परजीवी अर्थ राजनीति

प्रा. विश्वराज अधिकारी
कार्तिक २, २०७७

आज भोलि हामी सबै नेपालीको जीवन परनिर्भर नभई धरै छैन । आम नेपाली जनताको कर्म र भाग्य नै परनिर्भर हुनु हो चाहे राजनैतिक होस्, सामाजिक होस् या आर्थिक र सांस्कृतिक नै किन नहोस् । खरो र रुखो परनिर्भरता कहिले राजनीति बनेर आउँछ भने कहिले आर्थिक र सांस्कृतिक । खास नेपाली हुनु र विदेशीहरुको इशारामा नाच्नुको अत्यन्त सुमधुर सम्बन्ध छ । हामी त्यसैमा हाँस्नु सिकेका छौँ । सकि नसकि बाँच्न सकेका छौ अनि बाहिर निस्कन नसक्ने खाडलमा फँसेका छौँ । राणा शासन कालमा राणाहरुले अङ्ग्रेजको मोलाहिजा नगरेको भए भारती सेनामा नेपालीको लस्कर लाग्ने थिएन । बेलायती अङ्ग्रेज फौजलाई खुसी पारेर भए पनि राजतन्त्रलाई मुठ्ठी भित्र राखेका थिए । २००७ सालपछि भारतको मायाजालमा नेपालका शासक फसेकै हुन् । राजनैतिक र सांस्कृतिक रूपले भारतले बसी सुख न उठी सुख बनाएको हो ।

खास गरी प्रत्यक्ष परनिर्भरताको अनुभव २०४५।०४६ सालको ३ महिने आर्थिक नाकाबन्दीको समयमा मैले पनि भोगको थिए । अप्रत्यक्ष किसिमको परनिर्भरताको मेसो आजभोलि हामी सबैले भोगेका छौ र भोग्दै रहने छौ । उतिबेला न धेरै गाउँमा मोटर गुडेको थियो, न धेरै ग्रामीण भेकमा ग्यास सिलिण्डर पुगेको थियो । न बोर्डिङ स्कुलका बसहरू गाउँ गाउँ दौडन्थे । न १५ लागेर १६ वर्ष पुगेपछि स्कूटर र मोटरसाइकलको खोजी हुन्थे । न मधेशबासीका नाममा छिमेकी गुहार्ने दल थिए । न मधेश बासीलाई सराप्ने पहाडिया थिए । जे थियो पुगेको थियो । दुःख भए पनि सन्तोष थियो । ठिकै थियो । यो ३० वर्षमा हामी यति विघ्न परजीवी भयौ कि साध्य नै छैन । देश हाँक्ने नेताहरुको खिचातानीले कहिले दक्षिण गुहार्ने त कहिले उत्तर पगाल्ने कोसिस अत्यन्त नजिकबाट देखियो । उत्तर, दक्षिण, पूर्व र पश्चिमका मालिकहरुलाई नरिझाएसम्म सत्ता स्वादको मिठो महक कसरी प्राप्त गर्ने । देशमा अपनाउने अर्थनीति, शिक्षा नीति र राजनीति समेत अरू कसैको निर्देशनमा पेण्डुलम झै यता र उता भएको देखिएकै छ ।

