‘नेपाली भाषा विषयको अवमूल्यन नगर’

आदर्श समाज सम्वाददाता
माघ ८, २०७७

पोखरा । नेपाली भाषा शिक्षक परिषद् कास्कीले केही विद्यालयले कक्षा ११ को अनिवार्य नेपाली विषयलाई पाठ्यक्रम विकास केन्द्रले निर्धारण गरेभन्दा कम पाठ्यभार दिएर समय तथा कार्यतालिका बनाई नेपाली भाषा विषयको अवमूल्यन गरेको भन्दै ध्यानाकर्षण भएको जनाएको छ ।

संस्थाले विज्ञप्ति जारी गरी यसरी नेपाली भाषा विषयको अवमूल्यन गर्ने र नेपाली भाषा शिक्षकको मनोवल गिराउने ढंगले काम गरेको सार्वजनिक भइरहेको भन्दै पाठ्यक्रममा निर्दिष्ट गरेको समय सीमाभित्र विषयवस्तुको गहिराइसम्म पुग्न र पाठ्यक्रमले राखेका उद्देश्यअनुरूप शिक्षण गर्न आग्रह गरेको छ ।
विज्ञप्तिमा भनिएको छ, ‘नेपालबारे जान्न, नेपाली मात्रलाई एकताको सूत्रमा बाँधिरहन र नेपालको राष्ट्रियता बलियो बनाउन नेपाली भाषा अपरिहार्य छ । नेपाली भाषा विद्यालय तहदेखि विश्वविद्यालय तहसम्म पठनपाठनको माध्यम, बहुभाषिक नेपाली समाजको सम्बन्धसूत्र, आमसञ्चार एवम् प्रशासनिक कामकाजको माध्यम भाषा हो ।’

पाठ्यक्रम विकास केन्द्रले नै तय गरेको पाठ्यघन्टा कायम गरेर पढाउने क्रममा कुनै पनि कारण देखाएर बाधा खडा गर्ने वा नेपाली भाषा विषयको गरिमालाई कमजोर पार्ने गरी काम कारबाही भएमा परिषद्ले कानुनी उपचारको बाटो समात्ने चेतावनीसमेत दिइएको छ ।

पछिल्लो समय सर्वोच्च अदालतमा परेको रिट खारेज भएकाले नयाँ पाठ्यक्रम कार्यान्वयनमा मार्गप्रशस्त भएको छ । पाठ्यक्रम विकास केन्द्रले कक्षा ११ र १२ को नयाँ पाठ्यक्रम निर्माणमा अनिवार्य नेपाली विषयलाई कुनै एक कक्षामा वा ५० पूर्णांकका २ वटै कक्षामा राख्न खोजेको प्रारम्भिक प्रस्ताव सार्वजनिक भएपछि परिषद्ले यसबारेमा सरोकार पक्षसँग गरेको विमर्शपछि १ सय पूर्णांकको साप्ताहिक ३ पाठ्यघन्टा कायम हुने गरी कक्षा ११ र १२ मा अनिवार्य नेपाली विषय समावेश भएको दाबी गरिएको छ ।

Related News

सम्बन्धित समाचार

hero news full width

Recent Posts

भर्खरै