एक बर्षभित्र देशभरमा २७ कैदीको मृत्यु

रासस
माघ २९, २०७५
karagar photo

  •  मृत्यु हुनेमध्ये सबैभन्दा धेरै केन्द्रीय कारागार
  •  अधिकांश कैदीको बुढ्यौलीका कारण मृत्यु
  • रुघा, खोकी, दम, ज्वरो, टाइफाइडका कारण

काठमाडौँ, २९ माघ । चालू आर्थिक वर्ष २०७५/७६ को हालसम्ममा मुलुकभरका कारागारमा २७ कैदीको मृत्यु भएको छ । विभिन्न रोगका कारण ती कैदीको मृत्यु भएको हो । मृत्यु हुनेमध्ये सबैभन्दा धेरै केन्द्रीय कारागार जगन्नाथदेवलका कैदी रहेका छन् ।

कारागार व्यवस्थापन विभागका महानिर्देशक हरिप्रसाद मैनालीले अधिकांश कैदीको बुढ्यौलीका कारण मृत्यु भएको बताए । रुघा, खोकी, दम, ज्वरो, टाइफाइड तथा विभिन्न सरुवा रोगका कारण कैदीको मृत्यु भएको हो, उनले भने ।

सरकारले कैदीको उपचारका लागि केन्द्रीय कारागारभित्र ३० श्ययाको अस्पतालसमेत निर्माण गरेर सेवा दिइरहेको छ । कारागार अस्पतालमा उपचार हुन नसकेका बिरामीलाई रोगको प्रकृति हेरेर वीर अस्पताल, त्रिभुवन शिक्षण अस्पताल, मानसिक अस्पताल र गङ्गालाल अस्पतालमा पठाउने गरिएको कारागार अस्पतालका निमित्त सुपरिटेन्डेण्ट डा भगतलाल श्रेष्ठले जानकारी दिए ।

हाल देशभर झण्डै २१ हजार कैदी छन् । करीब तीन हजार कैदी केन्द्रीय कारागारमा छन् । कारागार अस्पतालमा चालू आर्थिक वर्षमा मात्रै झण्डै पाँच हजार नयाँ तथा पुराना कैदीको उपचार गरिएको छ । आव २०७४÷७५ मा ३२ हजार नयाँ तथा पुराना कैदीको सो अस्पतालमा उपचार गरिएको थियो । मुलुकभर हाल ७२ जिल्लामा ७४ कारागार छन् । चौबीसै घण्टा कैदीको स्वास्थ्यसम्बन्धी सेवा दिँदै आएको कारागार अस्पतालले केन्द्रीय कारागारका बिरामीबाहेक देशभरका बिरामीको रोगको प्रकृति हेरेर उपचार गर्दै आएको छ ।

Related News

सम्बन्धित समाचार

hero news full width