Worldlink ads

हाकिम लेखनदास

दिनेश बस्नेत
भाद्र ५, २०७८

त्यतिबेला गाउँमा उनको बारेमा यस्तै यस्तै गुणात्मक कुरा चल्थे– ‘मोहितबहादुर जस्तो छोरो पो छोरो । एसएलसी पास हुने बित्तिकै लोकसेवा लड्यो । मान्छे तगडा हो, लोकसेवामा नाम निकालेर सरकारी जागिर खायो । अहिले हाकिम भएको छ । अब उसलाई कसले भेटोस् ।’
‘छोटो समयमा नै त्यति धेरै कसले कमाएको थियो । बजियाले के विधि कमाएको कमाउन पनि पोखरामा २ वटा विल्डिङ घर छन् । त्यतिमात्र होइन काठमाडौमा पनि घडेरी जोडेको छ अरे । गाउँको जमिन टसमस छैन ।’
‘सरकारी जागिर भनेको सरकारी जागिर हो बाबै । कर्मचारीले कमाउने पैसा कसले कमाउँछ । सही चल्ने जागिर हो सरकारी जागिर भनेको ।’ ‘छोरा छोरीलाई त लोक सेवा दिन लाउनु पर्दाे रहेछ सरकारी जागिर खान लाउनुपर्दाे रहेछ । हेर त गाँठे, मोहितबहादुरको परिवारको जिन्दगी । तिनको ठाँट र सान । छोरा छोरी कति महँगा स्कुलमा पढाएको छ, सहरमा गाडी चढेर सरर, आडको सिटमा गहनाले धपक्क बलेकी श्रीमती लिएर । हामी त उसका दाँजोमा कुवाका भ्यागुता ।’
‘हर्केका दिन फर्के भनेजस्तो भयो । एउटा हलो जोत्नेको छोरो हाकिम टोपलिएर देखाइदियो । कम्ता दुःख र कम्ता मेहनत गरेर पढेको होइन । जसरी घोटिएर दुःख गरेको थियो, त्यसका बाबुले जसरी दुखगरेर गरेर पढाइका थिए । त्यसरी गरी पु¥याएर देखायो ।’
त्यस्ता कुरा सुनेरमात्र होइन, मोहित दाइबाट प्रभावित भएको । गाउँमा आउँदा उसको सुकिलो हाउभाव हुन्थ्यो । धेरैले ‘नमस्कार’ गर्दथे । धेरै आशावादी हिसाबले नजिकिन्थे । उसका नराम्रा कुरा काट्न कोही तम्सिँदैनथे । उनलाई समग्र गाउँको नक्षत्र जस्तो ठान्थे । व्यावहारिक सल्लाह लिन्थे । गाउँ समाजमा विकासका कुरा कहन्थे । उनले मुखले ठिकठाक पार्थे । तर कुनै पनि चन्दा उठाएर गरिने विकासे काममा त्यति धेरै चन्दा मोहित दाइले दिएको सुनिदैनथ्यो ।
एक हिसाबले अकुत सम्पत्ति कमाएको मान्छेले किन अरु सरह चन्दा दिँदैन ? म धेरै घोत्लिन आवश्यक ठानिन् । पैसाको महत्व बुझेर होला भन्ने ठानेँ । सबैले राम्रो देखेका मान्छेलाई अन्यथा भन्न मन लाग्दो रहेनछ । उनको त्यो आचरण पनि अनुकरणीय लाग्यो । मलाई थप प्रभावित पा¥यो । अझ मोहित दाइले लगाएको सर्ट पाइन्ट, टोपी, छालाका जुत्ता, मोजा र चस्मा मलाई औधी मन पर्‍यो ।
वास्तवमा मोहित दाइ मेरा आदर्श व्यक्तित्व बने । प्रायः पुरानो टिसर्ट र टालेको हाफपेन्ट लगाउँथें म । एक प्रकारको लालचाले वशीभु पार्‍यो। एक दिन बजार जाँदा बुबालाई भने । चस्माबाहेक बुबाले मेरा माग पूरा गरिदिनुभयो । अनि मैले आपूmलाई ‘म पनि चानचुने मान्छे होइन’ झैं गर्व गरेर पोखरा डुलें । सर्ट, पाइन्ट र जुत्ता आफूलाई मोहित दाइलाई झैं सुहाएको लाग्यो ।
तर मोहित दाइजस्तो बन्न त उनले लगाएको जस्तो लाएरमात्र कहाँ हुन्थ्यो । एक दिन बुबाले भन्नु भयो, ‘तँ साँच्चिकै मोहितबहादुरजस्तो बन्न चाहन्छस् भने मेरो कुरा सुन्– आइए पास गरिस्, अब सरकारी जागिरको लागि लोकसेवा आयोगको जाँच दे । विदेशको कमाई भनेको त भल पानी जस्तै हो । सरकारी जागिर दिगो हुन्छ । तेही मोहितले गरेको प्रगति देखेकै छस् ।’
मलाई बुबाको कुरा सोहै्र आना ठीक लाग्यो । अझ भनौं मनमा च्वास्स छोयो । एक हिसाबले बुबाको भनाइले ऊर्जा प्रदान गरेजस्तो लाग्यो । मनमनै सोचें, ‘म सरकारी जागिर खाएरै छोड्छु ।’ सोच्दामात्र पनि त्यसै त्यसै मुखमा गुलियो रस आयो । त्यसरी बुबाको सदिच्छा मेरो सपना बन्यो । तर सरकारी जागिर खानु त्यति सहज थिएन । त्यति सजिलै लोक सेवा पास गर्न सकिँदैनथ्यो । आफूभित्र आगो बाल्न पर्दथ्यो । चिसो जाँगरलाई आरनमा तताएको रातो फलामलाई जसरी पिट्नु पर्दथ्यो र मेहनतको वशमा एउटा आकार बनाउनु पर्दथ्यो । ताकि फलाम तातेका बेला पिट्दा जोस् र जाँगर सेलाउँदैनथ्यो । तर मसँग अनुभव र ज्ञान थिएन ।

