विश्वमा मासुको परिवेश

सतिश खराल
कार्तिक ६, २०७७

आजकल धेरै मानिसहरुलाई मासु अत्ति मनपर्दछ । अहिले मासु बिनाको खानेकुरा त खाए जस्तो नै लाग्दैन । मःम, सेकुवा, फ्राइड चिकन, बेकन, पोर्क बेली र ससेजहरू त आहा ! मुखबाट पानी नै रसाउदछ। ब्रेक्फास्टदेखि डिनरसम्म कै खानामा मासुको परिकार हुने गर्दछ । यहाँ आश्चर्यको कुरा के छ भने केही दशक अगाडि मात्र मासु केबल विलासी खानाको रूपमा वा चाडपर्व विशेष उत्सवहरुमा प्रयोग गरिन्थ्यो । अहिले एक सय रुपैयाँमा मीठो एभरेष्टको मःम खान पाइन्छ । तर यसैलाई विरोधाभासपूर्ण रूपमा हेर्दा, आहारको रुपमा मासु धेरै खुवाउने मान्छेको सबैभन्दा असक्षम तरिका हो । विश्वव्यापी रुपमा हेर्दा, मासुयुक्त आहारले खासमा हाम्रो यस ग्रहलाई नै खाइरहेको छ । त्यो किन हो ? र मासु नछोडिकन हामी यसको बारेमा के गर्न सक्छौं ? भन्ने प्रश्नमा विचार गर्नु अहिलेको अवस्थामा महत्वपूर्ण छ । यसका लागि हामीले नेपाललाई मात्र नहेरी पुरै विश्वव्यापी रुपमा मासु उत्पादनको अवस्था र सत्यतथ्य जान्न आवश्यक रहन्छ ।

नेपाल जहाँ राष्ट्रिय जनावर नै गाई हो, यहाँ गौमान्स र सुगुर, बंगुरका मासुजस्ता संवेदनशील विषयको उठान गरेको केही समुदायलाई आपत्तिजनक लाग्न सक्दछ, तर विश्व परिवेशमा यिनीहरुको मासु अत्याधिक रुपमा प्रयोग हुने हुनाले यसबारे पनि कुनै बेविचार नगरी जानकारी लिइराख्नु उचित हुनेछ । मानवले खानाका लागि धेरै जनावर राख्छन् । हाल करीब २३ अरब कुखुरा, १.५ अरब गाईवस्तु र करीव १ अरब सुंगुर र भेडाहरू पालिएका छन् । पाल्ने दौरानमा यिनीहरुलाई खुवाउन पनि पर्दछ । खाने मुख अत्याधिक भएको कारण हामीले जानी नजानी पृथ्वीलाई विशाल फिडिंग ग्राउन्ड (खुवाउने मैदान)मा परिवर्तन गरेका छौँ । विश्वमा खेतीयोग्य जमिनको ८३ प्रतिशत क्षेत्र पशुधनको लागि प्रयोग गरिन्छः चराउनेको रूपमा र चाराबाली खेती गर्नुस जस्तै मकै र सोया खेती । यो भनेको पृथ्वीको कुल क्षेत्रको २६ प्रतिशत जमिन हो । यदि हामीले यी बोटहरूका लागिमात्र प्रयोग गरिने पानी समावेश गर्छौं भने, मासु र दुग्ध उत्पादनले विश्व्यापी ताजा पानी खपतको २७ प्रतिशत ओगट्ने गर्दछ । दुर्भाग्यवश, मासु उत्पादन संसाधनका लागि ब्ल्याक होल जस्तो छ । पशुहरू जीवित प्राणीहरू भएको हुनाले, धेरैजसो खाना उनीहरूको स्वादिष्ट भागहरू बढाउन र उनीहरूलाई जीवित राख्नका लागि प्रयोग गरिन्छ । चाराबालीबाट पोषक तत्वहरूको केही अंश मात्र मासुमा गएर पर्दछ। उदाहरणका लागि गाईहरूले केवल बोटबिरुवाहरूको ४ प्रतिशत प्रोटिन र ३ प्रतिशत क्यालोरी मात्र गोमांसको रूपमा दिने गर्दछन् । ९७ प्रतिशत भन्दा बढी क्यालोरीहरू मासुको रुपमा आउँदा हराउँछन्। एक किलोग्राम मासु बनाउनका लागि एउटा गाईले २५ किलो अनाज खानु पर्दछ र १५ हजार लिटर पानी प्रयोग गर्दछ। पशुधनका लागि यती धेरै खुराक प्रयोग भैरहेको देखिन्छ तर यसले हामीलाई प्रधान गर्ने भनेको केवल १ ८प्रतिशत क्यालोरी मात्र हो। पशुहरूलाई खुवाउने खुराक यदि हामी मानवहरुले प्रयोग गथ्र्यौ त, हामीले थप ३.५ अर्ब व्यक्तिको पोषण गर्न सकिने थियो भन्ने अनुमान विज्ञहरुले गरेको पाइन्छ। अझ प्रदुषण कै कुरा गर्ने हो भने, मानवद्वारा उत्पन्न सबै ग्रीनहाउस ग्यास उत्सर्जनमा १५ प्रतिशत जिम्मेवार मासु उद्योग छ । संसारका सबै जहाजहरू, विमानहरू, ट्रकहरू र कारहरू मिलेर संयुक्त रूपमा जति ग्रीनहाउस ग्यास उत्सर्जन हुन्छ, त्यो भन्दा बेसी उत्सर्जन मासु उद्योगबाट मात्रै हुने गर्दछ ।