२०७२ सालको महाभूकम्पका बेला एकबद्ध भएर उद्धार र निर्माणमा लागेका नेपालीहरुको मन र मुटुमा खेलवाड गरेका विदेशी दातृ राष्ट्रले घोषणा गरेका सहयोग पनि लाजै नमानी पचाइ दिए । आशातित सहयोग उत्तरबाट प्राप्त नहुँदा गाँस, बास र कपासको भर दक्षिणको मात्र गर्नुपर्ने भयो । त्यस पछि आफ्नै देशका दक्षिण बस्ने नेपालीले पहाडबासीको निद हराम पारिदिए नाकाबन्दीको नाममा । वारीबाट सके वारी नभए पारिका इस्टमित्र, बन्धुभाइ साला, साली, ज्वाइ जेठानका घरमा बसी बसी काठमाडौँ बासीलाई औला ठड्याए । लौ हामीले भने जस्तो संविधान चाहियो, संशोधन गर नत्र तिमी पहाडीलाई प्याक प्याक पारेर खोलाबाट बाहिर निकालेको माछा जस्तै बनाइ मार्न नसके भनी कुर्लँदा हाम्रो राष्ट्रिय एकता एकादेशको कथा बन्न पुग्यो । हाम्रो परनिर्भरताको लाचारी स्वाद सबै नेपालीले चाखेकै हुन् । नेपाली नेपाली लडाएर आफ्नो स्वार्थ पूरा गर्ने सधियार नेपाली नेताको रिसले गरिब जनताको प्रभु बन्यो । हामीलाई अक्सिजन विनाको शरीर बन्न बाध्य बनाएर ।

हामी आत्मनिर्भर बन्ने एक मात्र महत्त्वपूर्ण चिज थियो कृषि उपज केही दशक अगाडि । त्यो पनि नब धनाढ्यहरुले अत्यधिक कृषि उपज हुने समथर क्षेत्रहरु प्लटिङ गरे । हेर्दा हेर्दे हरियो जग्गा जमिन ठूला ठूला घर र पिच बाटा बनेर शहरमा परिणत भए । धनी मानीहरु त शहरी सुख सुविधा उपभोग गर्न सक्ने थिए तर गरिब मानिसहरू पनि आफ्नो थात थलो, जरो किलो छोडेर शहरतिर मच्चिए । खेती किसानी गरेर बस्नु भन्दा अरब खाडीमा २०।२५ हजार मात्र कमाइ भए पनि कुलेलम ठोके । लाख लाख ऋण खोजेर भए पनि । काम गर्न नसक्ने बुढा बा आमालाई गाउँमै छोडेर परिवारलाई बजारमा राखी शहरिया बनाउने अनि छोराछोरीलाई व्यर्थको महङ्गो स्कुलमा पढाउनु पाए पुगि हाल्यो । अरू नेपालमा सामान्य जागिर भएका साना तिना पसल र होटल चलाएका अनि पर्यटकका गाइड तथा ठूला होटलमा काम गर्ने श्रमजीवी फ्ल्याट भाडामा लिएर आफ्ना परिवार गाउँबाट शहर ओराल्न पाउँदा संसारे जितेको अनुभव गर्दा हुन् । त्यसमाथि चाउचाउ र विस्कुट खाँदै विदेशी पेय पदार्थ पिउँदै अलि अलि भएको पैसा र शरीर रित्याएकै छन् । दुई चार हल खेतबारीमा काम गरेर दाना पानी र वस्तुभाउको राम्रो जोहो हुने ठाउँ छोडेर शहरिया बन्ने धोकोले धेरैलाई यति धेरै गाजेको रहेछ बल्ल चेत पाइयो । हाम्रा गाउँघरका मलिला खेत बारीमा जता रोप्यो त्यतै लसुन, प्याज, साग, खुर्सानी सबै अर्गानिक कति धेरै उत्पादन हुँदो हो । अहिले लसुन किलोको ६०० र प्याज २०० रुपियाँमा किनेर खानु पर्ने त्यो पनि विदेशबाट आयातित । धन्य हामी नेपाली । धन्य कृषि प्रधान देश नेपाल ।

