खस साम्राज्यको इतिहासः सूक्ष्म सिंहावलोकन

भीमलाल लामिछाने
भाद्र २१, २०७८

प्रा.डा. सूर्यमणि अधिकारीद्वारा आफ्नो विद्यावारिधि शोध कार्यको लागि लेखिएको भुँडीपुराण प्रकाशनद्वारा २०६१ सालमा प्रकाशित २४४ पृष्ठको ‘खस साम्राज्यको इतिहास’ नामक पुस्तक पढ्ने मौका मिल्यो । उक्त पुस्तक पढेर नेपालको राष्ट्रभाषा अर्थात् नेपाली भाषाको मूल जरो खस भाषा भएको, त्यो खस भाषा बोल्ने जातिलाई खस जाति भनिएको, खस भाषा बोल्ने र खस जाति बसोबास गरेको ठाउँलाई खसान क्षेत्र भनिएको, त्यो खसान क्षेत्र अहिलेको नेपालको त्रिशुली तथा नारायणी नदीदेखि पश्चिमतर्फका गण्डकी प्रदेश, सम्पूर्ण कर्णाली प्रदेश तथा महाकाली नदीपारिका अहिले भारतमा रहेका कुमाउँ, गढवाल कश्मीर, लद्दाखसहित पञ्जाबको सतलज नदीसम्मको सवालाख पर्वतले युक्त पर्वतीय भूभाग भएको कुरा जानकारी भयो । त्यतिमात्र होइन, अहिलेको दक्षिणी पश्चिमी तिब्बतको खारी क्षेत्र पनि त्यही खसान क्षेत्रमा पर्ने कुरा र खारी क्षेत्र भन्नाले द.प. तिब्बतको गुगे, गांग्री र पुरङ गरी ३ जिल्लालाई जनाउने कुरा पनि जानकारी भयो । यो खारी क्षेत्रको पुरानो नाम ङरी रहेछ । यसको सदरमुकाम ताक्लाकोट/ताक्लाखार रहेछ ।

त्यो खारी क्षेत्र पनि त्यतिबेला कर्णाली साम्राज्यमा पर्दाे रहेछ र यसै साम्राज्यमा खसहरू बस्ने हुनाले खस साम्राज्य भन्ने गरिएको कुरा लेखक अधिकारीले स्पष्ट पारेका छन् । त्यतिमात्र होइन, तिनै खस आर्यहरूले बोल्ने गरेको खस भाषा नै अहिलेको नेपालमा बोलिने नेपाली भाषा अर्थात् राष्ट्र भाषा भएको कुरा पनि लेखकले व्यक्त गरेका छन् । यो खस भाषा कर्णाली साम्राज्यको राजधानी सिञ्जाबाट विकसित भएकाले यो सिञ्जाली भाषा, पर्वते भाषा, गोर्खाली भाषा हुँदै नेपाली भाषा भएको रहेछ । यो खसभाषा बोलिने भूभागलाई पश्चिमी पहाडी, केन्द्रीय पहाडी र पूर्वी पहाडी गरेर ३ भागमा विभाजित गरिएको रहेछ । पश्चिमी पहाडी भाग भन्नाले गढवालदेखि पश्चिमको भागलाई, केन्द्रीय पहाडी भाग भन्नाले कुमाउँ–गढवाललाई र पूर्वी पहाडी भाग भन्नाले कर्णाली प्रदेशको सिञ्जालाई बुझाउँदो रहेछ ।
भाषामात्र होइन, अहिले नेपालको काठमाडौं उपत्यकासहित सम्पूर्ण पूर्वी नेपालका मानिसहरूको धिताल, पाँडे, सिजापति, चौलागाई, प्याकुरेल, सिम्खडा, तिमिल्सिना, घिमिरे, देवकोटा, ढुंगाना, ढकाल, बजगाईं, रिमाल, स्वाँर, घोडासैनी, पुडासैनी, धमाला, दर्नाल, कुइँक्याल, चालिसे, बराल, रेग्मी, सोती, खरेल, खराल, सुवेदी, बानिया, जमरकटेल, छत्याल, कुड्याल, खाती, बेलकँटिया, गजुरेल, डोटेल, निरौला, ओझा, बोगटी, मुडभरी, खनाल, कल्याल, खतिवडा, लामिछाने, बाँस्कोटा, बाँस्तोला, सत्याल, लुइँटेल, बस्ताकोटी, चापागाईं, नेपाल, रिजाल, पोखरेल, लम्साल, लम्जेल, दाहाल, गैह्रे, भूर्तेल, पराजुली, कोइराला, दवाडी, कट्टेल, भूसाल, सुञेल, बडाल, मरासैनी, रुचाल, गुरागाईं, खिर्सिने, भुत्र्याल, गेलाल, बञ्जाडे, बाँझकोटा, सापकोटा, रजौरिया, मजगैयाँजस्ता