विश्वकर्मा पूजा र वर्तमान परिस्थिति

युवराज खनाल
असाेज १, २०७७

हरेक चाड–पर्वका आ–आफ्नै महत्व र विशेषता हुन्छन् । हरेक पर्व मनाउनुका पछाडि त्यसको धार्मिक, सांस्कृतिक, सामाजिकसँगै वैज्ञानिक कारण पनि हुन्छन् । आज विश्वकर्मा पूजा । विश्वकर्मा पूजा भन्नसाथ हामी विभिन्न कलकारखाना, पार्टपूर्जा, यन्त्रको पूजाआजा गर्ने गरिन्छ । आखिर किन यसो गरिएको होला ? भगवान् विश्वकर्माको जयन्ती वर्षाको अन्त्य र शरद ऋतु प्रारम्भ हुने बेलामा मनाउने गरिन्छ । ज्योतिष शास्त्रका अनुसार यो दिन सूर्य कन्या राशिमा प्रवेश गर्छन् । सूर्यको गति अंग्रेजी तारिखसँग सम्बन्धित हुन्छ । त्यसैले कन्या संक्रान्ति पनि प्रत्येक वर्ष १७ सेप्टेम्बरमा पर्छ । प्रायः यही दिन पर्ने भएकाले विश्वकर्मा जयन्ती पनि १७ सेप्टेम्बरमा मनाइन्छ । हाम्रो नेपालमा १ असोजमा मनाउने परम्परा रहेको छ ।

हिन्दू संस्कृतिमा विश्वकर्मालाई यन्त्रको देवता मानिन्छ । उनले यन्त्रको प्रयोग गरी मानव समाजलाई भौतिक चरम सुखमा पुर्याउनका लागि विभिन्न कार्य गरेका थिए भन्ने भनाइ छ । प्राचीन समयमा स्वर्ग लोक, लंका, द्वारिका, हस्तिनापुरजस्ता स्थानका रचयिता भगवान् विश्वकर्मा नै भएको बताइन्छ । यस दिन सबै कार्यस्थल, कारखाना, कम्पनी आदिमा सबै मेसिन र औजारहरुको पूजा गर्ने गरिएको छ । भनिन्छ, भगवान विश्वकर्मा एक देवता थिए, जसले ब्रह्मान्डको निर्माण गरेका थिए । उनी भगवान् ब्रह्माका पुत्र थिए र ईश्वर रहने सबै स्थानको निर्माण उनै विश्वकर्माले गरेका थिए भन्ने आम मान्यता छ । ईश्वरको उड्ने खालका विमान र सबै प्रकारका शस्त्र पनि विश्वकर्माले बनाएका थिए । विश्वकर्मा पूजाको दिन उनलाई सबैले सम्झिने गरिएको हो । यसरी हेर्दा त ‘आजको युगका आधारमा उनी त्यो समयका इन्जिनियर थिए । हिन्दू धर्ममा उनलाई निर्माण र सिर्जनाका देवता मान्दा फरक नपर्ने देखिन्छ ।’ विश्वकर्मालाई देव शिल्पी विश्वकर्मा पनि भनिन्छ ।

उनको जन्म दिनलाई नेपाल मात्र नभएर भारत र अन्य हिन्दू धर्म मान्ने देशहरुमा विश्वकर्मा जयन्ती अथवा विश्वकर्मा पूजाको नामले पनि चिनिन्छ । ‘देव शिल्पी विश्वकर्माले नै देवताहरुका लागि महल, अस्त्रशस्त्र, आभूषण आदि बनाउने काम गर्थे, त्यसैले उनी देवताका पनि आदरणीय थिए । सृष्टिको रचनाको प्रारम्भमा भगवान् विष्णु क्षीर सागरमा प्रकट भएका थिए । विष्णुकोे नाभी–कमलबाट ब्रह्मा उत्पन्न भएको धार्मिक ग्रन्थमा उल्लेख छ । ब्रह्मा पुत्रको नाउँ धर्म थियो, जसको विवाह वस्तु नाउँका महिलासँग भएको थियो । धर्म र वस्तुको संसर्गबाट सात पुत्रको जन्म भएको थियो । सातै पुत्रको नाउँ वास्तु राखियो जो शिल्पशास्त्रको कलामा पारागंत थिए । वास्तुको एउटा छोरा भयो जसको नाउँ यसै कारणले भगवान् विश्वकर्मा राखियो । जसलाई प्रथम इन्जिनियर र मेसिनका देवता भनिन्छ । भगवान विश्वकर्माको अनेक रूप रहेको बताइन्छ । दुई बाहु भएका, चार बाहु एवं दस बाहु भएका तथा एक मुख, चार मुख एवं पञ्चमुख भएका । उनको मनु, मय, त्वष्टा, शिल्पी एवं दैवज्ञ नाउँका पाँच पुत्र थिए ।

