पोखरा । बिहेपछि रोजगारीको खोजीमा श्रीमानसँगै १० वर्षअघि पोखरा झरेकी हुन्, चन्द्रा पुनमगर । ३० वर्षीया चन्द्रा दैनिक ज्यालादारीमा काम गर्छिन् । उनका पति श्यामलाल घर्तीमगर (३३) गाडी चलाउँछन् । परिवारमा एक छोरी छन् । जन्मजात अपांगता भएकी छोरीको हेरचाहसँगै अरुको निमेक गर्दै चन्द्राको दिन बित्छ ।
गाडीलाइनमा लागेका पतिको ठेगाना हुँदैन । कहिले पोखरा, कहिले वीरगञ्ज त कहिले सुनौली कुदिँरहन्छन् । काम गर्न गएको बखत चन्द्राले ३/४ सय जति कमाउँछिन् भने श्यामलालको भागमा पर्छ, हजार जति ।
बागलुङको बुर्तिवाङबाट पोखरा आएको मगर दम्पती पोखरा–५, मालेपाटनमा महिनाबारी ५ हजार कोठा भाडा तिरेर बस्दै आएको छ । लकडाउनअघि दैनिक गुजारा ठिकठिकै थियो । तर अहिले कोरोना कहरले नराम्ररी गाँजेको छ । श्यामलालको गाडी ग्यारेजमै थन्किएको छ । काम नपाएपछि उनी अहिले जन्मजातै प्यारालाइसिसबाट थलिएकी छोरीको स्याहार गरेर पत्नीलाई खेतबारी पठाउँछन् ।
मालेपाटनमा बुधबार बिहान बारी गोड्दै गरेको अवस्थामा भेटिइन् चन्द्रा । खासमा यो बारी पार्वती अधिकारीले भाडामा लिएकी हुन् । उनले १० वर्षदेखि ३ रोपनी जग्गा भाडामा लिएर तरकारी खेती गर्छिन् । काममा सँगै थिइन्, पार्वतीकी छोरी सावित्री । उनीहरुको एउटै गुनासो थियो, ‘लकडाउनले मार्नु मार्यो, हातमुख जोर्नै समस्या होला जस्तो छ । कहिले हट्ला यो कोरोना पनि !’
‘लकडाउनले मार्नु मार्यो, हातमुख जोर्नै समस्या होला जस्तो छ ।’
कुराकानीको क्रममा चन्द्राले त आफूले कोरोना पचाएकोसम्म बताइन् । भनिन्, ‘अघिल्लो महिना मलाई रुघाखोकी लाग्यो । हनहनी ज्वरो पनि आयो । पक्कै कोरोना होला भन्ने थियो । तैपनि जचाउन गइनँ । गए कोरोना देखाउँछ । कोठामा छुट्टै बसें । एक सातापछि निको भयो ।’ ‘हामीहरुलाई काम नगरी सुख छैन । एक दिन काम गरिएन भने के खाने ? भन्ने छ । कोरोनाभन्दा पनि भोकमरी पर्ला जस्तो छ,’ चन्द्राले झार पन्छाउँदै गुनासो पोखिन् ।
यत्तिकैमा पार्वतीले थपिन्, ‘तरकारी खेती गरो गरो, बिक्री हुन्न । उस्तै परे फालेर आउनु पर्छ ।’ तरकारी खेती गर्ने किसानको पनि चन्द्राको जस्तै मिल्दोजुल्दो व्यथा रहेछ । हेमजा झिर्झिकाकी पार्वतीको परिवार मालेपाटनमै कोठाभाडामा लिएर बसेको छ । उनका श्रीमान् मजदुरी गर्दा रहेछन् । कास्की प्रशासनले ठिक १ महिनादेखि जारी राखेको लकडाउनले उनी पनि यतिबेला बेरोजगार रैछन् ।
निषेधाज्ञा अवधिभर कास्की प्रशासनले बिहान ५ देखि ९ बजेसम्म मात्र तरकारी, फलफूलका पसल खोल्ने तथा बिक्री वितरणको अनुमति दिएको छ । छोटो समय भएकोले हतारहतार डोको बोकेर सस्तो बजारमा बिक्री गर्न जानुपर्छ । बिक्री भएन भने त्यसै खेर जान्छ । पार्वतीका अनुसार बुधबार बिहान डोकोमा लगेको भन्टा, सिमी, साग आधामात्र बिक्री भएछ । ‘दिनभरि बेच्न पाउनु र एक छिनमात्र बेच्नु फरक पर्छ,’ उनले बिक्री नहुनेको कारण प्रष्ट पारिन् । पार्वतीले आफूहरुजस्तै ११ जना मिलेर सस्तो बजारमा २ स्टल लिएका छन् । निषेधाज्ञाको बेला अधिकांश घरभित्रै खुम्चिएको बेलामा उनीहरु भने खेतीकिसानीमा व्यस्त देखिन्छन । तैपनि कोरोना कहरसँगै जारी निषेधाज्ञाले तरकारीले बजार नपाएको उनको गुनासो छ ।
कृषि बजार व्यवस्थापन समिति, पोखराका निमित्त बजार व्यवस्थापक महेन्द्रसिंह थापाले बिहान ९ बजे नै बन्द गरिसक्नुपर्ने हुँदा किसानको उत्पादनले बजार पाउन नसकेको स्वीकार्छन् । लकडाउन अघिसम्म कृषि बजारमा दैनिक फलफूल ९० देखि १ सय टन र तरकारी १ सयदेखि १ सय २० टन आउँथ्यो । अहिले भने तरकारी ८० र फलफूल ५० टन जति बिक्री वितरण हुने गरेको छ ।
Related News
सम्बन्धित समाचार
एकातिर खोला, अर्कैतिर पुल
ढुंगाबालुवा चोरी निकासीमा संलग्न ५ गाडी नियन्त्रण
एमाले मुस्ताङको अध्यक्षमा दीपक लालचन
काम चलाउ सरकारद्वारा दोस्रो आवधिक योजनाको आधारपत्र परिमार्जन, पाण्डे सरकारले तय गरेको सोच समेत फेरियो
एचआइभी संक्रमणले पढाइबाट वञ्चित
hero news full width
मुख्य समाचार
उषा र प्रकाश पोखरा साइकल दौड च्याम्पियन
पोखरा सिँगार्न दिनहुँ श्रमदानमा खटिन्छन् सीताराम
जेठ ५, २०८१मुग्लिन–पोखरा सडक पूर्वी खण्डको म्याद थपियो
जेठ ४, २०८१फेवाको मापदण्ड घटाउन सर्वोच्चमा रिट
जेठ ४, २०८१सहकारीका विकृति राजनीतिकर्मीका लागि चुनौती : मुख्यमन्त्री अधिकारी
जेठ ४, २०८१पर्वत र बागलुङका सिडिओ फेरिए
जेठ ४, २०८१