‘आकाशगंगाको किनार’ लोकार्पण

आदर्श समाज सम्वाददाता
मंसिर १३, २०७८
aakash ganga

पोखरा । कवि एवं लेखक अजित उत्सवको कविता संग्रह ‘आकाश गंगाको किनार’ पोखरामा लोकार्पण गरिएको छ । नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका पूर्व कुलपति वरिष्ठ साहित्यकार सरुभक्त श्रेष्ठ, प्राज्ञ रमेश श्रेष्ठ र अन्य अतिथिले संयुक्त रुपमा कविता संग्रह लोकार्पण गरेका थिए ।
कविता संग्रह लोकार्पणपछि पूर्व कुलपति श्रेष्ठले कविता लेखनमा युवाहरु जुर्मुराएको देखेर आफूलाई खुसी लागेको बताउँदै यस कविता संग्रहले कवि अजित उत्सवलाई कविको रुपमा साहित्यमा स्थापित गराउने विश्वास व्यक्त गरे । कवि एवं प्राज्ञ रमेश श्रेष्ठले यस संग्रहणीय कृतिको लागि बधाई दिंदै संग्रहभित्रका कविताले आफू प्रभावित भएको बताए ।
पुस्तकको समीक्षा युवा कवि एवं समालोचक सञ्जीव पौडेलले गरेका थिए भने प्राध्यापक परशुराम कोइरालाले कवि अजित उत्सवको जीवनी र व्यक्तित्वमाथि प्रकाश पारेका थिए । कार्यक्रममा लघुकथा समाज प्रदेश नम्बर १ कि अध्यक्ष ममता मृदुल, पोखरेली युवा साहित्यकार दीपक समीप, चर्चित गजलकार आवाज शर्मा, चर्चित कवि शिव त्रिपाठी, पोखरेली युवा सांस्कृतिक परिवारका अध्यक्ष मोति भुजेल, शुभप्रभात साहित्य पुञ्जकी अध्यक्ष मनु शर्मालगायत ४ दर्जन बढी साहित्यकार उपस्थित थिए । युवा कवि रोशन तिमिल्सिनाले बिमोचित कविता संग्रहभित्रको कविता वाचन गरेका थिए ।
सगरमाथा साहित्य प्रतिष्ठान गण्डकी शाखा सचिव कवि लिली अधिकारीले कार्यक्रम सञ्चालन तथा सगरमाथा साहित्य प्रतिष्ठानकी गण्डकी शाखा उपाध्यक्ष छन्दिका त्रिपाठीले स्वागत गरेकी थिइन् ।
बिएन पुस्तक संसार काठमाडौंले प्रकाशनमा ल्याएको कवि अजित उत्सवको यस कविता संग्रहमा जम्मा ५६ वटा कविता संग्रहित छन् । संग्रहको बिक्री मूल्य २ सय ५० रहेको छ । विमोचनसँगै पुस्तक देशभरि वितरण सुरु भएको कवि अजित उत्सवले बताए ।
निकट भविष्यमै एक कथा संग्रह र एक कविता संग्रह प्रकाशन हुन लागेको पनि कवि उत्सवले जानकारी दिए ।

Related News

सम्बन्धित समाचार

hero news full width