थरहरू पनि कर्णाली प्रदेशका गाउँका नामबाट बनेका र नेपालका खसहरू कर्णाली प्रदेशबाट गण्डकी प्रदेश, काठमाडौं उपत्यकाहुँदै पूर्वी नेपालमा फैलिएको कुरा पनि स्पष्ट पारेका छन् । यसैले नेपाली भाषा र खस जातिको थरको उद्गमस्थल कर्णाली साम्राज्य भएको प्रमाणित हुन्छ । यसै गरी अधिकारी, कार्की, भट्ट, भण्डारी, लेखक, महतारा रोकाया, थापा, खड्गा, राना, बुढा, बुढाथोकीजस्ता थरहरू कर्णाली खस साम्राज्यका सरकारी दर्जाबाट बनेको कुरा पनि लेखकले उल्लेख गरेका छन् ।
यो खस साम्राज्यको गृष्मकालीन राजधानी जुम्लाको सिञ्जामा र शीतकालीन राजधानी दुल्लुमा रहेछ । यी दुई राजधानीमध्ये सिञ्जालाई श्रीमती सेंजानगर र दुल्लुलाई विराटपीठ भनेर ती राजधानी सहरको भव्यताको वर्णन गरिएको रहेछ । त्यतिबेला कर्णाली खस साम्राज्यको तिब्बत र भारतसँग व्यापार चल्दो रहेछ । व्यापारका तीनवटा मार्ग रहेछन् । पहिलो मार्ग बुटवल–पाल्पा हुँदै काली गण्डकीको किनारै–किनार भएर मुस्ताङ पुगेपछि तिब्बत जाने रहेछ भने दोस्रो तथा मुख्य मार्ग नेपालगञ्जबाट सुर्खेत हुँदै दुल्लु–सिञ्जा भएर कर्णाली नदीको किनारै किनाराबाट ताख्लाकोट हुँदै तिब्बत पुगिने र तेस्रो मार्गचाहिं कुमाउँतिरबाट टिंकर भञ्ज्याङ दार्जुला हुँदै ताम्लाकोट निस्केर तिब्बत जाने रहेछ ।

अफगानिस्तानमा खसमरुभूमि र खसनदी भनिंदै आएको छ । अफगानिस्तानमा पर्ने हिन्दुकुश पर्वतको उत्तरतर्फको प्रदेशलाई बडाखसान भनिँदो रहेछ

अहिले पनि सिञ्जा उपत्यका जुम्ला जिल्लामा पर्छ । यो सिञ्जा उपत्यकाको पूर्वी भागमा सिञ्जा नदीको दक्षिण किनारामा लामाथाडा नामको सानो पर्वतीय थुम्को छ, जुम्ला भेकको बोलीमा छानालाई थाडा भनिने हुँदा लामा–लामा छाना भएको थरलाई लामाथाडा भनिँदो रहेछ । अहिले उक्त सिञ्जामा कुनै घरबस्ती छैन । यो स्थानमा अहिले ढटेलो भन्ने रूखको झाडीले ढाकेको छ । मानिसहरू समथर परेको जग्गामा सरेर बस्न थाले । यो सिञ्जा उपत्यका समुद्री सतहबाट ९,५०० फिटको उचाइमा रहेको छ । यहाँ घरबस्ती नभए पनि तत्कालीन अवस्थाका राजप्रासादका भग्नावेशष तथा पुराना भवनका जगहरू, मठमन्दिर, मूर्ति, औजार, पूराना इँटा, मन्दिरका दायाँबायाँ राखिने प्रस्तरका मूर्तिसमेत अहिले पनि देख्न सकिन्छ भनेर लेखकले वर्णन गरेका छन् । खस साम्राज्यको राम्रो अभिलेख दुल्लुस्थित कीर्तिस्तम्भमा उल्लेख छ । ताम्रपत्रमा सुनका अक्षरले लेखिएको दानपत्रलाई कनकपत्र भनिन्छ ।
