प्रसाईको उसको लोग्ने र बिरालो उपन्यासमा सिंहावलोकन

असफल गौतम
श्रावण ३, २०७७

सन्दर्भ

नेपाली वाङ्मयका क्षेत्रमा ईन्दिरा प्रसाईको नाम नसुन्ने साधक कमै होलान् । उनको जीवनी, व्यक्तित्व र कृतित्वको चर्चा एउटै आलेखमा हुन सक्दैन । यसैले प्रस्तुत सन्दर्भ उनको विभिन्न भाषामा अनुवाद भएको ‘उसको लोग्ने र बिरालो’ उपन्यासको सिंहावलोकनमा केन्द्रित छ ।

जीवनी

ईन्दिरा प्रसाईको जन्म २०१४ फाल्गुन ३ गते शुक्रवारका दिन दार्जिलिङको भिक्टोरिया अस्पतालमा भएको थियो । पिता गणेशप्रसाद र माता दुर्गादेवी नेपालका चार सन्तानमध्ये पहिलो सन्तानका रूपमा प्रसाईको जन्म भएको हो । पुख्र्यौली थलो धनकुटा भए तापनि उनका पिताले दार्जिलिङमा पुरेत काम गर्दथे । समयको कालक्रममा कलकताबाट आधुनिक इतिहासमा स्नातकोत्तरपछि उनले २०१९ सालदेखि मोरङ कलेज विराटनगरमा प्राध्यापन गर्न थाले ।

गणेश–दुर्गाका कोखबाट जन्मेका चार सन्तान र एक धर्म छोरा गरी पाँच जनासहितको परिवार हासिखुसी मिलेरै बसेको थियो । शिक्षित परिवार भएकाले सन्तानको शिक्षादीक्षाका लागि इन्दिराका पिता सपरिवार विराटनगर पुगेपछि इन्दिराले ६ वर्षको उमेरमा विराटनगरको तीन टोलिया प्राथमिक विद्यालयबाट औपचारिक शिक्षारम्भ गरिन् । छ कक्षाको पढाइका लागि भने उनी सरस्वती मा.वि. विराटनगरमा पुगेसँगै प्रसाईले २०२८ सालमा सोही विद्यालयबाट तेस्रो श्रेणीमा एस.एल.सी. पास गरिन् । उच्च शिक्षाका लागि उनी महेन्द्र मोरङ क्याम्पस पुगिन्, जहाँबाट २०३० सालमा प्रमाणपत्र, २०३३ सालमा स्नातक र २०३९ सालमा एम.बी.ए. पूरा गरिन् । यो मात्र होइन उनले भारतको चण्डिगढ विश्वविद्यालयबाट होमियोप्याथिक उपचारसम्बन्धी ज्ञानसमेत आर्जन गरेकी छिन् ।

हिजो समाचारवाचिकादेखि संस्थापक अध्यक्षसम्मको नेतृत्व लिने सामथ्र्यकी प्रसाईको व्यक्तित्व र कृतित्वलाई हेर्दा अग्रजप्रति सम्मान र अनुजप्रति श्रद्धा राख्ने साहित्यिकी धरोहर मात्र होइनन् । उनी त साँझबिहान चुलोचौकोमा सीमित नेपाली समाजका नारी बीच नेपाली वाङ्मयकी आइडल हुन् ।

२०३३ सालमा दाम्पत्य जीवनमा प्रवेश गरेकी प्रसाईको पहिलो दाम्पत्य सम्बन्ध विविध कारणले असफल भएपछि २०५५ सालमा उनी जस्तै पहिलो वैवाहिक जिन्दगी असहज भएकाले सम्बन्धविच्छेद गरेका नरेन्द्र प्रसाईसँग दाम्पत्य जीवनमा प्रवेश गरिन् । चार सन्तानकी आमा बनेकी प्रसाइ पहिला पट्टिका तीन छोरी र पछिल्ला एक छोरा गरी चार सन्तानसहितको पारिवारिक जीवन हासीखुसी सुखमय बितिरहेको छ ।

