वेदव्यास ज्येष्ठ नागरिक आश्रम सम्मानित

आदर्श समाज सम्वाददाता
माघ ८, २०७८
prize

पोखरा । तनहुँको दमौलीस्थित वेदव्यास ज्येष्ठ नागरिक आश्रम ‘आमा सेतुलीमाया शाक्य स्मृति वृत्ति–२०७८’ बाट सम्मानित भएको छ ।
सिद्धि सेतुली स्मृति प्रतिष्ठान, पोखराबाट सञ्चालित उक्त स्मृति वृत्तिको राशि १ लाख रुपैयाँ रहेको छ । प्रतिष्ठानका ज्येष्ठ सदस्य तथा पूर्व अध्यक्ष भूपनिधि पन्त र प्रतिष्ठान अध्यक्ष कृष्णप्रसाद बास्तोलाले नगद १ लाख, सम्मानपत्रसहित दोसल्ला ओढाएर सम्मान गरेका थिए ।
यसैगरी, आमा सेतुलीमाया शाक्यको परिवारका तर्फबाट कान्छी बुहारी बुलु शाक्यले ‘वेदव्यास ज्येष्ठ नागरिक आश्रम’ लाई थप १ लाख रुपैयाँको चेक हस्तान्तरण गरेकी थिइन् ।
सोही समारोहमा संस्थामा स्थापनाकालदेखि कोषाध्यक्षमा रहेर १५ वर्षभन्दा बढी सेवा प्रदान गरेका गोविन्द ताम्राकारलाई सम्मान गरिएको थियो । साथै संस्थापक अध्यक्ष विश्व शाक्यको ‘अन्तर्मनका सम्झनाहरु’ नामक पुस्तक प्रमुख आमन्त्रित व्यक्तित्व अग्रज पत्रकार भूपनिधि पन्तबाट लोकार्पण भयो ।
त्यस अवसरमा पन्तले आफूले सुरुमा फोटोग्राफरको रुपमा मात्र चिनेको विश्व शाक्यलाई बहुआयामिक व्यक्तित्वको रुपमा पाएको उल्लेख गरे । साथै उनले सिद्धि सेतुली स्मृति प्रष्तिष्ठानले राज्यको पनि ध्यान पुगका क्रियाशील संस्थाहरुलाई सम्मान गर्दै आएको बताए ।

विश्व शाक्यको विमोचित ‘अन्तर्मनका सम्झनाहरु’ पुस्तकमा विभिन्न स्रष्टाबारे संस्मरण उल्लेख छ

वेदव्यास ज्येष्ठ नागरिक आश्रमका अध्यक्ष सावित्री श्रेष्ठले महिलाहरुले चलाएको संस्था भनेर उपेक्षित भइरहेकोमा पोखराबाट ‘आमा सेतुलीमाया स्मृति वृत्ति तथा सम्मान’ पाउँदा धेरै खुसी लागेको बताइन् ।
सम्मानित कोषाध्यक्ष गोविन्द ताम्राकारले संस्थामा वर्षमा एकैचोटी हिसाब गर्न खोज्दा दुर्घटना निम्तिन सक्ने बताउँदै दैनिक अभिलेख हुनुपर्नेमा जोड दिए । साथै उनले आफ्नै संस्थाबाट सम्मान पाउँदा ठूलो हौसला मिलेको बताए ।
संस्थाका संरक्षक विश्व शाक्यले ‘अन्तर्मनका सम्झनाहरु’ भित्र पोखराका ९ र पोखरा बाहिरका ९ जना स्रष्टाका बारेमा संस्मरण रहेको उल्लेख गरे ।
नेपाल पत्रकार महासंघ कास्कीका निवर्तमान अध्यक्ष दीपेन्द्र श्रेष्ठले प्रतिष्ठान कोषाध्यक्ष गोविन्द ताम्राकारले निर्वाह गरेको पदीय दायित्वको चर्चा गरेका थिए ।
समारोहमा संस्थाका निवर्तमान अध्यक्ष नरेन्द्र लालचनले प्रतिष्ठानको नयाँ कार्य समितिका पदाधिकारीलाई पदस्थापन गराएका थिए । प्रतिष्ठान अध्यक्ष कृष्णप्रसाद बास्तोलाको अध्यक्षतामा भएको उक्त कार्यक्रममा उपाध्यक्ष हनिफ मियाँले स्वागत र सचिव इन्द्रकमल मानन्धरले संचालन गरेका थिए ।
संस्थाका सदस्य तथा प्रतिभा चयन समिति संयोजक प्रमिला तझ्याले सम्मानित संस्थाबारे परिचय प्रस्तुत गरेकी थिइन् ।

Related News

सम्बन्धित समाचार

hero news full width