च्याम्चेको तारेभिर रक क्लाईम्बिङका लागि नेपालकै गन्तव्य बन्ने तयारीमा

आदर्श समाज सम्वाददाता
पौष १, २०७८
Rak Chyamches

लमजुङ । लमजुङको च्याम्चेको तारेभिर रक क्लाईम्बिङ साहसिक खेलमा नेपालकै गन्तव्य बन्ने सम्भावना रहेको सम्बद्ध विज्ञहरूले औंल्याएका छन् । लमजुङको उत्तरी क्षेत्रमा रहेको मस्र्याङदी गाउँपालिका– ४ को च्याम्चे स्थित तारेभिरमा रक क्लाईम्बिङको सम्भाव्यता अध्ययनका लागि आएको टोलीले त्यस्तो बताएको हो ।
मस्र्याङदी गाउँपालिकाको पहलमा साहसिक खेलका लागि गण्डकी अल्पाइन क्लब, पोखराले विगत तीन वर्षदेखि अध्ययन गर्दै आएको क्लबका अध्यक्ष नरेन ठकुरीले बताए । उनका अनुसार साहसिक खेलको माध्यमबाट उक्त क्षेत्रको पर्यटन प्रवद्र्धन गर्न सकिने व्यापक सम्भावना छ । हामीलेि यो क्षेत्रमा तीन वर्ष अघि देखिनै अध्ययनको काम थालेको हो तर कोरोनाको कारणले रोकिएको गतिलाई फेरि तिब्रता दिने क्रममा यो कार्यक्रम गरिएको हो । उनले भने, ‘यो ठाउँ रक क्लाईम्बिङका लागि नेपालकै उत्कृष्ट ठाउँ बन्न सक्ने सम्भावना देखेका छौं ।’
मस्र्याङदी गाउँपालिकाको सहयोगमा गाउँपालिका अध्यक्ष अर्जुन गुरुङले व्यवसायिक क्लाईम्बिङका साथ यस क्षेत्रमा आन्तरिक र बाह्य पर्यटकका लागि गन्तव्य स्थल बनाउने उद्देश्यका साथ अध्ययन तथा निरीक्षण गरिएको बताए । उनका अनुसार यो क्षेत्र अन्नपूर्ण चक्रीय पदमार्गमा समेत पर्ने भएको हुँदा उक्त तारेभिरमा रक क्लाईम्बिङ ट्रेनिङ सेन्टर स्थापना गर्न डिपिआरको तयारीमा गाउँपालिका रहेको छ । उनले भने, ‘गाउँपालिकाले अब छिट्टै योजना बनाएर व्यवस्थित रुपमा काम अघि बढाउने भएको छ, आजको अध्ययन त्यसैको एक कडी हो ।’ यसको डिपिआर तयार भएपछि प्रदेश र संघ सरकारको समेत सहयोग लिएर यो काम गर्छौं र यस ठाउँलाई रक क्लाईम्बिङको नेपालकै गन्तव्य बनाउँछौं गाउँपालिका अध्यक्ष गुरुङले प्रतिवद्धता व्यक्त गरे ।
रक क्लाईम्बिङका लागि उपयुक्त छ भन्ने पुष्टि भएकाले यसतर्फ स्थानीय पनि जागरुक भएको सोही वडाका अध्यक्ष सुमन गुरुङले बताए । उनका अनुसार यो थलो सासहिक खेलका लागि नेपालको मात्र नभई विश्वकै आकर्षणको केन्द्र बन्न सक्छ भन्ने जानकारी प्राप्त भएको हुँदा हामी वडा र स्थानीयबासीले के गर्नु पर्ने हो ? त्यसका लागि सहयोग गर्न वडाबासी तयार छौं । उनले भने, ‘यस स्थानमा साहसिक खेलको गन्तव्य बनेमा यो वडा र पालिकामात्र नभई जिल्लामै पर्यटकीय गतिविधि बढाउन मद्दत पुग्ने विश्वास जागृत भएको हुँदा यसको व्यापक प्रचारप्रसार गर्ने लगायतका अन्य कामलाई योजनाबद्ध रुपमा गर्ने तयारी गरेका छौं ।’
