कोरोना, कलह र सलह

दुर्गा अधिकारी
श्रावण २२, २०७७

असाध्यै मिल्ने दुई दाजुभाइ अंशका कारण पानी बाराबारको अवस्थामा पुग्छन् । घर गाउँले मिलेर जग्गाको साँध सीमाना मिलाउने भगीरथ प्रयाश सफल नभएपछि उनीहरु अदालतको शरणमा पुग्छन् । यसका लागि दुवैले शहरमा नाम चलेका वकील राखेर मुद्दा लड्छन् । वर्षौंपछि मुद्दाको फैसला हुन्छ । मुद्दा दुई मध्ये एउटाले जित्नुपर्नेमा त्यसो नभई तेस्रो पक्ष अर्थात वकीलले मुद्दा जित्छ । मुद्दाको दस्तुर तिर्दा तिर्दा उनीहरु सुकुम्बासी हुन्छन् । भएको जग्गा वकीलको हुनपुग्छ । घर फुट्दा पराई मोटाउने दिव्यज्ञान पाएपछि दाजुभाइ नङमासु भएर मिल्न थाले । काटाकाटको अवस्थामा पुगेको सम्बन्ध कसरी जोडियो ? भनेर छिमेकीले सोध्दा उनीहरुको जवाफ हुन्थ्यो– ‘जुन चीजका लागि झगडा गरियो, त्यो नै नरहेपछि झगडा गर्नुको औचित्य के रह्यो र ?’

नेपाल कम्युनिष्ट पार्टीभित्रको विवाद जग्गाका लागि किचलो गर्ने तिनै दाजुभाइको जस्तै हो । यो कुनै सैद्धान्तिक एजेण्डाका लागि नभएर कुर्सीको मुखिया को बन्ने भन्ने एकसूत्रीय धोखाघडी खेलमा सीमित छ । बाझ्ने र मिल्ने दुवैको एउटै गन्तव्य हो– जसरी भए पनि सत्ता र शक्तिको जोहो गर्ने । यो खेलमा जसले जतिबेला जसलाई पनि धोका दिन सक्छ । प्रधानमन्त्री केपी ओलीलाई सत्ताच्युत हुनु भनेको दार्‍हा निकालेको बाघ हुनु हो भने घाँटी घाँटीसम्म थाहा छ । माधव नेपालले डेढ दशकसम्म सत्ता र पार्र्टीलाई ‘जनैको साँचो’ बनाउँदा आफूले घाट कुरेर बस्नुको पीडा केपी ओलीलाई राम्रोसंग थाहा छ । त्यसअघि झलनाथ खनाल हाकिम हुँदा आफ्नो भविष्यमा लागेको ग्रहण नेपाल र ओलीले झन् स्पष्टसंग बुझेका होलान ।

कोरोना, सलहभन्दा देशका लागि दुईचार नेताको कलहले पुस्तापुस्तासम्म हान्ने श्रृंखला बढ्दो छ । राजा महेन्द्र– बीपी कोइराला, बहुदल आएपछि कृष्णप्रसाद– गिरिजाप्रसाद, माओवादी द्वन्द्वताका प्रचण्ड–बाबुराम हुँदै अहिले ओली–दाहालको शीतयुद्धको बाछिटाले प्रकारान्तरमा जनताको भाग्यमा बन्चरो हानेको छ । फर्सीले चुलेसी या चुलेसीले फर्सी जसलाई हानेपनि आखिर क्षति व्यहोर्ने त फर्सीले नै हो ।

‘आज हामीलाई दुनियाँले अत्यन्तै ध्यान दिएर हेरेको छ । कारण हामी युद्ध तथा अन्य आन्दोलनबाट नभई चुनावी प्रक्रियाबाट सरकारमा पुगेका हौं । जुन विश्व कम्युनिष्ट आन्दोलनको लागि फरक उदाहरण हो । हामीले चुनावी प्रक्रियाबाट जनताको मन जितेर करिब दुई तिहाईको सरकार बनाएका छौं । यो हाम्रो लागि अत्यन्तै सफलताको कुरा हो । यो सफलतापूर्वक अगाडि बढेको छ र अगाडि बढ्छ पनि ।’ गएको माघ १ गते बुधबारदेखि सुरु सत्तारुढ नेकपाको केन्द्रीय समिति बैठकको उद्घाटन सत्रमा प्रधानमन्त्री केपी शर्मा ओलीको सम्बोधनको केही अंश हो यो । जतिबेला कोरोनाको महामारीले हामी कहाँ छोपिसकेको थिएन ।

