कमरेड, आँधी आउँदैछ

मदन भण्डारी
पौष ६, २०७७

‘निर्लज्ज नेतृत्वको, निरस रसनाको
रण्डीको नाँच हेर
जनअधिकारको डँडाल्नुको भाँच हेर
जब मान्छेले मान्छेलाई मान्छे गन्दैन
तब कटकटाउँछन् मेरा बत्तिसै दाँत !

हाम्रा महाकवि देवकोटाले पीडाको कुन आक्रोशमा यस्तो लेखे होलान् ? अहिले हाम्रो राजनीतिमा अत्यन्त सामयिक भइरहेको यो सन्दर्भले जनताका दाँत कटकटाइरहैकै बेला प्रधानमन्त्री हातको बत्ती निभाएर आगो खोज्न हिँडदैछन् । राजेश खन्नाको डाइलग ‘हम तो डुबेगें स-नम आपको भी ले चलेंगें’ जस्तै गर्दैछन् । राजावादी खोलमा अनेक प्रदर्शन हुँदा दाउ छोप्न खोज्नेहरु अत्तालिए । सत्तासीन, प्रतिपक्षी र अरु राजनीतिक दलका अनेक व्यक्तिले प्रदर्शनप्रति नाक चेप्¥याए तर आधारभूत जनता उधुम उत्साहले राजावादी जुलुसमा सहभागी भइरहेका छन् । युवा पुस्ता, जसले नेपालका राजाहरुको देनलाई प्रत्यक्ष आँखाले देखेनन्, ती सडकमा आइरहेका छन्; श्रीमान् गम्भीरकै राष्ट्रिय गान गाइरहेका छन् । गणतन्त्रमा भलपैरो जाँदैछ । यसलाई रोक्नछेक्न सक्ने सामथ्र्य सत्तासीनमा देखिएन । नेकपाका अध्यक्षद्वयले कुर्सीकै लागि मरिहत्ते गरे । यिनीहरु राजा निरोका कथा हाल्थे, आ–आफै निरो बने । मिडियाले कात्रोमा खल्तीको गजब बिम्ब बनायो । जज र जबज प्रजातान्त्रिक समाजवाद जस्तै खुइलिँदैछ ।

यदुवँशी जस्तै सत्तासीन नेकपा मासिन खोज्दैछ । यहाँ स्वयं कमरेड प्रचण्ड, कथाका अर्जुनको स्वरुप प्रदर्शन गर्दैछन् ।

राजनीतिमा सिद्धान्त, संगठन, संघर्ष, कला, पैसो र परिवेश महत्वपूर्ण हुन्छ । सुन्दरतम कम्युनिस्ट सिद्धान्तलाई डबल नेकपाले लाटीको धोती बनाएर लतार्‍यो। कोरोना र कम्युनिस्ट दुवैद्वारा नेपाली जनता सताइए । उपचारका लागि ट्याक्सीमा भौतारिँदै जनताले प्राण त्याग्नु पर्दैछ । आत्महत्याको बाटो रोज्नुपर्दैछ । मर्ने मरेपछि खुट्टै तानेर, यसैले जनता राजालाई आधार मानेर सडकमा आएका छन् ।

राजावादीका संगठन राम्रा छैनन् । ती दर्जनौं समूहमा विभक्त छन् । सेनाका कतिपय जर्नेल र कयौं पूर्वपञ्चहरु राजा आइहाल्छन्, म मन्त्री भैहाल्छुको आत्मरतिमा रमाइरहेका छन् । ती ऐंजेरु बाँच्छन्, कामको नाममा सिन्को भाँच्दैनन् । कांग्रेस र कम्युनिस्टका संगठन पनि ध्वस्त बन्दैछ । संगठन ध्वस्त भएकै कारण कमरेड प्रचण्डलाई केपी ओलीले नाँच भालु बनाइरहेका छन् ।

