आइसोलेसनको एक महिना

प्रदीप पौडेल
कार्तिक २३, २०७७

विश्वभर महामारीरुपमा फैलिएको कोरोना भाइरस जोखिमबीच आफ्नो पेसालाई निरन्तरता दिँदैआएकोमा आखिर मलाई पनि कोभिड–१९ ले शिकार बनायो । दुई दशकदेखि क्यामरा–कलम–डायरीसहित जहाँ जोखिम त्यहीँ पुगेर रिपोर्टिङ गर्ने मेरो दैनिकी एक महिना लामो समयदेखि आइसोलेसनमा खुम्चियो । यसैबीचमा समय एवं आर्थिक क्षति, मानसिक तनाव, कोरोना संक्रमितलाई समाजले हेर्ने नकारात्मक दृष्टिको घेरोले झनै बेचैन बनायो । संक्रमणको ठिक एक महिनामा मात्र रिपोर्ट नेगेटिभ आयो ।

हाल म इमेज च्यानलको लागि पोखरा व्यूरो प्रमुख तथा रेडियो बाराही ९९.२ मेघाहर्ज, पोखरामा समाचार संयोजक छु । यसका अलावा फोटो पत्रकार समूह कास्की अध्यक्ष, नेपाल प्रेस युनियन कास्की सचिवको गहन जिम्मेवारी पनि काँधमा छ । साथै आफ्नो दैनन्दित क्रियाकलाप, परिवार, नातागोता, इष्टमित्र, साथीसङ्गी त छँदैछन् । पत्रकारिता पेसामा लागिसकेपछि चौबीसैघण्टा विविध घटनाक्रम अपडेटमा चनाखो हुनुपर्ने । कोरोनाविरुद्ध छेलिएर रिपोर्टिङ गर्दैगर्दा असोज तेस्रो साताबाट बेचैन सुरु भएको हो । यहीँ संकटभित्र वर्षदिनमा आउने महान् चाड दसैंँ गएको पत्तै भएन ।

कुरो असोज २२ गतेको हो । बिहानैदेखि शरीरमा दुखाइ सुरु भयो । नियमितरुपमा सकेसम्म मर्निङवाक जाने गरेकोमा त्यस दिन जान सकिनँ । बिहानीको खाना खाइसकेपछि नियमित कामका लागि भने रेडियो बाराही गएँ । कार्यसम्पादन गरिसकेपछि दिउँसो २ बजे कार्यालयबाट निस्किएर नेपाल प्रेस युनियनद्वारा संचालित ‘शान्ति पत्रकारिता पुरस्कार’ को प्रतिभा छनौट समितिको बैठकमा सहभागी हुनुपर्ने थियो । संस्थाको सचिव नाताले मेरो उपस्थिति अनिवार्य थियो । बैठकस्थल न्यूरोड थियो ।

करिब ३० मिनेटको बैठक भने मलाई ३ घण्टाजस्तो लाग्यो । त्यहाँ उपस्थित अंकल रमेश पौडेल, दाजु भोला बराल, प्रेस युनियन अध्यक्ष नवीन सिग्देललगायत हुनुहुन्थ्यो । बैठकको अन्त्यतिर झनै जीउ दुखेपछि दाइहरुले बसबस भन्दाभन्दै पनि अदालतमा काम भएको जनाउसँगै निस्कें । जिल्ला अदालत जाँदा दिउँसो ४ बजिसकेको थियो । त्यहाँ मेरो काम नभएपछि पुनः रेडियो जान भनी हिडें । सिढीं उक्लिन नसकेपछि नजिकै पत्रकार विजय नेपालको पसलमा थुचुक्क बसेँ । विजय थिएनन् । भाइ रिजन थिए । समाचार अपडेट के रहेछ भनी इन्टरनेट सर्फिङ थालें । तर एक्कासी मेरो टाउको घुमाउन थाल्यो । साँझ रेडियोमा समाचार प्याकेज बनाउन नसक्ने कुरा रेडियो बाराहीमा कार्यरत शशि पौडेललाई फोन गरेर जानकारी दिएँ । उनले साँझ ६ बजेको मुख्य समाचारको लागि समाचार अपडेट सम्हाल्ने भए । म शरीरमा अत्यधिक दुखाइ भएकोले तत्कालै उपचारार्थ सञ्चो मेडिकल हल गएँ ।