यस्तो पनि मान्यता छ कि पाँचै छोरा वास्तु शिल्पको छुट्टाछुटटै विधामा पारगंत थिए र उनीहरुले धेरै कुरोको आविष्कार गरेका थिए । यस प्रशंगमा मनुलाई फलाम, मयलाई काठ, त्वष्टालाई ताम्बा, शिल्पी इँट र दैवज्ञलाई सुन–चाँदीले जोडिन्छ । इन्द्रको सर्वाधिक शक्तिशाली अस्त्र बज्रको निर्माण विश्वकर्माले नै गरेका थिए । शास्त्रका अनुसार भगवान् विश्वकर्माले सृष्टिको रचना गर्न ब्रह्मालाई सहयोग गरे र संसारको रुपरेखाको नक्सा तयार गरेका थिए । रामायणमा वर्णन गरिएअनुसारको रावणको सुनको लंका विश्वकर्माले नै बनाएका थिए । भगवान् शिवले पार्वतीसँग विवाह गरेपछि विश्वकर्माबाट सुनको लंका निर्माण गर्न लगाए । शिवले रावणलाई गृह पूजनका लागि बोलाए । पूजा पश्चात रावणले भगवान शिवसँग दक्षिणाको रुपमा सुनको लंका मागे । त्यसैले शिवले सो लंका रावणलाई दिएका थिए । सीताको खोजीमा लंका जाँदा हनुमानले उक्त सुनको लंका जलाइदिएका थिए । त्यसपछि फेरि रावणले विश्वकर्मालाई बोलाएर सुनको लंकाको पुनर्निर्माण गराएका थिए । उनले पाताल, मध्यलोक र स्वर्गलोक गरी तीनै लोकको निर्माण गरे । इन्द्रप्रस्थ जुन महाभारतका पाण्डवको भव्य महल थियो, द्वारका भगवान् कृष्णको नगरी थियो । पुष्पक विमानको निर्माण पनि भगवान् विश्वकर्माले नै गरेको विभिन्न ग्रन्थमा उल्लेख छ ।

यसका अतिरिक्त देवताहरुको दैनिक उपयोगमा आउने समानहरु पनि उनले नै बनाएका थिए, कर्णको कुण्डल, विष्णु भगवानको सुदर्शन चक्र, शंकर भगवान्को त्रिशूल र यमराजको कालदण्ड आदि । देव शिल्पी भएकाले भगवान् विश्वकर्मा मेसिनरी तथा शिल्प उद्योगसँग सम्बन्धित व्यक्तिहरुका लागि प्रमुख देवता मानिन्छन् । वर्तमान अवस्थामा कुनै पनि व्यक्तिले बिहानदेखि साँझसम्म कम्प्युटर, मोटरसाइकल, कार, मोबाइल, पानी तान्ने मोटर, मिल, टिभी अन्य बिजुलीका उपकरण आदि मेसिनरी उपकरणको प्रयोग गर्छन् । भगवान् विश्वकर्मा यी सबै व्यक्तिहरुका लागि देवता हुन् । यसै कारण वर्तमान युगमा विश्वकर्माको महत्व पनि उत्तिकै बढी छ । ‘पहिले शिल्पकारहरुले मात्र उनको पूजा गर्ने गर्दथे तर हालका दिनहरुमा घरघरमा उनको पूजा हुन थालेको छ । विश्वकर्माको पूजा गर्ने हो भने मेसिनरी सामानले लामो समयसम्म आफूलाई साथ दिन्छ र आँफूलाई धोका दिँदैन भन्ने मान्यता छ । तसर्थ कुनै पनि मेशिनरी सामग्री र यातायात साधन, कल कारखाना, हातहतियार आदि चलाउनु अघि विश्वकर्मा बाबालाई सम्झेर उनको दर्शन गर्ने गरिन्छ ।

सधै रमझमका साथ मनाउने गरिएको विश्वकर्मा पूजा यस वर्ष कोरानाका कारण ओझेलमा पर्ने देखिन्छ । लाखौं मजदूरको रोजिरोटी गुमेको छ । हजारौ मालिकले पुन्पुरो समातेर दिन रात काटेका छ्न । सरकारमा हालिमुहाली जमाएर बसेका नेता र उच्च पद्स्थ कर्मचारीलाई के थाहा ती मजदुर, कम्पनी र संघसस्था चलाएर देशलाई सहयोग गरिरहेका मालिक र मजदुरहरुको पीडा । कैयौं मजदुरले बिहान बेलुकीको छाक टार्न नसकेर आत्महत्या गरेका छ्न । आउँदा दिनमा बाल बच्चाको जीवनयापनले पिरोलिएका छ्न । मालिकसरु बैंकको किस्ता तिर्न नसकेर मर्नु र बाँच्नुको दोसाँधमा जीवन बिताएका छन । कम्पनी र संघसस्थामा लगाएको ताल्चा खिया लागेर कुहिएका छन् । घर छेउमा थन्क्याएर राखेका यातायातका साधनमा घिरौला फलेका छ्न । अब चलाउन पर्दा चल्ने हो कि होइन थाहा छैन । विद्यालयमा लगाइएका तालाहरु माकुराका जाला लागेका छ्न । ओर्कसप र त्यहाँ काम गर्ने मजदुर सडकमा भौतारिदै हिँडेका छन् तर नेपाल सरकार मन्त्री, कर्मचारी र शिक्षकलगाएत सरकार माताहतमा रहेकाहरुलाई तलब भत्ता खुवाउन सकिएन भन्दै कर उठाउन ताकेता गरिरहेको छ । कयौं कम्पनी र सघ सस्थाहरु भाडामा जग्गा र घर खरिद गरेर चलाएका छन दिन रात घरबेटीले भाडा तिर्न ताकेता गरिरहेका छन । भाडा तिर्न नसके घर छोड भन्न थालेका छ्न । किन बुझ्दैन सरकारले यी र यस्ता कुराहरू ।

विश्वकर्मा पूजाका दिन लाखौंको व्यापार हुने माडबारी र मिठाई पसल शून्य देखिएका छ्न । पूजा सामग्रीका पसल निकै भिडभाड देखिन्थ्यो तर यो पाला नैराश्यमा ग्राहकको पर्खाइमा बसेका छन् । हाँसो र उल्लाहसका साथ मनाउने गरिएको विश्वकर्मा पूजा यस पटक भने भारी बोकेको अनुभव गर्दै मलिनो अनुहारमा मनाइरहेका छ्न ।

Related News

सम्बन्धित समाचार

hero news full width