विश्व समुदायको ध्यान आफूतिर रहेको गर्व गर्ने पार्टीका नेताहरु सत्ता र शक्ति बिलो लगाउने प्रतिस्पर्धामा किन छन् ? अर्थतन्त्र कहालीलाग्दो अवस्थामा छ । कोरोनाले बजारमा पैसाको कारोबार ठप्प छ । रगत बग्ने अर्थतन्त्रको धमनीमा पानी पनि बग्न सकेको छैन् । रोजगारका क्षेत्र सतप्रतिशतजस्तै साँघुरिएका छन् । निजीक्षेत्र अस्तव्यस्त छ । सरकारको ढुकुटीमा जम्मा भएको राजश्व तलवभत्ता र पेन्सनमै ठीक्क हुने स्थिति छ । विकासको चक्र उही आर्थिक वर्षको अन्त्य असार र साउनको भेलमा घुम्नेबाहेक केही हुन सकेको छैन् । प्रदेश र स्थानीय निकायका जनप्रतिनिधिका लागि त्यहाँ जाने पैसा अन्तिम बनभोज जस्तै भएको छ । कोरोना, सलहभन्दा देशका लागि दुईचार नेताको कलहले पुस्तापुस्तासम्म हान्ने श्रृंखला बढ्दो छ । राजा महेन्द्र– बीपी कोइराला, बहुदल आएपछि कृष्णप्रसाद– गिरिजाप्रसाद, माओवादी द्वन्द्वताका प्रचण्ड–बाबुराम हुँदै अहिले ओली–दाहालको शीतयुद्धको बाछिटाले प्रकारान्तरमा जनताको भाग्यमा बन्चरो हानेको छ । फर्सीले चुलेसी या चुलेसीले फर्सी जसलाई हानेपनि आखिर क्षति व्यहोर्ने त फर्सीले नै हो । पद भनेको विलासिता नभएर उत्तरदायित्व भन्ने सत्यलाई यहाँका मुखियाले कहिल्यै बुझेनन् । जुनबेला बुझ्लान, त्यो बेला समयले धेरै पछि छोडिसकेको हुनेछ । देश यस्तो अविवेकको खाडलमा जाकियो कि अब अख्तियारबाट भ्रष्टाचार, न्यायालयबाट अन्याय, पुलिसबाट चोरी डकैती र दलहरुबाट सुशासन जोगाउनुपर्ने चुनौती बढ्दो छ ।

नेकपा एक उपलब्धि अनेक

नेकपाको नेतृत्वमा सरकार छ । केन्द्र र तीनै तहमा सरकार सञ्चालन गरिरहेको छ । संविधान कार्यान्वयनको सन्दर्भमा अत्यन्तै महत्वपूर्ण उपलब्धि हात पार्न नेकपा नेतृत्वको सरकार सफल भएकै हो । संविधानको मर्मअनुरुप नीति नियम बनाउनु आफैंमा चुनौतीपूर्ण कर्म हो । संघ मात्र हैन प्रदेश र स्थानीय निकायको व्यवस्थापनमा सरकारको तदारुकता सर्‍हानीय रह्यो । कालापानी र लिम्पियाधुरा समेटिएको नक्सा सार्वजनिक भयो । नेपालको इतिहासमै यो गौरवपूर्ण क्षण हो । भला त्यसको परिणाम के आउँछ, त्यो समयकै गर्भमा छोडौं । थुप्रै बहुआयामिक योजना शुरु भएका छन् । अबको केही महिनामा भैरहवामा अन्तर्राष्ट्रिय विमानस्थल शुरु हुने क्रममा छ । पोखराको क्षेत्रीय विमानस्थलको काम तदारुकतासाथ अघि बढिरहेको छ । बहुप्रतिक्षित मेलम्ची खानेपानी यही सरकारको पालामा धाराको टुटीबाट पानी झर्ने निश्चित छ । स्थानीय निकायमा समेत विकासले विस्तारै गति लिन थालेको छ । कतिपय पालिकाले अत्यन्तै उत्कृष्ट काम गरेको छन् । पोखरा महानगरपालिकाको वडा नम्वर १३ ले महानगरपालिकाले गर्न नसकेको काम जस्तै अपाङ्गमैत्री सडक, माटोमैत्री कृषि प्रणाली लगायत अहिले कोरोनाको महामारीमा विदेशमा रहेका आफ्नो वडावासीलाई आफैं खर्च हालेर स्वदेश ल्याउने काम सक्रियतापूर्वक अघि बढाएको छ । विश्वभरि नै कम्युनिष्ट पार्टीहरूलाई भुमण्डलीकृत पूँजीवादले आक्रान्त बनाइरहेको छ । यस्तो प्रतिकूल अवस्थामा नेपाल कम्युनिष्ट पार्टीले झन्डै दुई तिहाइ नजिकको मत प्राप्त गर्यो । संसदीय राजनीतिक व्यवस्थामा यो मत धेरै ठूलो उपलब्धीमूलक हो । नेकपा नेतृत्व सरकारले जनमतबाट प्राप्त उपलब्धीलाई श्रमजीवी जनताको पक्षमा दृढतापूर्वक कार्य गर्न अत्यन्त ठूलो अवसर प्राप्त गरेको छ । उसको लागि यो पहिलो र अन्तिम मौका हुनसक्छ ।

