मनको औषधि कतै पाइन्छ ?

असफल गौतम
पौष १८, २०७७

लाग्छ, मन दुख्यो या बिरामी भयो भने निको पार्ने औषधि पटक्कै भेटिँदैन । यसैले मनको औषधि कतै पाइन्छ ? भनेर सोध्दा औषधि पाइएला–नपाइएला फरक कुरा । तर मनको औषधि नामक सजार्म फेला पर्छन् भन्ने तथ्यलाई शेरबहादुर लामिछाने क्षत्रीले पुष्टि गरेका छन् । ३ खण्डमा विभक्त क्षत्रीको ‘मनको औषधि’ कृति हात परेसँगै दुनियाँमा सबै बिमारको औषधि पाइन्छ, नपाइने एउटै यस्तो औषधि हो; मनको औषधि भन्ने पंक्तिकारको धारणामाथि प्रश्न उठाउन खोजेको ? भनेर प्रश्न गरिरहेको छ । यसैले प्रस्तुत आलेख मनको औषधि नामक कृति केन्द्रित छ ।

संरचनागत हिसाबले १ सय २० पृष्ठमा संरचित क्षत्रीको कृतिको साजसज्जा, गुणस्तर सबै हिसाबले एक सय रुपैयाँ मूल्य सुहाउँदै देखिन्छ । माछापुच्छ्रे गाउँपालिका घर भई हाल पोखरा–५, पस्र्याङमा बसोबास गर्दै आएका क्षत्री सबइन्स्पेक्टरबाट सेवानिवृत्त व्यक्ति हुन् । हिजो राज्य रक्षाका लागि, अन्याय, अत्याचार अन्त्यका लागि बन्दुक समातेका क्षत्रीले आज कलम समातेका छन् । साहित्य कर्ममार्फत् सभ्य समाज निर्माण गर्न त चाहेका छन् । कृतिको पहिलो खण्डमा ९ कविता, दोस्रोमा दुई सय ६४ र तेस्रो खण्डमा पाँच सय ५५ वटा सूक्ति संग्रहित छन् । क्षत्री कलमजीवी होइनन् तापनि उनको ‘बाँच्ने कला’ यस अगाडि प्रकाशन भइसकेको छ । हिजो बन्दुक पड्काएका हातले अक्षर पडकाइरहेका कर्ममा विश्वास राख्ने क्षत्रीलाई मन सुन्दर हुनुपर्छ भनिरहन पर्दैन ।

‘सर्वाहारा वर्गलाई भ्रम नछर्नु’ क्षत्रीको प्रस्तुत कृतिको पहिलो खण्डमा शुभकामनापछि संग्रहित पहिलो कविता हो । हेरौं शेरबहादुर लामिछाने क्षत्रीको कविताको एक फाँकीः माक्र्सवादी दर्शनलाई आरोप लगाउनु आदर्शवादी दर्शन र पूँजीपतिको प्रवक्ता बाहेक केही होइन त्यसका पछाडि नलाग भो । माक्र्सवादी दर्शन सर्वहारा वर्ग र उत्पीडित जनमुदायको मुक्तिको सिद्धान्त हो (पृ.८) ।। शेरजीको मनको भावना पढ्दै गर्दा कतै शेरबहादुरजी भ्रम हटाउने भ्रममै त छैनन् ? भनेर प्रश्न सोध्न मन लाग्छ ।

सरल, सहज र सरस भाषाशैलीमा अभिव्यक्त सूक्तिमा अलंकार विधानले नछोए पनि मानव जीवन, हरेक मानवको सोंच र विचारलाई छोएको छ

यतिबेला विश्वलाई कोरोनाले तहसनहस पारिरहेको छ । यता नेपालमा भने कोरोना र कम्प्युनिस्टले एकैपटक आक्रमण गरेर जनतालाई धरधरी रुवाएका छन् । ५ वर्षका लागि चुनेर पठाएकाहरुले दैलादैलामा ल्याएका सिंहदरबारका अगाडि मुतेर हिँडिरहेका छन् अनि त्यही नमीठो वासनामा स्याल हुइँया चलिरहेको छ । यो मात्र होइन, त्यो भन्दा दर्दनाक र थप पीडादायी सन्दर्भ हिलो, धुलो र माटोसँग खेल्ने किसानहरुको छ । वर्षभरि कर्म गरेर आफ्नो आँसु, रगत र पसिनाको कमाइले जिन्दगीको नौका घिसार्दै गरेका सर्लाहीका ६४ वर्षीय नारायणराय यादव जस्ता किसानहरु हातले दिएर गोडालाई दुःख बोकाइरहेका बेला परिस्थिति यस्तो बनेर आयो, तिनै यादव जसले आफ्नो पसिनाको मूल्य माग्दामाग्दै भोकभोकै अकालमा मर्नुपर्‍यो। यसैले यी नारायणराय यादव जस्ता सर्वहाराले न्याय पाएको देख्न पाइयो भने बल्ल शेरबहादुरजीका कविता साच्चै ‘शेर’ बन्नेछन् । अनि सर्वहारा वर्गलाई भ्रम नछर्नु भनेर दिएको उपदेश सार्थक हुने अपेक्षा राख्न सकिन्छ ।