हिजो जिन्दगीको नौका घिसार्ने क्रममा प्रसाईले अध्ययनसँगै सुनसरीमा मेडिकल चलाइन् । कहिले मोरङ सिँचाइ आयोजनामा काम गरिन्, कहिले नेपाल टेलिभिजनको विराटनगर प्रसारणमा समाचारवाचक भइन् । यो मात्र होइन, उनले महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पस, पद्यकन्या क्याम्पस, पशुपति बहुमुखी क्याम्पस काठमाडौंमा अध्यापनसमेत गरिन् । महेन्द्र मोरङ छात्रावासको वार्डनको अनुभवसमेत भएकी उनी महेन्द्र मोरङ प्राध्यापक सङ्घको कोषाध्यक्षसमेत रहेर संस्थागत नेतृत्व र व्यक्तित्व विकासमा पनि क्रियाशील रहेकी थिइन् । स्मरणीय कुरा के भने, शतक बढीको इतिहास बोकेको गोरखापत्र संस्थानमा २०६२ सालमा कार्यकारी अध्यक्ष हुँदा उनी पहिलो महिला कार्यकारी रहेकी थिइन् । यस्ता विविध अनुभवले आफूलाई खार्दै अगाडि आएकी प्रसाई सहयोगी भावना, सादा जीवन उच्च विचार भएकी स्रष्टा हुन् ।

व्यक्तित्व

साहित्यकारको कर्म साहित्य साधना हो । यसैले प्रसाई पनि साधनामै छन् । बहुआयामिक व्यक्तित्व प्रसाई लेखक मात्रै होइनन, सम्पादक, अनुवादक र प्रकाशक पनि । यसैले उनका सबै आयाम लोभ लाग्दा छन् । उनका हालसम्म ‘बाइपङ्खी घोडा’ (२०५७), ‘तिमी हुनुको’ (२०५७), ‘नेपालन्यूज डटकम’ (२०५९), ‘माल्दाइलाई चिठी’ (२०६१), ‘ए समुद्र’ (२०६३), ‘शारदा’ (२०६९), ‘विइङ अफ यु’ (सन् २०१७) कविता कृति प्रकाशित छन् । यस्तै उनको ‘हरिमाया’ (खण्डकाव्य २०७४) पनि प्रकाशन भएको छ । प्रसाई लामा कविता लेखेर मोहन कोइरालाको झल्को दिने कवि पनि हुन् । ‘तिमी हुनुको’, ‘ए समुद्र’ र ‘शारदा’ उनका लामा कविता हुन् । प्रसाईको कथाकारिता पनि उत्तिकै समृद्ध छ । उनका ‘मन सायद उघ्रदैन’ (२०५१), ‘दोस्रो सत्ता’ (२०६२), ‘बयान’ (२०५५), ‘मेरो कथा नलेखिदिनु’ (२०७४) कथाकृति प्रकाशित छन् । यस्तै, प्रसाइका ‘विश्वमित्र’ (२०५५), ‘रनमाया’ (२०५८), ‘शिखा’ (२०५९), ‘उसको लोग्ने र बिरालो’ (२०६०) औपन्यासिक कृति प्रकाशित छन् । उनका ‘प्रिय नरेन्द्र’ (२०६१), ‘मेरी सासु’ २०६५), ‘भागीरथा प्रसाईको निर्वाण’ (२०६९) निबन्ध मात्र होइन, ‘उषा शेरचनको शङ्खघोष’ (२०७१) समीक्षा कृति पनि प्रकाशित छन् । यसका साथै उनले ‘नारी स्रष्टा कोष’ र ‘विश्वनारी नेपाली स्रष्टा कोष’ (२०७१) पनि प्रकाशन गरेकी छन् । तीन दर्जन हाराहारी काव्यकृतिको सम्पादनसमेत गरेकी प्रसाइको ‘मेरो जीवन, मेरो कहानी’ हिन्दी भाषामासमेत अनुवाद भएको छ ।