मासुमा अर्को पक्ष पनि छः कि यो वास्तविक जीवित प्राणीहरूबाट आउँदछ । सुंगुरहरू, गाईवस्तु र कुखुराहरू इतिहासका पुस्तकहरू लेख्दैनन, तर यदि लेख्थिए त, मानव अरुको पीडा र कष्टमा रमाउने नरसंहार पागलहरूको रूपमा देखा पर्ने थियो । विश्वव्यापी रूपमा, हामीले प्रत्येक दिन करिब २० करोड, र एक वर्षमा ७४ अरब पशुहरू मार्छौं । यो भनेको, हामीले मानवजातिको सम्पूर्ण २ लाख वर्षको ईतिहासमा बाँचेका मान्छेहरू भन्दा बढी पशुहरूलाई हरेक १.५ वर्षमा मारेको जस्तो हो ।

हामीले त पशुहरुको उद्दार गरेका हौ, यदी हामीले उनीहरुलाई खाने थिएनौ त उनीहरुको अस्तित्व नै रहने थिएन । होला हामीले अन्तिममा गएर उनीहरुलाई खावौला तर हामीले उनीहरुलाई भोजन, आश्रय, र अस्तित्वको उपहार पनि त प्रदान गरेका छौ । त्यसैले हामी त उनीहरुका लागि देउता समान छौ’ भनेर कसैले तर्क पनि गर्न सक्छन् । दुर्भाग्यवस, हामी उनीहरुका लागि त्यती राम्रा देवताहरू चाही पक्कै होइनौं । हाम्रो धेरै जस्तो मासु कारखाना फार्मबाट आउँछ । विशाल औद्योगिक प्रणाली जहाँ हजारौं पशुहरू राखिने गरिन्छ । यहाँ सकेसम्म पशुको मासु बढाएर हेर्दा हट्टाकट्टा बनाउनका लागि ईन्जिनियर गरिने गरिन्छ, जहाँ जीवनको गुणस्तर जस्ता चीजहरूको कम महत्व हुने गरेको पाइन्छ । अधिकतर सुँगुरहरू विशाल झ्यालरहित खोरमा हुर्काइन्छन् जहाँ सूर्यको किरण कहिल्यै पनि पर्दैनन्। वयस्क पोथी बङ्गुरलाई फर्किन पनि नमिल्ने सानो खोरमा राखिन्छ जहाँ उनीहरुले आफ्नो काटिने पालो नआउन्जेल एकपछि अर्को बच्चाको झुन्ड जन्माई रहन्छन् ।

