सम्झनामा कोमल नारायण विजुक्छे

आदर्श समाज सम्वाददाता
कार्तिक ४, २०७०

यो धर्तीमा मानिसको रूपमा हरेक दिन लाखौं मान्छे जन्मने र मर्ने गर्दछन्। सबै मान्छेको जन्मपछि मृत्यु स्वभाविक छ भने मानिसका लेखाजोखा कमै हुन्छन्, कमै स्मरण गरिन्छन् तर धेरै कम व्यक्तिहरूको सधैं स्मरण गरिन्छ। यस्तै भाग्यमानी, सबैका आदरणीय, कोमल दिलका धनी, शैक्षिक व्यक्तित्व कोमल नारायण विजुक्छेको जन्म पोखराको मुख्य स्थान सिमलचौरमा पिता खड्ग नारायण विजुक्छे र माता छलिमाया विजुक्छेको कोखबाट प्रथम पुत्रको रूपमा वि.सं.१९८१ कार्तिक ३ गते आइतबार भएको थियो। उहाँको परिवार कपडाको व्यापारमा व्यस्त रहन्थ्यो र उहाँ बाल्यकालदेखि नै मेहनती, लगनशील, परिश्रमी भई व्यापार सञ्चालनमा बुबालाई साथ दिने र भित्री रूपमा नेपाली काङ्ग्रेसप्रति प्रतिबद्ध भई लाग्नु भएको थियो। व्यापारी पृष्ठभूमि भएकोले परिवार र व्यापारलाई असर पर्ने हुँदा सधैं आन्तरिक रूपमा पार्टीकाई आवश्यक सहयोग, सहभागिता रहने गथ्यो।

बुबाको स्वर्गीय भए पछि परिवारमा जेष्ठ पुत्रको रूपमा व्यवसाय आफैले सञ्चालन गर्नु भई सफल व्यवसायीको रूपमा परिचित हुनुहुन्थ्यो। व्यवसाय सञ्चालनमा उहाँ इमान्दार, स्पष्ट वक्ताको रूपमा परिचित हुनुहुन्थ्यो। वैवाहिक जीवनमा बाँधिएप्छि पनि थप जिम्मेवारी लिई व्यवसाय सञ्चालनमा कटिबद्ध भई लाग्नुभएको थियो। व्यवसायका साथै धर्म, संस्कृतिको जगेर्ना गर्नुपर्छ, सबैले सक्दो शिक्षा पाउनुपर्छ भन्ने भावनाका धनी प्रत्यक्ष खुलेर भन्दा भित्री रूपमा समाज परिवर्तनमा लाग्नु पर्छ भन्दै सबैलाई हौसला र प्रेरणा दिने गर्नुहुन्थ्यो।

तत्कालीन अवस्थामा सिमलचौरमा प्राथमिक तहमा विद्यालय नहुँदा अभाव भइरहेको अवस्थामा राम मन्दिरमा सिमलचौरका अग्रजहरूको भेलाद्वारा प्राथमिक तहको श्रीराम प्राथमिक विद्यालय खोल्ने निर्णय भएको र सोको प्रथम संस्थापक अध्यक्ष कोमलनारायण विजुक्छेलाई पदस्थापन गराई उहाँको जुझारु नेतृत्वमा विद्यालय स्थापना भएको बताउँछन् सिमलचौरका अगुवा विश्वनाथ बराल। हाल सो विद्यालय सुविधासम्पन्न नि.मा.वि.को रूपमा परिचित छ। सोही समयदेखि प्रत्यक्ष रूपमा समाजमा अब केही गर्नुपर्छ है, सबै लाग भनि प्रेरणा दिने, जे हो त्यही भन्ने, निडर र साहसका अगुवा हुनुहुन्थ्यो भन्नुहुन्छ बराल।

सिमलचौरमा स्थापना भएको जेठो संस्था सृजना विकास केन्द्रको शुरुवातमा पनि उहाँको हौसला महत्त्वपूर्ण रहेको थियो। तत्कालीन अवस्थामा सृजना विकास केन्द्रको पहलमा स्थापना गरिएको जनप्रिय क्याम्पस स्थापनामा सहयोग र सहभागिता रहेको बताउँछन् स्थानीय जानकारहरू। चार छोराहरू मध्ये हाल रहेका तीन छोराहरू महेन्द्र नारायण विजुक्छे, विरेन्द्र नारायण विजुक्छे, बिक्रम नारायण विजुक्छे र ६ छोरीहरू रहेको ठूलो परिवारको जिम्मेवारीलाई व्यवसाय, राजनीति र सामाजिक क्षेत्रमा लाग्न प्रेरणा दिने गर्नुहुन्थ्यो। फलस्वरूप उहाँको नेतृत्वको परिणाम विजुक्छे परिवार पोखरामा स्थापित परिवारको रूपमा रहेको  छ।