अस्पष्ट राजनीति

लोकतान्त्रिक प्रणाली, प्रतिस्पर्धात्मक बहुदलीय प्रणाली र त्यसअन्तर्गतका प्रक्रियाहरु, मानवअधिकार र स्वतन्त्रताको प्रश्नलाई नेकपाले आदर्शको रुपमा अंगिकार गरेको छ । यद्यपि त्यसलाई कायान्वयन गर्ने काममा आफंै चुकेका धेरै उदाहरण छन् । हामी शान्तिपूर्ण ढंगले परिवर्तन गर्न सकिन्छ भन्नेमा स्पष्ट छौं भनेर गर्वका साथ भन्ने नेकपाले लोकतान्त्रिक पद्धति हिँड्ने क्रममा बाटो बिराएको छ । यात्रा गर्ने क्रममा पार्टीका टाउकेहरुले चलाएको जहाज कुइरोमा हराएको छ । त्यो जहाज कुन हालतमा अवतरण हुने हो भन्न सक्ने अवस्था छैन् । पद र पहुँचको शक्तिले नेकपाका नेतादेखि तलसम्मका कार्यकर्ताको आँखामा पट्टी लागेको छ । उनीहरु विचार शून्य जस्तो भएका छन् । न्यायसहितको आर्थिक अधिकारको कुरा गर्ने कम्युष्टिहरु आज कमाउनिष्ट हुँदा नेकपाले परिकल्पनाको गरेको सबैको लागि सुरक्षित र शान्तिपूर्ण समृद्ध समाज व्यर्थको नारामा सीमित भएको छ ।

पूँजीवादमा आधारित शासन व्यवस्था अहिले लगभग विश्वव्यापी जस्तै हुँदैछ । नेपालको शासन व्यवस्थामा तथा राजनीतिक दलहरूमा यसको स्वभाविक प्रभाव छ । वर्तमान समयमा राजनीतिक दलहरूको मुख्य चुनौती दलाल पूँजीवादको उपस्थित भएको छ । परिणाम स्वरूप आजको राष्ट्रको ढुकुटीमा हुनुपर्ने रकम व्यक्तिको स्वामित्वमा छ ।

अहिले संघर्ष नगरी कमाइएको पूँजी बैंक तथा सहकारीमा सञ्चित रहेको अवस्थामा छ । पूँजी चलायमान नहुँदा राष्ट्र गरीब, सीमित व्यक्ति धनी बन्ने स्थिति छ । हामी आत्मनिर्भरको कल्पनासम्म गर्न सक्ने अवस्थामा छैनौं । अहिले पनि परनिर्भरता बढ्दो छ । यसैलाई मध्यनजर राख्दै बजेट अर्थात् अर्थनीति, आयात र निर्यातको सन्तुलनकारी भूमिका निर्वाह गर्ने साथै स्वदेशी उत्पादनलाई प्राथमिकता दिन जरूरी छ । साथै यसका लागि योजना चाहिन्छ अनि दृढ इच्छा शक्ति सहितको सर्मपण पनि । यो बाटोमा नेकपाले पाइलो समेत चाल्न सकेको छैन । बालेर परिवर्तन हुने भए नेपालमा पानी जहाज, घरघरमा ग्याँसका सिलिण्डर उहिले नै आइसक्नुपर्ने हो ।

