राष्ट्रपतिमाथि झाँक्रीको झोंक

उपप्रा. रामप्रसाद सुवेदी
माघ २९, २०७७

केही दिन पहिला १ जना महिला नेतृका रूपमा आफ्नो नाम स्थापित गराएकी रामकुमारी झाँक्रीले महिलामाथि नै गरेको वाणिक अपमानले सामाजिक सञ्जालमा खुब चर्चा पायो । त्यो समाचार भाइरल भइरहेको छ । सामाजिक सञ्जाल प्रयोगकर्ता कतिले त्यसलाई एउटा मजाकका रूपमा लिइरहेका छन् । कतिले त्यसलाई एउटा आश्चर्यजनक अपमानका रूपमा चित्रण गरेका छन् । हुनतः अहिले जताततै एकले अर्काको उछित्तो काढेर अपमान गर्ने लहर नेकपाका नेता र कार्यकर्तामा खुबै चलेको छ । तापनि ती झाँक्रीले चाहिँ सबैलाई उछिनेर गाली र अपमानको संसारमा आपूmलाई अब्बल साबित गर्न सफल भएकी छन् यो उनको संस्कार र आचरण सर्बत्र आलोचित भइरहेको छ ।

अहिले नेपालमा धेरै महिला महिला अधिकारका लागि अहोरात्र संघर्ष गरिरहेका छन् । महिला अधिकारकर्मीहरूले के अब अधिकारका लागि महिलासँग नै लडाइँ र सम्झौता गर्नु पर्ने त होइन ? भन्ने प्रश्न तेसिइरहेको छ । कुनै बेला नेपालका प्रमुख पदहरूमा महिला भएको कारणले विदेशीले समेत सकारात्मक रूपमा लिएका थिए । राष्ट्रपति महिला, सभामुख महिलाजस्ता कुराले उनीहरू महिला अधिकारका लागि उदाहरणका रूपमा नेपाललाई दिन्थे । गोरखाको कुनै एउटा कार्यक्रममा झाँक्रीले राष्ट्रपतिलाई जबर्जस्त प्रधानमन्त्रीको जिम्मा लगाएर शीतल निवास छोडेर बाल्कोट गएर बस्नू भनिन् । त्यो भाषणलाई उनले गर्वको विषय बनाएकी छन् । अनि समाज र देशका लागि बोलेकी हुँ भनेर छाती फुलाएर हिँडेकी छन् ।

त्यसै त पूर्वीय दर्शनमा महिलामाथि बढी नै अपमान भएको हामी पािउँछौं । यहाँसम्म पनि महिलाले गरेको धेरै ठूलो त्यागले आएको अवस्था हो । आज हिजोजस्तो लोग्ने मर्दा उनको पत्नी सँगै जल्ने अवस्था छैन । हाम्रो परिवेश हेर्दा महिला अधिकारको चीरहरण गर्नेमा महिला नै अगाडि देखिन्छन् । आफ्ना पतिलाई बाबाले गरेको अपमान सहन नसकेर अग्निमा हामफालेर आत्मदाह गर्ने सतीदेवी महिला नै थिइन् । उनले त्यतिबेला आफ्ना लोग्नेको बढी मायाका कारणले त्यसो गरेकी थिइन् । त्यसलाई एउटा आदर्शका रूपमा लिएर सतीप्रथाको रूपमा जुग जुगसम्म लैजानमा धेरै भूमिका महिलाको नै छ । यसलाई त्रेता र द्वापर युगमा एउटा प्रथाका रूपमा लिएर गइयो । पाण्डु मर्दा माद्रीलाई, वासुदेव मर्दा देवकीलाई सती पठाइयो यसमा पनि मुख्य भूमिकामा महिला नै थिए । नेपालमा यो प्रथा यति धेरै प्रचलनमा रह्यो कि लोग्ने मर्दा रिस उठेका जति सबैलाई सती पठाउने गर्न थालियो । नेपालको इतिहासमा राजाप्रताप मल्ल मर्दा ३५ वटी, योगनरेन्द्र मल्ल मर्दा ३३ वटी नारीहरूलाई जबजस्ती सती पठाइएको थियो । सती प्रथाले यति जरो गाडेको थियो कि राजा प्रतापसिंह मर्दा उनकी १ महिनाकी सुत्केरीलाई समेत जबर्जस्ती तानेर सोलामा चढाइएको थियो । लोग्ने मरेपछि जो महिला सती जानबाट उन्मुक्ति प्राप्त गर्दछिन् उनलाई भिरबाट लडाएर वा ढुंगै ढुंगाले थिचेर मारिन्थ्यो । यसो गर्नमा बढी भूमिका महिलाकै हुन्थ्यो । यो महिलामाथिको अपमान जंगबहादुरले बेलायतबाट फर्केलगत्तै हटाउने प्रयास त गरे तर उनी मर्दासमेत १० वटी रानी र रखौटी सती गएका थिए । पछि चन्द्रसमशेरले विसं १९७७ मा यसलाई कानुनत हटाए तर महिलामाथिको अपमानको अवशेष धेरै पछिसम्म रहि रह्यो ।

