अर्घौं–कालिका मन्दिर दिगो संरक्षण र व्यवस्थापन

सूर्यप्रसाद भण्डारी
चैत्र २३, २०७७

गण्डकी प्रदेश, कास्की जिल्ला पोखरा महानगरपालीका वडा नं. २८ मा अवस्थित कालिका मन्दिर क्षेत्रले समेटेको ऐतिहासिक महत्वको पोखरीसमेतको संरक्षण गरी एक आकर्षक धार्मिक र पर्यटकीय क्षेत्रका रुपमा स्थापित गर्न अत्यावश्यक छ । यद्यपि स्थानीय समुदाय र भक्तजनको पहलमा मन्दिरको जीर्णेद्धार लगायत केही पूर्वाधारको विकास हुँदै आएको छ । खास गरी ०५८÷५९ मा कालिका मन्दिर सेवा समिति र २०६९ सालमा कालिका मन्दिर संरक्षण संवद्र्धन र व्यवस्थित गर्ने जिल्ला प्रशासन कार्यालय कास्कीबाट संघ संस्था दर्ता ऐन २०३४ अनुसार कालिका मन्दिर संरक्षण समितिको नामको गैर सरकारी संस्था दर्ता भएको छ । यी समितिले विगत वर्षमा कालिका मन्दिरलाई जीर्णोद्धार गर्ने क्रममा थप निर्माण गरी रंगरोगन गरेको, गणेश मन्दिरको निर्माणको साथै पोखरीको पारिपट्टि किनारामा एक बहुउद्देश्यीय सभाहल निर्माण गरेको छ । यसैबीच पोखरी संरक्षणका लागि वडा नं. २८ को कार्यालयले पोखरा महानगरपालिलाबाट बजेट विनियोजन गराई संरक्षणको कार्य सम्पन्न गर्न छुट्टै उपभोक्ता निर्माण समितिको गठन गरी कार्य गर्ने प्रयास गरिरहेको छ । आर्थिक वर्ष ०७६÷७७ मा ५ लाख निकासा भएकोमा करिब १ लाख ४३ हजारको मात्र कार्य भएको जानकारी वडाले दिएको छ । संरक्षण कार्यको निरन्तरता स्वरुप चालु आव २०७७।०७८ का लागि १५ लाख बजेट महानगरपालिकाबाट विनियोजन भएको छ । यसै बीच वडाको सिफारिसमा महानगरपालिकाले १ डिपिआरको अन्तिम मस्यौदा तयार भएको पनि जानकारीमा आएको छ । १ करोडभन्दा बढी लागत भएको उक्त डिपिआरअनुरुप पोखरीको संरक्षण सुधार निर्माण एवं वरपरको क्षेत्रलाई हरियालीसहित आकर्षक बनाउने प्रस्ताव गरिएको बुझिएको छ ।

मिन्दर संरक्षण समितिले २०७७ मार्ग ६ गते आयोजना गरेको सप्तचण्डी पूजासँग सँगै वार्षिक साधारण सभा/अधिवेशनबाट नयाँ समिति चयन पनि भएको छ । श्री बोधराज त्रिपाठीको अध्यक्षतामा गठन भएको १५ सदस्यीय कालिका मन्दिर संरक्षण समितिले पण्डित विश्वरमण अधिकारीको अध्यक्षतामा विगत ७ वर्ष अर्थात् संस्था दर्ता भएको मितिदेखि गठित समितिबाट बरबुझारथ गरी कार्य प्रारम्भ गरेको छ । संस्थागत समितिले ७ वर्षसम्म सम्पादन गरेको कार्यको मूल्यांकन र विश्लेषण गर्दै मन्दिर संरक्षण समितिले आगामी दिनमा गर्नुपर्ने कार्यको पहिचान गरेको छ ।