धेरै रकममोहित दाइले हिनामिना पारेको देखिएछ । त्यसपछि उनको कुनै समितिमा बसेर सामाजिक काम गर्ने योग्यता निमिट्यान्न भएछ

फेरि बुबाले भन्नुभयो, ‘टाढाको भए पनि दाइ नै पर्ने हो, एक पटक गएर भेट । आफ्ना कुरा नम्र भएर राख । केही न केही सल्लाह त देला क्यारे नि । पैसा लाग्ने भए पो दिन गाह्रो मान्थ्यो ।’
बुबाको सल्लाह मलाई उचित लाग्यो । प्रायः अन्धकारमा रुमलिएको मलाई मार्ग निर्देशनको हिसाबले उज्यालो मिल्यो । म मोहित दाइलाई भेट्न पोखरा गएँ । त्यसदिन उनी घरमै रहेछन् । भेटेँ । अनि भेट्न आउनुको कारण विनय भावमा सबिस्तार गरे । मोहित दाइले अलिक अनुत्साहित मुद्रामा भने, ‘हाम्रो गाउँमा लोकसेवा लडेर नाम निकाल्ने खाले हुबिखुबी भएको कोही देख्दिन । त्यस्ता केटीकेटी जन्मेजस्तो लाग्दैन । स्याङ्जाली जस्तो टुप्पी कसेर पढ्नुपर्छ । अनि बल्ल नाम निस्कन्छ । त्यही पनि प्रयास गर्नु नराम्रो होइन । आफ्नो तर्फबाट साहस र प्रयास नै नगरी केही पनि हातलागि हुँदैन ।’
म उनको अनुभव सुनिरहेँ । जुन कुरा लोसेवाको परीक्षासँग नाता सम्बन्ध राख्थे । मर्मस्पर्शी भने थिएनन् । झन लाभांश त न्यून थियो । म जाऊँ कि बसुँ, केही कुरा थपुँ कि, चुप लागेर हिँडु जस्तो स्वगतमा अलमलिएँ । मेरो दुविधाग्रस्त मनस्थिति बुझेर उनले भने, ‘मेरो एउटा साथी छ, भवानी प्रसाद । नदीपुरमा लोकसेवाको ट्ययुसन पढाउँछ । मेरो नाम लिएर उसलाई भेट्नु । कस्ता किताब पढनुपर्छ, कसरी पढ्नुपर्छ उसले नै सल्लाह दिन्छ । उसैसँग ट्ययुसन पढिस् भने बेटर हुन्छ ।’
मोहित दाइले भवानी प्रसादको मोबाइल दिनुभयो । त्यो मोबाइल नै मलाई चाबी पाए जस्तो लाग्यो । जुन चाबीले सरकारी कर्मचारी बन्ने ढोकाको ताल्चा खुल्न सक्छ । सायद त्यतिबेला म आवश्यकताभन्दा बढी खुसी भएर मोहित दाइको घरबाट निस्केछु ।
भोलिपल्टै भवानी प्रसादलाई भेटेँ । ‘मलाई मोहितबहादुर केसी दाइले पढाउनु भएको हो ।’ भन्दै आफ्ना विचार राखेँ । उनले हार्दिकतापूर्वक सल्लाह दिए । उसकै सल्लाहबमोजिम सन्दर्भ पुस्तकहरु किने । उनीसितै ट्युसन पढ्न थालेँ । कहिल्यै ननिकालेको जोस, जाँगर र उत्साह निकालेर पढेँ । परीक्षा नसकुञ्जेल घरबाट निस्किन । कुनै हलचल र चलमल नगरी किताबसँग झगडा गरेर कोठाभित्र भूमिगत भएँ ।
लोकसेवाको परीक्षा भयो । परीक्षा दिएँ । तर नाम निस्केन । अर्काे पटक पनि प्रयास जारी राख्नु पर्दथ्यो । फेरि अर्काे पटक परीक्षा दिने मन लागेन । मरेको मन फर्केन । बरु पासपोर्ट बनाएँ र कोरियाको लागि इपिएस परीक्षा दिए । अचम्म लाग्यो, आफ्नै भाषाको लोकसेवा पास नगरेको मैले इपिएस परीक्षा पास गरे । अर्थात् कोरियन भाषा पढेर पास गरेँ । म बुद्धि नै नभएको लन्ठु त रहेनछु जस्तो लाग्यो । एक अर्थमा खुसी लाग्यो ।
केही समय पछि मेडिकल जाँच भयो । कोरियाबाट भिसा आयो । म कोरिया गएँ । म कोरिया ५ वर्षसम्म बसेँ । फर्केर आउँदा मोहित दाइ अवकाशमा बसेका रहेछन् । पोखराको घर छोराहरुलाई सुम्पेर गाउँमा बस्न थालेका रहेछन् । एक दिन बाटोमा भेटिए । आपसी कुराकानी भयो । ‘अब के गर्ने विचार गरेको छस् त नि,’ उनले सोधे ।
