मादी गाउँपालिका कास्कीः विकासका सम्भावना र चुनौती

कृष्ण लामिछाने
भाद्र १३, २०७७

नेपालको संविधान २०७२ ले व्यवस्था गरे बमोजिम अब नेपाल संघीयताको कार्यान्वयनमा अगाडि बढिसकेको छ । मिति २०७३ फाल्गुन २७ गते नेपाल सरकारको मन्त्रीस्तरिय निर्णय अनुसार नेपालमा ४८१ गाउँपालिका, २४६ नगरपालिका, १३ उपमहानगरपालिका र ४ माहानगरपालिकालगायतका स्थानीय तहको घोषणा गरे लगत्तै कास्की जिल्लाको पार्चे, नामार्जुङ, थुमाको डाँडा, सैमराङ, भाचोक, मिजुरे पूरै भाग र सिल्दजुरे, कालिका, माझठाना र हंंसपुरका वडाका केही भागहरु गाँभेर मादी गाउँपालिका घोषणा गरिएको छ । यस गाउँपालिकाको भौगोलिक क्षेत्रफल ५६३ वर्ग किलोमिटर छ र जनसंख्या १८ हजार एक सय ५३ रहेको छ । यस गाउ“पालिकामा वडाहरु १२ वटा छन् तर जनसंख्या पनि पातलो भएर नै होला भौगोलिक हिसाबले अलि ठूलो छ । यसर्थ कास्की जिल्लाका गाउँपालिकामध्ये ठूलो हुन पुगेको छ । नयाँ नेपालको नयाँ संरचनामा नयाँ गाउँपालिका बनेकोमा सबै बासिन्दा खुसी र उत्साहित देखिन्छन् । संवैधानिक रुपमा नै सबै गाउ“पालिकालाई कार्यकारी अधिकार सम्पन्न बनाउने (कार्यपालिका,न्यायपालिका र यवस्थापिकाको अधिकारसमेत गाउँपालिकामा रहने) भएकाले कतिपय कुरामा खुसी र कतिपय कुरामा अलमल पनि छन् यहाँका वासिन्दा । गाउँपालिका संरचनामा–गाउँपरिषद्, वडा समिति र टोलविकास समिति पनि हुने भन्ने कुरा बुझिएको छ । दलित र महिला उम्मेदवरको सुनिश्चितता गरेको पाइन्छ । हामी सबैलाई थाहा छ करिव १९ वर्षसम्म नेतृत्वविहीन भएर व्यतित भयो । यसर्थ गाउँका सबै नागरिक उत्साहित हुनु पनि स्वभाविक छ । सबै नागरिक आफ्नो अमूल्य मत लिएर असल नेता छान्न आतुर भए । यो बहुलवादी प्रणालीमा कुनै एक दुई दलले बाजी पनि मारे । गाउँ–गाउँमा सिहंदरबार पनि भनिएको छ तर कहिले र कस्को दरबार बन्ने हो, त्यो चाहिँ हेर्न बाँकी नै छ ।

संविधानको अनुसूची ८ मा उल्लेख भए बमोजिम गाउँपालिकामा २२ वटा अधिकारहरु उल्लेख गरिएका छन् । जस अनुसार प्रहरी प्रशासन, सहकारी, स्थानीय कर संकलन, सेवा व्यवस्थापन, स्थानिय तथ्याक अभिलेख ,आधारभूत माध्यामिक शिक्षा, स्वास्थ्य सरसफाइ, स्थानीय बजार व्यवस्थापन, खानेपानी, जलविद्युत, स्थानिय मध्यस्थता न्यायलय, खानेपानी, जलविधुत, वैकल्पिक उर्जा, भाषा संस्कृति संरक्षण, स्थानीय कानून निर्माण, र कार्यान्वयनको अधिकार गाउ“पालिकामा निहित हुनेछ ।

जे होस् जुन दलले प्रतिनिधित्व वा अगुवाई गरे पनि र जुन दलले प्रति पक्षमा रहेर काम गरे तापनि मादी गाउँपालिकाले निम्न उल्लेखित क्षेत्रको संयुक्त विकासमा ध्यान दिनुपर्ने अवस्था जरुरी छ ।

१. भौतिक पूर्वाभार विकास : यस गाउँपालिकाको सुरुवाट अन्त्यसम्म बगेको मादी नदीको समीपबाट एउटा मादी करीडोर बनाउने र प्रत्यक वडाकार्यालयहरुमा जोडिएका कच्ची बाटोहरुलाई स्तरोन्नती गर्न जरुरी छ । यसै गरी सबै वडाहरुको उत्तर र दक्षिण क्षेत्रबाट सबै क्षेत्र जोड्ने गरी (उत्तरतर्फ सिक्लेस, थुमाकोडाँडा, सैमराङ, भाचोक, मिजुरे र दक्षिणतर्फ सिल्दजुरे, कालिका, माझठाना, हंसपुर ) २ वटा पहाडी करीडोर निर्माण गर्न जरुरी छ । उक्त करिडोर लाई जोड्न विभिन्न ठाउँमा–वडा स्तरमा जोड्ने केवलकार परियोजना सञ्चालन गर्न सकिन्छ । यसैगरी पोखरा महानगरपालिका अर्थात गण्डकी प्रदेश ४ को सदरमुकाम जोड्ने पोखरा मिजुरे र पोखरा दूधपोखरी मार्गलाइ स्तरउन्नति गरी राजमार्ग कै रुपमा सञ्चालन गर्न जरुरी छ ।