संघर्ष हरायो । संघर्ष हो जीवन गाउनेहरु मुखमा दही जमाउन बाध्य छन् । जनकलाकारहरुले जनतालाई गाउँगाउँबाट उठ भने, जनता उठे । के पाए? घोर निराशा । भाँडभैलो र राष्ट्रघात । नेता पक्का साधु बिरालो निस्के । पुष्टिए, अकूत सम्पति कुम्ल्याए र रअको इसारामा नाच्न बाध्य भए । प्रचण्डले भने, ‘भारतले होइन प्रधानमन्त्री केपी ओलीको राजीनामा मैले मागेको हूँ !’ प्रधानमन्त्रीले चुच्चे नक्सा हत्तपत्त लुकाए । रअका हाकिमको शरण परे । देश बेचुवा नेताका चर्तिकला जनताले प्रत्यक्ष देख्नुभोग्नु पर्दैछ ।

नेपाली राजनीतिलाई राजा महेन्द्रपछि नेता मदन भण्डारीले कलापूर्ण बनाए । सिद्धान्तको हेराइमा राजा महेन्द्र सामन्त हुन् तर देशभक्त थिए । देशभक्तिका सुन्दरतम् गीत लेख्थे । ‘हाम्रा साहित्यकारले ब्रह्मले देखेको कुरा कलमले पोखिदिए देशको लागि ठूलो योगदान हुन्छ !’ भन्थे । मदन भण्डारी शालिन पारामा संवैधानिक राजतन्त्रको वकालत गर्थे । ती नेताद्वय राजनीतिमा कला भर्थे ।

राजनीति गर्न पैसो चाहिन्छ । नेपाली काङ्ग्रेसबारे कुवेर शर्माले विद्रोहमा लेखेका छन् । पार्टी चलाउन ५० हजार रुपैयाँको अपेक्षा गर्ने बिपी कोइरालालाई सुवर्ण समशेरले ५० लाखको जोहो गरिदिएका थिए । जनयुद्ध हाँक्न प्रचण्डलाई पश्चिमा र रअले भरमग्दूर सहयोग गरेको सत्य आज खुल्दैछ । त्यतिखेरको लुटपाट कम्ति कहालीलाग्दो थिएन ।

परिवेश–कुनै पनि मुलुकको राजनीतिलाई परिवेशले प्रभाव पार्छ । ०१७ सालमा रुस र अमेरिकाको, चीन र भारतको द्वन्द्वलाई राजा महेन्द्रले पूँजीकृत गरे । सबैसितको सन्तुलित कूटनीतिले आफ्नो राजनीतिलाई अघि बढाए । देशको सर्वाङ्गीण विकासमा ध्यान दिए । भूमिसुधार, पूर्वपश्चिम राजमार्ग र विकासका सबै पूर्वाधार खडा गरे । महेन्द्रकै पालाको उद्योग धन्दाहरु ०४६ पछि नेपाली काङ्ग्रेसले कौडीको भाऊमा बेचेर खायो । भ्रष्टाचारको शिक्षा कम्युनिस्टले कांग्रेसबाटै पायो । हो, ऊ गुरुभन्दा धेरै सिपालु भयो ।

भ्रष्टचारले वाक्कदिक्क जनतालाई भ्रष्टाचार विरुद्धका अभियानले स्वतः स्पर्श ग¥यो । नवीनतम् तरीका झिक्दै नागरिक अभियन्ताहरु अगाडि आए । मंसिरको सुरुआतदेखि नै जनता उल्लेख्य संख्यामा सडकमा आए । २०७७ पुस ५ गते अपराहन्हमा मण्डलेहरु लुके, भागे । मण्डले सूर्यबहादुर वा कमल थापा मात्रै होइनन् । सत्ताको आडमा गुण्डागर्दी गर्ने सबै मण्डलले हुन् । ती नांगिए । साँच्चैको नागरिक आन्दोलन उठ्ने सम्भावना प्रबल बन्न थाल्यो । पुस ५ गते संसद विघठनको सिफारिस लिएर प्रधानमन्त्री राष्ट्रपतिकहाँ पुग्नासाथ देशैभरि प्रधानमन्त्रीका पुत्ला जलाइए । अर्जुन पराजुलीको कविता स्मरणीय बन्यो ।