‘यतिको पाखो बारी छ, बाख्रा पालेर बस्छु दाइ,’ मैले छोटकरीमा जवाफ दिए । मैले केही समयपछि थाह पाएँ, मोहितबहादुर दाइलाई गाउँमा कसैले गन्दा रहेनछन् । एउटा प्रशासनिक दख्खल भएका मान्छे ठानेर उनलाई विभिन्न समितिको अध्यक्ष बनाएछन् । उनमा नेतृत्व क्षमताको आकलन गरेर वडा भेलाबाट जिम्मेवारी दिएछन् । उनले पनि गाउँमा आएका योजनाको अध्यक्ष बनेर सामाजिक काम गर्ने इच्छा जाहेर गरेछन् । तह अनुरुप पानि समिति, बाटो समिति र वन समितिको अध्यक्ष भएछन् । तर सबै समितिका हरहिसाब गुलमुल्याएछन् । पछि गाउँलले हिसाब खोज्दा स्पष्ट पार्न सकेनछन् । अर्थात् धेरै रकममोहित दाइले हिनामिना पारेको देखिएछ । त्यसपछि उनको कुनै समितिमा बसेर सामाजिक काम गर्ने योग्यता निमिट्यान्न भएछ ।
अनि दिन बिताउन उनी तासको खालमा जान थालेछन् । त्यहाँ पनि मोहित दाइले आफ्नो औकात देखाउन छोडेनछन् । त्यो कसरी भने तासको खेल रमि र कल ब्रेकमा लेखनदासको काम गरेर । एक गेम सिद्धिए पछि २० रुपैयाँ गेम खानेबाट काट्दा रहेछन् । १० रुपैयाँ तास खेलाउने घरबेटीलाई दिँदा रहेछन् । १० रुपैयाँ आफ्नो साथमा राख्दा रहेछन् । सुन्दा पनि अचम्म लाग्ने । झन् अचम्म त मैले त्यहाँ गएर साक्षात हुँदा भएँ ।
एक दिन घरमा काम नहँुदा यसो टाइम पास गरौं भनी तास खेल्ने ठाउँमा गएको थिएँ । घर नजिकै अखडा थियो । त्यहाँ जे देखे मोहित दाइलाई नियतिले ओरालोमा खेदिरहेको देखेँ । एकदम अविश्वसनीय दृश्यजस्तो लाग्यो ।
एउटा अधिकृतमा अवकास लिएका मान्छे । करोडौंको सम्पत्ति भएका मान्छे । एउटा छोरो इन्जिनियर छ, एउटा छोरा डाक्टर छ । के नपुग्दो छ र । मोहित दाइ भने १० रुपैयाँका लागि हली, ज्यामी जस्ता सामान्य मान्छेहरुसँग विवाद र भनाभन गरिरहेका थिए ।
मैले हेर्दा हेर्दै गेम सकियो । झपटबहादुर नेपालीले गेम खाए । उनले १ सय २० रुपैयाँ दिएर भने, ‘अघिल्लो गेममा ६० रुपैयाँ तिर्नुछ । तैंले पाउने यत्ति हो ।’
‘के हिसाब गर्छाै तिम्ले हाकिम ? मैले तिर्नु त ३० मात्र हो । खोइ लेउ ३० थपेर ।’ भपटबहादुर नेपालीले भन्यो । ऊजस्तो दिनहीन अवस्थामा भए पनि इमान्दार थियो ।
‘होइन भपटे तैले बिर्सिस् । तीसै रुपैयाँ हो तैले दिनु ।’ मोहित दाइले भने । ‘ल त भैगो, तीस रुपैयाँ मेरो तर्पmबाट तिमलाई दान गरेँ । भोलिदेखि तिम्ले लेखनदास गर्छाै भने म खेल्न आउन्नँ ।’
त्यसपछि मोहित दाइ केही बोलेनन् । ‘त्यसरी जतिबेला पनि हिसाब नबिगार है हाकिम । मर्कामा परिन्छ,’ अर्काले भन्यो । ‘बिगारेको के भन्छस्, सपारेको भन न । तँ पनि कस्तो कोक्ल्याँटो कुरा गर्छस् । हिसाब सपारेपछि पो आफ्ना लागि फलिफाप हुन्छ । आफ्ना गोजाँ पैसो घुस्छ ।’
सबै हाँसे । मोहित दाइमात्र हाँसेनन् । ‘यी हाकिम त चुम्बकजस्ता छन् । जतिबेला पनि आफूतिर तान्छन्,’ अर्काले भन्यो । ‘यस्तै हाकिम भएर त हो नि देश उत्यानट्याङ लागेको,’ अर्काले तासको पत्ति फाल्दै भन्यो ।
ती थरिथरि कुरा मलाई सपनाको संवादजस्तो लाग्यो । मेरो बाल्यकालमा मेरा आदर्श बनेका मोहित दाइको बारेमा थप अन्टसन्ट कुरा सुन्न मन लागेन तर एउटा कुरा लागिरह्यो, मैले पनि लोकसेवा पास गरेर सरकारी कर्मचारी भएको भए म पनि त्यस्तै हुन्थे कि ! पैसाको मामलामा इमानदारीतासँग सम्झौता गर्दथे कि त्यति सम्म चुतिया र घटिया हुन्थे कि ? हुन त हातका ५ औंला पनि त बराबर कहाँ हुन्छन् र ? सबैलाई एउटै ड्याङका मुला ठान्नु पनि अन्याय होला है ?

