स्मृतिमा अरुण थापा

अनुसन्धान लामिछाने ‘अमृत’
श्रावण ५, २०७६

अरुण थापाले आफैँलाई केही पनि ठानेनन् र नशामा मिल्काइदिए जीन्दगी । तर उनका गीत र उनको जीवनसँग मेल खाने पुस्ता र संगीतप्रेमीले सधैँ सम्झिरहने छन् उनलाई र उनका गीतलाई ।

मुटु नै छियाछिया भएपछि मुटु नै चिरेर गाएको गीत सबै युगको लागि कसरी ताजाताजा हुन्छ भन्ने गतिलो प्रमाण हुन् गायककार अरुण थापा । ऊर्जाशीलभन्दा बढी पीडादायी गीत गाएका यिनै अमर गायक अरुण थापाको आज कै दिन अर्थात् साउन ५ गतेकै दिन २०५६ सालमा काठमाडौंको कान्तिपुर गेष्टहाउसमा दुःखद निधन भएको थियो ।

“जति माया लाए पनि र जति कसम खाए पनि…” जस्ता निकै मर्मस्पर्शी र घतलाग्दा गीत गाएका मगर समुदायका अरुण थापाको निधनले गायन क्षेत्रमा एक दमदार प्रतिभा गुमेको थियो तर उनका गीत आज पनि उच्च कोटिको रहेको प्रमाण उनले गाएको गीत “ऋतुहरुमा तिमी…” अन्तराष्ट्रिय जगत्मा अंग्रेजी भाषामा प्रख्यात हुनुले पुष्टि गर्छ । हाम्रै पोखरासँग पनि स्र्वर्गीय अरुणको नाता मीठो भन्दा तीतो रहेको थियो । राजधानी काठमाडौं पनि उनका लागि गुलियो हुन सकेन ।

अरुण थापाको जन्म विक्रम संवत् २००९ माघ ११ गते बुबा गजप्रसाद थापामगर र आमा शान्ति थापामगरको कोखबाट भारतको कलकत्तामा भएको थियो । स्कूलतहको शिक्षा दार्जिलीङमा लिएका अरुणले एस्. एल्.सी नेपालबाट नै उत्तीर्ण गरेका थिए । संगीत र गायनमा गहिरो रुचि राख्ने अरुणले विराटनगरको व्यांङकर जागिर छोडेर २०३० को आसपास पोखरा आएका थिए पोखरामा भने उनले पृथ्वीनारायण क्याम्पसबाट उच्चशिक्षा हाँसिल गरेका थिए । पोखरामा आफना बबाको सहायतामा संगीतकारहरु नातिकाजी तथा शिवशंकरसँग उनको भेट भएपछि अरुणलाई गायन क्षेत्रमा आउन हौसला मिलेको थियो ।

स्वर परीक्षा २०३२ सालमा पास गरेपछि पहिलो पटक थापाले “कतै टाढा तिमीबाट पुगे भने सम्झेर नरुनु ठूलो छ संसार” बोलको गीत गाएका थिए । पोखरामा अध्ययन गर्दाको समयमा प्रेममा परेपछि अरुण थापाले २०३४ सालमा राजधानीमा विवाह गरेका थिए । उनको विवाहमा उनले गाएको पहिलो गीतका संगीतकार ओमविक्रम विष्ट र केही साथीहरु मात्र उपस्थित रहेका थिए । पहिली श्रीमतीले साथ नदिएर अकोर्सँग विवाह गरेको खबरले विक्षिप्त भएका अरुण त्यसपछि गम्भीर तवरले लागूपदार्थको नशामा डुवेका थिए । उनको प्रथम विवाहलाई दुवै पक्षको साथ मिलेको थिएन ।

त्यस पछि अरुण थापाले “ऋतुहरुमा तिमी हरियाली वसन्त हौ” वोलको निकै हिट गीत गाएकाथिए । उक्त गीतलाई अहिले अन्तराष्ट्रिय जगत्मा समेत उच्चकोटीको मानिन्छ । प्रेमिका तथा श्रीमतीबाट त्यागिएका अरुणले २०३६ सालमा जुन गीत गाए त्यो गीत अलटाइम हिट भयो । त्यो गीत थियो “जति माया लाए पनि जति कसम खाए पनि…। ” अरुण थापाले गाएका गीतहरु एकपछि अर्को गर्दै चर्चाको शिखरमा पुग्ने क्रम जारी थियो र त्यसै क्रममा उनले अर्को गीत गाए “चोट के हो व्यथा के हो मलाई कहिल्यै सोद्धै नसोध… । ”

