राष्ट्रहितका लागि एक होऔं

आदर्श समाज सम्वाददाता
जेठ २०, २०७८

देशमा हिजोको शासन व्यवस्था राम्रो भएर भनेर हटाइयो । आज संघीय गणतान्त्रिक व्यवस्थामा पनि जनता किन र केका सरकारको विरोध गरिरहेका छन् । सहज असहज जे जस्तो अवस्था भए तापनि सडक र गल्ली–गल्लीमा राष्ट्रिय झण्डा लिएर नारा, जुलुस गरिरहेका छन् । त्यसको समाधानतर्फ समयमै ध्यान दिनुपर्ने अवस्था देखिएको छ । आजका नेपाली जनता धेरै सचेत छन् । यसैले जनताका आँखामा छारो हाल्ने काम गर्छु भनेर कसैले नसोचे हुन्छ । राज्यको रक्षाका लागि राष्ट्रवादी एक भएर अगाडि बढ्न जुनसुकै बेला उनीहरु जाग्न सक्छन् । सरकार जनताका सामान्य समस्या समाधानमा अग्रसर हुन नसके त्यसले जटिल रुप लिन्छ ।

संसारमा हरेक नामका राष्ट्र छन् । तर हाम्रो जस्तो हिन्दु राष्ट्र नेपाल संसारमा कहीं कतै नहुँदा विश्वका धेरै देशको नजर नेपालमा परिरहेको छ । हिजो श्री ३ जंगबहादुर राणाले समय अनुसार राम्रा नराम्रा के कस्ता काम गरे त्यो इतिहास साक्षी छ । तर हामीले बिर्सन नहुने कुरा के भने, श्री ३ जंगले आफूलाई विदेशीबाट आएको उच्चस्तरको निमन्त्रणामा १९ तोपको सलामी नपाउने भए मैले निमन्त्रणा स्वीकार गर्दिन भन्ने जवाफ दिँदा अंग्रेज सरकारले उनको साहसलाई कदर गरी १९ तोपकै सलामी पाउने आदेश गराए । सोही अनुसार अंग्रेजले १९ तोपको सलामी दियो । यसरी उनले अंग्रेजलाई झुकाएर सलामी लिएका थिए । नेपालको छबि उँचो पारेका थिए, त्यो हाम्रा लागि मात्र नभएर वीर गोरखालीका लागि गौरवको कुरा थियो । आजको अवस्थामा जंगबहादुरजस्तो हिम्मत भएका व्यक्ति दुर्लभ देखिनेमात्र होइन । हामीले हिम्मत गर्नुको सट्टा शरणमा पर्ने संस्कारलाई बढावा दिने नेता जन्माउनु र त्यो संस्कार मौलाउनु नेपालीका लागि दुखको कुरा हो ।

हाम्रा नेताको व्यवहार एकातर्फ त्यस्तो छ अर्कोतर्फ विदेशीले विभिन्न सहयोगका नाममा आफ्नो स्वार्थ पूरा गरिरहेका छन् । हिजो भूकम्पको बेला सहयोगका नाममा बाइबल बाँडेका घटना हाम्रा माझमा ताजै रहेकाले अब त विदेशीहरुले विभिन्न रुप धारण गरी नेपाल प्रवेश गर्नुका कारण के हुन् भनेर आशंका गर्नुपर्ने अवस्था सिर्जना भएको छ । हिजो यस्तै प्रकारबाट हाम्रा धर्म, संस्कार, संस्कृति, मठ, मन्दिर, मस्जिद, गुम्बा र नेपालीको रहनसहन, चालचलनलाई उनीहरुले संरक्षण भन्दा त्यसप्रति आम नेपालीमा विचलनको भावना विकास गराउन थोरबहुत मलजल गरे । हाम्रा नेपालीको मतैक्यतालाई छामेर आफ्ना रणनीति पूरा गर्न लागे । उपज हजारौं चर्च खडा गरिए, हिन्दु राष्ट्र फालिए, नेपाली–नेपालीबीचमा फाटो पारिएको अवस्था सबै नेपालीमा जगजाहेर छ ।

संविधान देशको मूल कानुन हो । संविधानले नागरिक र राष्ट्रलाई आवश्यक सम्पूर्ण कानुन बनाएको छ । त्योमात्र होइन, समय अनुकूल आवश्यक परे थप्ने अनावश्यक परे फाल्ने व्यवस्था संविधानमा छ । संविधानमा सबै नागरिकको भावना अभिव्यक्त हुने भएकाले जनताको मर्म बुझ्न सकिएन भने संविधानको अर्थ रहँदैन । खराब तत्वलाई निस्तेज पार्न संविधानले विभिन्न व्यवस्था गरेको हुँदा हामी सबै संविधानमा व्यवस्था भए अनुसार चल्नुपर्ने हुन्छ । राष्ट्र, राष्ट्रियता र जनताको जनजीवनमा दखल दिने प्रयास कतैबाट हुन थालेमा त्यो राष्ट्रवादीका लागि घातक हुन्छ । अहिलेका सरकारका केही कदम त्यस्तै देखिएका छन् ।