प्रसाइ कवि, उपन्यासकार, कथाकार, निबन्धकार, कोषकार, समीक्षक मात्र होइनन्; सङ्गठक पनि हुन् । यसैले उनी विभिन्न साहित्यिक संस्था स्थापना गरी साहित्यिक उन्नयनमा क्रियाशील छन् । उनी कवि शिरोमणि लेखनाथ पौड्याल, नाट्यसम्राट बालकृष्ण सम र महाकवि लक्ष्मीप्रसाद देवकोटाको सम्मानमा स्थापित ‘त्रिमूर्ति निकेतन’ (२०६१) कि संस्थापक अध्यक्ष हुन् मात्र होइनन, नरेन्द्रराज र इन्दिरा प्रसाईका नाममा गठन भएको ‘नई प्रकाशन’ (२०५२) कि पनि संस्थापक अध्यक्ष नै हुन् । नई र त्रिमूर्ति बाहेक उनी युवा साहित्य परिवार (२०३०), पूर्वाञ्चल साहित्य प्रतिष्ठान (२०४४), सीताराम प्रज्ञा प्रतिष्ठान (२०४९), सिलसिला सामाजिक संस्था (२०५०), भूपालमानसिंह कार्की प्रज्ञा परिषद् (२०५२), लक्ष्मीप्रसाद देवकोटा प्रतिष्ठान (२०५३), गणेशदुर्गा प्रज्ञा मन्दिर (२०५३), कोइलीदेवी सङ्गीत कोष (२०५७), चन्द्रधन प्रज्ञा मन्दिर (२०६१), लेखनाथ पौड्याल काव्यसभा (२०६३) संस्थाकी संस्थापक पनि हुन् । प्रसाई साहित्य उन्नयनको सपना देख्ने स्रष्टा मात्र नभएर साकार पार्ने प्रतिभा हुन् । उनैको परिकल्पनामा देवकोटा शताब्दी महोत्सव (२०६५), अन्तर्राष्ट्रिय नेपाली साहित्य सम्मेलन (२०६६), सत्यमोहन जोशी शताब्दी महोत्सव (२०७१), विश्वनारी नेपाली साहित्य सम्मेलन र भानुभक्त द्विशतवार्षिकी समारोह (२०७१) जस्ता अनुष्ठान सम्पन्न भएका छन् । नेपाली वाङ्मयको श्रीवृद्धिमा पु¥याएको योगदानको कदर गर्दै उनलाई युवा वर्ष मोती पुरस्कार (२०५१), मैनाली कथा पुरस्कार, राष्ट्रिय प्रतिभा पुरस्कार, भानुभक्त सम्मान (२०५२), गद्दी आरोहण रजत पदक, राष्ट्रिय गौरव युवा सम्मान (२०५३), प्रबल गोरखा दक्षिणबाहु (२०५७), वीरेन्द्र ऐश्वर्य सेवापदक (२०५८), भद्रकुमारी घले पुरस्कार (२०६४), दीपज्योति पुरस्कार, देररनीख पुरस्कार (२०६७) भानुभक्त स्वर्ण पदक (२०७१) उनलाई प्राप्त भएका छन् ।

कृतित्व

पछिल्लो समय आख्यानमा आफूलाई ‘प्रयोगवादी’ सर्जक भनाउन विभिन्न ‘प्रयोग’ हुन थालेका छन् । इन्दिरा प्रसाईको उसको लोग्ने र बिरालो उपन्यासमा पनि नयाँ प्रयोग पाइन्छ । आठ अध्यायमा सम्पन्न उपन्यासको शुरूआत आठौं र नवौं दिनबाट शुरू भएर पाँचौं–छैटौंमा मध्य हुँदै सातौ दिनमा अन्त्य भएको छ । यो हिसाबले उपन्यासको आदि, मध्य र अन्त्य विशृङ्खलित देखिन्छ । जसलाई प्रयोगका रुपमा लिन सकिन्छ ।

आठौं र नवौं दिनबाट शुरू भएको उपन्यासका नायक–नायिका नीला र आभास हुन् । यो मात्र होइन, उनीहरु दुवै डिभोर्सी हुन् । आभास र नीलाको पहिलो भेट डिपार्टमेन्टल स्टोरमा भएसँगै सामान्य बोलचाल हुन्छ । अर्को दिन उनीहरुको भेट बैंकमा हुँदा उनीहरुको भेटमा उर्मिला सहयोगी सिद्ध भएकी छन् । उर्मिला नीलाकी साथी र आभासकी छिमेकी हुन् । उर्मिलामार्फत् नीलाले आभासको छोडपत्र भएको थाहा पाउँछे । उर्मिलाले उनीहरुलाई बिहे गर्न उस्काएसँगै नीलाको मनमा आभासप्रति माया पलाउँछ । एकअर्काबीच आकर्षण बढाउन उर्मिलाले नीला र आभासलाई पार्टीमा बोलाएकी र कुराकानीका लागि सहजीकरण गरेकी छन् । पार्टी सकिएपछि त्यो रात आभासले नीलालाई घरसम्म पुर्‍याएर फर्कन्छ र पर्सिपल्ट बेलुकी आभास नीलाको घरमा जान्छ । एक अर्कामा नजिक हुन्छन्, एक वर्ष प्रेममा पर्छन् । उनीहरुका बीच बिस्तारै प्रेमको मुना मौलाउँदै जान्छ । ईश्वर साँक्षी राखेर उनीहरु गुह्येश्वरी मन्दिरमा विवाह गर्दछन् ।