२. कृषि,खाद्यान्न र वन पैदावर सम्बन्धमा : मादी नदीले बनाएका सबै साना ठूला फाँटहरुलाई अन्नवाली प्रर्वधन केन्द्र र अन्नपूर्ण संरक्षण क्षेत्र अन्तरगतका सबै वन जंगलहरुमा वन पैदावर र वन्यजन्तु संरक्षण, पशुपालन, मत्यपालन, जडीवुटी प्रशोधन केन्द्र,चिडीयाखाना, स्थापना गर्न सक्ने अवस्था छ ।

३. धर्म , संस्कृति ,परम्परा र पर्यटन प्रवर्धन : यस गाउँपालिकाका अधिकांश नागरिकहरु क्रमशः हिन्दू, बौद्धिष्ट र मुश्लिम नै रहेका छन् । यहाँका महत्वपूर्ण र्धािर्मक स्थलहरु जस्तैः भगवती स्थान, लम्तरी देवी स्थान, गुरुङहरुको उद्गम स्थल क्होला सोथरलगायतका पूराना देउराली, भञ्ज्याङ, कोट, पाटी, पौवा, समाधिघाट, मठ, मन्दिर, चैत्य, गुम्वा, र मस्जिद आदि छन् भने घाँटु, सोरठी, रोदी, भजन, लोकदोहोरी, पञ्चेबाजा, विवाह, ब्रतबन्ध, आदिवासी भेषभुषा जस्ता कार्यहरुको जगेर्ना गर्दै पर्यटन व्यवसायलाई प्रबर्धन गर्नुपर्ने अवस्था छ । यसै गरी ७ गाउँ पैदल यात्रा तथा होम स्टे, केवलकार, भगवती लम्तरी केबलकार, विभिन्न झरनाहरुमा क्यनोनिङन, क्रबु रिसोर्ट जस्ता थुप्रै कार्यक्रमहरु सञ्चालन गरी आन्तरिक तथा बाह्य पर्यटनलाई प्रवर्धन गर्न सकिन्छ ।

५. वातावरण,नदी संरक्षण,खानेपानी, सरसफाइ तथा जलविधुत उत्पादन : मादी गाउँपालिका कास्की जिल्लाकै एउटा नमूना र वातावरणीय हिसाबले स्वच्छ र हराभरा गाउँपालिका बन्न सक्छ । मादी नदीका सहायक नदीहरु सबैलाई संरक्षण गर्ने र यसबाट स–साना जलविद्युत आयोजना निमाण गर्ने, पानीका मूलहरु संरक्षण गर्ने र मादी नदीबाट दुई ठाउँमा विद्युत निकालिएको छ तापनि अझै धेरै ठाउँबाट बिजुली उत्पादन गर्ने र यस नदीबाट निस्किएका ढुङ्गा बालुवाको उचित प्रयोग गर्नुपर्ने देखिन्छ । यसैगरी एक घर, एक धारा अनि एक घर, एक चर्पीको व्यवस्था गरी स्वच्छ गाउँ स्वास्थ्य जीवनको अवधारणामा काम गर्नुपर्ने आवश्यकता छ ।

६. शिक्षा , स्वास्थ्य र रोजगारी : शिक्षा स्वास्थ्य र रोजगारी मानव जीवनका अभिन्न क्षेत्र हुन । त्यसकारण यो गाउँपालिकामा एक वडा, एक माध्यमिक विध्यालय, एक उच्च शिक्षा अध्ययन केन्द्र, एक व्यवसायिक, सीप विकास तथा तालिम केन्द्र, प्रत्येक वडामा स्वाथ्य केन्द्र, आदिको विकास गर्नुपर्ने छ ।

माथि उल्लेखित सबै कामहरु अब गाउँपालिकाको जिम्मामा परेका छन् । यी सबै कामहरुलाई नियाल्दा आगामी राजनीतिक नेतृत्वलाई अवसर र चुनौती दुवै छन् । किनकी अहिले स्थापना गरिएको गाउँपालिका र यसको सदरमुकाम (केन्द्र) निक्कै टाढा र अलि अपायक ठाउँमा तय गरिएको छ । यस ठाउँमा सेवा लिन जाँदा कतिपय नागरिकहरुलाई त रात्रिबास बस्नुपर्ने अवस्था छ भने अपाङ्गता भएका व्यक्ति , ज्येष्ठ नागरिक, दीर्घ रोगी, गर्भवती महिला, सुत्केरी महिला, नावलक आदिका लागि भने यस केन्द्रबाट प्रत्यक्ष रुपमा सेवा लिन निक्कै असहज हुने देखिन्छ । तसर्थ अधिकांश जनसरोकार र जनसेवाका कामहरु वडा र टोल–टोलबाट नै प्रवाह गर्नुपर्ने अवस्था देखिन्छ ।

युवा पलायनता, बसाइँसराइँ पनि यस क्षत्रको मूख्य समस्या हो । यसलाई रोक्न पनि निक्कै चुनौतीपूर्ण छ । सरकारी अनुदान, कार्यक्रमको अनुगमन, मूल्याङ्कन, दीगोपन, स्थानीय कर संकलन, यसको सदुपयोग र जवाफदेहिता पनि अर्को चुनौतीकै रुपमा रहन सक्छ ।

Related News

सम्बन्धित समाचार

hero news full width