सन्तानको रूपमा छोरो नजन्मेकोमा लोग्नेको अर्को विवाह गरिदिने कतिपय महिला नै हुन्छन् । उनीहरू आफ्नो भाग्य भन्दा पनि लोग्नेको भाग्यसंँग आफूलाई तुलना गरेर हेर्दथे । अहिले तराइमा बुहारीको हत्यमा ससुराभन्दा सासुनै अगाडि देखिएका छन् । दाइजोको चाहना ससुरालाई भन्दा सासुलाई बढी देखिन्छ । यो टिप्पणीकारले आफूले सुनेको र गरेको अनुभवमा सुत्केरी भएको ११ दिनको न्वारन गरे पछि जबर्जस्ती मेलामा पठाउने महिला नै हुन् । लोग्ने नभएको अवस्थामा रिस उठेकी बुहारी मेलापाता जाँदा कसैसँग बोलेको भरमा जोसँग बोलेकी हो उसैलाई जबरजस्ती भिडाएर रुवाउँदै पठाउने सासु महिला नै थिइन् त्यहाँ ससुराको कुनै भूमिका थिएन । माइत गएकी बुहारी घर आउन ढिलो गरी भनेर झोकमा रहेका बुहारीका कपडामा आगो लगाइदिने सासु महिला नै थिइन् त्यहाँ पनि ससुराको कुनै भूमिका थिएन । टिबी र क्यान्सर जे भए पनि लोग्नेले खाएको जुठो थालमा बुहारीलाई खाना पस्केर दिने सासु पनि महिला नै हुन् ।

संस्कार भन्नेकुरा कि त व्यक्तिले उसको परिवारबाट ल्याएको हुन्छ कि त उसले उसको समाज, साथी संगती, विद्यालयबाट सिकेको हुन्छ

माथि उल्लेखित केही तथ्यहरू महिलामाथि महिलाद्वारा महिलाले नै गरेका र भोगेका अपमान र विभेद्का केही उदाहरण थिए । अहिले त्यो संस्कारको निरन्तरता दिने प्रमुख पात्र देखिएकी छन् झाँक्री । मलाई लाग्छ कुनै पनि पुरूष चाहे त्यो अरू जुनसुकै पार्टीको किन नहोस् त्यस्तो आँट गर्ने थिएन र अरू कुनै महिलाले पनि त्यस्तो सार्बजनिक समारोहमा त्यसरी अपमान् गर्ने थिइनन् होला । संस्कार भन्नेकुरा कि त व्यक्तिले उसको परिवारबाट ल्याएको हुन्छ कि त उसले उसको समाज, साथी संगती, विद्यालयबाट सिकेको हुन्छ । हामीलाई थाहा छ, कक्षाकोठामा कुनै विद्यार्थीले केही अभद्र र अशिष्ट व्यवहार गरेमा पहिला ऊ कुन परिवार, समाजबाट आएको हो यकिन गरिन्छ । राम्रो संस्कारबाट आएको बालबालिकाहरुको कक्षाकोठाको आचरण राम्रो हुन्छ यो शास्वत सत्य हो । अहिले संसद विघटनका बेलामा राष्ट्रपतिले गर्नुपर्ने कार्य नगरेर केही गल्ती भएको हुनसक्छ । राष्ट्रपतिमा अहिले महिला छन् । त्यहाँ जो पनि हुनसक्छ । तर कसैलाई कसैले रिस उठेको अवस्थामा कसैको कसै प्रतिको सम्बन्धसँंग जोडेर जबरजस्ती लान्छाना लगाउनु त्यो लगाउनेले राम्रो संस्कार सिकेको वा राम्रो संस्कारबाट हुर्केको मानिँदैन । सम्बन्धको लान्छाना लगाउने पनि महिला नै हुन् । दुवै वर्गीय र लैगिंकरूपमा एउटै हुन् । भोलि झाँक्री कुनै पुरूषसँग बोलेको र हिँडेको अवस्थामा अरू महिलाले उनलाई पनि त्यही पुरूषसँग जोडेर आरोप लगाएमा उनले दिने जवाफ के हुन सक्दछ ? यो कुरामा लान्छाना लगाउनेले पनि ख्याल गरेको हुनुपर्दछ ।

