सांसदको सुविधा समाजसेवामा

आदर्श समाज सम्वाददाता
माघ १३, २०७८
prakash chandra

पोखरा । गण्डकी प्रदेश सभा सदस्य प्रकाशचन्द्र दवाडीले सबै सरकारी सुविधा समाजसेवामा लगाएका छन् । उनले वर्षभरिमा गरेको सहयोगबारे एक कार्यक्रम गरी संचारकर्मीलाई जानकारी गराएका हुन् । १ वर्षमा सरकारबाट ७ लाख ८२ हजार ३ सय ६२ रुपैयाँ तलबभत्ता पाएकोमा उनले १३ लाख ६३ हजार ८ सय रुपैयाँ सहयोग गरेको बताएका छन् ।
सुविधाभन्दा ५ लाख ८१ हजार ४ सय बढी सहयोग गरेको उनले बताए । कोरोना भाइरसले लकडाउन भएपछि आफूले स्थानीयको जीवनरक्षाका लागि सहयोग गरेको दवाडीले बताए । ‘कोरोना भाइरसका कारण जनजीवन अस्तव्यस्त भयो । यो वर्ष कोभिड नियन्त्रणमा मेरो उपस्थिति रह्यो । आफैले औषधी किनेर स्वास्थ्यचौकीलाई वितरण गर्नेदेखि लकडाउनका बेला वृद्धवृद्धालाई आवश्यक पर्ने औषधी बोकेर म घरघरै पुगें,’ उनले भने, ‘विभिन्न बिरामीको उपचारमा अस्पतालमै पुगेर पनि सहयोग गरें । औषधी र उपकरण किनेर स्वास्थ्य चौकीमा दिएँ । दीर्घरोगीलाई औषधी वितरण गरें ।’

प्राप्त सुविधामा ५ लाख ८१ हजार थपेर १३ लाख ६३ हजार सहयोग

शिक्षा, खेलकुद, भवन निर्माण, बाटो र छात्रवृत्ति लगायतका क्षेत्रमा उनले सहयोग गरेको बताए । राजनीतिलाई समाजसेवाका रुपमा प्रयोग गर्नुपर्ने उनको भनाइ छ । ‘राजनीति समाजसेवा हो । सक्नेले नसक्नेलाई सहयोग गर्नुपर्छ,’ उनी भन्छन्, ‘साना–साना काममा सरकारको नजर पुग्दैन । सरकारले सहयोग गरोस् भनेर कुरिरहनु पनि भएन । सकेको सहयोग गरें ।’ राज्यलाई कमजोर बनाएर चर्चाका लागि आफूले सहयोग नगरेको उनले सुनाए ।
फरक प्रसंगमा दवाडीले राजनीतिक रुपमा देश संकटपूर्ण अवस्थामा रहेको बताए । ‘देश अहिले संकटपूर्ण अवस्थामा छ, तपाईंहरुले बुझिरहनुभएको छ । राजनीति, नागरिकको स्वास्थ्य र प्राकृतिक विपत्तिका कारण देशमाथि जोखिम दिनानुदिन बढिरहेकै छ,’ उनले थपे, ‘यस्तो अवस्थामा सरकारलाई सचेत नागरिकको सहयोग झनै धेरै आवश्यक छ । संविधानको कार्यान्वयन स्वरुप अहिले गठबन्धनको सरकार बनेको छ । अप्ठ्यारो परिस्थितिबाटै भए पनि राज्य र नागरिकप्रतिको न्युनतम जिम्मेवारी सरकारले पूरा गरोस् ।’
कोरोनाकालमा गरिब वर्ग बढी जोखिममा परेका भन्दै उनीहरुका लागि राज्यले खर्च गर्नुपर्ने दवाडीको सुझाव छ । सरकारको कामबाट नागरिक सन्तुष्ट नभएको पनि उनको टिप्पणी छ । ‘कठिन परिस्थितिबाटै काम भइरहेको छ तर अपेक्षाकृत छैन । जनताको न्युनतम दायित्वबाट राज्य अलि पछाडि छ,’ उनले सुनाए । सबैखाले निर्वाचन समयमै हुनुपर्ने दवाडीले बताएका छन् ।
नेपाली कांग्रेस गण्डकी संसदीय दल प्रवक्तासमेत रहेका उनले गठबन्धन तोडेरै भए पनि संविधानले तोकेको मितिमा निर्वाचन गर्नुपर्नेमा जोड दिए ।

Related News

सम्बन्धित समाचार

hero news full width