आभासको घरमा नीलाको प्रवेशसँगै आभासको विछ्यौनाको गोडामुन्तिर सेतो बिरालाको फोटो देख्छिन् । ४५ वर्षे आभासले अहिलेसम्म सातवटा बिराला पालिसकेको थाहा हुन्छ । पूर्व पत्नीले बिरालो मन नपराएर विषसम्म खुवाएको थाहा पाउँछिन् । यो सुनेर नीलालाई आभासप्रति अथाह माया र पूर्वपत्नी रूपाप्रति वितृष्णा जागे तापनि बिरालाको तस्वीर मन नपर्दै नपर्दै उपन्यासको कथानक अगाडि बढ्छ ।

आठौं र नवौं दिनपछि उपन्यासको कथानकमा पहिलो दिन आउँछ । जुन आभास–नीलाको दोस्रो विवाह भएको पहिलो दिन हो । विवाहमा उर्मिला र सुदेशलाई मात्र बोलाएकाले सबै खुसी छन् । विवाहपछि आभास कानूनी रूपमा पनि विवाह गर्न चाहन्छ भने नीला जरुरी देख्दिन । आभासको घरमा पुगेकी नीलालाई रातमा बिउँझदा बिरालाका कुइँरा आँखा देख्दा डर लागेसँगै उपन्यासको पहिलो दिन सकिएको छ ।

कथानकलाई अगाडि बढाउने सन्दर्भमा दोस्रो दिन नारायणघाटको सन्दर्भ आएको छ । आभासले नीलालाई नारायणघाटको आफ्नो खेतमा आउन भनेको छ । नीलालाई नारायणघाटबारे केही थाहा छैन तापनि श्रीमान्को प्रस्ताव स्वीकार्छिन् । नारायणघाट जान बैंकबाट तीन दिनका लागि बिदा लिएर आवश्यक बन्दोबस्तीपछि दुवै नारायणघाटतिर लाग्छन् ।

आभासको मौजा पुग्छन् । मौजा फलफूल र बगैँचाले घेरिएको छ । मौजा घुम्न मोटरमा आधा घण्टा बढी समय लाग्छ । तराईका सरयुग काकाले मौजाको राम्ररी ख्याल गरेका छन् । उनको छोरो रामप्रताप कलेजोको बिमारले भर्खरै मरेकाले परिवारमा श्रीमान्–श्रीमती र बुहारी मात्र छन् । काकालाई जवानी मै विद्यवा भएकी बुहारीको भविष्यको चिन्ताले गलाएको छ । आभासको काठमाडौँ विशालनगर निवास जस्तै थियो नारायणघाटको घर पनि । सफासुग्घर, व्यवस्थित मूर्ति र पेन्टिङ थिए । आभासका बुबा धेरै जसो नारायणघाटमा बस्थे; आमा भने बिदामा मात्र नारायणघाट जान्थिन् । आभासकी पहिली पत्नी रूपालाई पनि नारायणघाट मन पर्दथ्यो भन्ने सन्दर्भमै नारायणघाटकै सेरोफेरोमा उपन्यासको दोस्रो दिन सकिन्छ ।

