ग्लोबल कलिजियटले मनायो रजतजयन्ती

आदर्श समाज सम्वाददाता
माघ ७, २०७७
global collegiate final photo

पोखरा । पोखराको रानीपौवास्थित ग्लोबल कलिजियटको रजतजयन्ती बुधबार मनाएको छ । गतवर्ष सुरु भएको रजतजयन्ती एक वर्षभरि विविध कार्यक्रम गर्दै बुधबार समापन गरिएको हो । कार्यक्रमका वक्ताहरुले नेपालको शिक्षा नीति समयसापेक्ष परिवर्तन हुनुपर्नेमा जोड दिए ।

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति प्राडा बुद्धिबहादुर थापाले वर्तमान शिक्षा नीति समग्रमा राम्रो भए पनि केही न केही सुधारको आवश्यकता देखिएकाले यसतर्फ सम्बन्धित क्षेत्र र निकायको ध्यान जान आवश्यक रहेको बताए । उनले विद्यार्थीहरुलाई अन्य विषयसँगसँगै सामाजिक विज्ञान पनि सिकाउन आवश्यक रहेको स्पष्ट पारे ।

कुनै पनि विद्यार्थीले आफ्नो जन्मस्थान, आफूले अध्ययन गरेको विद्यालय र आफ्ना गुरुलाई भुल्न नहुने उनले बताए ।
पोखरा महानगरपालिकाका शिक्षा महाशाखा प्रमुख हेमप्रसाद आचार्यले सामुदायिक विद्यालयहरुको स्तरोन्नतिका साथै गुणस्तरीय शिक्षाका लागि सबैले ध्यान दिनुपर्ने खाँचो औंल्याए ।

हिसान कास्कीका अध्यक्ष डा. रामजी शर्माले नेपालका सामुदायिक विद्यालयहरु समाजले खोजेको शिक्षा दिन असक्षम रहेको बताए । प्याब्सन कास्कीका अध्यक्ष प्रेम शर्माले शिक्षा क्षेत्रमा जे काम भए पनि विद्यार्थी केन्द्रित हुनुपर्नेमा जोड दिए । शिक्षाविद् डा. कृष्ण केसीले नीतिविहीन राजनीतिले शिक्षा क्षेत्र प्रभावित बन्दै गएको भन्दै चिन्ता व्यक्त गरे । उनले समयले माग गरे बमोजिम को शिक्षा नीति बनाउन आवश्यक रहेको स्पष्ट पारे ।

अर्का शिक्षाविद् डा. अनिल सुवेदीले परम्परागतद शिक्षा नीतिले अबको समाज अघि बढ्न नसक्ने भन्दै शिक्षा नीति परिवर्तन गर्न आवश्यक रहेको बताए । ग्लोबल कलिजियटका प्राचार्य बाबुराम पन्तले अहिलेको शिक्षा नीतिले आफूहरुको गतिलाई समस्या पारेको बताए । उत्कृष्ट विद्यालयको नमुना प्रस्तुत गर्दै प्राचार्य पन्तले विद्यालयको सबैभन्दा महत्वपूर्ण खम्बा शिक्षक हो भन्ने बुझ्नुपर्नेमा जोड दिए ।

शिक्षाविद् तथा विद्यालयका पूर्व प्राचार्य हरिनारायण उपाध्यायले अबको शिक्षा प्रविधिपूर्ण र प्रयोगात्मक हुनुपर्ने भन्दै यसका लागि सरकार र सम्बन्धित निकायको ध्यान जान आवश्यक रहेको बताए । कार्यक्रममा विद्यालयका अभिभावक गणेश थापा, पूर्व शिक्षक आकाश लामिछाने, पूर्व विद्यार्थी ई.निरज खड्का, विद्यार्थी आयुष्मा भण्डारी लगायतले बोलेका थिए ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष पद्यराज ढकालको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत उपप्राचार्य वेदप्रसाद शर्मा, सञ्चालन शिक्षकद्वय नेपाल प्रकाश अधिकारी र वसन्ती वस्नेत र सरस्वती वन्दना पूर्व विद्यार्थी रीतु लामाले प्रस्तुत गरेकी थिइन् ।

उक्त अवसरमा पूर्व कर्मचारीद्वय राधिका थापा र दिलबहादुर खड्का, शिक्षक विनोद अधिकारी, पूर्व विद्यार्थी रीतु लामा, पूर्व शिक्षक डा. नगेन्द्रबहादुर भण्डारी, पूर्व प्राचार्य हरिनारायण उपाध्यायलाई सम्मान गरिएको थियो ।

रजतजयन्ती अवसरमा विद्यालय हातामा निर्माण गरिएको सरस्वती देवीको प्रतिमा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डा. थापाले अनावरण गरेका थिए । उक्त अवसरमा कास्कीका तीन वटा सामुदायिक विवालय इन्द्रायणी आधारभूत विद्यालय, जनज्योति प्रावि र सीताराम माविलाई १÷१ मल्टिप्रिन्टर हस्तान्तरण गरिएको थियो ।

Related News

सम्बन्धित समाचार

hero news full width