केहीबेरको पर्खाइपछि कृष्ण पाण्डे आउनु भयो । प्रेसर र ज्वरो नाप्नु भयो । मलाई १०१ फरेनहाइट ज्वरो आएको रहेछ । कोरोना संक्रमणको लक्षण हुनसक्ने संकेत गर्नुभयो । सिटामोल खाएँ । रन्थनिँदै घर गएँ । निकै गाह्रो भएकोले बेडमा पल्टिएँ । टाउको दुखाइ र ज्वरो क्रमशः बढ्दै गएको थियो । तैपनि सहन सक्ने गरी सहेँ ।

यता, फोटो पत्रकार राम गुरुङ र कृष्णमणि बराल आफू संक्रमित भएको खबर सामाजिक सञ्जालमार्फत गराइसक्नुभएको थियो । लक्षण मिल्दोजुल्दो रहेकोले साँच्चिकै कोरोना भयमा स्वाब दिने विचार गरेँ । पोखरा महानगरपालिकाका स्वास्थ्य महाशाखा प्रमुख हेमन्त शर्मा पौडेललाई फोन गरें । उहाँले भोलिपल्ट असोज २३ मा भौतिक पूर्वाधार मन्त्रालयमा कर्मचारीहरुको स्वाब लिने कार्यक्रम भएकाले त्यही जान सल्लाह दिनुभयो ।

असोज २३ गते स्वाब दिन जाँदा ४ घण्टासम्म कुर्नु पर्‍यो। ज्यान दुखाइ सहन नसकेपछि मन्त्रालय परिसरको चौरमै सुतें । कोरोनाको नियमित रिपोर्टिङ गर्दैआएकोमा म पहिलोपल्ट स्वाब दिएर घर फर्केँ । सिटामोलले पनि ज्वरो घटेको थिएन । डा. बुद्धिबहादुर थापाको सल्लाह अनुसार केही थप औषधी खाएँ । ती औषधीले पनि काम गरेनन् । समस्या बल्झिदै गयो । खाना खान मन नलाग्ने । खाए पनि वान्ता होलाजस्तो हुने । स्वाद हराउने भयो । रिपोर्ट नआउँदै कोरोना भएको अनुमान गरिसकेको थिएँ ।

स्वाब परीक्षणको तेस्रो दिन रिपोर्ट आउने भनिएको थियो । उक्त दिन बिहान ११ बजे नमुना परीक्षण केन्द्रका प्राविधिकसँग बुझ्दा मलाई कोरोना संक्रमण भएको दुःखद खबर आयो । त्यहीँ दिन दिउँसो ४ बजे स्वास्थ्य महाशाखाअन्तर्गत कर्मचारीले मलाई कोरोना लागेको औपचारिक जानकारी गराए । जीवनजीले फोन गर्दै घरमा बस्नुहुन्छ कि अस्पताल जानुहुन्छ भनी जिज्ञासा राख्नुभयो । मैले घरमै आइसोलेसनमा बस्छु भनें । र, आफू संक्रमित भएको सामाजिक सञ्जाल फेसबुकबाट यसरी जानकारी दिएँ– “कात्तिक २३ गते शुक्रबार स्वाब दिएको थिएँ । आज रिपोर्ट आउँदा मलाई पनि कोरोना पोजेटिभ पुष्टि भयो । म घरमै बसेर स्वास्थ्यलाभ गरिरहेको छु । यो बेला माया र सद्भावको खाँचो सबैलाई हुन्छ । संक्रमण हुँदैमा कसैले कसैलाई नराम्रो नजर नलगाउनुहोला । ढिलोचाँडो जोकोहीलाई कोरोनाले छुने अवस्था सिर्जना भएको छ । छिट्टै नै यो समस्याबाट मुक्त भएर फेरि पत्रकारिताको मैदानमा भेट हुने नै छ । सहयोगका लागि धन्यवाद ।”
फेसबुक पोष्ट्याई के गरेको थिएँ तारन्तर घण्टी बज्न थाल्यो । केही फोन रिसिभ गरे पनि पछि रिसिभ गर्न नसक्ने अवस्थामा पुगेँ । ज्वरो र टाउको दुखाइसँगै खोकी लागेकोले पीडा सहन गर्न नसकी बाध्य भई स्वीच अफ गरेर सुतें ।