वर्तमानको विकल्प एकता हो, जननिर्वाचित नेताहरु राष्ट्रमुखी, जनमुखी विकासमुखी हुनुपर्नेमा पैसामुखीमात्रै भइरहेको अवस्था जगजाहेर छ

हामीले हाम्रो देशलाई विदेशी जासुसको फुटबल खेल्ने ग्राउन्ड हुन नदिऔं । विदेशीहरु सामु लम्पसार नपरौं । विदेशी गाउँका कुनाकुनामा घुम्न आए तापनि हामीले हाम्रो प्राकृतिक पर्यावरण, संस्कार, संस्कृतिको प्रचारप्रसार गरौं । घरभित्रको कलह पराइ सामु कहँदा देशमा अदृश्य तानावानाको चाल चलिरहेको अवस्था देखिन्छ । अब नेपाली–नेपाली हामी आफैंभित्र जुधेर होइन मिलेर हातमा हात मिलाएर काँधमा काँध मिलाएर एकता कायम गर्न सके हामीलाई कसैले पनि कमजोर आँक्न सक्दैन । सदा विदेशी शक्तिको त्रास मान्नुपर्ने अवस्था हुँदैन । यो अवस्था सुखमय अवस्था होइन । विश्व नै शोकको भूमरीमा परेको बेला हामी खिचातानीमा होइन सबै नेपाली संविधान सम्मत चल्नु आजको आवश्यता हो ।

वर्तमानमा विश्व आतंकित छ । हाम्रो देशभित्र कैयौं नरनारीले अल्पकालमा जीवन त्याग्न परेको अवस्था छ । राष्ट्रबासी आम नागरिक कीराफट्यांग्रा मरे जसरी मृत्यु भइरहेको छ । सरकारले यो महामारीको बेलामा रोगबाट मृत्यु हुनेप्रति सहानुभूति प्रकट गर्नुको सट्टा निर्वाचन घोषणा गरिरहेको छ । हर्ष र खुसी भनेको जनतालाई सपनाजस्तो भइरहेको छ । गरिब, मजदूरहरुको छाक र बासको व्यवस्था हुन सकेको छैन । गल्लीगल्लीमा हात थाप्दै हिँड्न थाले पनि ला भनेर दिने कोही छैनन् । यस्तो भयावाह अवस्थाले देशमा हाहाकार भइरहेको छ । हाम्रा अग्रजहरुको ध्यान सत्ताको दाउपचको दौडाहमा चलेको छ । यो अवस्थामा सरकारको काम देख्दा नेपाली नागरिकलाई मात्र होइन, छिेमकी राष्ट्र विश्वलाई पनि लाज लागिरहेको छ जस्तो लाग्छ । मानवताभन्दा सत्ता ठूलो देख्ने हाम्रा नेतालाई इतिहासले राम्रो पक्कै मान्ने छैन ।

दलीय व्यवस्थामा हुने सरकारलाई सहयोग दिनु र समय समयमा घच्घच्याउने काम गर्नु सबैको कर्तव्य हुन्छ । विचार विभाजन भए विकास असम्भव हुँदैन । जनप्रतिनिधिको काम जनता सुखी र राज्यलाई समृद्ध राख्ने हो । अब बाँच्न पाउने अधिकारबाट बञ्चित हुन कोही नागरिकले नपरोस् । अहिले म र तँ को भावना त्याग्नु सबैभन्दा उपयुक्त होला । तर खुट्टा तान्ने रोगले भविष्यलाई खतरा हुनसक्छ । अहिले कुर्ची होइन, देश बचाउने मन्त्रको पालना गरे शान्ति आफैं आउँछ । नेपाली सबै एकताबद्ध हुन सके हामीलाई कुनै पनि विदेशी शक्तिले हेप्न सक्नेछैन । हाम्रो देश हामीले बनाउने हो सबै एकताबद्ध भयौं भने शान्ति आफैं आउँछ । जहाँ झगडा हुँदैन त्यहा सधैं शान्ति हुन्छ । भागबण्डामा लाग्नु भन्दा कर्तव्यलाई सम्झे हामी नेपालीको पहिचान समाप्त हुने कुनै पनि विषयमा जनताले घोरविरोध गर्नेछन् । जनताले राजेको खोजेको विषयवस्तुमा जनप्रतिनिधि बफादार भई आफ्नो कर्तव्य पूरा गर्ने छन् भन्ने विश्वास लिनु स्वाभाविक हो ।

