हरिशयनी एकादशीको महिमा

शिवप्रसाद गौतम
मंसिर ११, २०७७

विष्णुप्रार्थना–
तत्रैव गङ्गा यमुना च तत्र गोदावरी सिन्धु सरस्वतीश्च
सर्वणि तीर्थाणी वसन्ति तत्र यत्राच्युतोदारकथाप्रसङ्ग ।।

यो वर्ष २०७७ सालमा असार १७ गते हरिशयनी एकादशी व्रत चातुरमास व्रत प्रारम्भ भइ मंसिर ११ गते वैष्णवान हरिबोधिनी एकादशी व्रत गरी अन्त्य हुन्छ । मंसिर १२ गते प्रदोष व्रतमा गीता मन्दिर रामघाटमा चातुरमास साङ्गे गरिन्छ । हरिबोधिनी एकादशी कै दिन तुलसी विवाह पनि हुन्छ ।

यी दुई एकादशीको हिन्दू धर्म संस्कार संस्कृतिमा विशेष महत्त्वपूर्ण स्थान छ । हरिशयनीको अर्थ चतुर्मास व्रतको आरम्भ भएर हरिले शयन गर्ने भनी मानिएको दिन, आषाढ शुक्ल एकादशीलाई हरिशयनी एकादशी मानिएको छ । विष्णु भगवान् चार महिनासम्म आराम साथ सुत्नु हुने भएकोले चातुरमास शयन भनिएको हो । प्रत्येक चार चार महिना गरिने धार्मिक अनुष्ठान यज्ञ, चातुरमास पुराणलाई चातुरमास भनिन्छ । आजकै दिनदेखि श्रद्धालु भक्तजनहरु व्रत बस्दछन् । पण्डितहरुबाट पुराण वाचन हुन्छ । द्वितीयाको दिनमा प्रवचन नगर्ने परम्परा रहेको छ । यो समयमा पण्डित र कर्ताहरू शारीरिक मानसिक शुद्धताका निम्ति वा धार्मिक उद्देश्यले संयम, नियमपूर्वक गरिने देवताको आराधना, उपासना आदि, देवादिको आराधना, पूजाआजाका साथ वा पूजा आदि नगरिकनै निराहार वा फलाहार गरी बस्ने काम, नियतकाल (आफूलाई नियन्त्रणमा राख्नु) का निम्ति वा सधैँ केही वस्तु मात्र खाने वा कुनै वस्तु उपभोग गर्ने वा नगर्ने नियमको पालना जस्ता विषयहरु व्रतमा पर्दछन् । धार्मिक अनुष्ठान (शास्त्रले बताए अनुसार यज्ञयागादि धार्मिक कार्य गर्ने काम, अभिष्ट फल वा चिताएको कुरा पाउनका लागि शास्त्रमा बताइएको विधिमुताविक नियमपूर्वक कुनै देवताको पूजा, पाठ आदि गर्ने काम, यस्तो किसिमको आराधना वा उपासना नियमपूर्वक एकाग्र वा दत्तचित्त भई गरिने धार्मिक, सामाजिक वा अन्य विशेष महत्वपूर्ण र कठिन कार्य, यस्ता कार्यको शुभारम्भ गरी सफल पार्ने काम, आरधाना, उपासना, पुरश्ह्चरण व्रत, कार्यारम्भ विशेष कार्य) हो ।

हरिशयनी एकादशीका दिन तुलसी रोप्ने चलन पनि छ । तुलसीको धार्मिक, आयुर्वेदिक महत्व छ । तुलसीको मठ र तुलसी भएको घरमा विषालु किरा र सर्प आदिको भय हुँदैन । तुलसीको फूल पात वासनादार हुन्छन् । हिन्दू वैष्णवहरु तुलसीलाई पवित्र मान्दछन् । पूजा गर्दा तुलसी पत्र चढाउने प्रचलन छ । तुलसीको चिया पिउने चलन छ । तुलसी चिया मानव स्वास्थ्यका लागि हितकारी हुन्छ । जसको धरमा तुलसीको मठ र तुलसीको विरुवा छैनन् उसलाई धार्मिक व्यक्तिहरुले नास्तिकको रूपमा व्यवहार गर्दछन् । तुलसीको जरादेखि डाठ र पात सबै औषधीमा प्रयोग गरिन्छ । जालन्धरकी श्रीमती बृन्दाको सतित्वहरण गरेकाले भगवान् विष्णुलाई सराप दिँदा तँलाई घास हुन परोस् भनी श्राप परेकोले उनको रूप तुलसी भएको हो भन्ने किंवदन्ती छ ।

