मैले देखेको फल्याङकोट

क्या. हर्कबहादुर गोदार
चैत्र १४, २०७७

फल्याङकोट कास्कीकोट राज्य अथवा २४ राज्यको १ किल्ला (फौजी पोस्ट) भएको इतिहास बताउँछ । यो सन् १७०० वा विसं १७५६ को समय राजा कुलमन्डन शाह सन् १७०० वा विसं १७५६ को समय राजा कुलमन्डन शाह र पछि रिद्धिनारायण शाहले राज्य गरेका र तत् पश्चात नेपाल एकीकरण भई नेपाल गोरखाका राजा पृथ्वीनारायण शाह रहेको इतिहास छ । उक्त ७०० फल्याङकोट भन्ने अथवा फलामकोट उच्चारणबाट नाम लिइन्थ्यो । १ किल्ला कास्कीका राज्यको पूर्वी भागमा अवस्थित पोस्ट जहाँबाट लमजुङको सिमाना रहेको कास्की राज्यकै ठाउँ फलाम जस्तो बलियो पोस्ट अथवा कोट भन्नाले सैनिक हतियार साज सामानका साथ सैनिक बस्ने ठाउँलाई कोत भनिन्छ । पछि यिनी शब्दको उच्चारण फलाम कोट भन्दै गर्दा फल्याङ्कोट नाम रहेको यो लेखकलाई लाग्दछ । यहाँ बलियो सैनिक बस्ने किला रहेकाले पर पश्चिमपट्टि रिठुमाला मन्दिर भैरवस्थान छ । पूर्व चुली डाँडो सैनिक परेड सिक्ने ठाउँ, चण्डीको मन्दिर छ । चण्डी मन्दिरबाट २/३ सय मिटर पल्तिर भिर तल दमाहा ढुंगो पनि रहेको छ । यसरी २४ से राज्यमा सैनिक बसी राज्य सुरक्षा गरेका र पछि उक्त ठाउँलाई पुराना हातहतियार सुरक्षित गर्दै दसैंमा पहिलैबाट चल्दै आएको संस्कृति मान्दै आएको देखिन्छ । उपरोक्त संरक्षणमा हाम्रा गोदार थापाहरु पनि फल्याङकोटमा इसाको १७०० कै समय फल्याङकोटको हाल बाह्र पिर्केको चारैतर्फ भाइभाइ बसोबास गरी गोदार डाँडो भन्दै नाम चलेको थियो । तत्कालीन समय गोदार थापाहरु लडाकु जाति/प्रशासनतर्फ काम गर्ने क्षमता भएकाले त्यस फल्याङकोट (किला) को पूर्ण देखरेख जिम्मेवारी गोदार थापामा निहित भएको देखिन्छ । हामी गोदार थापाको इतिहासमा पछिका समय जिमुवाल बहादुर सिंहगोदार त्यसपछि जिमुवाल जितबहादुर गोदार त्यसपछि उनकै छोरा चक्रबहादुर पञ्चायती व्यवस्थामा र पञ्चायत कै समय केदार बहादुरबाट कोट कालिकाको देखरेख कार्य गर्ने गरेको थिए । पछि उनीहरुकै सन्तानबाट हालसम्म कोट कालिका चलाउँदै आएको तथ्य हो ।

