हामी पोखरेलीले गर्नुपर्ने एउटा काम

आदर्श समाज सम्वाददाता
असार २४, २०७०

सबैलाई आफू बसेको ठाउँ प्यारो लाग्छ। धेरैले आफ्नो गाउँ ठाउँको बारेमा कविता, गीत लेख लेखेका छन्। कवि सिद्धिचरण श्रेष्ठले मेरो प्यारो ओखलढुङ्गा लेखेर चर्चित बने धेरै कवि लेखक छन् आफ्नो ठाउँको गुणगान गाउने। ती सबैको नाम लेखेर साध्य छैन। सबैलाई आफू बसेको जन्मेको हुर्केको ठाउँ प्यारो लाग्छ। पोखरा पनि त्यसको अपवाद हुन सक्दैन। धेरै पोखरी भएर पोखरा भनिएको रे। यति बेला पोखरामा हिजोजस्तो पोखरी छैन। सडकबाटामा पोखरी छन्। हिजोका चौतारा र पोखरीमा सिमेन्ट र खरका जङ्गलहरू ठडिएका छन्। सार्वजनिक जग्गा मिचेर धेरैले बहादुरी देखाएका छन्। यस्तै छ यहाँको हालत ! तैपनि हामी पोखरालाई स्वच्छ शान्त सुन्दर पोखरा भन्छौं। पोखरालाई हामीले सुन्दर बनाएका छौं कि कुरूप ? आफैले मनन गर्नुपर्छ।

प्राकृतिक दृष्टिकोणले पोखरा साँच्चै सुन्दर छ। धर्तीभित्र कलकल गर्दै बग्ने सेती नदीजस्तो विशेषता पृथ्वीमा कुन नदीको होला र ? अनि लम्पसार परेर बसेको फेवाताल। त्यही फेवातालमा चाँदीझैं टल्कने माछापुच्छ्रे हिमालको छायाँ कहाँ देख्न पाइन्छ र यस्तो ? यस्तै धेरै प्रकृतिको वरदान बोकेर बाँचेको छ पोखरा। तर पोखराले प्रकृतिले दिएको अनुपम उपहार भावी सन्ततिलाई हस्तान्तरण गर्न सक्ने स्थिथति छैन। हामी आफैले बिगार्दैछौं पोखरालाई। विदेशीको पोखराको टिप्पणी गर्दा हेर्दा चिसो छाम्दा तातो छ रे पोखरा। एउटा विदेशीले आफ्नो फेसबुकमा यस्तो लेखे रे। उनको भनाइ धेरै मार्मिक छ।

आँखाले हिमाल हेर्दा ताल हेर्दा, यहाँका प्राकृतिक छटाहरू हेर्दा साँच्चै आँखालाई शीतलता प्रदान हुन्छ। अनि तिनै दृश्यले मनभित्र उम· सृजना गर्छ। काउकुती लगाउँछ अनि पोखरा साँच्चै आँखा शीतल मनमा गरम हुन्छ यस्तो प्राकृतिक पोखरालाई देश विदेशका कवि लेखक यात्रीहरूले मनग्गे टिप्पणी गरेका छन्। कवि मुकुन्दशरण उपाध्यायले ँप्राकृतिक पोखरा’ लेखेर मदन पुरस्कार नै पाए। पोखराले कवि लेखकहरू जन्माएकै छ। कवि तथा साहित्यकार सरु भक्त, विनोद गौचन, तीर्थ श्रेष्ठ, रविलाल अधिकारी, कुलप्रसाद खनाल, हरिदेवी कोइराला, झलकमान गर्न्धर्व, जनकवि केशरी धर्मराज थापालगायत दर्जनौं कवि तथा साहित्यकार जन्माएको छ।

पोखरा साँच्चै सुन्दर छ। धेरै विदेशी यहीँ आएर घरजम गरेर बसेका छन्। नेपालका धेरै जिल्लाका मानिस पोखरालाई कर्म थलो बनाएर बसेका छन्। चितवनलाई नेपालको छेहत्तरौं जिल्ला भनेझैं पोखरा पनि त्यस्तै बनेको छ। विशेष गरी स्याङ्जा, तनहुँ म्याग्दीका मानिसको सहरको बसाइँ बनेको छ पोखरा। अमेरिकाले विश्वका धेरै मानिसलाई ग्रीन कार्डमार्फत बसाइँ सारेर सांस्कृतिक तथा सामाजिक विविधता खोजेको छ। तर यो सुन्दर सहर पोखरा आफै विविधिता सम्पन्न छ।

सबै जातजाति क्षेत्र समुदायको संगम स्थल बनेको छ पोखरा। यहाँ सांस्कृतिक विविधता छ, धार्मिक विविधताले सम्पन्न छ। हुन त हाम्रो सिङ्गो देश नै विविधताले सम्पन्न छ। यो अनुपम सामाजिक बनोट अभिसाप होइन वरदान हो। यसलाई हामीले सही सदुपयोग गर्न सक्यौं भने संसारको नमुना देश बन्न सक्छ। यो विविधतालाई सही सम्बोधन भएर भने जातीय हिंसा भड्कन सक्छ। यो त भयो हाम्रो सामाजिक बनोट। विविधताले सम्पन्न पोखरा सहरलाई हामीले गर्न सक्ने धेरै काम छन्। तीमध्ये सडकका मर्मत गर्न सक्यौं भने एउटा महत्त्वपूर्ण काम हुन्छ। सडक मर्मत कार्य नगरपालिकालाई मात्र अथवा सडक विभाग कार्यालयलाई जिम्मा दिएर हुँदोरहेनछ। पोखरा

