दुर्घटना नियन्त्रण गर्न एप प्रयोग

एजेन्सी
माघ २८, २०७५
E-challan


बुटवल, २८ माघ । सवारी दुर्घटना नियन्त्रण गर्न नेपाल प्रहरीले ट्राफिक कम्युनिकेसन एप प्रयोगमा ल्याएको छ ।

विशेषगरी लामो दूरीका सवारी साधनमा दुई जना चालक अनिवार्य राख्नुपर्ने कानुनी व्यवस्था कार्यान्वयनका लागि यो एप प्रयोगमा ल्याइएको हो । पाँच नम्बर प्रदेशमा प्रदेश ट्राफिक प्रहरी कार्यालय र जिल्ला ट्राफिक प्रहरी कार्यालय नवलपरासीले सुनवल १२ भूमहीमा उक्त एपको उद्घाटन गरी प्रयोगमा ल्याएको छ ।

सुनवल नगरपालिकाका प्रमुख भीमबहादुर थापा क्षेत्रीले चालकको फोटोसहितको विवरण लिएर उक्त एप प्रयोगमा ल्याएका हुन् । यो एप प्रयोगमा आएपछि लामो दूरीमा संचालन हुने सवारी साधनले कानुनी व्यवस्था अनुसार २ सय ५० किलोमिटर दुरीपछि अर्को चालक परिवर्तन गरे नगरेको पत्ता लाग्ने छ ।

पहिलो चरणमा काठमाडौंको नागढुंगा,सर्लाहीको कर्मैया,नवलपरासीको भूमही र बांकेको कोहलपूरमा एप सञ्चालनमा आएको प्रदेश प्रहरी कार्यालय दांगका वरिष्ठ प्रहरी उपरीक्षक नरबहादुर केसीले जानकारी दिए ।

लामो दुरीमा चल्ने सवारीसाधनमा चालक परिवर्तन भए नभएको पत्ता लगाउन एक निश्चित विन्दुमा सवारी चालकको फोटो खिचेर सवारी साधनको नम्बर,प्रस्थान तथा गन्तव्य स्थान दर्ता गरी इन्टरनेटको सर्भरमा राखिन्छ ।

ट्राफिक प्रहरीहरुले चेकिङ पोइन्टहरुमा चेकजांचको क्रममा चालकको फोटो र अनुहार जांच तथा विवरणको आधारमा चालक बदली भए नभएको सहजरुपमा पत्ता लगाउन सक्ने प्रदेश ५ ट्राफिक प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी उपरीक्षक गणेश चन्दले बताए ।

ट्राफिक प्रहरीहरुले जीपीएस लोकेसन पनि थाहा पाउन सक्ने यो एपमा चालकको लाइसेन्स नम्बर,टाइम कार्ड समेत चेक गर्ने सुविधा भएकाले चालकले झुक्याउन पाउने छैनन् ।

यसमा ट्राफिक म्यासेज ब्रोडकास्टिङ गर्ने व्यवस्था समेत रहेको छ । एपको प्रयोगले समयको पालना, तीव्र गतिमा नियन्त्रण भइ सवारी दुर्घटना न्यूनिकरण हुने र प्रभावकारी सवारी व्यवस्थापन एवं सुरक्षित गन्तव्यका लागि यो एप उपयोगी हुने ट्राफिक प्रहरी निरीक्षक हेमबहादुर शाहीले बताए ।

संयुक्त राष्ट संघको तथ्यांक अनुसार विश्वमा प्रत्येक वर्ष १३ लाख मान्छे सडक दुर्घटनामा मृत्यु हुने गरेको छ । नेपालमा एक वर्षमा २५ सय ९३ जनाको सडक दुर्घटनाबाट मृत्यु हुने गरेको छ । पछिल्लो ५ महिनामा सवारी दुर्घटनाबाट ११ सय ७६ जनाको मृत्यु भएको छ ।

Related News

सम्बन्धित समाचार

hero news full width