क्वारेन्टाइनबाट आइसोलेसन बसाइँ सुरु भयो । च्याट ग्रुपमा साथीहरुले भने कोरोना लागिसकेपछि ख्याल गर्नुपर्ने विषयसहित केही हाँसोठट्टा पनि गर्थे । म भने पीडाले रातभर निदाउन सकेको थिइनँ । सुती सुती कुरा गर्ने कोसिस गर्थें । उता मुटुरोगी समेत राम गुरुङले कति सुतेको ? भनी गाली गर्नुहुन्थ्यो ।

घरमा श्रीमती र छोरा पनि भएकोले उनीहरु आत्तिन्छन् कि भनेर दुखाइ सहेरै बसेँ । संक्रमित भएको चौथो रात छट्पटी भयो । राति वान्ता र पखाला भयो । शरीर शिथिल बन्यो । श्रीमतीको फोनपछि मध्यरात १२ बजे अंकल रमेश पौडेलले जीवनजल, औषधी, फलफूल अर्का काका शहदेवमार्फत पठाइदिनुभयो । सो खाएपछि २ बजेपछि हल्का महसुस भयो ।

यसअघि असोज १९ मा मेरै अध्यक्षतामा फोटो पत्रकार समूह कास्कीको बैठक सम्पन्न भएकोले बैठकमा उपस्थित साथीहरुले पनि स्वाब दिने भए । सहभागी ६ मध्ये २ जनाको रिपोर्ट पोजेटिभ आयो । श्रीमती र छोरा पनि कन्ट्याक्ट टे«सिङमा परेकोले असोज २९ मा मालेपाटनस्थित कृषि तालिम केन्द्रमा स्वाब संकलन भयो । तर रिपोर्ट आउन ढिला भयो । ५ दिनसम्म पनि नतिजा आएन । प्रदेश सरकारले स्वाब संकलनको २४ घण्टामै रिपोर्ट सार्वजनिक गर्ने दाबी गरे पनि यतिका दिनसम्म रिपोर्ट दिन नसक्दा उनीहरुको पनि चिन्ता थपिँदै थियो । सूचनाबारे सहज पहुँच राख्ने हामी संचारकर्मीकै घरपरिवारका सदस्यको यस्तो हालत छ भने सर्वसाधारणको के होला ? भन्ने महसुस गरेँ । सरकारको रवैयाले कोरोना संक्रमण न्यूनीकरण तत्काल हुन नसक्ने भन्ने लाग्यो ।

आफू संक्रमित भए पनि परिवारका सदस्यको नेगेटिभ आइदिए हुन्थ्यो भन्ने आशा थियो । तर भनेजस्तो भएन । घटस्थापनाको पर्सिपल्ट कात्तिक ३ मा आमाछोरा दुवैको रिपोर्ट पोजेटिभ आयो । अब मलाईभन्दा पनि श्रीमती र छोराको चिन्ताले सताउन थाल्यो । सचेतना अपनाउँदै आइसोलेसनमा बस्दा पनि उनीहरुलाई कसरी सरेछ भन्ने लाग्यो । अब घरका तीनै जना संक्रमित भएपछि उपाय लागेन । हामीसँगै खाना पकाउने र खाने गर्न थाल्यौं । छोरालाई कुनै लक्षण थिएन । श्रीमतीलाई हल्का लक्षण देखियो ।

संक्रमणपछि यसको औषधी उपचार नभएकोले सबैले झैं घरेलु उपाय अपनायौं । बिहान योगा ध्यान गर्ने, तातो–तातो खाने, वाफ लिने, प्रशस्त फलफूल खाने लगायत पढेको, देखेको र सुनेको सबै क्रियाकलाप ग¥यौं । यसैबीचमा कात्तिक १० गते बडादसँै थियो । दुःखलाई केही समय भुलेर पनि आपसका छिमेकीले टीका लगाएको घरको रैलिङबाटै हेरें । पहिलो पल्ट हो, दसैँ कोही घरमा आएनन्, हामी कोही गएनौं ।

यसरी संक्रमणको २१ औं दिन अर्थात् कात्तिक १५ गते मलगायत तीनै जनाले स्वाब दियौं । तीमध्ये छोराको रिपोर्ट नेगेटिभ आयो । हामी दम्पतीको पुनः पोजेटिभ आयो । उदेक लागेर आयो । तैपनि छोरा कोरोनामुक्त भएकोले आधा खुसी फर्कियो । त्यसको एक सातापछि पुनः तेस्रो पीसीआर रिपोर्ट नेगेटिभ आएपछि परै खुसी फर्किएको महसुस गरेको छु । यसबीचमा मेरो स्वास्थ्यप्रति चिन्ता व्यक्त गर्ने सम्पूर्ण शुभचिन्तकप्रति आभारी छु ।

