाउने हुँदा यो अभियान थालनी गरिएको उनले बताए । वडावासीलाई कागतीको बिरुवा वडाले नै उपलब्ध गराउनेछ।

Related News

सम्बन्धित समाचार

hero news full width