दुल्लुबाट सिञ्जा जान करिब १०० किमी दूरीमा पर्दाे रहेछ । यहाँका राजालाई ‘सपालदक्षशिखरिक्ष्मापाल चुडामाणी’ अर्थात् सवालाख पर्वत देशका राजाहरुका राजा भनिँदो रहेछ । यो कुरा भारतीय विद्वान पं. भगवानलाल इन्द्रजीले पनि सन् १८८१ (वि.सं. १९३४) मा भारतबाट प्रकाशित हुने द इन्डियन एन्टिक्वैरी भन्ने जर्नलको अंक १० मा प्रकाशित गरेका रहेछन् ।
यो कर्णाली प्रदेशमा बस्ने खसहरूको मौलिक बासस्थान नेपालबाट पश्चिमतर्फ कुमाउँ, गढवाल, कश्मीर, बाल्हीक (बडाखसान वा हिन्दुकुश), इरान, इराकको सीमामा पर्ने खसिस्तान र पश्चिम एसियाको बेबिलोनसम्म फैलिएको रहेछ । आजकाल बेबिलोन भन्ने सहर इराकको दक्षिणी भागमा पर्छ । यसलाई मेसोपोटामिया भनिन्छ । बाल्हीकलाई कहीं –कहीं बाहिकमात्र पनि भनिएको पाइन्छ । खस जातिलाई पहिला–पहिला कस भन्ने गरिएकोमा पछि बोल्दाबोल्दै खस भन्न थालिएको कुरा लेखकले उल्लेख गरेको छन् । पश्चिम एसियाका कश्यप सागर र ककेसस पर्वत पनि यिनै कस जातिको नामबाट बनेको कुरा पनि लेखकले उल्लेख गरेको छन् । सबैभन्दा पहिला इसापूर्व १,८०० मा कसहरूले बेबिलोनमा आक्रमण गरेर अधिकार जमाएकामा इसापूर्व १७००–११५० सम्मको ५५० वर्षपछि फेरि बेबिलोनियाले कसहरूलाई हटाएर आफ्नो स्वतन्त्र राज्य कायम गरेको रहेछन् । यी कसहरू प्रकृति पूजक रहेछन् । यिनै कसहरूको प्रभावबाट अफगानिस्तानको एउटा मरुभूमिको नाम अहिले पनि खसमरुभूमि, एउटा नदीको नाम खसनदी भनिंदै आएको छ । यी मरुभूमि तथा नदी इरानको सीमा नजिकै रहेका छन् । अफगानिस्तानमा पर्ने हिन्दुकुश पर्वतको उत्तरतर्फको प्रदेशलाई बडाखसान भनिदो रहेछ । भारतको कश्मीरको नाम पनि खस जातिको नामबाट राखिएको रहेछ ।
वैदिक ग्रन्थहरूमा खसहरूको बारेमा उल्लेख भएको पाइँदैन, तर इसापूर्व १,००० पछि लेखिएका पौराणिक ग्रन्थहरूमा भने खसहरूको बारेमा लेखिएको पाइन्छ । बोबिलोनबाट हार खाएपछि कसहरू पश्चिमतर्फ लागेका रहेछन् । यिनीहरू पश्चिमतर्फ बसाइँ सर्दै आउँदा कुलायनको रूपमा मस्टो देवतालाई र विन्ध्यवासिनीलाई इस्टदेवीको रूपमा मान्थे र साथै लिएर आएका रहेछन् । इसाको छैटौं शताब्दीका भारतीय महाकवि कालीदासको कुमार सम्भव भन्ने महाकाव्यको पहिलो श्लोकमा हिमालय पर्वतको पूर्वदेखि पश्चिमसम्मको भूमि आर्यभूमि हो भनेका छन् भने नेपालका राष्ट्रगुरु योगी नरहरिनाथले कैलाश मानसरोवरदेखि हिन्दमहासागरसम्म हिन्दु राज्य हो भनेका छन् । यसैले यही आर्यभूमि अर्थात् हिन्दु राज्यमा बस्ने हिन्दुहरू नै आर्य हुन् । आर्यहरू २ प्रकारका छन्– वैदिक आर्य र खस आर्य । वैदिक आर्यहरू पश्चिम एसियाबाट भारतको गंगाको मैदानमा आएको १,००० वर्षपछि खस आर्यहरू इसापूर्व प्रथम शताब्दीमा भारतवर्षमा प्रवेश गरी सिन्धुघाँटी र पञ्जाबबाट बग्ने सतलज, झेलम, व्यास, चेनव र राबी नदीको परिसरमा बस्न थालेका रहेछन् । त्यसपछि पाँचौं शताब्दीदेखि