पोखरामा बन्नुपर्छ ‘बौद्ध सांस्कृतिक केन्द्र’

आनन्दराज मुल्मी
माघ २, २०७७

विक्रम संवत् १९९८ मा निर्माण भएको बुद्ध बिहार हाल धर्मशिला बुद्ध विहारको नामले प्रख्यात छ । पोखरा र वरिपरि बुद्ध शिक्षालाई व्यापक बनाउन, बुद्धधर्मलाई प्रवद्र्धन गर्न यस विहारको अतुलनीय र अनुकरणीय भूमिका त छँदै छ । त्योभन्दा महत्वपूर्ण यस क्षेत्रमा नारीहरुलाई सशक्तीकरण, चेतनशील बनाउन नारी शिक्षा प्रदान गर्ने थलोको रुपमा विख्यात छ । अरु त्योभन्दा सशक्त पक्ष राणाकालीन समयमा प्रजातन्त्र र स्वतन्त्रता प्राप्त गर्न संघर्षरत युवाहरुलाई परिचालन र संरक्षण गर्न यस धर्मशिला बुद्धविहारको इतिहास सँधै जीवन्त रहने छ र राखिनु पर्दछ ।

नेपालमा जन्म लिएर भारतको विभिन्न ठाउँहरुमा शिक्षा ग्रहण गर्दै ध्यान तप गर्दै बुद्धत्व प्राप्त गर्ने गौतम बुद्धका उपदेश, दर्शन शिक्षा आज विश्वभर बौद्ध धर्मको रुपमा स्थापित भएको छ । अहिंशा र शान्तिलाई प्रबद्र्धन गर्न बुद्धका उपदेशहरुलाई अंगीकार गर्ने र बुद्ध दर्शनलाई आधार मानेर सहिष्णुता, मानवीय धर्मलाई व्यापक बनाउन विश्वजगत लागी परेको सबैले महसुस गरिआएको छ । भगवान बुद्धका उपदेश, दर्शन र शिक्षालाई व्यापक बनाउन, नेपाल राष्ट्रले कति अग्रसरता देखाएको छ, यसको प्रबद्र्धनमा कति समर्पित भएको छ र बुद्ध नेपालको हो भनेर चिनाउन कति धेरै प्रयास गरेका छौं एकपटक आत्मालोचना गर्ने बेला आएको छ । नेपाल भित्रकै कुरा गर्नुपर्दा लिच्छवी, मल्ल, शाह, राणाकालीन समयमा बुद्ध र यसको दर्शन उपदेशलाई व्यापक रुपमा प्रबद्र्धन गरेको पाइँदैन । यद्यपि स्वम्यभु, बौद्ध चैत्यहरु, विहारहरु निर्माण गरेको ज्वलन्त प्रमाणहरु अहिले पनि पाउँछौं । राज्यपक्ष उत्साहित भएर काम गर्नुभन्दा बुद्ध शिक्षा र उपदेशलाई प्रचार गर्न रोक लगाएको, भिक्षु बन्न चाहना गर्नेहरुलाई देश निकाला वा जेलमा राखिएको अवस्था पनि थियो । इतिहासमा उल्लेख भए अनुसार इपू २४८ मा सम्राट अशोकले नै बुद्ध शिक्षा र दर्शलाई प्रचार प्रसार गर्न महास्थवीर नामक भिक्षुलाई नेपालमा पठाएको देखिन्छ । उनै अशोकले बुद्धलाई चिरस्मरणीय बनाउन ८४ हजार स्तूप विहार र स्तम्भहरु निर्माण गरेको कुरा पनि उल्लेख छ । त्यसै अनुरुप सिद्धार्थ गौतमले जन्म लिएको ठाउँमा स्तम्भ निर्माण गरेका थिए । त्यो अशोक स्तम्भ इतिहासकार डा. फ्युहररले सन १८९६ मा उत्खनन गरी फेला पारेपछि विश्वव्यापी रुपमा बुद्ध नेपालमा जन्मिएको प्रामाणिक आधारका रुपमा व्यापक भयो, प्रचारमा आयो । त्यसपछि पनि यसबारे थप तथ्यहरु थाहा पाउन भग्नावषेशहरु खोजी गर्न धेरैचासो नदिएको देखिन्छ । विश्वका बौद्ध धर्मालम्बीहरुलाई बुद्ध जन्मेको ठाउँमा एकपटक पुग्नै पर्ने बनाउने परिकल्पना बर्मेली नागरिक उ थान्तले गरेका हुन् । संयुक्त राष्ट्र संघको महासचिवको हैसियतबाट उनले लुम्बिनीलाई वृहत विकास गरी एउटा दर्शनीय स्थल बनाउने गुरुयोजना सुरु गरेको झण्डै ५० वर्ष हुन लागेको छ ।

