व्यवहारिक राजनीतिक कुशल खेलाडीको देहावसान

सम्पादक
वैशाख ६, २०७२

१. भूतपूर्व प्रधानमन्त्री तथा राष्ट्रिय प्रजातन्त्र पार्टीका पूर्व अध्यक्ष सूर्यबहादुर थापाको गत बुधबार भारतको नयाँ दिल्लीस्थित मेदान्त अस्पतालमा निधन भयो। उनी ८८ वर्षका थिए। शुक्रबार उनको वागमतीमा राजकीय सम्मानका अन्त्येष्टि गरियो। उनी त गए, तर सञ्चारमाध्यममा प्रशस्त उनको चर्चा हुने गरेको छ।

२. २०१४ सालदेखि राजनीति सुरु गरेका उनी सर्वाधिक लामो समय सिंह दरबारमा रही राजनीति गरेका व्यक्तित्वमा गनिन्छन्। उनी प्रधानमन्त्री मात्र पाँचपटक भए। उनी सत्तामा रहँदा पनि र बाहिर रहँदा पनि सधँै चर्चित रहन्थे। उनी राजनीतिको सूक्ष्म अध्ययन गर्दथे र कुन बेला के गर्नुपर्ने हो, त्यो गर्दथे।

३. पञ्चायती व्यवस्था भएको बेला सबभन्दा लामो समय प्रधानमन्त्री हुने पनि उनी भए भने महाभियोग लागेर हटाइएका नेपालको एक मात्र प्रधानमन्त्री पनि उनी नै भए। त्यत्ति मात्र होइन, पञ्चायतकालमा उनी १४ महिना जेल पनि परे। पश्चिम नेपालको भ्रमणमा जाँदा पञ्चहरूले उनीमाथि सांघातिक हमला पनि गरेका थिए। दरबारलाई मन नपर्ने भूमिगत गिरोह र द्वैध शासन भन्ने शब्द उनैले प्रचलित गरेका थिए। तैपनि विपद् पर्दा दरबारले उनैलाई प्रधानमन्त्री बनाउने गर्दथ्यो।

४. २०४६ सालमा पञ्चायती व्यवस्थाको अन्त भई बहुदलीय व्यवस्थाको पुनस्र्थापना भएपछि उनले पूर्व पञ्चहरूका साथ राष्ट्रिय प्रजातन्त्र पार्टीको गठन गरे। पूर्व पञ्चहरूलाई छीःछी, दूरदूर गर्ने त्यस बेलामा पनि उनी फेरि प्रधानमन्त्री भए। २०६२/६३ को आन्दोलनपश्चात् लोकतान्त्रिक व्यवस्था आयो। लोकतन्त्र आएपश्चात् पनि राजनीतिमा उनको उचाई त्यस्तै रह्यो। उनी सभासद् पनि भए र उनको हैसियतमा खास अन्तर देखिएन।

५. करिब ६० वर्ष सक्रिय राजनीतिमा विताएका उनले राजनीतिका अनेक घुम्ती पार गरेका थिए। उनी अनुभवले खारिएका, परिपक्व र सुझबुझ भएका तथा व्यवहारिक राजनीति गर्ने कुशल खेलाडीका रूपमा चिनिन्थे। हक्की स्वभाव भएका उनले कहिलेकाहीँ जसले पहिले हान्यो उसैले जान्यो भन्ने रणनीति अख्तियार गर्दथे र अप्रत्याशित कदम चाल्दथे।

६. सत्तामा पुगेका धेरै नेताले मानिस चिन्दैनन् र गलत मानिसको घेरामा फस्छन् भन्ने आरोप लागेको बेला उनी अपवाद रहेका थिए। उनी सत्तामा पुगेको बेला प्रशासन उनको नियन्त्रणमा हुन्थ्यो र उनलाई काम गर्न सजिलो हुन्थ्यो। उनको त्यो लामो अनुभव र हक्की स्वभावले पनि प्रशासनिक क्षेत्रमा धेरै काम गर्दथ्यो।

७. पूर्व प्रधानमन्त्री थापा व्यवहारिक राजनीति गर्दथे। उनी आफ्नो विचार प्रष्टसाथ राख्थे। अर्काको कुरा सुन्थे। आफ्नो अनुभवले ओतप्रोत भएको विचार बाँड्थे र जीवनको उत्तरार्द्धमा समन्वयकारी भूमिका निर्वाह गर्न अग्रसर भएका थिए। संविधान नबनेकोमा विशेष चिन्तित थिए। त्यसै भएर आफू औषधोपचारका लागि दिल्ली जानुपूर्व शीष्ा नेताहरूलाई आफ्नै घरमा बोलाएर संविधान छिटो निर्माण गर्नुपर्ने औँल्याएका थिए। उनको निधनको साथ नेपाली राजनीतिको एक युगको अन्त भएको छ र राजनीतिमा अपूरणीय क्षति भएको छ।

Related News

सम्बन्धित समाचार

  • आन्दोलनलाई उत्तेजक नबनाऊ

    सम्पादक पौष २३, २०८०
    काठमाडौंको बालकुमारीमा भएको आन्दोलनका क्रममा अछामका वीरेन्द्र शाह र दैलेखका सुजन रावतको प्रहरीको गोली लागेर ज्यान गयो । घटनाको समाचार…
  • नेपालको बिजुली भारतले किन्ने सम्झौता

    सम्पादक पौष २२, २०८०
    नेपाल–भारत संयुक्त आयोगको सातौं बैठक काठमाडौंमा सम्पन्न भयो । बैठकमा नेपालको तर्फबाट प्रतिनिधि मण्डलको नेतृत्व परराष्ट्रमन्त्री एनपी साउद र भारतीय…
  • अग्रज पत्रकार पोखरेलको निधन

    सम्पादक पौष २०, २०८०
    पुराना पुस्ताका अग्रज पत्रकार गोकुलप्रसाद पोखरेलको सोमबार काठमाडौंको त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा उपचारका क्रममा निधन भयो । उनी लामो समयदेखि…
  • प्रमको सम्बोधनः कामभन्दा आश्वासन धेरै

    सम्पादक पौष १२, २०८०
    प्रधानमन्त्री पुष्पकमल दाहालले आफूले सरकारको नेतृत्व सम्हालेको एक वर्ष पूरा भएको अवसरमा मंगलबार राष्ट्रका नाममा सम्बोधन गरेर सरकारको काम कुराको…
  • त्रिविमा राजनीतिक भागबण्डा अन्त्य गर्ने उद्घोष

    सम्पादक पौष ४, २०८०
    विश्वविद्यालयले प्रत्येक वर्ष दीक्षान्त समारोहको आयोजना गरेर आफ्ना विद्यार्थीहरूलाई दीक्षित गर्ने गर्दछ । त्यस्तै समारोह त्रिभुवन विश्वविद्यालयले पनि गर्दै आएको…

hero news full width