समसामयिक विषय केन्द्रित कवितामा शेरजी कतै गरिवी स्वीकार्ने होइन हटाउन प्रयास गर्ने हो भन्छन् । कतै हरेस नखाइ अगाडि बढ्नु जिन्दगीको सार्थकता भन्छन् । यो मात्र होइन, उनी समाज बदल्ने नै हामी भएकाले मनमा अलौकिक शक्ति भर्न आवश्यक छ भन्छन् । आखिर जस्तो भावना हुन्छ, जीवन त्यस्तै हुने भएकाले मनलाई शान्त बनाउन, मनमा साहस भर्न सकिए मात्रै समृद्धि आउने भएकाले उनी भन्छन्ः

मेहनत नगरी कुनै मानिस महान् बन्दैन
निर्भय–पराक्रम–साहस विना कुनै काम हुँदैन (पृ.२७) ।

सबैलाई थाहा भएको कुरा हो, मेहनत र पराक्रम नगरी काय सफल हुँदैन । यसैले हामीले कर्म गर्नुपर्छ । काम थोरै कुरा धेरै हुँदा समाज समृद्ध बन्न सकेको छैन । समाजमा परिवर्तन ल्याउँछु अनि फ्रायड बन्छु भनेर हिँडेकाहरु केही फ्रड बनेका नदेखिएका होइनन् । अब हिजोका त असल थिए तर आजका फ्रडका पछाडि हिँड्ने होइन बरु उनीहरुले बिराएको बाटो सम्झाउन आवश्यक छ । यसैले शेरजी ‘धरतीको शरन’ परेर कविता लेख्छन् :

देशका लागि हात र बित्तामा
लडे पुर्खा काँगडा र टिष्टामा (पृ.२२) ।

सर्वहाराप्रति सहानुभूति र कर्मप्रति अटल विश्वास राख्ने उनले आफ्ना कविताका माध्यमबाट परोपकारी भावना पस्केका छन् । बदमासलाई इमान्दार हुन र घमण्डीलाई घमण्ड त्याग्न आग्रह गरेका छन् ।

क्षत्रीले मनको औषधिको दोस्रो र तेस्रो खण्डमा गाउँ समाजमा प्रचलनका सूक्ति सग्रहित छन् । जसका माध्यमबाट समाजमा कसरी बाँच्ने भन्ने कला क्षत्री सिकाउन चाहन्छन् । तर सत्य के हो भने, हिजो आज हाम्रो घर परिवारमा खुसी हराएको छ । सरकारले हरेक दिन विभिन्न सभा समारोहमा रिबन काटेर, विभिन्न दिवस पारेर खुसी साटेर, शुभकामना दिएर दिवस मनाइरहेको छ । तर यता मन बिरामी भएका नेपालीका न दिन, दिन जस्ता भएका छन् । न रात, रात जस्तै भएका छन् । चाडपर्व, उत्सव भन्नु त सबै लिउन भएका छन् । रातदिन किसानी कर्म गरेर उब्जानी गर्ने रायहरुकै भागमा आँसुको तिहुन भएका छन् । यो मात्र होइन त्यो भन्दा पनि ठूलो विडम्बना त १० पासवालाको गोल्ड मेडलिष्ट पिउन भएका छन् अनि कसरी मन सञ्चो हुन्छ र ? आखिर स्रष्टाले गर्ने प्रयास नै हो । क्षत्रीले स्तुत्य प्रयास गरेकै छन् ।

क्षत्रीले श्रीमान्–श्रीमती मिलेको घरलाई स्वर्गसँग तुलना गरिरहेका छन् । साच्चै हिजो आफ्नो घर परिवारलाई स्वर्ग बनाउन एक धर्को सिन्दूरले बाँँधेर परदेशी बनेकाहरुले देखेको स्वर्गलाई नर्क बनाउनेहरु मात्र समाजमा छैनन् । समाजमा धेरै थरी बदमासहरु छन् । जसले गर्दा हाम्रो घर भत्काएका छन् । अब भत्केको घर र मनलाई सम्हाल्नुपर्छ । मन समालियो भने घर समालिन्छ । यसरी घर मिल्नु भनेको टोल छिमेक मिल्नु हो । टोल छिमेक असल बन्नु र त्यसपछि समाज हुँदै राष्ट्र बन्नु हो । हामी पहिलो आफ्नो घर राम्रो बनाउन सकियो भने नेपालरुपी घर आफै समृद्ध बन्छ भन्ने भाव उनका सूक्तिमा पाइन्छ ।

यसरी क्षत्रीले जति भावना र सूक्ति संकलन गरेका छन् ती सबै मननीय छन् । एक पटक हामी सबैले पढेर मनन् गर्न सकियो भने जीवन जीउनुको सार्थकता मात्र होइन मन बिरामी हुँदाको औषधि पनि त्यही भेटिन्छ । सरल, सहज र सरस भाषाशैलीमा अभिव्यक्त उनका सूक्तिमा अलंकार विधानले नछोए पनि मानव जीवन, हरेक मानवको सोंच र विचारलाई छोएको छ । यही नै लेखनको सबल पक्ष हो ।

Related News

सम्बन्धित समाचार

hero news full width