कुकुरदेखि सावधान

प्रा चूडामणि खनाल
असाेज २६, २०७७

धेरै वर्ष अगाडिदेखि ‘स्वागतम्’ ‘सुस्वागतम्’ लेखेर टाँसिएको सूचना पाटीलाई फालेर हाल त्यस ठाउँमा ‘कुकुरदेखि सावधान’ लेखिएको आकर्षक रातो, लामो जिब्रो निकालेको र छालाको माला भिरेको कुकुर भएको नयाँ सूचना पार्टी पण्डितको घरमा टाँसिएको देखेपछि हाम्रो देशले साच्चै नै नयाँ फड्को मारेको कुरा बल्ल मैले थाहा पाएँ । सधैँ सेतो धोती लगाएर निधारमा त्रिपुण्डक धारण गरेर रुद्राक्षको लामो माला घुमाउँदै स्तुति गीत गुनगुनाउँदै हिँड्ने पण्डितजीले आफ्ना घर वरिपरि लगाएको बलियो पर्खालको मूलद्वार फेरेको देखेपछि म जस्तो पढेलेखेको चङ्खे मानिएको मान्छेले त्यसको रहस्य नबुझ्ने कुरै भएन ।

रहस्यको मूलगाँठो त त्यतिबेला फुस्कँदै फुस्कँदै गयो, जब भरखरै विधवा भएकी पण्डितिनीले जिउँदै छँदा पति पण्डितले डोर्‍याउने डाँगे कुकुरलाई आफ्नो अङ्कशायी बनाउन थालिन् । यो खबर साँच्चै नै भाइरल भयो, कानकानैमा गरिने खासखुसको विषय पनि हुन गयो ।

प्ण्डितजीले प्रातः भ्रमणका क्रममा सधैँ–सधैँ साथै लैजाने गरिएको कुकुरले पण्डितिनीलाई पनि घुम्न जान बाध्य बनाउँथ्यो । नबनाओस् पनि किन ? सङ्गतगुनाको फल त्यसै भनिएको कहाँ हो र ? पण्डितजीले जुन बाटोबाट प्रातः भ्रमण गर्थे, त्यही बाटो हिँडाउँथ्यो त्यतैतिर पण्डितिनीलाई पनि यसर्थ, पण्डितिनीलाई पनि प्रत्यक्ष अप्रत्यक्ष रूपमा सघाएकै हो । प्रातः भ्रमणबाट हुने लाभ पण्डितजीको पालामा भन्दा डाँगेको पालामा आनन्ददायी भएको अनुभव पण्डितिनीले पनि गरेकै हुन् ।

प्ण्डितिनीका लागि अरु ऋतुहरू त यथावत आनन्दकै थिए तर शरण ऋतुको सुखानुभूति भने गर्न दिँदैनथ्यो डाँगेले । डुल्दाडुल्दैकी पण्डितिनीलाई छाडेर डाँगे आपसमा घुराघुर गरेका डाँगेहरूको बथानमा पुग्थ्यो र केही समयपछि लुत्रुक्क परेर आउँथ्यो अनि कहिलेकाहीँ त पण्डितिनीर्लाइ एक्लै पारेर बरालिएर हराउँथ्यो र धेरै बेरपछि पुच्छर लुत्रुक्क पारेर आउँथ्यो र एकान्तमा कुक्रुक्क परेर कुनामा पल्टिरहन्थ्यो ।

डाँगेको कात्तिके स्वभाव देखेर उसप्रति टिठ्याउँदै पण्डितिनी भुतभुत्याउँदै भन्थिन्– गाँसे, भतुवा डाँगें बेला न कुबेला बजिनयला भनेको बुझ्याछैनस् भाते ।

‘स्वाननिन्द्रा त थैव च’ भन्ने चाणक्यले कुनै विषयमा गैँडासँग कुकुरको तुलना गरेका छन् वा छैनन् त्यो ता मलाई थाहा छैन तैपनि उप बुजु्रक्याइँ गरेर म के भन्न चाहन्छुु भने बिस्टाको निष्ठापूर्वक बिसर्जनको बारेमा यी दुवै उस्तै–उस्तै छन्, किन भने यी दुवैले उस्तैउस्तै प्रकारले बिस्ट्याउँछन् । गैँडाको ऐरामा जाने शिकारीहरूले गैँडालाई पासामा पार्ने उस्तै–उस्तै खाल्टा र गौँडा बनाएका हुन्छन् । कुकुरको पनि गति उस्तैउस्तै हो । एकथरीका कुकुरपालकहरूले कुकुरलाई सडकको छेउछाउमा, मन्दिरका पेटीहरूमा र बिजुलीका पोलहरूमा बिस्ट्याइदिन्छन् । यी कुकुरहरूले त पोलमा बिस्ट्याउने मात्र होइनन् कि लाजै नमानी अनौठो तरिकाले तुक्र्याई पनि दिन्छन् । कुकुरको गुक्र्याउने, तुक्र्याउने र बिस्ट्याउने तौरतरिकाले म त औधी पीडित भएको छु ।

‘जमानाअनुसार चल्नुपर्छ’ भनेर मैले पनि बेलायती कुकुर पालेको छु । पालेको छु भनेर साङ्ग्लाले टमारेर मात्र नहुने रहेछ, खुवाउनु पर्ने, दिस्याउनु पर्ने र मुताउनु पर्ने दायित्व पनि वहन गर्नुपर्ने रहेछ । कुकुरबाट भुकाइमात्र खोजेर नहुने रहेछ । प्राणघातक रेबिजबाट पनि बचाउनु पर्ने रहेछ । आफूले पालेको कुकुरले बाटो हिँड्ने बटुवालाई टोकिदिन्छ कि ? उसले ठाउँ न कुठाउँ तुक्याइदिन्छ कि ? कति डर इन्यादि–इत्यादि कति डर, कति डर, कति पीर ?

हिन्दूहरू पञ्चकव्यका लागि भनेर गाई पाल्छन् र स्वर्ग जाने बाटो सुगम बनायौं भन्छन् । क्रिश्चियन र मुसलनहरू गाई पाल्छन् र सुस्वाद र सुस्वास्थ्यको बाटो तय ग¥यौं भन्छन्, कविहरू ‘बाँचेको क्षण सत्य हो अरु कुरा केहो कसो हो अब ।’ भन्छन् र दोधारमा बस्छन् । लोकगायिकाहरू ‘सोचे झैँ जिन्दगी रैनछ’ भन्ने गीत गाउँछन् र नाँच्छन् ।

स्वागतम् सुस्वागतम् भन्ने पण्डितहरूले लोककै लागि शुभकामना व्यक्त गरेका हुन् । ‘कुकुरदेखि सावधान’ भन्नेले पनि अनिष्टबाट बच्ने आशय व्यक्त गरेका छन् । यसरी हेर्दा अनिष्टको नाश र इष्टको फलिफाप होस् भन्ने आशय कुकुरदेखि सावधान भन्नेको पनि बुझिन्छ हो कि होइन ?, कि कसो ?

Related News

सम्बन्धित समाचार

hero news full width