उपन्यासको तेस्रो र उनीहरुको विवाहको तेस्रो दिन सरयुग काकासँग आभास र नीला गाउँ घुम्न निस्के । गाउँमा १५–२० गरीब किसानका झोपडी थिए । सबै किसानले आफूहरुप्रति गरेको सम्मान देखेर नीला छक्क पर्दछिन् । गाउँ घुमेर आउने बेला काकाले जसबहादुरको घरमा लैजान्छन् । आभासका आँखा जसबहादुरको घरको बिरालोमा पर्दछ । आभासले जसबहादुरसँग एउटा बिरालो माग्छन्, नीलाले ठूलो भएपछि लैजाने कुरा गर्छिन् । यस्तैमा आभास जसबहादुरलाई केही पैसा दिएर बिरालो लिएर हिँड्छन् ।

नारायणगढको केही दिनको बसाइपछि उनीहरु काठमाडौँ फर्किने तयारीमा छन् । आभासले नीलालाई बिरालो काखमा राख्न आग्रह गरे । आभासले बिरालोसँग धेरै, नीलासँग दुई तीन मात्र फोटा खिच्छन् । आभासले आफू र नीलाको मिलनको प्रतीक भन्दै बिरालोका नाम नै मिलन राखे । यात्रामा आभासले नीलाको भन्दा बिरालोको ख्याल गरिरहेकाले नीलालाई आभाससँग बिताएका दिनमध्ये आज बिरालाले महङ्खव पाएको देखेर सबैभन्दा नरमाइलो लाग्यो ।

घरमा पुगेपछि आभास बिरालो व्यवस्थापनमा लाग्छन् । कोठामा बिरालाका लागि झोलुङ्गो राखिएको छ । विडम्बना हिजो बिरालाको तस्वीर मन नपराउने नीलालाई आज बिरालाको रेखदेख गर्नुपर्ने भयो । लामो यात्राका कारण बिरालोलाई ज्वरो आयो । आभास नीलालाई के कस्तो छ ? सोध्दैन बिरालाको उपचारका लागि डाक्टर दत्तलाई घरमा बोलाएर बिरालोको उपचार गराउँछ । यसरी उपन्यासको तेस्रो दिन सकिएको छ ।

चौथो दिन बिहानीको मन्द पवनसँगै कथानक अगाडि बढेको छ । आभास बिरालोलाई घुमाउन बगैँचातर्फ जान्छ । घुमाएर ल्याएपछि मिलनलाई मङ्गलमानले कोठामा लगेर राख्छ ।

नीलाका घरमा बिरालोको छुट्टै कोठा, आफ्नै दराज, दराजभित्र अहिलेसम्म पालेका बिरालाका तस्वीर देखेर आभासलाई यति मनपर्ने बिरालो आफूलाई किन मन पर्दैन भनेर सोच्दछे । डाक्टर दत्त दिनमा दुई पटकसम्म बिरालोको हालखबर बुझ्न आउँछन्, बिरालो सञ्चो हुन्छ । आभासले त्यो खुसीमा डाक्टर दत्तलाई घरमा खाना खान बोलाउँछ । दुवै मिलेर रक्सी पिउँछन् । धेरै दिनपछि राम्रो रक्सी पिउन पाएकोमा दत्तले आभासलाई धन्यवाद दिन्छ । उता नीलालाई भने आभासले समय नदिएकोमा दुःख लाग्न र चिन्ता बढ्न थाल्दै कथानक अगाडि बढ्दै जाँदा नीलालाई लागेको दुःखले उपन्यासको कथानक कसरी अगाडि बढ्छ भनेर कौतुहलता पैदा गराएको छ ।

नीला–आभास विवाहको पाँचौं दिनमा आइपुग्दा नपुग्दै नीलालाई एक्लो महसुस हुन थाल्यो । यता आभास बिरालाकै पछि लागेर श्रीमतीको ख्याल नै गर्दैन । उता नीला रातभर निदाउन सक्दिनन् । अफिसमा पनि साथीहरु हनुमान कस्तो भयो भनेर जिस्काउँछन् । हिजो रमाइरमाइ विवाह गरेकी नीलाको मुहार मलिन देखेर उर्मिलाले चासो देखाउँछिन् तर नीलाले टाउको दुखेको भनेर टार्छिन् ।

आफ्नो भनेको श्रीमान्लाई आफ्नो भन्दा बिरालाको बढी माया गरेपछि नीलालाई निकै चिन्ता पर्छ । भान्छे दलबहादुर दाइले खाना नखाएकोमा चिन्ता गर्दा आभासलाई वास्ता नभएको देख्दा झन् चिन्ता बढ्न थाल्छ । यसरी उपन्यासको पाँचौं अध्यायले कथानकलाई कथान्तर गराउने सम्भावना बोकेर अगाडि बढिरहेको छ ।