दुग्ध गाईहरू निरन्तर आफ्नो दूध आपूर्ति सुनिश्चित गर्न बारम्बार प्रजनन गर्न बाध्य छन्, र जन्म दिएको केही घण्टामै उनीहरूलाई आफ्ना बच्छाहरुबाट अलग गरिन्छ । वधका लागि गाईको मासु मोटो बनाउन, उनीहरू फीडलट्स यानी खुवाउने थलोमा राखिन्छन् यो एक सीमित फर्किन पनि नमिल्ने पेन हो जहाँ तिनीहरू द्रूत रूपमा अधिक तौल राख्न सक्दछन् । यसो गर्दा रोगहरुबाट मृत्यु नहोस् भनेर उनीहरुमा एन्टिबायोटिकको प्रयोग गरिन्छ । हामीले प्रयोग गर्ने अधिकांश एन्टिबायोटिकहरू पशुधनका लागि प्रयोग हुने गर्दछ । जसले छोटो अवधिमा मासु उत्पादनका लागि मद्दत त गर्दछ, तर यसले एन्टिबायोटिक प्रतिरोधहरूलाई इन्धन दिइरहेको हुन्छ र यही मासुको सेवनले हामी मानवलाई पनि बिरामी पर्दा बढी डोजको औषधिको आवश्यकता पर्ने हुन्छ ।

अझ हेर्ने हो भने, सबैभन्दा बिजोग कुखुराको मामलामा छ । कारखाना फार्महरूमा कुखुराहरू यति विशाल संख्यामा टाँसेर राखिन्छन् कि उनीहरू आफ्नो प्रकृति अनुसारको सामाजिक संरचनाहरू निर्माण गर्न सक्दैनन्, जस्ले गर्दा उनीहरू एक अर्कालाई आक्रमण गर्न थाल्छन् । यसलाई रोक्नका लागि हामीले उनीहरूको चुच्चो र पञ्जाहरू काटिदिन्छौ । कारखाना फार्महरूमा, नर चल्ला, बुझिने भाषामा भन्नु पर्दा ब्रोइलर केटा चल्ला, बेकम्मा मानिन्छ । किनकि तिनीहरूले अण्डाहरू दिन सक्दैनन् र मासु उत्पादनका लागि उपयुक्त हुँदैनन् । त्यसैले जन्मेको केही मिनेट भित्रमा, तिनीहरू प्रायः ग्यासमा छरिन्छन् र ग्राइन्डरमा पिसिन्छन् । प्रत्येक वर्ष सयौ करोडौ चल्लाहरू यसरी मारिन्छन् ।

त्यसो भए के जैविक मासु ठीक होला त ? जैविक खेतीमा पशुहरुलाई न्यूनतम भएपनि आराम प्रदान गर्नका लागि डिजाइन गरिएको हुन्छ। समस्या यो छ कि “जैविक“ शब्द नै तन्काइएको छ । ईयु नियमहरुका अनुसार, एक जैविक कुखुरा अझै पनि अन्य पाँच जनासँग एक वर्ग मिटरको ठाउँमा राखिएको पाइन्छ । यो पनि एक प्रकारको बन्धननै भयो । इमन्दारी साथ राम्रोसँग पाल्छु भन्ने किसान पनि होलान् तर आखिर मासु हो त एउटा व्यवसाय नै, अहिले कतिपय जैविक लेबल अधिक पैसा चार्ज गर्ने तरिका बनेको छ । झट्ट हेर्दा जैविक मासु उत्पादन कम क्रुर देखिए तापनि यसका लागि झनै बढी श्रोत लाग्ने गर्दछ । त्यसैले हामीले जैविक मासु खादा केही हदसम्म राम्रो भए तापनि यसले हामीलाई नैतिक माफी भने पक्कै प्रदान गर्दैन । जुन हिसाबले हामीले पशुलाई व्यवहार गरिरहेका छौ, हाम्रो भावी पुस्ताले भने हामीलाई पक्कै पनि घृणाको नजरले हेर्ने छन् ।