गण्डकी प्रदेश राजधानी पोखरामा सरकारीस्तरबाट हाल २ वटा ल्याबमा कोरोना परीक्षण हुँदैआएको छ । एउटा निजी ल्याब हालै संचालनमा आएको हो । प्रदेश मुख्यमन्त्रीले अन्य प्रदेश तुलनामा गण्डकीमा कोरोना जोखिम कम रहेको र नयाँ मेसिन जडानले २४ घण्टाभित्रै रिपोर्ट दिन सक्ने दाबी गर्दैआएका छन् । तर उनको भनाइ सामाजिक सञ्जालमा छाउन र भाषण गर्नैमात्रै हुने देखिन्छ । उच्च पद तथा पहुँचवालाको रिपोर्ट आजको भोलि आइसक्दा सर्वसाधारणको रिपोर्टमा ढिलाइले अझ सन्त्रास र जोखिम बढाएको महसुस गरेको छु ।

यता, एकथरि कोरोना केही होइन भनी गफ चुट्नेहरु स्वयम् संक्रमित भएपछि थाहा पाउने नै छन् । वैज्ञानिक तथ्य प्रमाण अझसम्म फेला नपरेकोले हल्लैहल्ला र अनुमानको भरमा बोल्ने बढी छन् । कोरोनाबाट बच्न स्वास्थ्य सचेतना अपनाउनै पर्दछ । दुइतिहाइको सरकार भए पनि केही गर्दैन । नागरिक आफै सचेत हुनुपर्छ । सरकारको काम भनेको एक कल फोनमात्रै हो । लाग्छ, परीक्षणक्रममा ठेगाना विस्तृत नभएको भए त्यही एक कल पनि आउँदैनथ्यो । कोरोनापछि उत्पन्न तनावले संक्रमित भएर यसरी बसिरहनुभन्दा पीसीआर चेक नगर्नु नै बेस माने । सरकारले यति जनाको पिसिआर भयो, यति जना संक्रमित भए । यति जनाको मृत्यु भयो भन्ने तथ्यांक दिनुबाहेक नागरिकप्रति निर्वाह गर्नुपर्ने दायित्व अरु केही देखाउन सकेको छैन ।

कोरोना पोजेटिभको १४ दिनपछि लक्षण नदेखिए अरुलाई सर्दैन र आफूलाई पनि सर्दैन भनी सरकारले सूचना जारी गरे पनि समाजले त्यस्तो स्वीकार्दैन । समाजले नेगेटिभ नै रिपोर्ट खोज्छ । सामाजिक उत्तरदायित्वसहित आफू संक्रमित भएको सार्वजनिक गरेकोमा समाजले संक्रमितलाई हेर्ने दृष्टिकोण परिवर्तित नभएकोले अहिले लाग्छ– सार्वजनिक नगरेकै बेस । आत्मग्लानी महसुस पनि छ ।

फरक–फरक ल्याबमा फरक रिपोर्ट आउने गरेको पनि सामाजिक सञ्जालमा देख्न पाइन्छ । यसबाट पनि ल्याब रिपोर्टको विश्वासनीयतामा कमी आएको छ । दुविधा उत्पन्न गराएको छ । सरकारको अनुगमन छैन । कार्यशैली फितलो छ । अस्पतालमा बेड पाउन मुस्किल छ । कोभिड–१९ का अलावा अन्य रोगका बिरामीले पनि उपचारै नपाएर मर्नुपर्ने अवस्था छ ।

जाँदाजाँदै यो भन्छु, रोगले खासमा बच्चा, युवा र वृद्ध चिन्दैन । उमेर अनुसार छुट्टाछुट्टै भाइरस बनेको छैन । कम्तीमा बच्चा तथा वृद्धहरु अलि बढी सचेत हुनु जरुरी देखिन्छ । कोरोना संक्रमण आफूलाई कहिल्यै लाग्दैन भनेजस्तो गरी व्यवहार देखाउनु मुर्खता हो ।

Related News

सम्बन्धित समाचार

hero news full width