मात्र कुमाउँ हुँदै पश्चिम नेपालमा प्रवेश गरेका रहेछन् । वैदिक आर्यहरू गंगाको मैदानजस्तो सभ्य स्थानमा बस्ने हुनाले पूजापाठ गर्ने, ध्यानतप गर्ने, धोती फेरेर खाना खाने, अर्काले पकाएको नखाने स्वभावका थिए भने खस आर्यहरू ग्रामीण इलाकामा बस्ने, कृषि कार्यमा लागिरहने, फोहोर मैलो हुने स्वभावका थिए । कुमाउँ गढवालमा आउँदादेखि नै यी खस आर्यहरू वर्णाव्यवस्थामा प्रवेश गरेका रहेछन् । यी खस आर्यहरूले कुमाउँमा रहँदा सातौं शताब्दीमा स्थापित गरेको कत्युरी शासन व्यवस्था ११ औं शताब्दीमा गंगाको मैदानबाट आएका वैदिक आर्यमध्येका चन्द राजपुतहरूले हत्याएपछि खस आर्यहरू नेपालको कर्णाली प्रदेशमा प्रवेश गरेको कुरा लेखकले उल्लेख गरेका छन् । यिनै खस आर्यहरू कर्णाली प्रदेशमा प्रवेश गरी बिस्तार हुँदै गएपछि कर्णाली प्रदेश अन्तर्गतका जुम्ला, बझाङ र जाजरकोटतिरका जनै धारण गरी तागाधरी बनेका थापा, खड्का, बस्नेत, बुढाथोकी, बुढा, बोहरा, महत, राउत, रावल, भण्डारी, ऐरी, महतारा आदि क्षत्री समुदायलाई खस क्षत्री र जनै धारणा नगरेका अन्य क्षत्रीलाई मतबाली क्षत्री वा पावई क्षत्री भनिन थालिएछ । फेरि राज्यसत्ता प्राप्त गरेका खस क्षत्रीहरूले ठकुरी बन्ने प्रचलन पनि त्यतिबेला चल्दो रहेछ भनेर लेखकले उल्लेख गरेका छन् । कुमाउँ गढवालमा कत्युरी शासनको समयमा बौद्धधर्मको व्यापकता रहेकोमा ९औं शताब्दीमा शंकराचार्यले त्यहाँको भ्रमण गरेपछि त्यहाँका बौद्धमार्गीहरू हिन्दुधर्ममा परिणत भएका रहेछन् । यसप्रकार वैदिक आर्य र खस आर्यको मिश्रण भए पनि खस आर्यको बाहुल्यता रहेछ ।
यस समयमा कर्णाली प्रदेशमा आदित्यवंशी पालहरूको शासन रहेछ । कुमाउँबाट कर्णालीमा प्रवेश गरेका खस आर्यहरूले त्यतिबेला तिब्बतको राजनीतिक अवस्था आपसी कल झगडाको कारणले बिग्रेको देखेर आफूहरूले अधिकार लिन सकिन्छ कि भनी तिब्बतको खारी प्रदेशमा गएर आफ्नो प्रभाव जमाएर स्थानीय शासक भएर बस्न थालेछन् । सातौं शताब्दीदेखि सोङचङ गम्पोले तिब्बत एकीकरण गरी बौद्धधर्मलाई उत्कर्षमा पु¥याएका थिए । तर उनीभन्दा केही पछिका तिब्बती राजा लाङ्गदर्मा बौद्धधर्मका विरोधी निस्केकाले सन् ८४२ (वि.सं. ८९९) मा एक बौद्ध भिक्षुद्वारा ती राजाको हत्या गरिदिएपछि त्यहाँको राजनीतिक अवस्था बिग्रेको देखि खस आर्यहरू तिब्बतमा भएर बौद्धधर्म ग्रहण गरेर शासन हत्याएका रहेछन् । यसबाट के बुझिन्छ भने खस आर्यहरू चतुर र समय तथा परीस्थिति हेरेर काम गर्न सक्ने रहेछन् ।