जबकि यी सबै कुरा सत्य छन्, केही अरू पनि सत्य छः कि मःम सारैनै स्वादिलो हुन्छ, फ्राइड चिकन खाएपछि आनन्द आउँछ, ससेज त सबैभन्दा मीठो खाजाको परिकार नै हो । मासु खानाले हामी कतिपयलाई सन्तुस्तित तुल्याउँछ । हामीले हाम्रो खाने कुरा कसरी आएको हो हेर्न चाहन्नौ, केवल खान्छौँ अनि रमाउँछौँ । यसले आनन्द सिर्जना गर्छ, यसले हामीलाई पारिवारिक भोजन र बार्बेक्यु जस्तो पार्टीहरू गरेर एकसाथ ल्याउने पनि काम गर्छ । मासु खादैमा तपाईं नराम्रो बन्नु हुँदैन र मासु नखादैमा पनि तपाईं असल हुनुहुन्छ भन्न पनि मिल्दैन। जीवन जटिल छ र यस्तै जटिल छ हामीले बनाएको संसार । तर हामीले मासु संसारका लागि एकदमै अस्थिर र दर्दनाक पीडा रहेछ भन्ने तथ्य थाहा पाएपछि, यसका लागि हामीले के गर्न सक्छौ त ? अहिलेका लागि, सजिला विकल्पहरू भनेको प्रथम त मासु सेवनको मात्रा घटाउनु नै हो । यसका लागि आफूले खाने मासुको आहारबाट केही प्रतिशत भए पनि घटाउन सकिन्छ, या त कुनै दिन÷बार मासुरहित बनाउने, जस्तै हप्तामा ३ दिन मासुले बन्ने केही खाजा खाना नखाने। जीवनस्तर र संसारमा यत्ति गर्नाले नै ठूलो फरक पर्न जान्छ । यदि तपाईं कम पीडासहित उत्पादन गरिएको मासु खान चाहनुहुन्छ भने, राम्रो ट्र्याक रेकर्ड भएको विश्वस्त उत्पादकहरूबाट अधिक लागत लागे तापनि किन्नुहोस् । वातावरणमा प्रभाव पार्नः भेडा, बाख्रा, गाई र भैँसीको सट्टामा कुखुरा र सुँगुरका लागि जानुहोस् किनभने उनीहरूले आफ्नो खानालाई अधिक प्रभावकारी रूपमा मासुमा रूपान्तरण गर्दछन्। नेपालमा गौमान्स गैर कानुन मानिन्छ, यसको एक त कानुनकै आधारमा सम्मान गरौं अर्को वातावरण र स्वास्थ्य दुवैका लागि हानिकारक भएकोले आफ्नै नैतिकताको आधारमा पनि यसलाई बहिस्कार गरौं । अर्को गर्नु नै पर्ने कुरा भनेको आफ्नो खानाको इज्जत हो । यदि मासु खान बस्नु हुन्छ भने तपाईं त्यसलाई नफ्याक्नुहोस् । त्यो खाना आफ्नो थालसम्म आउन के कति कष्ट्, परिश्रम र बलिदानबाट आउने गर्दछ भन्ने कुरा ख्याल गर्नु पर्दछ । भविष्यमा विज्ञानले हामीलाई सफा मासु दिलाउन सक्दछ, यसका लागि विभिन्न सुरुवातकर्ताहरुले ल्याबहरुमा सफलतापूर्वक मासु उत्पादन गरी सकेका छन्, र यसलाई व्यावसायिक स्तरमा ल्याउन काम भैरहेको छ । तर यस्ता समाधानहरु सबैको पहुँचमा आउन अझै धेरै वर्ष बाँकी नै छ । अहिलेका लागि, आफ्नो खानामा भएको मासुको आनन्द लिनुहोस्, तर यसलाई सम्मान पनि गर्नुहोस् र यदि तपाईं सक्नुहुन्छ भने यसलाई बहिष्कार गरेर अरु केही विशेष बनाउनुहोस् ।

(लेखक कृषि अध्ययनकर्ता हुन् ।सं.)

Related News

सम्बन्धित समाचार

hero news full width