विद्या मानवको गहना

आदर्श समाज सम्वाददाता
मंसिर १५, २०७७

हजारौं लेखक, कविले लाखौंलाख रचनासहितका विभिन्न शीर्षकका पुस्तकहरु प्रकाशित गरेका छन् । यस्ता पुस्तक करोडौं पाठकले पढेका छन् । कुनै पनि लेखोटमा कुनै पनि पाठकले खल्लो तितो पिरो भनि प्रायः कुनै पनि पुस्तकप्रति टिकाटिप्पणी गरेको पनि पाइँदैन । कुनै पनि किताब भित्रको रहस्य बुझ्न सक्यो भने पिछडिएको समाज क्रमशः विकास हुँदै जान्छ । यसबाट हरेक नागरिक स्वावलम्बी तथा अनुशासित हुन सक्छन् । पृथ्वीको वरिपरि सागर छन् त्यस्ता गम्भीर सागरभित्र के–के छ भनि वैज्ञानिक यन्त्रले पनि पत्तो लगाउन सकेको छैन । त्यस्तै विद्वान्हरुबाट प्रकाशित किताबभित्र लेखिएको लेखको रहस्य बुझ्न सके प्रथम गुरु विना सम्भव छैन भने विद्या पढेर कहिले सकिने पनि होइन । चारवेद, अठार पुराण, उपनिषद्, धर्मकाण्ड ज्योतिषशास्त्र, व्याकरण, वैज्ञानिक युगका हजारौं पुस्तक, विज्ञान, गणित, आदि सुधारिएको शिक्षा पद्धतिलाई आफ्ना जीवनमा पूरा गर्न कल्पना सम्म गर्ने हो अन्यथा सम्भव हुँदैन ।

जुन समयमा मानिसले म स्वअध्ययन गर्न सक्छु भन्ने लक्ष्य लिएको थियो त्यो नै त्यसका लागि अमूल्य सम्पत्ति हुन्छ । शरीरको मूल्य तोक्न कसैले सक्दैन त्यस्तै विद्वान्को विद्याको मूल्य कति भनेर तोक्न पनि सकिँदैन । विद्वान्ले विभिन्न ज्ञान, सीप, कलाको बोध गराउँदै मानिसलाई सुमार्गमा लाग्न प्रेरित गराउँछ । विद्या हासिल गरेका विद्वान् वैज्ञानिकले त्यस भित्रको गहिराइमा पुग्न अनुसन्धान गरिरहेका हुन्छन् यस पृथ्वीमा उत्पत्ति भएका वनस्पतिदेखि, जीवजन्तु, प्राणीसम्म विद्वान्हरुका दृष्टिबाट हेरिरहेको पाइन्छ । मानवका लागि संसारमा विद्या हासिल गरेको व्यक्तिमा हुने गुण अवगुण फरक–फरक हुन्छन् । पढेर मात्र विद्वान् हुने पनि होइन त्यस्को वास्तविक रहस्य माथि चिन्तन मनन गर्न सके मात्र अन्तिम निचोड प्राप्त हुन सक्छ । कुनै पनि व्यक्तिले आफूसँग भएको सीप, कला, विद्या, समाजभित्र पस्कन नसकेर पैसा लुकाउँदा झैं आत्मभित्र लुकाउँछ भने त्यस्ता विद्वान्लाई समाजले राम्रो दृष्टिले हेर्दैन । गुरु विना कुनै विद्या हासिल गर्न सकिँदैन । हाम्रा लागि शिक्षादीक्षा दिने गुरु चिरकालसम्म अम्मर रहुन भनी शिष्यले अनुनय गर्नु उसको कर्तव्य हुन्छ । विद्यारुपी शिक्षालाई आमाको दूध पिउदा झैं यो दिमागले पिउन सक्यो भने त्यो शिष्य भविष्यमा अरुको गुरु पक्कै हुन सक्छ । आफू भित्रको ज्ञान सूर्य बिम्ब झैं मानव समाजमा प्रकाश गराउनु पर्छ ।