नेताहरूलाई यतिबेला पद, प्रतिष्ठा र सम्मान चाहिएको छ । राज्यलाई आँखा नदेख्ने बनाएर वा प्रयोग गरेर अदृश्य कार्यमार्फत अकुत द्रव्य आर्जन गरेका व्यक्ति राजनीति अगुवाको कमिसार भएका छन् । कुण्ठा व्यक्त गर्ने आफूसँग सम्बन्धित समितिको बैठकमा हो । कम्युनिष्ट पार्टीमा हुनुपर्ने न्यूनतम मान्यता भनेको आलोचना र आत्मालोचना गर्न सक्नु हो । आफ्नो जिम्मेवारीको जवाफदेही आफैं हुनुपर्छ । कुरा समाजवादका गर्ने अनि कार्यशैली पूँजीवादी अपनाएपछि लक्ष्य धर्मराउँछ । समाजवादलाई दिगो बनाउन नेताहरूको जीवनशैलीमा निर्भर हुन्छ ।

वैचारिक संक्रमण र भावी दिशा

पटक पटक स्थायी कमिटी बैठक स्थगित गरेपछि धेरैलाई पार्टीभित्रको विवादले निकास पाउला कि भन्ने कतिपयको बुझाइ छ । तर तय भएका एजेन्डामै छलफल नहुने र बरु एजेन्डा थपिँदै जाने अनि छलफल र निष्कर्ष कुनैको नआउने भएपछि बैठकको कुनै अर्थ नहुने देखिएको छ । जुन मानसिकता पार्टीको शीर्ष तहमा समेत हावी भइसकेको छ । त्यसै पनि ओलीले बैठकको अन्त्य गर्न अर्का अध्यक्ष प्रचण्डलाई मुखै फोरिसकेका छन् । तर प्रचण्डसँगको सहकार्यमा रहेको माधवकुमार नेपाल समूह बैठक अन्त्य गर्ने कुराको विपक्षमा छ ।

एकातिर ओली सरकारको केन्द्रीकृत घमण्ड र अर्कोतिर कूटनीतिक अपरिपक्वता देखाई रहेको नेपाली वाम राजनीति अनिश्चयको दिशातिर मोडिएर नेपालको तटस्थ, असंलग्न पञ्चशीलको विशेषता बोकेको विदेश नीतिमै फेरबदल हुने त होइन ? प्रश्नहरू तेर्सिएका छन् । सत्ताधारी दल वैचारिक र कार्यदिशामा अलमलिएर बरालिने प्रवृत्ति देखिएको छ ।

भनिन्छ दम्भले आफैं पोखिन्छौं । त्यसैको परिणाम होला नेकपा अहिले वैचारिक संक्रमणमा छ । वैचारिक कुरालाई स्पष्ट पारेर अगाडि बढ्न नसक्नु नेकपाको कमजोरी हो । गन्तव्य र बाटोबारे स्पष्ट नभई अगाडि बढ्न सकिदैन । आज नेकपा गन्तव्यविहीन यात्रामा हिँडेको भान हुन्छ । देशमा यति ठूलो विपत्ति आउँदा खोई सरकार ? हत्या हिंसा आतंक, बलात्कार, भष्टाचार, विना व्यवसाय हिजो गाउँबाट झरेका नेताहरुका आलीसान महल कहाँबाट तयार हुन्छन् । यो विषय सोचनीय छ । पूँजीवाद मौलाउँदा नेपाली समाजमा धनी र गरिवबीचको असमानताको दूरी अझ धेरै बढ्दै छ । नेकपा सँग ऐतिहासिक बलियो पार्टी र जनमत भएको सरकार छ । भष्टाचार, लुट र गुट तन्त्र भन्दा माथि उठेर अब खान नपाउने, लाउन नपाउने, आवास विहिन नेपालीका लागि सहाराको काम नेकपाबाट हुन सक्यो भने मात्र करिव दुई तिहाई बहुमतको अर्थ हुनेछ ।

Related News

सम्बन्धित समाचार

hero news full width