सहरभित्रका बाटा हेर्ने हो भने साँच्चै सयौं खाल्डा खुल्डीले पोखराका सुन्दरतालाई कुरूप बनाइरहेछ। त्यसैले आ-आफ्नो घर आँगन टोलभित्रका सडकलाई सम्बन्धित क्षेत्रका व्यक्तिहरूले नै मर्मत गर्नुपर्छ। हाम्रो विडम्बना यस्तो छ घर गगनचुम्बी बनाउने त्यही घर बनाउँदा बिग्रको बाटो नबनाउने यतिसम्म हाम्रो प्रवृत्ति छ।

आफूले पानीको पाइप गाड्न बाटो भत्काउने हामी तछाडमछाड गछौर्ं तर बनाउन हामी तयार हुँदैनौं। हामीले ठूला-ठूला घर बनाएका छौं। ठूला ठूला घरबाट चिल्ला चिल्ला गाडीहरू खाल्डामा जमेको पानीमा पौडी खेल्दै सडकमा हिँड्ने यात्रुलाई पानी छ्याप्दै हिँड्छन्। तर खाल्डा खुल्डी पुर्ने तरखर गर्दैनन्। हामीकहाँ धेरै क्लब सङ्घसंस्था छन्। तर तिनले आफ्नै कार्यालय अगाडि बिग्रको बाटो मर्मत गर्ने अभियान गर्न सक्दैनन्।

एकचोटी अन्नपूर्ण एफएमले पालिखे चोकमा बिग्रको बाटो बनाउने अभियान चलाएर बाटो मर्मत गरेको थियो। यो बाहेक अन्य सङ्घसंस्थाले आफ्नो सडक मर्मत गर्न सार्थक पहल गरेको देखिँदैन। हाम्रो टोल हाम्रो घर आँगनको बाटो हामीले नै बनाउनु पर्छ भन्ने चेत पलाएको छैन। अब हामीले यो अभियान सञ्चालन गर्नुपर्छ कि आफ्नो टोल क्षेत्रको बाटो मर्मत सम्बन्धित क्षेत्रका बासिन्दाले नियमित गर्ने बानी बसालौं। हाम्रो नगरपालिकाभित्र सयौं युवा क्लब छन्, सयौं आमा समूह छन्। हजारौं सङ्घसंस्था छन्।

तर बिग्रको सडक मर्मत गर्ने ध्यान कसैको गएको छैन। यति मात्र होइन, हाम्रो सहरभित्र सयौं व्यवसायिक सङ्घसंस्था छन्। तिनले मनग्गे नाफा पनि कमाएका छन्। त्यो नाफाको केही प्रतिशत रकम आफ्नो व्यवसायिक भवन वरिपरिको बाटो मर्मत गर्न खर्च गरे कति राम्रो हुन्थ्यो। मणिपाल हस्थिपटलले महेन्द्रपुलदेखि हस्थिपटलसम्म बाटो मर्मत गर्न सक्छ। कास्की सेवा हस्थिपटलले आफ्नै हस्थिपटल अगाडिको बाटो मर्मत गर्न सक्छ। फूलबारी रिसोर्टले त्यहाँ पुग्ने बाटो मर्मत गर्न सक्छ। चरक हस्थिपटलले महेन्द्रपुलदेखि लखनचोक -पृथ्वीचोक) सम्मको बाटो मर्मतको जिम्मा लिन सक्छ। यसैगरी व्यवसायिक रूपमा फस्टाएका शैक्षिक संस्था आफ्ना वरिपरिको बाटो मर्मत गर्न सक्छन्।

विशेषगरी होटल रेष्टुरेण्ट, व्यापार व्यवसाय सञ्चालन गरेर बसेका व्यक्तिहरूले आफ्नो वरिपरिको बाटो मर्मत गर्नैपर्छ। आफूकहाँ सेवा लिन आउने सेवाग्राहीलाई राम्रो बाटोबाट स्वागत गर्दा व्यवसायिक प्रतिष्ठा झन् बढ्छ। महेन्द्रपुलदेखि दूरसञ्चार कार्यालय जाने बाटो त्यहाँ रहेको नेपाली सेना अथवा दूरसञ्चार संस्थानले मर्मत गर्न किन नसक्ने ? यस्ता सयौं उदाहरण छन्, हाम्रो सुन्दर नगरी पोखराभित्र। आफ्नो दुकान कार्यालय सम्मुख रहेको सडकको दूर्दशा हेरेर हामीलाई मैले गर्नुपर्छ भन्ने चेत पलाएको छैन।

अब पोखरालाई साँच्चै सफा सुन्दर स्वच्छ बनाउने हो भने हाम्रो पहिलो अभियान बिग्रको, भत्केको सडक मर्मत गरेर सुरुवात गर्नुपर्छ। यसको लागि हामी आफै जुटौं। जहाँ-जहाँ सडक बिग्रको छ, त्यहाँ व्यापार व्यवसाय तथा अन्य सेवामूलक व्यवसाय गर्ने संस्थाहरूले मिलेर सडक मर्मत अभियान सञ्चालन गरौं। सिङ्गो पोखराको लागि यो अभियान सञ्चालन गर्न आम सञ्चारमाध्यम, पोखरा उप-महानगरपालिका, पोखरा उद्योग वाणिज्य महासङ्घ र नागरिक समाजको एउटा सर्वपक्षीय समिति निर्माण गर्नु आवश्यक छ। यो तपाइँ हामी सबैको कर्तव्य हो।

Related News

सम्बन्धित समाचार

hero news full width