त्यसपछि केही पुस्तापछि कर्णाली प्रदेशको राजनीतिक अवस्था पनि बिग्रेको देखेर फेरि ती खस आर्यहरू नागराज भन्ने व्यक्तिको नेतृत्वमा कर्णाली प्रदेशमा आक्रमण गरी त्यहाँका पाल शासकलाई हराइ १२ औं शताब्दीमा अर्थात वि.सं. ११५० तिर कर्णाली प्रदेशमा खस आर्यको शासन कायम गरी जुम्लाको सिञ्जालाई राजधानी बनाएछन् । यसरी तिब्बतको खारीबाट आएका खस आर्य वंशका नागराज नै कर्णाली प्रदेशको पहिलो खस आर्य राजा हुन पुगेछन् । आफू कर्णाली प्रदेशको राजा भएपछि द.प. तिब्बतको खारी प्रदेशलाई पनि कर्णालीकै खस आर्यको अधीनमा ल्याएछन् । यसरी कर्णाली प्रदेशका प्रथम राजा नागराजले कर्णाली प्रदेश र खारी प्रदेशलाई मिलाएर कर्णाली राज्य बनाएछन् ।
यिनै नागराजका पाँचौं पुस्ताका क्राचल्लदेवले पहिला आफ्ना पुस्ताले आर्जेको तर बीचमा चन्द राजपुतले हत्याएको कुमाउँ राज्यमाथि आक्रमण गरी कुमाउँलाई कर्णाली राज्यमा मिलाएछन् । क्राचल्लले वि.सं. १२६४ देखि १२८० सम्म १६ वर्ष राज्य गरेपछि उनका छोरा अशोक चल्लले वि.सं. १३१२ देखि १३३५ सम्म २३ वर्ष राज्य गर्दा गढवालमाथि आक्रमण गरी गढवाललाई कर्णाली राज्यमा मिलाएका रहेछन् । यहाँनेर काचल्लको शासनकाल वि.सं.१२६४–८० सम्म र उनकै छोरा अशोक चल्लको शासनकाल वि.सं.१३१२–३५ सम्म देखाइ बीचको वि.सं.१२८०–१३१२ सम्म अवधिको बारेमा लेखकले केही उल्लेख गरेका छैनन् । यी कुमाउँ र गढवाल प्रदेशलाई केदारखण्ड भनिन्छ । त्यसपछि यी अशोक चल्ललाई सवालाख पर्वतहरूका राजाका राजा भन्न थालिएको र कर्णाली राज्यलाई कर्णाली साम्राज्य भन्न थालिएको रहेछ । यिनै अशोक चल्लले कर्णाली साम्राज्यको सीमा पश्चिममा पञ्जाबको सतलज नदीसम्म र पूर्वमा त्रिशुली नदीसम्म पुर्‍याएका रहेछन् । सुर्खेतको काँक्रे बिहार पनि यिनै अशोक चल्लले बनाएका रहेछन् ।
अशोक चल्लपछि उनका छोरा जितारी मल्ल कर्णाली साम्राज्यका राजा भएछन् । यिनले आफ्नो पैतृक थर बदलेर चल्लबाट मल्ल लेख्न थालेछन् । खस राजपरिवारका पुरुषले मल्ल थर लेख्न थालेपछि महिलाहरूको पनि माला थर लेख्ने प्रचलन बनेछ । उदाहरणको लागि धर्म माला, दीप माला, शकुन माला, शोभन मालाजस्ता नामहरू रहेका छन् । यी जितारी मल्लले ३ पटकसम्म काठमाडौं उपत्यकामा आक्रमण गरेर धेरै धन सम्पति र कर असुल गरेको कुरा लेखक सूर्यमणि अधिकारीले उल्लेख गरेका छन् । जितारी मल्लपछि उनका २ जना छोरा भए पनि आफ्ना भाइ आनन्द मल्लका छोरा रिपु मल्ल राजा भएछन् । तर यी राजा वि.सं. १३६९–७० को छोटो अवधिमा मात्र राजा भएका र त्यसपछि जितारी मल्लकै छोराहरू अक्षय मल्ल र आदित्य मल्ल क्रमशः कर्णाली साम्राज्यको राजा भएछन् । आदित्य मल्लको पालामा पनि २ पटकसम्म काठमाडौं उपत्यकामा आक्रमण गरेर धेरै सम्पत्ति र कर असुल गरेका रहेछन् ।