विद्या लुकाउने होइन यसलाई जति बाँड्न सक्यो उति नै समाजभित्र रहेको विकृत हट्दै जान्छ । संसारमा पहिला वेद उत्पत्ति भएपछिका अन्य शास्त्र हुन भनेर अनुमान गरिन्छ । वेदको सार असत्य भित्रको तत्वलाई मन्थन गर्दा विद्वान् उत्पति भएको हुनसक्छ । किन भने आजका वैज्ञानिकभन्दा पनि शक्तिशाली वैज्ञानिक सत्य, द्वापर, त्रेता युगमा रहेछन् त्यससम्मका वैज्ञानिक शक्ति र सत्यप्रति निष्टा राख्ने हुँदा कल्पनाका विशिष्ट वैज्ञानिक थिए भने जुन क’रा वेदमा के छ ? भन्ने पुस्तकमा उल्लेख भएको पाइन्छ ।

हिजो नभएको आज हुँदै हुँदैन । छँदा पनि छैन । परिमार्जन त्यसैलाई फरक फरक शैलीबाट प्रस्तुत गरिएको छ । विद्याका मार्गहरु कैयौं छन् सबै मार्गलाई पूरा गर्न मानिसले आँट गरे पनि सम्भव छैन । यो हुनाको कारण आफ्नु आयूले भ्याउँदैन । यो युग वैज्ञानिक युग हो । आज संसारमा विज्ञान तीव्र गतिले अगाडि बढिरहेको छ । यसैगरी विनाश पनि हुन्छ । हरेक विषयका जोरविजोर पाटा हुन्छन् । जन्म–मृत्यु, विकास–विनाश, स्त्री–पुरुष, पृथ्वीमा उत्पत्ति भएपछि समाप्त हुनैपर्छ । यस धर्तीमा रहँदासम्म विद्वान् व्यक्तिहरुबाट आफू भित्र रहेका सीप, कला अरुलाई बाँड्न तछाँडमछाँड गर्नुको मुख्य कारण यो नाशवान शरीर माटोमा मिलेपछि आफ्नु नाम चिरकालसम्म रहोस् भन्ने विश्वासले दौडी–दौडी आफूमा रहेको सीप, गुण र कला अरुलाई बाढिरहेका हुन्छन् । कतिपय विद्वान् व्यक्ति बाटोमा हल्लिएर हिँडेका पनि छन् । कुनैको स्वभाव सरलता हुन्छ, कुनैको घमण्डी, अहंकारी, हठ म जस्तो अरु छैन । यस्ता विद्वान् व्यक्तिलाई असभ्य समाजले पनि सम्मान दिँदैन । झन् घृणाको नजरबाट हेर्छन् । हुनत अत्यन्त ज्ञानी दुर्वाशा जति–जति ज्ञानी थिए उति रिसाहा पनि थिए भनेर विभिन्न ग्रन्थमा उल्लेख गरिएको पाइन्छ । त्यस समयमा हुनुपर्ने, गर्नुपर्ने सत्यको महत्व बढी थियो होला त्यसै हुनाले पनि हुनसक्छ ।

भगवान् शिवले विषपान गर्नुभयो विषपानबाट भगवान् किन मर्नु भएन ? भनि आजका मानिसले विष पिउन थाले कोही बाँच्न सक्दैन । हिजो साधना र सत्यता जससँग थियो उसैले गर्‍यो अन्य व्यक्तिले त्यो आँट गर्नु मुर्खता हो । त्यसैकारण हरेक भ्रमलाई परास्त गर्न भने विद्याको आवश्यकता पर्ने हुँदा सधैंका लागि विद्याप्रति आस्था र विश्वास लिन सके उज्ज्वल भविष्यको निर्माण गर्न सकिने विद्या मानवको अमूल्य गहना हो ।

Related News

सम्बन्धित समाचार

hero news full width