विवाहको छैटौं दिन अर्थात उपन्यासको छैटौं अध्यायमा नीलालाई छोरी स्मृतिले फोन गर्छे । मामु आर यू ओके ? सोध्छे । मैले तिमीलाई सपनामा एकदमै हाँसिरहेको देखेँ, सपनामा हाँसेको देख्दा नराम्रो हुन्छ भन्ने सम्झेर फोन गरेको । मामु ! आर यू ह्यापी ? छोरीले सोध्छे । नीला भक्कानिएर छोरीसँग फोनमा एक शब्द बोल्न सक्दिनन् । छोरीले के भयो भनेर सोध्छे, ऊ बोल्न सक्दिन् । आज मेरो टिफिन टाइममा स्कुल आउनु प्रिन्सिपलसँग रिक्वेष्ट गरेर मलाई भेट भन्दा त्यो सुनेर नीलाका आँखाभरि आँसु आउँछन् ।

आभास नीलाको पहिलो पति दर्पणको साथी थियो । नीलाले छोरी स्मृतिलाई जन्माउँदा आभासले रगतदान गरेकाले यिनीहरूको विवाह भएको थियो । तापनि नीलालाई छोरी टाढा राख्दा दुःख लागेको छ । नीलालाई छोरीको सुखबारे नसोचेकोमा पनि पछुतो लाग्छ । अफिसबाट लञ्च आवरमा छोरी भेट्न जाने योजना बनाउँछिन् । आभास बिरालोलाई हावा खुवाउन बाहिर ल्याएको देखेर नीलालाई कस्तो वाहियात मानिस; एकैछिन बिरालो नभई नहुने भन्ने लाग्छ । अफिसमा साथीले धन र रूप दुवै भएको लोग्ने पाउने नीला धेरै भाग्यमानी भनेको सुन्दा नीलालाई दिक्क लाग्छ । हिजो आभासलाई डिपार्टमेन्टमा भेट्दा त्यसरी माया बढेकोमा आज नीलाको मनमा दिन प्रतिदिन घृणाको भाव बढ्नुले दाम्पत्य जीवन पुनः दुर्घटनातर्फ अगाडि बढेको भाव झल्काउँदै कथानक अगाडि बढेको छ ।

विवाहको सातौ दिन, कृतिको अन्तिम अध्याय हो । आभास मिलन बिरामी भएकाले डाक्टर दत्तलाई देखाउन गएको छ । नीलालाई भने बिरालो लिएर आउँदाका दिनदेखि खाना रुचेको छैन । आभास श्रीमतीभन्दा मिलनसँगको रमाइलोमा रमाएको देखेर नीलालाई दिग्दार लाग्छ ।

पहिलाको बिरालो मनमतीसँग त्यसरी नै रमाउँदा रूपाको टुष्टताले छुटाएकाले आभासले मिलनलाई एकछिन छोडदिन भनेको नीलालाई थाहा हुन्छ । नीलालाई आभासको सम्पत्ति भन्दा माया चाहिएको थियो । माया नपाएपछि अन्तत छुट्टिएर बस्ने निर्णयमा पुग्छे । जहाँ इच्छा त्यहाँ उपाय । त्यही समय दलाल रामजी शर्माले नीलालाई फोन गर्छ । राम्रा घर भएकाले सम्झेको भनेपछि नीला घर हेर्न जान्छे । एउटा घर किन्छे र फर्किन्छे । सोही दिन बेलुका नीलाले आभासलाई भोलिबाट आफूँ यो घरमा नबस्ने कुरा बताउँछे । आभासले मलाई छोडेर नजाऊ म तिमीलाई माया गर्छु भन्छ । तर नीलालाई उक्त कुराले छुँदैन । उसले मानिस बाँच्न मनको सुख चाहिने रहेछ, मैले तिमीबाट पाउन सकिन । माया तिमीलाई पनि गर्छु तर म तिमीसँग खुसी हुन सक्दिन । खुसीको बहानामा तिमीलाई झुक्याउन सक्दिन भनेसँगै उनीहरुको दाम्पत्य जीवन ऐना चर्के जसरी कथानक सकिएको छ । दुईको दाम्पत्य सम्बन्ध सकिए पनि जीवन सकिएको छैन भन्ने आशय व्यक्त गर्दै उपन्यासको कथानक अन्त्य भएको छ ।