एउटै घरभित्रका परिवारमा एक समूहले एउटा माग राखिरहेको छ अर्कोले अर्को, हिजो हिन्दु राज्यका सन्दर्भमा पनि त्यस्तै भयो । आज सरकारका विषयमा पनि त्यस्तै भएको छ । जोसँग हजारौं जनता आबद्ध छन् यसको मूल्यांकन नगरी दिन–दिन मेरा गोरुका बाह्रै टक्का भन्न थाले भने राम्रो परिणाम मिल्दैन । टुट र फुटको नीति देश र जनताका लागि राम्रो मानिंदैन । समयले जहिले पनि राम्रो अवस्था र व्यवस्थाको खोजी जहाँ पनि गर्दछ । कसैलाई पानीको प्यास लाग्यो भने आफैं पँधेरामा पुग्नुपर्छ । लोटामा पानी लिएर कोही हिँडेको हुँदैन । जनताले विश्वास गरेका, विश्वास दिएका जनप्रतिनिधिहरुले आफू आफैंमा एक अर्कोलाई दोषारोपण गर्ने जनतामाथि हैकम चलाउने, जनताको गुनासो नसुन्ने वर्तमान अवस्था यथावत् रहेमा नेपाली जनतालाई सह्य हुन सक्दैन । यसर्थ संविधान अनुसार शासक र जनता चल्न सके शान्तिको उदय हुन्छ । वर्तमान अवस्थाको विकल्प एकता हो । कानुनी राज्यमा कानुनले दिएको अधिकार कोटको खल्तीमा राखिएको हुँदा कतिपय अड्डा अदालतबाट सहज तरिकाबाट जनताले उक्त काम लिन सकिरहेका छैनन् । म ताक्छु मुढो, बन्चरो ताक्छ घुुँडो जस्तो अवस्था छ । जननिर्वाचित नेताहरु राष्ट्रमुखी, जनमुखी कर्ममुखी, विकासमुखी हुनुपर्नेमा पैसामुखीमात्रै भइरहेको अवस्था जगजाहेर छ ।

आजका नेपालीमा हिजोका नेपालीको जस्तो अनुशासनमा पाउन निकै गाह्रो भइसकेको छ । वर्तमान अवस्थामा मात्र होइन भविष्यमा यसको प्रभाव झन् डर लाग्दो देखिनेछ । नेपालीलाई यसरी अनुशासनहीन बनाउने सन्दर्भमा विदेशीको धेरै हात छ । तर हाम्रा नेताहरु, हाम्रा राज्यको बागडोर सम्हाल्नेहरु उनीहरुको आश्वासनमा परेर अझै पनि विदेशीको भर र विश्वास गरिरहे आफ्ना सहकर्मीलाई घात गरेर विदेशीका कुरामा विश्वास गरिरहे भने यो तत्व नेपालीका लागि घातक सिद्ध हुनेछ । विदेशी आवतजावतको हालीमुहालीले नेपालीभित्र रहेको भावनात्मक विचारलाई टुक्रयाउने प्रयास गरिएको बुझिन्छ । यस प्रकारका खराब चलखेल वृद्धि हुँदै जाने र रोक्न सकिएन भने देशका राजनीतिक पार्टीमात्र होइन, नेपाल भन्ने शब्दसमेत समाप्त हुन सक्ने देखिन्छ । हिजो कामले काजी हुने नेपालमा आज पैसाले काजी हुन खोजेको पाइन्छ । जसले गर्दा राष्ट्र र जनताले ओत लाग्ने ठाउँ पाउन सकेको छैन । यसर्थ नेपाली सबैले मित्रताको गाँठो फुस्कन नदिऔं यस्ता तत्वको खोजी गरी देश निकाला गरौं । अब आम नेपाली जाग्नुपर्ने भएको छ । मौरीको घारमा ढुंगा हान्ने काम कसैबाट नहोस् । यदि कतैबाट त्यो भएमा हाम्रो एकतालाई मजबुद पार्न त्यस्ता गतिविधिलाई निस्तेज गर्न आवश्यक छ ।

कुनै पनि सरकारलाई स्थिर राख्न सक्यो भने राष्ट्रमा छिटो विकास हुन्छ । सरकार गठन भएपछि खुट्टा तानातान गर्न खोजे विकासको गतिमा बाधा पुग्छ । हाम्रा पुर्खा अझै एक सय ज्यादा वर्ष जीवितै रहेका छन् । उहाँहरुलाई वर्तमान बाटोघाटो पानी, बत्ती, स्वास्थ्यसेवा भरपर्दो यातायात विकास भएको देख्दा सपना जस्तो लाग्छ । अब हामी नेपालीबीचको एकतालाई पनि उनीहरुलाई सपनाजस्तै लाग्ने गरेर एक हुन आवश्यक छ ।

Related News

सम्बन्धित समाचार

hero news full width