ऐना

इन्दु सुवेदी पौडेल
वैशाख ११, २०७८

उठेर बसेको सानो निधार । बांगिएको नाकको डाँडी । कालो र खस्रो छाला । साना चिमरिएका आँखा । घर छाडेर भाग्न लागेजस्ता दन्त लहर । ठूला ठूला ओठ अनि त्यसभित्रका काला काला दनेसा । अनुहारभरि झुस्स परेका रौंहरू । साना साना कान । गुन्द्रुकजस्तै कपाल । होचो कद । लम्बाई नमिलाई कुँदिएका हात र गोडाका औंलाहरू । ऐना हेर्छु पटक पटक मेरो के राम्रो छ भनेर । ऐनालाई घुमाइघुमाई हेर्छु तर ऐनामा नदेखिने बाहेक केही पनि राम्रो पाउँदिनँ । जे राम्रो छ, त्यो ऐनामा देखिँदैन ,जे देखिन्छ त्यो राम्रो छैन सायद ।

पाँच वर्ष भयो जीवनको नयाँ परिचयको सुरुआत भएको । जीवनका अनेक आकांक्षा र सपनाहरू दुविधामा छन् । एउटाको हातमा सुम्पिएको जीवन, जीवनभर हत्केलामा मात्रै रहने हो कि मन मुटुभित्र ? जवानीका चाहनाहरू गुमनाम हुन थालिसके । प्रतीक्षाको घडीका सुईहरू बटारेर गन्तव्यमा पु¥याइदिउँ कि जस्तो लागिसक्यो । भगवानको अगाडि बसेर प्रार्थना गर्ने यी दुई हातहरूले आफ्नै काखमा भगवानको प्रतिबिम्ब चाहिसके । यो अहंकारी मनले मातृवात्सल्यको पुकारा गरिसक्यो । शरीरका प्रत्येक अवयवलाई मातृत्वको भोक जागिसक्यो ।

श्रीमान्को आगमन श्रीमतीका लागि अति नै स्वागतयोग्य । तरंगित मनहरू, छताछुल्ल आशाहरू ..,कौतुहल भरोसाहरू ..,ठेगान लाउँछन् कि अब ..। बन्द कोठामा दुइटा ..। चाहनाको थुप्रो एकातिर ,बासना आउने हिमालयन तेल अर्कोतिर । शिरदेखि पाउसम्मको हलुका मालिस.. । जाँगर चलाउने मीठा मीठा किस्साहरू ..। ओछ्यानको छेवैमा टेबलमा मनतातो पानी ..। सफा, मगमग वासना आउने सरफमा धोइएका कपडाहरू ..। सबैभन्दा बढी चञ्चल र आतुर मन । शरीरका प्रत्येक अवयवहरूको भोक । डिम लाइटको उज्ज्यालोमा टल्किएका आँखाका भाकामा उत्साहहरू । भित्तामा टासिएका प्रेमिल तस्बिहरू । झ्यालका चरहरूबाट छिरेको बतासको स्पर्श । रोमाञ्चकारी परिवेश ..एउटा युगल जोडीका लागि ..।

तर अफसोच ..म जे देखिन्थेँ, त्यो थिइनँ ,जे थिएँ त्यो देखिएको थिएन । मेरो निश्चल मन, समर्पित प्रेम अनि कोमल हृदयको चञ्चलता किन देखाउँदैन ऐना । किन देखाउँछ नमिलेको चेहरामात्र । मेरो सोचाइ, मेरो मन, मेरो भावना सबै कुरालाई बाहिरी आवरणसँग तुलना गरियो सायद । मेरा लागि परिवेश तयार भएर पनि तयार हुन सकेन पात्र । मनमा कस्सिएका गाँठा फुकाउन खोज्दा खोज्दै झनै कसिएछन् । आँखाका उत्साह सेलाउँदै गए । पश्चातापले झापड हानेर गयो । त्यो चिसो बतासले गिज्याएर भाग्यो । विचलित भएँ, म भित्रभित्रै त्यो अचल शरीर र कठोर मनका कारण । के अब धैर्यताको सीमांकनलाई बिस्तार गर्ने साहस मभित्र रहला ? म परिपक्व बनेंँ, व्यावहारिक बनेँ, सामाजिक बनेँ तर बन्न सकिनँ आमा । मेरो मातृत्वको हरण हुनुमा के मेरो कुरुपता दोषी हो ?

Related News

सम्बन्धित समाचार

hero news full width