बौद्ध सांस्कृतिक केन्द्र स्वयं आफै सम्पूर्ण बौद्ध धर्मालम्बीहरुका लागि पोखरेलीहरुको तर्फबाट एउटा अनुपम उपहार बन्न सक्दछ

पाल सरकार र नेपालीले चासो लिएर सुरु गर्नुपर्ने काम विदेशीले उत्सुकता लिएर थालनी गर्नुपर्ने स्थितिको जन्म भयो तर ५० वर्ष भइसक्दा पनि जापानी नागरिक वास्तुकलाविद केञ्जो टाँगेले तयार गरेको सुन्दर गुरुयोजना पूरा गर्न नेपाल सरकारले तदारुकता देखाउन नसक्नु लाजमर्दाे कुरा हो । यस्तो महत्वपूर्ण काममा समेत सरकारमा बस्नेहरुले राजनीतीकरण गर्नु, अनेकन अनियमतिता र आर्थिक हिनामिना भइरहँदा पनि निकायहरु चुपचाप रहनुले पनि भगवान बुद्धको ख्यातिको लागि गरिएको प्रयासमा महत्व नदिएको देखिन्छ । देशमा नै जन्मिएका महान सपुतप्रति हामीले अनुग्रहित हुने काम गर्न नसकेको नै ठहरिन्छ । अब समय आएको छ, हामी सबैले विश्वले मानिआएको गौतम बुद्ध जन्मस्थल लुम्बिनी, बाल्यकाल बिताएको तिलौराकोट र देवदह, बुद्धत्व प्राप्त गरेपछि आफ्नो मातृभूमि आएर प्रथम उपदेश दिएको उपदेश दिएको स्थल कुदान, महानिर्वाणपछि बुद्धका अवशेषलाई राखेर बनाइएका स्तूपहरु, रामग्राम, कपिलवस्तु र पिपलीवन (पिपरहवा) को ऐतिहासिक र धार्मिक महत्वलाई विश्वभर चिनाउने बेला आएको छ । त्यतिमात्र होइन बुद्ध भइसकेपछि पहिलोपटक नेपाल प्रदेश गरेको देखि विभिन्न ठाउँहरुमा प्रवचन र उपदेश दिन गएको पैदलमार्गलाई पहिचान गरी सुनिश्चित गर्न सक्छौं भने बौद्ध धर्मालम्बीहरुका लागि अत्यन्तै पवित्र र प्रिय मार्गकारुपमा स्थापित हुनसक्ने छ । जसरी लुम्बिनीमा बुद्ध जन्मेपछि मायादेवीले बुद्धलाई लिएर आफ्नो दरबार तिलौराकोट हिडेर गएको मार्गलाई स्थापित गर्ने प्रयास गरिएको छ त्यसरी नै भगवान बुद्ध पैदल हिँडेको मार्गलाई पहिचान गर्न आवश्यक छ ।

पोखरा र सेरोफेरोमा बौद्ध धर्मको सुरुआत कहिले देखिन हुन थाल्यो भन्ने कुरा पनि अध्ययनको विषय हो । कास्कीमा राज्यको अविभारा लिएर बसेको घलेराजाहरु, कुलमन्डनदेखि सिद्धिनारायणका पालासम्म कति बौद्ध धर्न मान्ने मानिसहरु थिए भन्ने यकीन गर्ने आधार पाउन सकिएको छैन । तर जब कास्कीका राजा सिद्धिनारायण शाहले पोखरालाई सहर बनाउन विक्रम संवत १८०९ (इस्वी १७५२) मा ललितपुर, भक्तपुर, काठमाडौंका १ सय ५० जना नेवारजातका व्यापारी कालीगढ, शिल्पीहरु ल्याएर २६ कुरिया जग्गामा बसोबास गराए तबदेखि नै आएका हुन कि भन्ने अनुमान गर्न सकिन्छ । विक्रमसंवत १८२६ मा मल्ल राजाहरुको पराजयपछि थुप्रै नेवारहरु (७०० हाराहारी) पोखरा बसोबास गर्न आएका थिए । त्यसमध्ये धेरै शिल्पीहरु हालको तेर्सापट्टीबाट धर्मशिला मार्ग क्षेत्रमा बसोबास गरेका थिए । धेरै वर्षसम्म त्यो क्षेत्र पोखराको हस्तकला उत्पादनका लागि प्रख्यात रह्यो । यस क्षेत्रमा बनेको मुर्तिहरु भाँडाकँुडाहरु कलात्मक वस्तुका लागि पश्चिम क्षेत्रको आवश्यकता पूरा गर्न समर्थ भएको मात्र होइन ठूलो व्यापारिक केन्द्रको रुपमा थियो । तिनै परिवारजनहरुबाट २ वटा महत्वपूर्ण उपलब्धि भएको पाउँछौं ।