त्यसपछि आदित्य मल्लका छोरा चाँडै नै मरेका र नाति सन्यासी हुन चाहेकाले आदित्य मल्लले आफ्ना छोरी ज्वाइँ पुण्य पाललाई कर्णाली साम्राज्यको राजा बनाएछन् । राजा भएपछि यी पुण्य पालले आफ्नो नाम पुण्य मल्लमा परिवर्तन गरेछन् । यी पुण्य मल्लको पालामा कुमाउँ र गढवाल तथा द.प. तिब्बतको खारी प्रदेश कर्णाली साम्राज्यबाट अलग भएर स्वतन्त्र राज्य भएछन् र डोटी राज्यको पनि स्वतन्त्र राज्य हुन विद्रोह सुरु गरेछ । यी पुण्य मल्लको पालामा पनि काठमाडौं उपत्यकामाथि आक्रमण गरेर धनसम्पत्ति तथा कर असुल गरेका रहेछन् । कर्णाली खस साम्राज्यको पालामा वि.सं. १३४४–९१ सम्म अर्थात् करिब आधा शताब्दीसम्म काठमाडौं उपत्यकामा पटक–पटक गरी ७ पटक आक्रमण गरेर कर असुल गरी काठमाडौं उपत्यकालाई करद राज्य बनाएका रहेछन् ।
करकै कुरा गर्दा कर्णाली साम्राज्यमा जुम्ला केन्द्र शासित राज्य रहेछ र अरू गण्डकी प्रदेश, खारी प्रदेश, केदार खण्ड प्रदेशहरू सामान्त राज्य रहेछन् । ती सामान्त राज्यले केन्द्रीय सरकार जुम्लालाई नियमतिरूपमा बर्सेनि कर, विभिन्न उपहारहरू पठाइरहनु पर्दाे रहेछ । काठमाडौं उपत्यकामाथि आक्रमण हुँदा त्यहाँका राजासहित सबै भारदार, नागरिक पनि सुरक्षाको लागि जंगलमा गएर बस्दा रहेछन् । नुवाकोटको हकमा कहिले कर्णाली प्रदेशमा, कहिले काठमाडौं उपत्यकामा र कहिले स्वतन्त्र रहने गरेको कुरा लेखकले उल्लेख गरेका छन् ।
पुण्य मल्लपछि यिनका छोरा पृथ्वी मल्ल कर्णाली साम्राज्यका राजा भएकामा यिनको पालामा पनि कर्णाली साम्राज्यको विघटन रोकिएन । पृथ्वी मल्ल निःसन्तान भएकाले यिनीपछि रिपु मल्लका माहिला छोरा सूर्य मल्ल राजा भए । सूर्य मल्लको पालामा बझाङका हरि बर्माले विद्रोह गरी स्वतन्त्र बझाङ राज्य कायम गरेछन् । यी हरि बर्मालाई कहीं कहीं नरि बर्मा पनि भनेको पाइन्छ । तर यिनलाई सूर्य मल्लका छोरा मोती मल्लले मारिदिएछन् । फेरि मोती मल्ललाई पनि हरि बर्माका छोरा राज बर्माले मारेर वापबैरी साधेका रहेछन् । सूर्य मल्लपछि मोती मल्ल र अभय मल्ल क्रमशः कर्णाली साम्राज्यका राजा भएका र यिनै अभय मल्ल कर्णाली साम्राज्यका अन्तिम राजा हुन पुगेछन् ।
अभय मल्लपछि बर्मा वंशी मलय बर्मा वि.सं. १४३५–४८ सम्म राजा भएछन् । त्यसपछि बाइसे राज्यको उदय भएको रहेछ । कर्णाली साम्राज्य टुक्रिन थालेछ । पृथ्वी मल्लदेखि यक्ष मल्लसम्म यशो बर्मा महासामन्त भएका थिए । यिनै महासामन्तको पालादेखि मल्ल वंशीको पतन सुरु भई बर्मा वंशीको उदय हुन थालेछ । कर्णाली साम्राज्य वि.सं. ११५० देखि १४५० सम्म ३०० वर्ष अस्तित्वमा रहेको रहेछ । खस आर्यको पतनपछि बर्मा वंशी र बर्मा वंशीको पतनपछि बाइसे राज्यको उदय भएको कुरा लेखक प्राडा सूर्यमणि अधिकारीले उल्लेख गरेका छन् । कर्णाली साम्राज्यको पालासम्म बौद्धधर्मको प्रभाव बढी रहेकोमा खस साम्राज्यको अन्तपछि बाइसे चौबिसे राज्यको पालामा हिन्दुधर्मको प्रभाव बढ्न थालेको र नेपाल हिन्दुमय राज्य भएको रहेछ ।

Related News

सम्बन्धित समाचार

hero news full width