नवगठित मन्दिर संरक्षण समितिले कालिका भगवती मन्दिरको पुरातात्विक महत्व, मन्दिरको अभिन्न अंग ऐतिहासिक पोखरीको संरक्षण र सुधार गर्ने कार्यका लागि पुरातत्व विभाग र महानगरपालिकासँग समन्वय गर्ने कार्य पनि अघि बढाएको छ । मन्दिर संरक्षण समितिकै पहलमा पुरातात्विक महत्वलाई ध्यानमा राखी मन्दिर र पोखरी संरक्षण, सुधारका कार्य गरिदिन भएको पहललाई स्वीकार गरी पुरातत्व विभागबाट मन्दिर परिसरभित्र ढुंगा छाप्ने काम सकिएको छ भने मन्दिरको मौलिक तस्बिर प्राप्त गरी आवश्यक डिजाइन र लागत तयार गरी चालु वर्षमै कार्य सुरु गरी आगामी आर्थिक वर्षमा सम्पन्न गर्ने लक्ष्य राखेको जानकारी उक्त विभाग सम्बद्ध अधिकारीसँगको छलफलबाट प्राप्त भएको छ ।

१ करोडभन्दा बढी लागतमा संरक्षण एवं वरपर हरियालीसहित आकर्षक बनाउने योजना छ ।

कास्की जिल्लामा अवस्थित ऐतिहासिक, धार्मिक, सांस्कृतिक एवं पुरातात्विक महत्वका विभिन्न मठ मन्दिरहरुमध्ये कालिका भगवती मन्दिर एक हो । परापूर्वकालदेखि नै अस्तित्वमा रहेको कालिका भगवती देवीले अर्घौं झाँझरमारे क्षेत्रमा बसोबास गर्दै आएका ज्योतिष र आध्यात्मिक विद्याको पठन पाठनमा ख्याति प्राप्त गर्दै आएका त्रिपाठी÷ तिवारी थरका ज्योतिष पण्डित जगन्निवासलाई काली भगवतीदेवीले सपनामा दर्शन दिई आफ्नो आफ्नो अस्तित्वको बोध गराई मन्दिर प्रतिष्ठा गर्न निर्देश गरेबमोजिम हालको स्थानमा कालिका भगवतीका शिला स्थापना गरी मन्दिर निर्माण भएको मान्यता रही आएको कुरा विभिन्न लेख, स्थानीय बासिन्दा÷ज्येष्ठ नागरिहरुबाट भन्ने गरिएको छ । यो मन्दिरसँगै रहेको ऐतिहासिक पोखरीमा गाडिएको मौला समेतलाई जोडी मौला कालिका भगवती मन्दिर भन्ने गरिएको पाइन्छ । यद्यपि यो अनुसन्धानकै विषय हो । भगवती देवीको शिला स्थापना गरी मन्दिर निर्माण गर्ने पण्डित त्रिपाठीले देवी भगवतीको दैनिक पूजा अर्चना, नवदूर्गा पूजा पाठ, सप्तचण्डी पूजा पाठलगायतका अन्य विशेष पूजा पाठ सञ्चालन गर्ने गराउने कार्यका लागि एक गुठीको व्यवस्था गर्नु भएको रहेछ । चापाचौरस्थित क्षेत्रफल ४ रोपनी १४ आना १ पैसा ० दाम रहेको कित्ता नं. १४ तथा लक्ष्मीप्रसाद त्रिपाठीमार्फत कित्ता नं. १४४ क्षेत्रफल ४–८–१–१ का जग्गाहरु दैनिक पूजा सञ्चालन गर्ने पूजारी र नगरा लगाउने नगरेले भोग चलन गर्दै आएको पाइएको छ । त्यसैगरी यिनै भगवती देवी कालिकाका भक्त अर्का तिवारी (त्रिपाठी) देवीप्रसादले पनि कालिका मन्दिर नजिकै कि.नं. ३२९ को जग्गामा शिवजीको मन्दिर निर्माण गरी नियमित पूजाअर्चनाका लागि १५ मुरी धान आउने काली पंधेरी भन्ने ठाउँको खेत गुठीका रुपमा राखेको भन्ने व्यहोरा, कालिका मन्दिर संरक्षण समितिको विधानमा नै उल्लेख गरिएको छ । यिनै गुठी जग्गाको उत्पादन र आम्दानी एवं मन्दिरमा चढाइने भेटी र चन्दा सहयोग रकमबाट पूजारीहरु, नगरेले नियमित पूजा सञ्चालन र पूजापाठ सञ्चालन व्यवस्था हुँदै आएको छ ।

