आमाको प्रसव पीडा र म मुर्ख सन्तान

युवराज खनाल
भाद्र १६, २०७७

सम्झिन जस्तो गाह्रो पनि केही हुदो रहेनछ । मेरो मनमा अमिट सम्झना भएर बाचेको सम्पुर्ण जीवन बिर्सिएर आज म आफू जन्मिएको सम्झन मन छ मलाई ।

अह, पट्क्कै थाहा छैन, मलाई म जन्मेको रात, जमिनको माटो अनि आमाले मलाई जन्माउदा ओछ्याएको गुन्द्री र त्यो पराल । म जन्मिदा खेरिको आमाको अनुहार र पीडा ।

सारा पीडा बिर्सिएर, आमालाई एउटैमात्र पीर रहेछ, म अघि २ दिदीहरु जन्मी सकेकाले यो पाली छोरी हैन छोरा नै भैदिए हुन्थ्यो भनेर ।

आमाको गर्भमा हुँदा न रुने ठाउँ थियो होला न त हास्ने । सायद न कोल्टे फेर्ने ठाउँ थियोे होला न त घोप्टे । कसरी बसे हुँला म । आमाको पाठेघरमा त्यतिलामो समयसम्म ।

यत्तिका वर्ष हुँदा पनि मैले आमाका कुरा र पीडा सुन्न र जान्न चाहिन किन हो कुन्नी ? कता नै आमाले कुरा गर्न चाहे पनि भागे म । आमाको पेटमा ९–९ महिना बस्दा कति दुःख दिएको रहेछु । कैयौं पटक आमालाई वाकवाकी, बान्ता, रिंगटाले सताएर आमा बेहोस् नै बन्नु भएको त्यो क्षण भुल्दै म भने आमाको पेट भित्र भित्र चलेर हैरान गर्दो रहेछु ।

आमालाई जति नै पीडा भए पनि घरको दैनिकी कामकाज अनि घाँस, दाउरा मेलापात पनि छदै थियोे रे ।

एक दिनको कुरा हो, किनमेलका लागि पोखरा जानू भएको बा साँझसम्म पनि फर्कनु भएनछ । उज्यालो छउन्जेल बाटो हेर्नुभएछ आमाले, अँध्यारो भएपछि बाटो नै छेकेछ अँध्यारोले ।

त्यो रात आमाले, घरका सबै परिवारलाई खाना खुवाएर बाका लागि अबेरसम्म भान्सा कुरेर बस्नु भएछ । बत्ति निभाउने बेला हुँदा पनि बा आउनु भएनछ । आमालाई अप्ठ्यारो हुँदै गएछ । पुरानो माटोले बनेको सानो आँखीझ्याल भएको घर आमाले बाहिर हेर्नू भएछ अँधेरी रात आमाको आँखामा आएर फैलिएको रहेछ, आमालाई झनै पीडा थपिएको रहेछ फेरि छोरी नै जन्मछे र परिवारको हेला हुन्छु भनेर । हजुरबुबा काकाकाकी सबै निदाई सकेका रहेछ्न । विचरा आमाको व्यथा च्याप्दै गहेछ । झन–झन खप्न गाह्रो हुँदै गएछ । व्यथाको माझमा पुगेर आमाले बातिर पुलुक्क हेर्नू भएछ तर बाको ओछ्यान खालि रहेछ, बल्ल आमाले सम्झ्नु भएछ बा त पोखरा जानू भएको फर्कनु नै भएको थिएन ।

झ्यालको अगाडि अगेनो, अनि आमा मझेरिमा हुनुहुथ्यो रे मझेरी हुँदै आटिमा उक्लनका लागि एउटा काठको लिस्नु । कता कता बेहोसमानै आमाले मज्जाले समात्नु भएछ त्यो लिस्नुको फेद–आफूसँग भएको पुरै बल लगाएर असह्यपिडाहरु आखाबाट आँसु झार्दै म जन्मिएछु ।