चार महिनाको अवधि हुनु पर्ने चातुरमास यो वर्ष मलमास परेकोले समयावधि थपिएर ४ महिना २४ दिन हुन गएको छ । यो समयमा प्रायः श्रद्धालु भक्तजनहरु ज्ञान, ध्यान, तप आदिमा लागेका हुन्छन् । पवित्र भएर भगवान् विष्णुको आराधना गर्नु यो पर्वको विशेषता हो । शाकाहारी शुद्ध भोजन गर्नु यो पर्वको विशेषता हो । दिनमा पूजापाठ सकेपछि एक छाक खाने त्यो पनि शुद्ध भोजन गर्ने परम्परा छ । चातुरमास व्रत बस्ने कार्य कठिन कार्य हो । तै पनि हरिका भक्तहरु जति सकस भए पनि एकाग्र भएर पूजा गर्दछन् । फलाहार गर्नु यो पर्वको विशेषता नै हो । अन्न आहारलाई यो पर्वले मान्यता दिँदैन । फलाहार र निराहार यो पर्वका विशेषता हुन् । हिन्दू धर्मावलम्बीहरुका प्रायः चाड पर्वहरू यही समयमा पर्छन् । कार्तिक महिनामा बाँसको अग्लो लिङ्गमा झुण्ड्याएर आकाश बत्ती बालिन्छ । चातुरमास पुराण भन्ने धार्मिक स्थल मन्दिर र भक्तजन जो व्रत बसेका छन्, त्यहाँ आकाश बत्ती बालेर साँझ बिहान पूजा गरिन्छ । विवाह पञ्चमी (जनकपुरमा सीताराम विवाह विवाह, पञ्चमी पनि यतिखेर पर्छ । मोक्षदा एकादशी गीता जयन्ती पनि मार्ग १० गते पर्न गएको छ । चातुरमास समापन हुन एक महिना अगाडि चातुरमास व्रतका कर्ता अन्न नखाई फलफूल र गाईको दूध मात्र खाएर व्रत बस्तछन् । चातुर्मास समाप्त भएर देवोत्थान हुने एकादशी, कार्तिक शुक्ल एकादशी हरिबोधिनी एकादशी हुन् । यो दिन विष्णु भगवान् निद्राबाट जागा हुनु हुन्छ ।

यो दिन भगवान् विष्ष्णुको धुमधाम सँग पूजा आराधना हुन्छ । यो दिनलाई फूल तार्ने एकादशी भन्ने परम्परा पनि छ । यो पर्व भगवान् विष्णुलाई फूलै फूलले पूजा गर्ने पर्व मानिन्छ । अर्थात् आश्विन कार्तिक महिना फूल फुल्ने र रमाइलो हुने महिना हुन् । यी महिनामा प्रमुख अन्न धान बाली थन्क्याउने महिनाहरु पनि हुन् । मार्ग ११ गते हरिबोधिनी एकादशी व्रत परेको छ । यही दिन चातुरमास पुराण समापन हुन्छ । यो दिन हरिशयनी एकादशीका दिन सारिएको तुलसीको हरिबोधिनी एकादशकिा दिन विवाह हुन्छ । गीता मन्दिरमा प्रवचन पनि हुन्छ । आजको दिन पोखराको रामघाट सेती नदीमा फूल तारिन्छ । विभिन्न थरिका फूल, मानव जीवनमा आवश्यक हसिया, हतौडा, डालो नाम्लो, ओदान, नाना प्रकारका फलफूल आदि बाबियाको डोरीमा उनेर तोरण बनाइन्छ । यो तोरण डोलीमा बोकेर नदीमा लगिन्छ र नदीको वारीपारी रुखमा बाँधेर फूल तारिन्छ । पोखराको पुरानो कोठेसाँघु अहिले महेन्द्रपुल र तुलसीघाट पुल वारिपारि ठूला, ठूला लठ्ठामा उनेर तयार गरेका फूलका लठ्ठाहरु दुईतिर रुखमा बाँधेर फूल तारिन्छ । भजन कीर्तनका साथ फूलको डोली र मन्दिर पवित्र तीर्थस्थल नदी जस्तै रामघाटमा लागिन्छ । त्यहाँ पुगेपछि फूलको डोली मन्दिर बगाइन्छ र तोरण नदीको दुई किनारामा बाँधेर तारिन्छ । यति गरेपछि कर्ता सहित अन्य श्रद्धालु भक्तजनहरु स्नान गरेरै हरि कीर्तन गर्दै प्रसाद खाँदै आआफ्नो गन्तव्य तर्फ लाग्दछन् । बेलुका कर्ताको घरमा हरिकीर्तन भजन हुन्छ । फलप्रसाद वितरण गरेर भव्य रूपमा हरिबोधिनी एकादशी र चातुरमास पुराण विसर्जन गरिन्छ । भोलिपल्ट प्रदोश व्रत सूर्य अस्ताउने समय सन्ध्याको समय, रात्रिको पहिलो प्रहर, कृष्ण र शुक्ल दुबै पक्षका त्रयोदशीका दिन उपवास बसेर सन्ध्याकालमा शिवको पूजा गरेर व्रत पूर्ण गरिन्छ । यसरी गीता मन्दिरमा चातुरमास पुराणको साङ्गे भोलिपल्ट साङगेको दिन द्वितीयामा नयाँ अन्न आग्नि हाली न्वाइ खाइन्छ ।

-लेखक गीता मन्दिर व्यवस्थापन समितिका सचिव हुन् ।सं.

Related News

सम्बन्धित समाचार

hero news full width