‘उसको लोग्ने र बिरालो’ उपन्यासका नायकनायिका नीला र आभास हुन् । कथानकलाई अगाडि बढाउने क्रममा उर्मिला, रामप्रताप, दलबहादुर, जसबहादुर, शेरबहादुर, स्मृति, दर्पण, सुदेश, अंशु, विवेक, रूपा, सरयुग, मङ्गले, डाक्टर दत्त, हेमराज, कृष्ण, रामजी शर्मा पात्रका रुपमा आएका छन् ।

उपन्यासमा मानवेत्तर पात्रका रुपमा बिरालो आएको छ । जहाँ मिलन, नैनकला, चुआ, हेल्दी, वंशी, रूपेश, मनमती, अनङ्गका माध्यमबाट दाम्पत्य जीवनमा तेस्रो व्यक्तिको आगमनले जीवनको रङ्ग हराउँछ भन्ने देखाइएको छ । उपन्यासमा समाजमा हुने साना घटनाका कारण कसरी श्रीमान्–श्रीमतीको सम्बन्धमा कसरी दरार पैदा हुन्छ भनेर देखाइएको छ ।

उपन्यासमा पात्रको हैसियत अनुसारको भाषाको प्रयोग पाइन्छ । प्रयुक्त भाषाशैली सरल, सरस र शिष्ट भए तापनि भाषागत विविधता पाइन्छ । नेपाली भाषाका साथै आगन्तुक र सामान्य परिवारदेखि तत्कालीन दरबारिया भाषाकोसमेत प्रयोग उपन्यासमा पाइन्छ ।

वर्णनात्मक र संवादात्मक शैली प्रयोग गरिएको उपन्यासमा प्रसाईले यौन मनोविज्ञानको प्रयोग गर्दै सामाजिक विषयवस्तुमा आधारित उपन्यास लेखेर नारी समस्याको उद्घाटन गरेकी छन् । उनले विशेष गरी नारी समानताको आवाजलाई उठाएकी छन् । लघु आयाममा संरचित उपन्यासमा अधिक पात्रको प्रयोग भएको आँकलन हुन्छ भने उपन्यासमा काठमाडौँदेखि नारायणघाटसम्मको शहरिया परिवेश देखाइएको छ ।

निष्कर्ष

प्रसाइले वाङ्मयिक अनुष्ठानका साथै नेपाली समाजमा व्याप्त यौन मनोविज्ञानका नारी समस्यालाई लेखनका माध्यमबाट अभिव्यक्त गरेर आफूलाई सामाजिक यथार्थवादी उपन्यासकारका रुपमा उभ्याएकी छन् । एउटी नारीले नारीवादको बखान गर्नु नौलो होइन । तर त्यो बखान दिदीबहिनीले पँधेरामा बात मारे जस्तो प्रसाइको लेखनमा पाइँदैन । यहाँ त उनले नारी अस्तित्वको लडाईको बुलन्द आवाज उठाएकी छन् । यसैले उनी कुशल उपन्यासकार हुन् । नेपाली, अङ्ग्रेजी र अरबी भाषामासमेत प्रकाशन भएको प्रस्तुत उपन्यासमा यौन मनोविज्ञानको प्रचुर प्रयोग पाइन्छ । भाषाशैलीमा सरलता, सरसता र सहजता उनका विशेषता हुन् । हिजो समाचारवाचिकादेखि संस्थापक अध्यक्षसम्मको नेतृत्व लिने सामथ्र्यकी प्रसाईको व्यक्तित्व र कृतित्वलाई हेर्दा अग्रजप्रति सम्मान र अनुजप्रति श्रद्धा राख्ने साहित्यिकी धरोहर मात्र होइनन् । उनी त साँझबिहान चुलोचौकोमा सीमित नेपाली समाजका नारी बीच नेपाली वाङ्मयकी आइडल हुन् ।

Related News

सम्बन्धित समाचार

hero news full width