Related News

सम्बन्धित समाचार

    • पर्यटनको उच्च सम्भावना बोकेको झुपाङकोट

      वासुदेव तिमिल्सिना असाेज ११, २०७८
      विश्वका अग्ला १० हिमाल मध्ये ८ वटा हिमाल सर्वाेच्च शिखर सगरमाथादेखि विश्वको गहिरो खोंच रहेको देश नेपाल, विश्व पर्यटन जगतमा…
    • गण्डकी प्रदेश प्रशिक्षण प्रतिष्ठानको मार्गचित्र

      ऋषिराम पाण्डे असाेज ६, २०७८
      १. पृष्ठभूमि देश र स्थानीय तहमा निर्वाचित, मनोनित तथा नियुक्त पदाधिकारी एवं कार्यरत कर्मचारीको क्षमता विकास, प्रदेश सरकारका कार्यक्रम कार्यान्वयनमा…
    • संस्कार नै खराब भएपछि राजनीतिमा वृद्ध आऊन् कि युवा ?

      दीपेन्द्रकुमार बिसी ‘दिपु’ भाद्र २७, २०७८
      नेपालको राजनीतिमा युवाको नेतृत्व र हस्तक्षेपको सवाल आज भर्खरको आलोकाँचो सवाल होइन । यो त केही वर्ष अगाडिदेखि उठदै आएको…
    • भर्जिन कर्णाली

      के.वी. मसाल भाद्र २६, २०७८
      मौसम परिवर्तन भएको छ । नेपालीहरुले घुमफिर गर्न रुचाउने मुख्य समय असोजबाट सुरु हुन्छ किनकि यो बेला मौसम पनि अनुकूल…
    • बाढी पहिरोको क्षति बढ्दो, पूर्व तयारी कम

      दुर्गा अधिकारी भाद्र २६, २०७८
      नेपालमा हरेक वर्ष मनसुनको समयमा सयौंको संख्यामा पहाडी भूभागमा पहिरो र तराई क्षेत्रमा बाढीले कैयौंको मृत्यु तथा करोडौं धनको क्षति…

    hero news full width

    Jewellery

    sanil ads

    wordlink ads