विसं १९६३ मा हालको नारायणस्थान परिसरमा पहिलो चैत्यको र १९७२ मा तेर्सापट्टीमा श्री वन्त विहारको निर्माण त्यही क्षेत्रमा बसोबास गर्ने परिवारजन ललितपुर गावहालबाट आएका जोगरत्न गुभाजुका नाति रत्नमान उदासले बनाएका थिए । (साभारः विश्व शाक्यद्वारा लिखित बुद्ध, बौद्ध र हामी) । विसं १९७३ मा मोहरिया टोल चोकमा पञ्चबुद्ध चैत्य पनि स्थापना भएको पाइन्छ । पहिलो बुद्धविहार कायस्थ परिवारका उपासिका धर्मनदीले निर्माण गरी विसं १९९८ मा धर्मशिला अनागरिकालाई हस्तान्तरण गरेको पाउँछौ । तेर्सापट्टी धर्मशिला मार्गमै बसोबास गर्ने परिवारजनमै पहिलो अनागरिका धर्मशिलाको जन्म नाम सेतीमाया हो । विसं १९८५ मा पहिलोपटक भारतबाट भिक्षु महादान पोखरा आएर नारायणस्थानमा प्रवचन उपदेश दिनु भएको उल्लेख गरिएको छ । यसरी तेर्सापट्टीबाट हालको धर्मशिला बुद्ध विहार हँुदै नारायणस्थान परिसर क्षेत्र नै पोखरामा बुद्ध धर्म प्रवद्र्धन र प्रचारको महत्वपूर्ण थलो रहेको स्पष्ट पाउँछौं । तत्पश्चात् अन्य चैत्य, गुम्बा, विहारहरु बनेको देखिन्छ । बौद्ध धर्मसँग सम्बन्धित १८ भन्दा बढी संघ संस्थाहरु बौद्धधर्मसँग सम्बन्धित कार्यहरुमा सक्रिय संलग्न रहेको पाइन्छ ।

यति हुँदाहुँदै पनि बुद्धका दर्शन, उपदेश शिक्षाबारे छलफल, वहस, अध्ययन गर्ने थलो विकास हुन सकेको छैन । पोखरामा बुद्धधर्म सम्बन्धी जानकारी पाउने स्थानको अभाव छ । सामान्य नागरिकले सभ्यक सिद्धान्तबारे, त्रिपिटक, पञ्चशील अक्षशील, दक्षशील पालनाबारे थेरवाद, महायान, बज्रयान, पञ्चमकारबारे बुझ्न र थाहा पाउने केन्द्रको अभाव छ । बुद्धकालीन समयका महत्वपूर्ण ठाउँहरु, बुद्धले ध्यान तप शिक्षा पाएका, उपदेश दिएका विषयबारे थाहा पाउन गाह्रो छ । बौद्ध दर्शनका प्रकाण्ड विद्वानहरु नागसेन, बुद्धघोष, सारीपुत्र, आनन्द, कौशल्यान, पद्मसम्भव, दीपंकर, नागार्जुन, राहुल सास्कृत्यानबारे थाहा पाउने नेपाली भिक्षुहरु महाप्रज्ञा, प्रज्ञानन्द, अनिरुद्र, अमृतानन्द, शाक्यनन्द, सुवोधानन्द, सुदर्शन आदिबारे जानकारी पाउन खोजिएमा त्यस्तो ठाउँको अभाव खट्किएको छ । यस्तो महत्वपूर्ण कार्य गर्न बुद्धदर्शन र शिक्षाबारे चर्चा परिचर्चा गर्न बुद्धउपदेशका व्यावहारिक र मननयोग्य पक्षबारे प्रचार र प्रवद्र्धन गर्न ‘बौद्ध सांस्कृतिक केन्द्रको’ स्थापना अपरिहार्य देखिन्छ । धर्मशिला बुद्धविहार जो स्वयं स्वतन्त्रता प्रजातन्त्र स्थापनाका लागि नारी जागरण शिक्षा र पहिला सशक्तीकरणका लागि र बुद्ध धर्म प्रचार र उत्थानका लागि साक्षी छ, सबैभन्दा उपयुक्त ठाउँ हो जहाँ बौद्ध साँस्कृतिक केन्द्र स्थापना गर्न सकिन्छ । बौद्ध दर्शन बुझ्न चाहनेहरुका लागि अध्ययन गर्न चाहनेहरुको लागि, बौद्धधर्म प्रबद्र्धन गर्न पछि पर्न हुन्न भन्नेहरुका लागि यो सांस्कृतिक केन्द्र बौद्धिक केन्द्रका रुपमा विकास गर्न सकिन्छ । बुद्धप्रति समर्पित हुने, बौद्ध धर्मप्रति आजन्म लगाव राख्ने भिक्षु, महास्थवीर, अनागरिक सबै कति कठिन यात्रा गर्छन्, दैनिकी यापन कसरी गर्दछन् आदि विषय पनि सर्वसाधारणलाई जानकारी भयो भने अझ बढी श्रद्धा व्यक्त गर्न सक्नेछन् । समग्र सांस्कृतिक केन्द्रले समग्र बुद्धधर्म, बुद्धदर्शन संस्कृति, संस्कार र जीवनलाई प्रतिविम्वित गर्न सक्दछ । त्यसैले यस्तो सांस्कृतिक केन्द्र स्थापना गर्न सम्बन्धित संस्थाहरुको ध्यान आकृष्ट गर्न प्रयास गरिएको हो । यस्तो कार्यले बुद्धप्रति हाम्रो सानो तर सार्थक समर्पण भाव हुनेछ ।