हटिया 
यो ठाउँ नेवार र खनाल ब्राह्मणहरुको मुख्य बसोबासस्थल भएकाले यहाँ तत्कालीन समयमा बन्द व्यपार केन्द्र र धार्मिक, शिक्षा क्षेत्रमा खनालहरुको बाहुल्य चल्दै आएको र देखेको यो पंक्तिकारलाई अनुभव छ । नेवार जातिका संस्कृति परम्पराहरु लाखे नाच, मकै सुकाउने पूर्णेका परम्परा अन्य दसैं तिहारका आआफ्ना परम्परा नजिकबाट अनुभव छ । तत्कालीन समय लत्ता कपडा र अन्य विभिन्न किसिमका व्यापार गर्ने ठाउँ र शिक्षा केन्द्र नै हो । यहाँका राजभण्डारी, श्रेष्ठहरु कै बाहुल्यता कायम, हैकम रहेको देखिन्थ्यो । खनाल बन्धुहरुमा दसंैका समय रामलीला महिना दिनसम्म चल्थ्यो र प्रत्यक्ष देखेको अनुभव छ । विद्वान व्यक्ति धार्मिक, संस्कार, शिक्षा दीक्षा यिनीहरुबाट दिने काम र कोट कालिका पूजा–आजा गराउने गर्ने बाहुल्य सबै हुन्थ्यो । यहाँको मणिको डाँडामा साधुसन्त र मणि स्थापित भएको धार्मिक ज्ञानको अनुकरण गर्ने गराउने हुने गथ्र्याे । मणि मैदान चारैतर्फबाट आउने हटिया बजारमा र भद्र–भलाद्मी, शिक्षा–दीक्षा, न्याय स्थानीय झैझगडा बैठक बस्ने थलोको रुपमा रहन्थ्यो । मणि मैदानको चौतारा र ठाँटी यिनै काममा सधैं खचाखच भइरहेको देखिन्थ्यो । त्यस्ता चहलपहल हिजो आजका बजारभन्दा रमाइलो लाग्दथ्यो ।

विसं २०१७ सालको पञ्चायती व्यवस्थामा फल्याङकोट गाउँ पञ्चायत रह्यो । पछि थुम्की गाविस हुँदै १–५ वडा भएर हाल रुपा गापा १ मा अवस्थित यो महान ७ सय फल्याङकोट रहेको छ । यसभित्र पर्ने गाउँ १२ पिर्के, रैकार, देउपुर घगुवा, कुवा पानी र पौनी गाऊँ यसतर्फ पर्दछन् । वडा दसैं र कोट कालिका मान्ने चलन नजिकबाट ८–१० साल आफू सम्झने अवस्थाबाट यस कार्य संस्कृतिक त्यस समय मौलाको मुखिया जीतबहादुर गोदार राणाकालीन समयमबाट चलाउँदै आखिर २०१८ सालसम्म यहाँबाट धुमधामले चल्दै आएका र कठोर शासन जनतालाई रैतीका रुपले व्यवहार/पुकार्ने त्यस समयबाट अनुभूति वा नजिकबाट महसुस गरेको यो पंक्तिकारको रहेको हुँदा आफू पनि ती झाँकी र साही ठाँटका बारेमा के लेखौं र ? त्यस संस्कृतिपूर्ण रुपले ७ सय फल्याङककोटका हर घरबाट १ जना औंसीमा बाटो फाँड्ने, सप्तमीमा फूलपाती भिœयाउने, कालरात्रि पूजा, बाजागाजाका साथ कार्य सम्पूर्ण फल्याङकोटका प्रत्येक घरबाट १ जना मानिस आउनै पर्ने, कोटमा बली दिने नवमीमा घर– घर आफ्ना खसी काट्ने र विभिन्न रंगरस गर्दै संस्कृतिक कार्यको धुमधाम मनाएको धेरै समय भएको छैन ।