‘उनीहरु आए र मेरा हजुरबालाई भने
तिमी मर तिम्रा छोराछोरीले सुख पाउनेछन्
मेरा हजुरबाले उनीहरुको कुरा पत्याए र मरे ।
त्यसपछि उनीहरुले मेराबालाई भने
तिमी मर तिम्रा छोराछोरीले सुख पाउनेछन्
मेरा बाले पनि उनीहरुको कुरा पत्याए र मरे ।
त्यसपछि उनीहरु मकहाँआए र भने –
तिमी मर तिम्रा छोराछोरीले सुख पाउनेछन्
मैले पनि उनीहरुको कुरा पत्याएँ र म पनि मरें ।
अहिले उनीहरु मेरा छोराछोरीलाई भन्दैछन् –
तिमीहरु मर, तिम्रा छोराछोरीले सुख पाउनेछन्
यसपालि मेरा छोराछोरी भनिरहेका छन् –
तिमीहरु मर, हाम्रा छोराछोरीले सुख पाउनेछन् !’

यदुवँशी जस्तै सत्तासीन नेकपा मासिन खोज्दैछ । यहाँ स्वयं कमरेड प्रचण्ड, कथाका अर्जुनको स्वरुप प्रदर्शन गर्दैछन् । शक्ति क्षीण भएपछिका अर्जुनलाई सामान्य चोरहरुले थप्पड्याए । उनको गाण्डीव धनु बच्चाको गुलेली सरह भयो । जनतासँग टाडिएका प्रचण्डलाई पहिले आफ्नै कार्यकर्ताले थप्पड्याए, अहिले केपी ओलीले बिरालोले मुसो खेलाएजस्तै खेलाइरहेका छन् । प्रमुख प्रतिपक्षी कांग्रेसका नेता रामचन्द्र पौडेलले उहिल्यै गोल्छे सार्कीको थप्पड खाँदा चेतेका भए आज यो बेइज्जती बेहोर्नु पर्दैनथ्यो होला । रामचन्द्रजी कुरा चाहिँ ठीकै गरिरहेका छन्, ‘ओरल्ली, मोरल्ली र पोलिटिकल्ली नेकपालाई चुनौती दिनसक्ने नेतृत्व कांग्रेसका लागि आवश्यक छ !’ त्यस्तो नेतृत्व इतिहासका पानामा भेटिएलान्, आजका कांग्रेसमा भेटिँदैन । इतिहासको साउँब्याज कांग्रेसले खाइसकेको छ ।

मदन भण्डारी भन्थे, ‘जीवनको रङ् हरियो हुन्छ, सिद्धान्तको रङ् फुस्रो हुन्छ !’ आज नेकपा विप्लवद्वारा निरीह शिक्षकको नृशँस हत्या हुनु र देशव्यापी रुपमा राजावादी आन्दोलन उठ्नुको अन्तर्यले ठूलै परिवर्तनको संकेत गर्दैछ । कांग्रेस र कम्युनिस्टको सिद्धान्तको रङ् फुस्रो भएर उडेकैले राजावादी खोलमा जनआक्रोशले अभिव्यक्ति पाइरहेको छ । मधेश फेरि गतिमान बन्दैछ । डा.बाबुराम भट्टराई सही भन्छन्, ‘पहिल्यै साख गुमाइ सकेका राष्ट्रपतिले यस्तै जो रक्षक उही भक्षकको भूमिका निर्वाह गर्नु कुन अनौठो भयो र !’ सत्तासीन कमरेडहरु, आँधी आउँदैछ ।

Related News

सम्बन्धित समाचार

hero news full width