समाजसेवी बाटाजुको अवसान

सम्पादक
फागुन १०, २०७९

पोखराको पुरानो पुस्ताको समाजसेवीका रुपमा स्थापित वीरेन्द्रकुमार बाटाजुको आइतबार स्थानीय फिस्टेल अस्पतालमा उपचारका क्रममा निधन भयो । उनी केही समयदेखि विभिन्न रोगहरुबाट पीडित थिए । उनी ९४ वर्षका थिए । उनी किशोरावस्थादेखि पोखराको चर्चित गणेश मन्दिरसँग आबद्ध थिए । उनी गणेश गुठीको विभिन्न पदमा रहेर काम गरेका थिए । २०५४ सालदेखि उनी अन्तिम समयसम्म त्यसका अध्यक्ष भएर सेवा गरेका थिए । उनले गणेश गुठीको जग्गाको संरक्षण र विकास गर्नमा महत्वपूर्ण भूमिका खेलेका थिए । गुठीको भवन निर्माण कार्यमा पनि उनको ठूलो योगदान रहेको छ । त्यस भवन निर्माणले नेवार समुदायको ईही आदि जातीय अनुष्ठान गर्नमा ठूलो सघाउ पु¥याएको छ । त्यहाँ नित्य भजन कीर्तन पनि हुने गरेको छ । त्यही भवनमा अहिले दैनिक स्वास्थ्य सेवा कार्यक्रम पनि सञ्चालन भइरहेको छ । जसले स्थानीयबासीलाई धेरै सुविधा दिएको छ ।

उनलाई पोखराको पहिलो एसएलसी उत्तीर्ण गर्ने विद्यार्थीको रुपमा लिने गरिएको छ । उनले विद्यालयस्तरको पठन–पाठन तानसेन पाल्पामा गरेका थिए । यस किसिमले उनको परिचय दिन खोज्दा यो पनि उल्लेख गर्नुपर्ने हुन्छ कि उनी पोखराका पहिलो स्कुल राष्ट्रिय माध्यमिक विद्यालयका पहिलो प्रधानाध्यापक हुन् । त्यसबेला एउटा पढेलेखेका युवाका रुपमा उनको पहिचान हुन्थ्यो । उनको शान नै अर्कै थियो । पोखराको पहिलो आदर्श पुस्तकालयको स्थापना र सञ्चालनमा पनि उनले योगदान गरेका थिए । त्यस्तै त्यसबेलाका सामाजिक एवं शैक्षिक गतिविधिमा उनी संलग्न हुन्थे र केही न केही योगदान गर्दथे । युवा अवस्थादेखि नै उनी सामाजिक अभियन्ताका रुपमा चर्चित थिए ।

उनको सक्रियता र सामाजिक क्रियाकलाप देखेर त्यसबेलाका सबभन्दा आकर्षक मानिने नेपाल वायुसेवा निगमका पदाधिकारीले वायुसेवा निगमको कार्यालयमा काम गर्न उनलाई नियुक्त गरे । त्यस्तो कर्पोरेसनमा काम गर्न पाउनु ठूलो अवसर हो । त्यो अवसर उनले पाएका थिए । त्यसमा तलबभत्ता पनि राम्रो हुन्थ्यो भने सुविधा पनि धेरै हुन्थ्यो । ‘टिकट बाबु’ भनेपछि त्यसका कर्मचारीहरुको शान नै अर्कै हुन्थ्यो । त्यहीबेला उनले देश विदेशमा पनि गए । धेरै कुरा देखे र सिके । आफू जागिरबाट निवृत्त भएपछि उनले समाज सेवामा आफूलाई फेरि सक्रिय बनाए । समय बितेअनुसार उनमा धार्मिक भावनाको विकास भयो र धार्मिक कार्यहरुमा सक्रिय रहे । उनी उदार थिए र उदारतापूर्वक सहयोग गर्दथे । उनी नम्र थिए, भलाद्मी थिए । शालीन थिए । उनको चौरासी पूजाको अवसरमा बाटाजु परिवारबाट वीरेन्द्रदीप प्रतिष्ठान स्थापना गरेका छन् । ५ लाख रुपैयाँको अक्षयकोष राखेर उनको स्मृतिलाई अविस्मरणीय राख्ने प्रयास गरेका छन् । हामी उनको निधनमा गहिरो दुख व्यक्त गरी शोक सन्तप्त परिवारजनप्रति हार्दिक समवेदना व्यक्त गर्दछौं र दिवंगत आत्माको चिरशान्तिको कामना गर्दछौं ।

Related News

सम्बन्धित समाचार

  • आन्दोलनलाई उत्तेजक नबनाऊ

    सम्पादक पौष २३, २०८०
    काठमाडौंको बालकुमारीमा भएको आन्दोलनका क्रममा अछामका वीरेन्द्र शाह र दैलेखका सुजन रावतको प्रहरीको गोली लागेर ज्यान गयो । घटनाको समाचार…
  • नेपालको बिजुली भारतले किन्ने सम्झौता

    सम्पादक पौष २२, २०८०
    नेपाल–भारत संयुक्त आयोगको सातौं बैठक काठमाडौंमा सम्पन्न भयो । बैठकमा नेपालको तर्फबाट प्रतिनिधि मण्डलको नेतृत्व परराष्ट्रमन्त्री एनपी साउद र भारतीय…
  • अग्रज पत्रकार पोखरेलको निधन

    सम्पादक पौष २०, २०८०
    पुराना पुस्ताका अग्रज पत्रकार गोकुलप्रसाद पोखरेलको सोमबार काठमाडौंको त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा उपचारका क्रममा निधन भयो । उनी लामो समयदेखि…
  • प्रमको सम्बोधनः कामभन्दा आश्वासन धेरै

    सम्पादक पौष १२, २०८०
    प्रधानमन्त्री पुष्पकमल दाहालले आफूले सरकारको नेतृत्व सम्हालेको एक वर्ष पूरा भएको अवसरमा मंगलबार राष्ट्रका नाममा सम्बोधन गरेर सरकारको काम कुराको…
  • त्रिविमा राजनीतिक भागबण्डा अन्त्य गर्ने उद्घोष

    सम्पादक पौष ४, २०८०
    विश्वविद्यालयले प्रत्येक वर्ष दीक्षान्त समारोहको आयोजना गरेर आफ्ना विद्यार्थीहरूलाई दीक्षित गर्ने गर्दछ । त्यस्तै समारोह त्रिभुवन विश्वविद्यालयले पनि गर्दै आएको…

hero news full width