दुई दिन मात्र आयात रोकिँदा नेपाली बजार महङ्गी र अभावले आकाश छुन्छ । काला व्यापारी दिउँसै सटर बन्द गरेर क्यासिनो जान्छन् । सडकभरी दुई पाङ्ग्रे र चार पाङग्रेको पीडा सलबलाउँछ । बजार सुनसान बन्छ । सबै कुराको अभाव हुन्छ । तै पनि यो बजारमा भोकै बस्ने मोह कहिले सम्म जहाँ दुई दिनको बन्दले सबै चौपट पारिदिन्छ । नेपालमा विकास गरी आत्मनिर्भर भएर व्यापार गर्न सकिने अर्काे महत्त्वपूर्ण श्रोत भनेको विजुली हो । यो पनि खोला झोलामा राखेर पाँच तारे होटलमा बार्गेनिङ गर्नेसँग मात्र सीमति भयो । राष्ट्रिय महत्त्वका आयोजना पूरा हुन ३०।३५ वर्षमा पनि नसकिने देखियो । स्वार्थ समूहहरुको हानथापले गर्दा । सधैँ परनिर्भर हुने देशलाई विदेसिले त खेदेकै थिए तर आफ्नै देशका नागरिकले पनि खेदेको न कतै पढियो न सुनियो ।

राजनैतिक स्थिरता भन्ने आशाको त्यान्द्रो पनि कता कता चुडिएझै लागेको छ । गणतन्त्र आएपछि सम्पूर्ण रूपले देश परिवर्तन हुन्छ भनेर आशा गर्ने र हुनै नसक्ने काम २।४ महिनामा पूरा गर्नु पर्ने बाध्यता सरकारलाई पर्ने नै भयो । आफ्नो घर अगाडिको फोहर उठाउन पनि सरकारकै मुख ताक्ने बानी जो बस्यो । जनप्रतिनिधिहरु पनि थरी थरीका निस्के । गणतन्त्र र संघीयताको बदनाम गर्ने गरी विकट गाउँ पालिकामा नाम मात्रको बाटो खन्यो अनि वडाअध्यक्ष समेतलाई गाडी र ड्राइभरको सुविधा दिलायो । आफ्नै हात जगन्नाथ जनतालाई दे दनादन लात भनेझै भयो । प्रतिपक्षको झन कुरै भएन । मात्र भागवण्डामा मिलापत्र भए तै चुप मै चुप हुने, भएन भने यो सरकारले कामै गरेन भनेर विरोध मात्र गर्ने । तह अनुसारको गाईजात्रा देखाउने । चुनावी रणनीति सबैले अख्तियार गर्ने नै भए । कर्मचारी तन्त्रको आफ्नै शैली र परम्परा छ । नेता रिझाउने र जनताको सेवा भनेर जागिर माथिको झिँगे दाउँमा दोस्रो पेशा वा व्यवसाय बनाएर दिनहुँ धन आर्जनमा मरिहत्ते गर्ने । न्याय सम्पादन गर्ने न्यायमूति आँखामा पट्टी बाँधेर होइन खुलमखुल्ला मेरो र तेरो, धन र पहुँचका आधारमा निरुपण गर्ने नयाँ सिद्धान्त प्रतिपादनमा व्यस्त देखिएकै लाग्छ । निरीह अख्तियार निर्दाेषीलाई मृत्युको मुखमा धकेल्ने र दोषीलाई सुनको लिसो हालिदिने मनोवृत्तिमा लागेको भान हुन्छ । छोटकरमिा सम्पूर्ण संवैधानिक निकायहरु जनप्रतिनिधिहरु, शिक्षक, कर्मचारी, सेना तथा प्रहरीहरु व्यक्तिगत नाफा र घाटामा लागेर व्यापारी बन्ने दौडमा लागे भने कसरी हुन्छ देशको उन्नति र प्रगति ।