तेर्सापट्टीदेखि नारायणस्थान परिसरसम्मको करिब ६ सय मिटर मार्गलाई सुन्दर वृक्ष, फूलसहित धर्मशीला सांस्कृतिक पथको रुपमा विकसिक गर्न सक्छौं । जहाँ पुगेपछि प्रत्येक मानिसले मनलाई स्वच्छ र शान्तिको अनुभूत गर्न सकोस । जहाँ पुगेपछि अहिंसा र सहिष्णुताका भावहरुले झकझकाउन सकोस, त्यसठाउँमा पुगेपछि बुद्धप्रति अगाध आस्थासहित नतमस्तक हुन सकोस, बौद्ध सांस्कृतिक केन्द्र स्वयं आफै सम्पूर्ण बौद्ध धर्मालम्बीहरुका लागि पोखरेलीहरुको तर्फबाट एउटा अनुपम उपहार बन्न सक्दछ । एउटा सकारात्मक योगदानको नमुना हुन सक्नेछ ।

पोखराको विकासमा योगदान पु¥याएका शिल्पी, कलाकार, व्यापारी, कालीगढहरु बसोबास गरेको यस क्षेत्रले फेरी एकपटक आफूलाई अब्बल कायम राख्न यो सांस्कृतिक पथ, सांस्कृतिक केन्द्रको स्थापना गरी धर्मशीला बुद्ध विहारको इतिहासलाई अझ गौरवान्वित गर्न लागि पर्नेछ भन्ने कुरामा विश्वास गर्न सकिन्छ । बुद्धधर्म प्रबद्र्धन गर्न लागि परेको सबै संघसंस्थाहरु बुद्ध सांस्कृतिक केन्द्र स्थापना गर्न ध्यान केन्द्रित गर्नेछ भनेर विश्वास गर्ने पर्याप्त अवसर प्राप्त गर्ने वातावरण सिर्जना भएको छ । स्थापना गर्ने नेतृत्व गर्ने नेतृत्व लिनुहोस् सबै सजग र सक्रिय नागरिकको साथ सधैं हुनेछ ।

शुक्रबारका दिन गौतम बुद्ध जन्मेको दिन हो । शुक्रबारका दिन महात्मा गान्धीले अहिंसात्मक आन्दोलन सुरु गरेको दिन हो । शुक्रबारकै दिन सबैभन्दा लामो भियतनाम युद्ध अन्त्य गरेको घोषणा भएको दिन हो । त्यसैले यसै दिन भगवान बुद्धप्रति समर्पण गर्दै बुद्ध सांस्कृतिक केन्द्र स्थापना हुनुपर्ने विचारलाई पस्कने जमर्काे गरेको छु ।

Related News

सम्बन्धित समाचार

hero news full width