‘मातृशिशु मितेरी अस्पताललको सेवा उल्लेखनीय’

आदर्श समाज सम्वाददाता
असाेज २, २०७८
miteri~2

पोखरा । गण्डकी प्रदेश सरकारका कानुन, सञ्चार तथा प्रदेश सभा मामिला मन्त्री विन्दुकुमार थापाले स्वास्थ्यको क्षेत्रमा मातृशिशु अस्पतालको भूमिका उल्लेखनीय रहेको बताएका छन् । पोखरा १६ बाटुलेचौरस्थित मातृशिशु मितेरी अस्पतालको प्रयोगशालाको थप सेवा बिस्तारको उद्घाटन गर्दै मन्त्री थापाले जनतालाई छिटो छरितो स्वास्थ्य सेवा प्रदान गर्ने गरी अस्पतालले गरेका कार्यहरुको प्रंशसा गरे ।
उनले भने, ‘छोटो समयमा मातृशिशु मितेरी अस्पतालले स्वास्थ्यको क्षेत्रमा गरेका कामहरु प्रंशसा गर्न लायक छन् । नयाँ नयाँ प्रविधिको जडान गरी प्रयोगशालामार्फत जनतालाई शीघ्र स्वास्थ्य सेवा दिने लक्ष्य अस्पतालको महत्वपूर्ण छ ।’
मन्त्री थापाले गण्डकी प्रदेशका सांसद कृष्ण थापाको पहलमा निर्माण भएको मातृशिशु मितेरी अस्पताल अहिले आएर प्रदेशकै गौरव अस्पतालको रुपमा रहेको उल्लेख गरे । उनले मातृशिशु मितेरी अस्पताल गण्डकी प्रदेशको मातहत सञ्चालन भइरहेको र थप व्यवस्थित बनाउनुपर्ने जिम्मेवारी पनि सरकारको रहेको बताए ।
मन्त्री थापाले अस्पतालको भौतिक संरचनाको विकाससँगै थप जग्गा प्राप्तिका लागि पहलकदमी गर्ने बताए । ‘जग्गा प्राप्तिका विषयमा पहिले नै कुरा उठेको हो । त्यसको समाधान हालसम्म हुन सकिरहेको छैन । थप भौतिक पूर्वाधार निर्माणसमेत गर्नुपर्ने आवश्यकता देखिन्छ । यसका लागि मेरो पहलकदमी रहनेछ ।’,उनले भने ।
गण्डकी प्रदेश सरकारका सांसद कृष्ण थापाले मातृशिशु मितेरी अस्पतालको निर्माणमा हालसम्म १८ करोड लगानी भएको जानकारी दिए । उनले अब अस्पतालमा १ सय बेडको व्यवस्थापन गर्न तर्फ लाग्नुपर्ने बताए । सांसद थापाले मातृशिशु मितेरी अस्पतालमा नर्सिङ कलेजको स्थापना गरी शिशु र आमाको उपचार सेवामा थप टेवा पुर्‍याउनुपर्ने आवश्यकता औंल्याए ।
अस्पताल व्यवस्थापन समिति अध्यक्ष उषा बरुवालले मातृशिशु मितेरी अस्पतालमा आमा र नवजात शिशुको उपचार गरिने अस्पताल भएको बताउँदै हाल ५५ बेडमार्फत् निशुल्क रुपमा बिरामीको उपचार भइरहेको उल्लेख गरिन् । ‘२० बेडको कोभिड वार्डको व्यवस्थापन गरी निशुल्क उपचार दिइरहेका छौं,’उनले भनिन्,‘अब दन्त रोग सेवासमेत बिस्तार गरिनेछ ।’
कार्यक्रममा पोखरा १६ का अध्यक्ष जीवन आचार्य, वरिष्ठ इन्जिनियर महेन्द्र गोदार र शारदा मोहन काफ्ले लगायत उपस्थित थिए ।

Related News

सम्बन्धित समाचार

hero news full width