स्वदेशी उत्पादनलाई कमसल देख्ने, स्वदेश उत्पादन र वस्तुको प्रवद्र्धन गर्न नसक्ने, विदेशीले बनाएका र उत्पादन गरेका हजारौ सामानहरु लत्ता कपडा, मोटर गाडी, फलफूल तथा तरकारी समेतमा मन लागेजति डरलाग्दो नाफा खाएर बेच्न पल्केका व्यापारी तथा तथाकाथित उद्योगपतिका कुरा गरी साध्य नै छैन । नवउदारवादी तथा दलाल पुँजीवादी सोचले ग्रस्त समाज आफ्नो उत्पादन कौडकिो भाउमा बेचेर विदेशी पेय पदार्थमा रमाएको हामीलाई थाहा नै छ । दैनिक ५०० मात्र आम्दानी गर्ने परिवार शहरमा कोठा भाडा लिएर २।३ जना छोराछोरी बोर्डिङ स्कुलमा पढाउने रहर देख्दा र सरकारी लगानीको राम्रा शैक्षिक संस्थाहरुमा अभिभावक र विद्यार्थीहरूको रुची घटेर जानु “विनासकाले विपरत बुद्धि” भन्ने उखान चरितार्थ भएको अनुभव गरिएको छ ।

हामी मध्ये धेरैलाई सरकारी तथा गैर सरकारी संस्थाहरुको बारेमा थोरबहुत जानकारी छ । यस्ता संस्थाहरुले नेपाललाई समृद्ध बनाउने नाममा जातियताको विउ रोप्ने, काम गरी खान नसक्ने अल्छी बनाउने, आफ्नो भेष, भुषा, कला संस्कृति तथा पहिचानलाई धुलो चटाउने, अस्थिर समाजको निर्माण गर्ने तर्क र अनुभव भन्दा बहुलठ्ठी विचारको सम्प्रेषण गरी भेदभाव गरिवी र असमानता बढाउने जस्ता कुटिल खेल मिलाएर खेले जस्तो आभाष भएको छ । किनभने वर्षेनी अरबौ रूपैया शिक्षा, स्वास्थ्य, रोजगार, विकास निर्माण तथा अनुदानमा खर्च गरेको ठान्ने दशौ हजार गैरसरकारी संस्थाहरु पचासौँ वर्षदेखि नेपालमा सक्रिय छन् । यी र यस्तै संस्थाहरुको न सार्वजनिक न सरकारी लेखा परीक्षण छ । जे मन लाग्यो त्यै ग¥यो । त्यसैले दुर्गम र गरिब देश बासीहरु तिनै गैर सरकारी संस्थाहरुको बाटो हेरेर बस्ने गर्दछन् । नानाथरी योजना, भाति भाति सहयोग सामाजिक संजालमा फिजाएर प्रचार प्रसार गरिएको देखेकै छौ । १०० रुपियाँको बजेटमा ७० रुपियाँ आफै म्यान पार्ने विकासप्रेमी दातृ निकाय र उनीहरुको चालामाला देखेर उदेक लाग्दछ ।

गरिब तथा दलितको नाम बेचेर अनेकन हावादारी मनसाय पत्र, प्रस्ताव तथा प्रोजेक्ट तयार गरी मनगणन्ते तथ्याङ्क र विश्लेषणले भरिएका रिपोर्ट पेश गरेर विदेशी डलर हसुर्ने महाबुद्धिजीवी योजनाकारलाई हामी निमुखाले बधाइ दिन करै लाग्छ । दुई चार दिन माछा खुवाउने तर माछा मारेर खान कहिल्यै नसिकाउने तमाम विकासे सङ्घ संस्थाहरुले गरिखाने र हुने खाने सबै वर्गलाई परनिर्भर बनाएको भित्री रहस्य अब सबैका सामु छर्लङ्ग छ । माथि प्रकट गरिएका धारणाहरु लेखकका निजी विचार हुन् । तसर्थ परजीवी भन्ने शब्दावलीलाई परिभाषित गर्ने प्रयत्न नगरी सोझै विषय प्रवेश गरिएको छ । जसले गर्दा पाठकहरुलाई परजीवी शब्द विशेषको जादुमयी विशेषताका बारेमा थप जानकारी आवश्यक नभएको ठहर गर्दछु ।

Related News

सम्बन्धित समाचार

hero news full width