कटुवाल घोकी उर्दी खबर गर्ने चलन थियो । सामाजिक काममा प्रत्येक घरबाट १ जना आउनै पर्ने बाध्यता हुन्थ्यो । त्यस्तो चकचकी बकबकी हेर्दा ती दिन कहाँ गए होलान् केबल सम्झनामात्र गर्न सकिन्छ । हतियार, तरबारका साथ सरन नाच गर्दै बाजा, गाजाका साथ बन्दुक पड्काउँदै मालश्री गाउँदै फूलपाती भिœयाउने र दशमी टीकाको दिन ४ बजेका समय फूलपाती सेलाउन, कोटबाट बाजागाजाका साथ रंग रस सरन नाच गर्दै चण्डी मन्दिरबाट फूलपाती भिœयाउने र चण्डी मन्दिरमा खत्तम गरेर मणि मैदान हुँदै पानी घट्टा हटिया इनारका पानी नभए कुवा पानी पनि जलाशयमा बगाउने या सेलाउने काम गरिन्थ्यो । मणिको मैदानमा दही केरा रैतीबाट आएका उपहार ठेकी–ठेकी (काठको) तयार गरी बाँडिन्थ्यो र यसरी बिसर्जन/समापन हुन्थ्यो ।

कृषि उत्पादनमा अब्बल सांस्कृतिक हिसाबमा धनी फल्याङकोट क्षेत्र अहिले उजाड बनेको छ

यस्ता महान कार्य ठाउँमा आज केही पूजा आज त उनीहरुकै सन्तानबाट हुन्छ तर त्यो रोचक र रंगरस अवस्था आज छैन भन्दा पनि हुन्छ । त्यस्तो पुरातात्विक व्यवस्था, संरक्षण आज हुन सकेको छैन । रैतीबाट प्रजा र हाल जनता भएको अवस्थामा आ–आफ्ना, खुसीबाट काम हुन्छन् र यो ठाउँबाट साबै, जात–जाति बेसीतिर झरेर स्थायी बसोबास गरेका र केही नेपालका विभिन्न सहरहरुमा गई विभिन्न पेसा र नोकरी गर्दै आएका छन् । केही युवाहरु रोजगारका लागि खाडी या अन्य विदेशमा गएका हुँदा केबल बुढा–बुढी र केटा–केटीमात्र छन् ।

यसबाट पनि यिनी मूल्यवान जमिन बन्जर भूमिमा परिणत भई हजारौं मुरी उत्पादित हुने भूमि जंगल हुन गएको छ । खुर्सानी र मासको उत्पादन प्रख्यात फल्याङकोट साथै मुख्य पाखो खेती मकै–कोदो हुने ठाउँ बाँझो पल्टिएको छ । पोखरा सहर पर्यटन नगरीबाट केबल २५–३० किमी दीक्षण–पूर्व अवस्थित यो ठाउँ भोर्लेटारबाट केबल ७–८ किमी पश्चिम रहेकाले यसको भविष्य राम्रो मान्न सकिन्छ । यो ठाउँको कोट–कालिका किला एरिया र पूर्व एरियाबाट चुली डाडोबाट सम्पूर्ण ठाउँ उत्तर हिमालयसम्म पूर्व लमजुङ र मादी र मिदीमबीच फाँट दक्षिण लमजुङ तनहुँ सिसाघाट र दमौलीसम्म देख्न सकिन्छ साथै कास्कीकै अधिकांश एरिया देख्न सक्ने र रात्रिकालमा पोखराको उज्यालो पनि देख्न सकिन्छ । यहाँ भ्युटावर निर्माण र पार्क, पिकनिक स्थल, विभिन्न क्रीडास्थल र प्याराग्लाइडिङको सम्भावना पनि भएको लाग्दछ । यहाँ रिठु माला देवी, भैरवस्थान र कोट–कालिका चण्डीसम्म पुरातात्विक संरक्षण हेर्न आन्तरिक र बाह्य पर्यटक घुम्ने सम्भवाना रहेको ठाउँ हो ।