मलाई रातले देख्यो जुनले देखेन । आमाको त्यो एक्लो युद्धले देख्यो परिवारले देखेन । त्यसैले होला मेरो राशिको नाम युद्ध प्रसाद जुरेको र पछि स्कुलमा नाम लेखाउने बेला युवराज भएको ।

मलाई थाहा छैन मलाई जन्माउँदा आमालाई कति पीडा भयो होला । आमा आज पनि मलाई जन्माउँदाको पीडा हाँसिहाँसी सुनाइरहनु भएको छ । पहिलो पटक धर्तिमा आउन र माटो छुन आमाको गर्भबाट गरेको बल र सङ्घर्ष आज मलाई सम्झन मन लाएक छ । हो आमाले मलाई पहिलो पटक आफ्नो गर्भभित्रको सानो संसारबाट धर्तीको यो सानो सन्सारमा आउन मुठ्ठी कसेर गरेको प्रयत्न र विद्रोह सम्झिन मन छ । म मात्रै हैन सबैले यी कुराहरू सम्झेर आमाहरूको सन्मान गर्नु आवश्यकता छ । अझ किलियर कुरा गर्ने हो भने महिलाहरुले बढी सोच्नु पर्ने जस्तो लाग्छ । आखिर महिला सबै आमाहरु नै हुनुहुन्छ । यस्ता पीडाहरु जान्दा जान्दै पनि किन महिलाले महिला माथि दुव्र्यवहार हुने गर्छन् । एक महिला कसैकी छोरी हुन्, अनि कसैकी श्रीमती हुन्, आमा हुन् अनि हजुर आमा पनि हुन् । समय कुर्नु पर्छ त्यति फरक हो ।

आफ्नी छोरीलाई ज्वाइँले घरधन्दा र पीडामा सहयोग गर्दा मेरा ज्वाइँ त साह्रै जाति, सद्दे, अति सहयोगी हुनुहुन्छ भन्ने तर घरकी बुहारीलाई छोराले घर धन्दामा सहयोग गर्दा जोइटिउरे भन्ने प्रवृत्ति आमाहरूले हटाउनै पर्छ ।

जन्मने बित्तिकै रुनपर्ने म रोएनछु । एकै छिन पछि रोएछु । खुव ठूलो स्वरमा चिच्याएर रोएछु– च्याहा, च्याहा, च्याहा गर्दै ! मेरो त्यो रुवाइले घरका सबै बिउझिए रे । चराचुरुङ्गी पनि कता कति कराउँदै उडे रे । आमाले भन्नुभयो– दुःख धेरै भोग्नेहरु जन्मिदा धेरै रुन्छ्न अरे । सायद ठिकै रहेछ ।

आमाको गर्भमा हुँदा न रुने ठाउँ थियो होला न त हास्ने । सायद न कोल्टे फेर्ने ठाउँ थियोे होला न त घोप्टे । कसरी बसे हुँला म । आमाको पाठेघरमा त्यतिलामो समयसम्म । गुटुमुटिएर बस्दा मलाई पीडा भयो कि आनन्द ? मलाई सम्झना छैन । आज मलाई मेरो पुरै जिन्दगी बिर्सेर त्यही क्षण सम्झन मन छ । जन्मने बित्तिकै म कसरी आँसु र रुवाइसित परिचित भए होला । आज त्यही आँसु र रुवाइले मेरो साथ छोडेको छैन । सबै प्रियजनहरुले छोडेर जाँदा पनि छोडेर जाँदैन यी आँसु र पीडाले मलाई । उल्टै बदलामा उमेर बढ्दै जादा झन्–झन् बढी साथ दिँदैछ्न यी दुई आँखाबाट बहने बलिन्धारा आँसु र पीडाहरुले । जसले मलाई मृत्युसम्म पनि साथ छोड्ने छैन ।

Related News

सम्बन्धित समाचार

hero news full width