राष्ट्रपति एउटा संस्था हो । उनको राष्ट्र र समाजप्रतिको दायित्व त छँदैछ । काम गर्ने कुरामा कहीं कतै गल्ती नहुने कुरै भएन । अहिले नातिनातिनाकी हजुरआमा भएकी राष्ट्रपतिलाई जीवनको उत्तरार्धमा कसैसंँग जबरजस्ती लेपन लगाउनाले त्यो लगाउने महिलाकै आचरण र क्रियाकलापमाथि नै शंका गर्नु पर्ने ठाउँ रहन सक्छ । किनकि कमजोर शिक्षकले विद्यार्थी बढी पिट्छ भन्ने एउटा उखान पाइन्छ । राष्ट्रपतिकी छोरी उषाकिरणले लेखेको फेसबुक स्टाटसले पनि त्यही कुराको संकेत गरेको देखिन्छ । राजनीतिक विषयको प्रतिकार राजनीतिक रुपबाटै हुनुपर्दछ । कसैप्रति कुनै कुरामा असहमति रह्यो भन्दैमा महिलालाई अपशब्द प्रयोग गरी कसैसँंगको सम्बन्धको लेपन लगाउने बानी राम्रो संस्कार भएको र सही आचरण भएकाले कहिल्यै पनि गर्दैन । यति तल गएर त्यस्तो सम्मानित पदको व्यक्तिलाई मानसिक सन्तुलन ठिक भएकाले भन्न सक्ने कुरै भएन ।

कुनैबेला निधारमा रगतको टाटो देखाएर विद्यार्थी नेता हुन पुगेकी ती झाँक्री अहिले केनद्र तहमा पुगेकी छन् । एउटा माघले जाडो जाँदैन भनेजस्तो राम्रो आचरण गरेमा त्यो पदमा पुग्ने राजनीतिकर्मी नै हुन् । भोलि त्यो उच्च पदमा उनी पनि पुग्न सक्थिन होला । तर अहिले उनको आचरणले र बोलीले उनमा सामान्य संस्कार नै देखिएन । राजनीति जहिले पनि सिधाबाटो भन्दा पनि बांगो र टिंगो बाटो हिँड्छ । यसो भन्दैमा कसैले कसैलाई अशिष्ट र अमर्यादित रूपमा लान्छाना लगाउनाले भोलि त्यो व्यक्तिले कसरी आफूलाई सफाइ दिन्छ त्यो त हेर्न बाँकी नै छ । विधवा हुनु महिलाको रहर हैन तर कोही विधवा हुँदैमा उसको सेतो सारीसंँग आफ्नो राजनीतिक अभिष्टलाई जोड्नु फेरि त्यो पनि एउटा महिलाले अर्काे महिलाई यो अर्काे अनौठो हो । मान्छे कालभन्दा माथि हुँदैन अनि जीवनको धागो कसको कहाँ कसरी जान्छ र कहिले टुंगिन्छ कसैले भन्न सक्दैन । भोलि झाँक्रीको पनि त्यही हालत भएर अरुले त्यही आरोप लगाउँदा उनले दिने जवाफ के होला ?

थुतुनु र संवेग सम्हाल्न नसक्दा कुने बेला ठूलै क्षति बेहोर्नुपर्छ । भनिन्छ खुकुरीको घाउ निको हुन्छ तर थुतुनाले दिएको घाउ निको हुन धेरै समय लाग्छ । फेरि रिसको झोंकमा आँखा चिम्लेर मुखमा जे आयो त्यहि, जनमानसलाई आकर्षित गर्नका लागि बोलेको बोलीले आफंैलाई पोल्ने कुरा कहिल्यै बिर्सनु हुँदैन । झाँक्रीले पनि आफ्ना अगाडि केही मास देखेर आवेगमा आएर सम्मानित संस्थाकारिरुद्ध अपमानका शब्दहरूको वर्षाको परिणामका बारेमा उनी आफैले अवगत गरून् । राज्यमा नियम र कानुन होला अनि दण्डहीनताको अवस्था भयो भने भोलि जहाँ जसले जसलाई जे भने पनि हुन्छ, त्यस्तो हुनुहुँदैन । कि राष्ट्रपतिलाई झाँक्रीले भनेजस्तो बाल्कोट पठाउनु पर्दछ नत्र भने सम्मानित संंस्थाकाविरूद्ध विष वमन गर्नेलाई कारवाही गरेर राज्यमा दण्डहीनताको अन्त्य गरिनु पर्दछ ।

Related News

सम्बन्धित समाचार

hero news full width