पहिलो विवाहको अन्त्यपछि उनले फेरि पनि आफ्नो परिवारको सहमति बेगर ललितपुरमा विवाह गरेका थिए । सायद मगर जातकै केटीसँग विवाह नगरेको वा आफ्नै जातकीसँग प्रेम नगरेकोमा अरुणप्रति परिवारको आपत्ति थियो । २०३७ सालमा बुबा र २०३९ सालमा आमाकोसमेत मृत्यु भएपछि उनको पारिवारिक पीडा थपियो । श्रीमतबाट छोरी जन्मेपछि अरुणमा लामो समय पछि खुसी थपिएको थियो । आर्थिक अवस्था कमजोर भएपछि अफैंले किनेर श्रीमतीको नाममा राखेको जग्गा बेचेपछि अरुण थापा र उनकी श्रीमती बीच सम्बन्ध विच्छेद भयो । क्रमशः अमर गायक अरुणले एक पछि अर्को गर्दै सबैको साथ गुमाउँदै गए । श्रीमतीले छोरी समेत लगेर दोस्रो विवाह गरिन् ।

मानिस सामाजिक प्राणी हो उसलाई कसै न कसैको साथ चाहिन्छ तर अरुणले आमाबाबु मात्र गुमाएनन्, जीवन संगिनीहरुले पनि साथ नदिएपछि एक्लो भए । अब अरुणको साथी लागुपदार्थ र रक्सी हुनपुग्यो । २०४५ सालमा लागुपदार्थ फेला परेको अपराधमा उनी डेड वर्ष जेल परे । जेल परे पनि उनलाई जुन क्षेत्रले चिनायो त्यस क्षेत्र अर्थात् गायन क्षेत्रलाई जेलमुक्त भएपछि जारी राखे । सोही क्रममा उनमा ‘हेपाटाइटीस बी’ को संक्रमण देखियो र २०५६ साउन ५ गते उनको दुःखद निधन भयो । जहाँ उनको देहान्त भयो उक्त होटलको कोठामा गीतार, १३ रुपैँया र खाली गिलास थियो रे ! उनले पैसा कमाए तर उनलाई साथदिने कोही पनि थिएनन् ।

उनले थुप्रै गीत गाए तर राज्यबाट भने कुनै पदक वा सम्मान पाएनन् । हो कतिपय गायकले राज्यबाट सम्मान पाए पनि तिनका गीत भने हामी नागरिकको सुन्ने सूचीमा छैन । गीत सुन्ने सरकारले होइन जनताले हो । अरुण थापाले गाएका गम्भीर गीतहरु उनको पुस्तामा लोकप्रिय थियो, अहिले पनि छ र पछि पनि भइ नै रहने छ । राज्यले अरुण थापाले नेपाली गायनमा पुर्याएको योगदानलाई उपेक्षा गर्यो ।

यद्यपि नेपाल मगर संघले २०६० सालमा संकलित रु ५० हजारको अक्षयकोषबाट अरुणस्मृति संगीत पुरस्कार स्वरुप रु. ५ हजार वितरण गर्दै आएको छ । अरुणले “जति माया लाए पनि” बाहेक “चोट के हो व्यथा के हो, दोष कसैलाई दिन चाहन्न, जिन्दगी के छ आखिर, भुलुँभुलुँ लाग्यो मलाई” जस्ता निकै ओझिला गीत गाएका छन् । एउटा मात्र रोमान्टिक गीत “ऋतुहरुमा तिमी हरियाली वसन्त हौ” र बाँकी उजाड तर दमदार गीत गाएका अरुणका गीतहरु धेरै युवाहरुको सुन्ने सूचीमा पर्छ “साँझ परेपछि” ।

अरुण थापाले आफैँलाई केही पनि ठानेनन् र नशामा मिल्काइदिए जीन्दगी । तर उनका गीत र उनको जीवनसँग मेल खाने पुस्ता र संगीतप्रेमीले सधैँ सम्झिरहने छन् उनलाई र उनका गीतलाई । अन्त्यमा अरुण थापालाई श्रद्धासुमन अर्पण गर्दै उनको गीतको यो हरफ :

जति माया लाएपनि, जति कसम खाए पनि

निष्ठुरीले बाटो लाग्दा, आँखा तरि गएपछि

मनमा पिर त पर्ने नै भयो

यो मन त्यसै मर्ने नै भयो …।

Related News

सम्बन्धित समाचार

hero news full width