यहाँ विकास भएमा सडक पिच भएपछि हटिया होमस्टे र तलतल भाग विभिन्न कृषि फर्म खुलेमा यहाँको जमिन फेरि उत्पादनस्थल बन्न सक्ने छ । यहाँ उत्तरतर्फ केही भाग तालचोक–रामबजार पक्की सडक जोडिने अब १ वर्षभित्र कालोपत्रे हुने भएको छ । यहाँको खाल्टे च्यार्पे, छापा डाँडा र स्यास्त्रीको भाग विकसित भइरहेको छ । दर्गाम टार, विर्दी– टार देउपुर बेसीसम्म पनि सबै गाउँको जमिन छाडी बसोबास गर्दै आएका छन् । कच्ची बाटो भएता पनि उब्जाउ जमिन र बसको सुविधाले गर्दा सिर्कुतानमा गई मुख्य सडक कालो पत्रे सडकमा मिल्न गएको छ । हाल थुम्कीसम्म कालोपत्रे सडक भएकाले त्यहाँबाट त्यसतर्फ कच्ची बाटो १२ पिर्के हुँदै दर्गामटार– बेसी कच्ची बाट छोटो भोर्लेटार जाने भएकोले भविष्यमा कालोपत्रे भएमा यो पोखरा भोर्लेटारबीच रहेको पर्यटकीयस्थलको धेरै राम्रो सम्भावना बोकेको क्षेत्र छ ।

फल्याङकोट गाउँमा खाने पानीको मुख्य समस्या भएकाले र अहिले तक पनि मानिसको बसोबास कमी भएको लाग्दछ । बाह्र पिर्के रुपा गापा १, अफिस स्वास्थ्यचौकी र १ मावि रहेको ठाउँ, मानिसको कम बसोबासले गर्दा दूर्लभ ठाउँ भईआएको छ । यहाँ २०१०–२० साल जस्तो चहलपहल भई दिएमा विदेशको गाउँहरु जस्तो रमाइलो हुनेछ । यहाँ बिजुली बत्ती पहिले आइसकेको र इन्टरनेटको सुुविधाले गर्दा धेरै सहज भएको छ । यस्तो ठाउँ ओझेलमा पर्न गएको पक्का हो । नेपालको ७७ जिल्लामध्ये ३ नम्बरमा विकासित कास्की जिल्लाका १ छेउ धेरै तल विकासको अवस्था रहेको हुँदा यहाँका बासिन्दको आर्थिक अवस्थामा सुधार आउन सकेको छैन ।

यस ठाउँका वासीमा रहँदै आएको छ । २१ औं शताब्दीको नेपालको ठाउँलाई ध्यान दिइयोस् भन्ने लाग्दछ । उपरोक्त कमीकमजोरी यो ठाउँको बारेमा सुधार भएमा निश्चय पनि सुनमा सुगन्ध हुने पक्का छ । सबै यस ठाउँबाट बाहिर विभिन्न पेसा, व्यवासय र नोकरी गर्ने महानुभाव र विदेशमा जानु भई देशको माया गर्नुस् भन्ने अनुरोध गर्दै आफ्ना जन्मभूमि र पूर्खाको जीवन मरणको थलो जस्तो आफ्ना सन्तानलाई राम्रो होस् भनी रगत/पसिनाले लागी पर्दा जीवनसमेत उहाँहरुले गुमाइसकेका हुँदा हामीले उहाँहरुको आँसु, पसिना/रगतको भार तिर्ने काम सोच्नु र गर्नु अनिवार्य हुनेछ । हामीले आफ्नो कर्तव्यको पनि ख्याल गरी प्रत्यक्ष र अप्रत्यक्ष रुपले सक्दो सहयोग गरी विकासतर्फ सम्भावना बनाऔं भन्ने यो पंक्तिकारको अनुरोध छ । अब जनसहभागितामा चुली डाँडो भन्ने कोटकालिका (किल्ला पूर्व करिब २ सय मिटर) भ्यु टावर र पिकनिकस्थल निर्माण गर्ने सम्भावना बढेको छ । जसबाट यो ठाउँको विकासमा टेवा पुग्ने छ भनी आशा रहेको छ ।
गोदार हंसपुर थुम्की पोखरा सम्पर्क समाजका संस्थापक अध्यक्ष हुन् ।

Related News

सम्बन्धित समाचार

hero news full width