विगत केही समयदेखि दम, प्रेसरसम्बन्धी रोगबाट पीडित रहनुभएका विजुक्छे आफू विरामी भएर ओछ्यानमा रहँदा पनि जो कोहीलाई पनि नजिकबाट चिनेको, आफ्नै हो जस्तो गरी सम्झाउने बुझाउने, प्रेरणा दिने गर्नुहुन्थ्यो। पछिल्लो समय केही वर्षदेखि उहाँ यस क्षेत्रको शैक्षिक, सामाजिक, धार्मिक विकास निर्माणका कार्यक्रमहरूमा सहभागी भई आर्थिक सहयोग दिने दानवीरको रूपमा रहनुभएको थियो। उहाँले स्थानीय रूपमा रहेका हरेक संस्थालाई सल्लाह, सुझाव, सहयोग गर्नुहुन्थ्यो। फलस्वरूप उहाँ जनप्रिय उच्च मावि, श्री राम निमावि, सृजना विकास केन्द्र, जाल्पादेवी टोल सुधार समिति, जाल्पादेवी महिला उद्धार समूह लगायत थुप्रै संघसंस्थाबाट सम्मानित हुनुभएको थियो। नेपालमै स्थापित सामाजिक संस्थाको रूपमा परिचित सृजना विकास केन्द्रको थुप्रै महत्त्वपूर्ण सामाजिक कार्य मध्ये उल्लेखनीय र सम्मानयोग्य कार्यको रूपमा रहेको तत्कालीन द्वन्द्वबाट पीडित बालबालिकाहरूलाई सृजना बाल गृहका बच्चाहरू तथा पोखराको अविकसित दक्षिण भेग महतगौंडामा देखिएको खानेपानी समस्या समाधानका लागि गरिएको सृजना बोरिङका लागि आवश्यक जग्गा निःशुल्क दान गर्नुभएको थियो। त्यस कार्यले हाल त्यस क्षेत्रमा पानीको समस्या समाधान भई ठूलो राहत मिलेको छ।

यस्ता धेरै उदाहरणीय र प्रेरणा दिने जुन कार्य, त्यसमा पूर्ण इमान्दार, कटिबद्ध भई लाग्नुभएका व्यक्तित्व समाजका अग्रज, विगत केही महिनादेखि बिरामी परी वि.सं.२०७० असोज २३ गते बेलुका ९ बजे ९० वर्षको उमेरमा स्र्वर्गवास हुनुभयो। असोज २४ गते बिहान १०:४० बजे उहाँकै घरबाट इष्टमित्र, छरछिमेकी, कुलकुटुम्ब, सामाजिक, धार्मिक, राजनीतिक क्षेत्रका व्यक्तिहरूको ठूलो उपस्थितिमा शवयात्रासाथ पोखरा ९ रामघाटमा पुर्‍याई अन्तिम श्रद्धाञ्जली पश्चात् अग्गिमुख गराई विदाई गरिएको थियो। अवश्य हो, मृत्यु निश्चित र सत्य हो, यो प्राकृतिक नियम हो। उहाँको मृत्युले समाजको एक अग्रज, सबैका प्रेरणा दिने व्यक्ति कसैलाई भेदभाव नगर्ने व्यक्ति गुमाएको छ, अबको दिनमा उहाँको परिवारले उहाँकै पथप्रदर्शक भई लाग्न प्रेरणा र शक्ति मिलोस् भन्ने कामना गर्दछु।

स्व.कोमल नारायण विजुक्छे अन्तिम अवस्थामा पनि देखे भेटेका जो कोहीलाई पनि देशको बारेमा, काङ्ग्रेस पार्टीको बारेमा सोध्ने, बुझ्ने गर्नुहुन्थ्यो। कहिले बन्छ संविधान, काङ्ग्रेस पार्टीएक हुनुपर्छ, सबै एक भए मात्र विजय हुन्छ, सबै मिले मात्र देश बन्छ, भन्नुहुन्थ्यो। सधैं बुबाको प्रेरणाले स्थानीय जननिर्वाचनमा नेपाली काङ्ग्रेसको प्रतिनिधित्व गर्दै पोखरा उपमहानगरपालिका वडा नं.८ को वडा अध्यक्षमा निर्वाचित भएका माइला छोरा विरेन्द्र नारायण विजुक्छेले आफूले सधैं पार्टी्रति प्रतिवद्ध भई सामाजिक, शैक्षिक र धर्म संस्कृतिको संरक्षणमा लागेको बताउँछन् र आगामी दिनमा पनि बुबाको इच्छा, देशमा काङ्ग्रेसको विजय होस्, हाम्रै क्षेत्रको भाइछोरा सभासद् होस्, संविधान बनी सबै नेपाली खुसी सुखी हुन् भन्ने इच्छा साकार गर्न आफू सधैं पार्टी्रति इमान्दार भई लागेको बताउनुहुन्छ।

समाजमा योगदान दिने अग्रज सम्पूर्ण व्यक्तिहरू सधैं स्मरण योग्य रहन्छन्, उहाँहरूलाई सधैं पार्टीर जातिभन्दा माथि उठेर मूल्याड्ढन गरिनुपर्छ र अग्रजहरूले देखाएको सकारात्मक बाटोमा लाग्ने प्रेरणा हामी सबैमा मिलोस् भन्दै स्वर्गीय आत्माको चिरशान्तिको कामना गर्दै शोकसन्तप्त परिवारजनमा धैर्यधारण गर्ने शक्ति मिलोस् भन्ने कामना गर्दछु।

(लेखक रेडियो सराङ्कोटका कार्यकारी निर्देशक हुन्। -सं.)

Related News

सम्बन्धित समाचार

hero news full width