थोराङ पासका लागि यहाँ आउने क्रममा तीन वर्ष अघि यो स्थान रक क्लाईम्बिङका लागि उपयुक्त हुन्छ भनेर आफ्नो निजी खर्चमा कोरोना शुरु हुनुभन्दा एक महिना अघि एक हप्तासम्म बसेर अध्ययन गरेर गएको अन्तराष्ट्रिय माउण्टेन गाइड विनयदेव मल्लले बताए । उनका अनुसार ‘यो अनौठो र नयाँ खेल भएकाले सबैको ध्यान आकर्षण हुन्छ । उनले भने, ‘यो ठाउँ स्विजरल्याण, युरोपको भियाफराट(ब्ीएक्) हुन सक्ने सम्भावन छ ।’ यो ठाउँमा साहसिक खेलाका लागि साना ठूलो गरेर १५० वटा स्थान बनाउने सक्ने सम्भावना देखिएको छ, यो ठाउँ अन्तराष्ट्रियस्तरको तालिम केन्द्र बन्न सक्छ मल्लले जनाकारी दिए । उनका अनुसार ऐले आफू जस्ता अन्तराष्ट्रिय मान्यता प्राप्त माउन्टेन गाईड नेपालमा मात्र ७२ जना छौं, यही ठाउँका युवाहरूले तालिम लिएर आफूजस्तो हुन सक्ने बताए । उनले थप भने, ‘तपाई कल्पना गर्नुस्, १५० स्थान निर्माण भयो र यहाँ यो खेल चल्न थाल्यो भने यहाँ आउने मान्छेको संख्या त्यसका लागि यस क्षेत्र वरपरको कृषि, पशुपालन होटल व्यवसाय कति फस्टाउँछ होला ? अनि यहीका कति युवाहरू हामी जस्ता गाइड बन्न सक्लान् ?’
सोही गाउँपालिका– ७ मा जन्म थलो भएका गण्डकी अल्पाइन क्लबका सचिव गोविन्द गुरुङले म पनि लाहुरेको सन्तान हुँ तर यो क्षेत्रमा साहसिक खेलको गन्तव्य बनाउन सकेमा यहाँका युवाहरूले भारतीय सैनिक र ब्रिटिश आर्मीको जागिरमा जानु पर्दैन त्यो भन्दा बढी यही कमाउन सक्ने देखिएको बताए । उनका अनुसार यहाँका युवाहरूले यो तालिम लिन जरुरी छ । त्यसो भयो भने बाहिरबाट गाइड ल्याउन पनि जरुरी हुँदैन ।
बेसीशहर– चामे सडक निर्माण भएपछि अन्नपूर्ण चक्रिय पदमार्गमा आउने विदेशी पदयात्री पहिले पहिले २१– २२ दिनका लागि आउने गरेकोमा त्यो छोटिएर ऐले ५– ७ दिनमा झरी सकेको छ । त्यसैले अब एक दिन भने पनि यहाँ आउने पर्यटकलाई के कसरी रोक्न सकिन्छ भन्ने योजनामा आफूहरू रहेको च्याम्चेको छिकेमी गाउँ जगतका निवृत्त शिक्षक समेत रहेका होटल व्यवसायी खुशीराम गुरुङले बताए । उनका अनुसार त्यसका लागि जगतका रहेको तातोपानी कुण्ड, अटोप्लस झरना लगायताका दृश्यहरू सहायक हुन सक्छन् । च्याम्चेको तारेभिरमा साहसिक खेलको गन्तव्य हुने भन्ने सुन्दा आफूहरू उत्साहित भएका छौं उनले थप भने ।

Related News

सम्बन्धित समाचार

hero news full width