उल्लेखित व्यवस्थालाई दिगो र थप व्यवस्थित वनाउन आगामी दिनमा निम्नानुसारका कार्य गर्नु गराउनु उपयुक्त हुनेछ ।
१) शक्ति पीठ कालिका भगवती मन्दिर, मन्दिर वरपरको क्षेत्र, ऐतिहासिक पोखरी र संरक्षण क्षेत्र, शिव मन्दिर परिसर, चौतारो, ठाँटी, बहुद्देश्यीय समाजघर सबैलाई समेटेर कार्ययोजनासहित एकीकृत गुरुयोजना तयार गर्ने ।
२) गुरुयोजना/कार्ययोजनाको चरणबद्ध रुपमा कार्यान्वयन गर्दै जाने ।
३) मन्दिर र मन्दिर क्षेत्रमा निर्मित संरचनाको संरक्षण मर्मत सुधार गर्दा सम्पदा संरक्षणका आधारभूत मापनलाई ध्यानमा राखी गर्ने ।
४) ऐतिहासिक पोखरीको संरक्षणका लागि तयार भएको विस्तृत परियोजना प्रतिवेदनको कार्यान्वयन गर्दा गराउँदा पनि राष्ट्रिय सम्पदा संरक्षणका आधारभूत मापनहरुको पालना गरी संरक्षण गर्ने गराउने ।
५) स्थानीय तह, विद्यालय व्यवस्थापन समिति र अभिभावकबीच परामर्श गरी मन्दिरको दक्षिणतर्फको जनज्योति प्राविको पठन पाठन जनज्योति मावि परिसरमा यसै प्राविको लागि भनी निर्माण भएको भवनमा स्थानान्तरण गर्ने ।
६) उक्त विद्यालय भवनले चर्चेको जग्गा मन्दिर संरक्षण समितले गुरुयोजनाभित्र समावेश गरी यसमा ज्योतिष अध्ययन तथा अनुसन्धान केन्द्र वा गुरुकुल पाठशाला स्थापना तथा सम्बद्ध ज्योतिषी, पुजारी ज्योतिष विज्ञ, साधु, सन्त योगी महात्माका लागि आवास गृह बनाउने ।
७)पोखरीको वरिपरिको भागमा हरितक्षेत्र कायम गरी फूल बगैंचा निर्माण गर्ने ।
८) शक्ति पीठ आराध्यदेवी भगवती मन्दिरको नियमित पूजाआजा, सप्तचण्डी, नवदुर्गा लगायतका विषेश पूजा सञ्चालन कार्यलाई दिगो र अक्षुण बनाउन एक अक्षयकोष स्थापना गर्ने ।
९)मन्दिर र वरपरको क्षेत्रको संरक्षण संवद्र्धन पर्यटन आकर्षण बढ्ने किसिमबाट गर्ने ।

अन्तमा,पोखरा महानगरपालिका, सम्बन्धित वडा र पुरातात्विक विभाग, पर्यटन संबद्ध निकाहरुबीच समन्वय गरी उपरोक्त कार्यहरु सम्पादन गर्न सकिएमा कालिका भगवती मन्दिरको संरक्षण, संवद्र्धन, नियमित पूजाआजा सञ्चालन तथा व्यवस्थापनमा प्रभावकारिता आउने छ ।

Related News

सम्बन्धित समाचार

hero news full width